Posted by: fucheketo February 28, 2010
माया.....
Login in to Rate this Post:     0       ?        
दोस्रो भाग-
    उसले नखोतलेका कुराहरु धेरै छन् । उसले नबुझेका पाटाहरु धेरैछन् । कहिलेकाहिँ उसलाई आफु सवैभन्दा निरिह सवैभन्दा मुर्ख छु जस्तो लाग्छ । पछि सोच्छ अग्यानता को अँध्यारोमा नै उत्सुकताको बिउ रोपिन्छ । कौतुहलता आएर मलजल गर्छन् । नत्र त उ पनि सवै बुझिसकेपछि मोक्षको मार्गमा कुनै प्रश्न को वैशाखी नभएर लडिरहेको हुन्थ्यो मैले सवै जीवन बुझिसकेको छु भन्दै ! अनि मात्र उसले आफ्नो मुर्खता मा सन्तुष्टि प्राप्त गर्छ ।वास्तवमा मान्छे मुर्ख हुनु भनेकै सन्तुष्ट हुनु हो र सन्तुष्ट हुनु भनेको नै मुर्ख हुनु पनि शायद !

माया घरमा आएकै दिन उसले सोधेको थियो !
“तिमीलाई म मा सबैभन्दा मन परेको कुरा के हो ?”
    माया ले धेरै बेर उसलाई हेरेकी थिई । उसले सोच्यो उसका धेरै कुरा मायालाई मन परेका छन् । माया के भनौँ भनेर छट्याउन सकिरहेकि छैन , उ मख्ख परेको थियो ।
आज उ सँग अर्को प्रश्न छ जस्को जवाफ उ सँग छैन !
“त्यो दिन माया आखिर किन चुप थिई ?”


“के नचाहिने कुरामा अल्झिरहेको तँ !” उसको मनलाई मायालाई सम्झिरहेको मन पर्दैन ! मन उसलाई बिर्सन चाहन्छ । उसको आँखामा बसेको मायाको अन्तिम तस्विर उ मेटाउन चाहन्छ ।
“यो मेरो प्रश्नको जवाफ हैन !” उसले फेरि पनि जिद्दि गर्यो ।
“तेरो प्रश्न के हो त ? अस्तित्व छ त्यसको ?”
उसको मन पटक पटक आवेशमा आउँछ यस्ता प्रश्नहरु बारम्बार आइरहँदा।कहिलेकाहिँ भित्र बाट निक्लिएर उसको गालामा नै झापड लगाइदेला जस्तो !
“ यदि मेरो प्रश्नको छैन भने मेरो पनि अस्तित्व छैन !” यसपाली उसले पनि हठ छोडेन !
“तँ मा मन पर्ने केहि कुरा भेट्टाइन तर तेरो चित्त दुख्छ भन्ने सोची , त्यहि भएर चुप लागेकी माया !” मनले आखिर तितो कुरा ओकल्नै पर्ने भो !
“जव म मा केहि नै मन परेन भने आखिरमा फेरि मेरो चित्तको विचार गर्नु पर्ने किन त मायाले !”
यो प्रश्नको जवाफ शायद उसको मन सँग पनि छैन ।

    माया धेरै बोल्दिन थिई । उ बोलाउँथ्यो माया एक टक उसलाई हेरीरहन्थि कुनै वच्चा लाई हेरे जस्तो गरीदिन्थी । उ मायालाई जिस्क्याउँथ्यो माया मुस्काउन खोजेजस्तो गरीदिन्थी । उ सोच्दथ्यो उ बुझिरहेको छ , मायालाई हाँस्न मन छैन तर माया उसलाई देखाउनलाई नै भए पनि मुस्कान ओढ्न खोज्दैछे उसको अनुहारमा मुकुण्डो बनाएर । उसलाई माया को स्पर्श अझै पनि याद छ । मायाले उसलाई नयाँ जीवन चार दिन मै देखाएकी थिइ । उसले यस अघि त्यत्तिको आद्र स्पर्श भेट्टाएको थिएन । एउटै खाटको दुइ चरम कुनामा नछोइकन पनि उ मायाको आद्रता अनुभव गर्थ्यो । अनि उ सोच्दथ्यो उसले मायालाई नछोए पनि भोगेको छ । झुक्केर स्पर्श भएका ठाउँहरुलाई उ बिहानै उठेर हेर्दथ्यो अनि सोच्थ्यो उसले माया लाई जित्नेछ कुनै न कुनै दिन !

आज माया छैन । उसले जित्ने केहि छैन !उसलाई आफ्नो मन सँग नै प्रतिष्पर्धामा उत्रिन मन लागेको थियो । तर मनले भो म हारिदिन्छु भन्यो !
उसलाई मनले हारेको चित्त बुझेन । कसैको झोलामा फ्याँकेको जित किन लिओस् उ ?

    मायाका आँखाहरुलाई उसले बिहाको दिन पनि त सुख्खा देखेको थियो । सामान्यतय केटीमान्छे को त्यो दिन रुने दिन हुन्छ । तर उसका आँखाहरु असामान्य सुख्खा थिए । मानौँ आँखाहरु मरुभुमी बनेका छन् । उसको आँखामा वालुवाका कण कण हरु मात्र देखिएजस्तो ,बालुवाले उसको मुहार नै सुख्खा बनाएका जस्तो । अब त्यहाँ चाहना पलाउनेछैनन् उसलाई लागेको थियो ।मात्र उसले काँडा देखेको थियो । सिउँडिका काँडा !!!

“ म तिमीलाई दास बनाउन चाहन्न ह्रदयमा राख्न चाहन्छु !”
    उसका शब्दहरु सतहि थिए जस्तो लाग्छ कहिलेकाहिँ उसलाई !मानौँ उ बाहिर बाहिर हात भिजाएर गहिराहि का मोति हरु टिप्न चाहन्छ । असम्भव प्राय उसका शब्दहरु । आफ्नो इच्छाहरु सँग कुश्ति खेलेका उसका वाक्यहरु सतहि ,पूर्ण सतहि !!!

शायद त्यहि कुरा मायाले पहिल्यै रातमा बुझेकी थिई । त्यसैले त्यस्तो लुटपुटिने वाक्यमा पनि मायाको ह्रदय परिवर्तन भएन । जव उसले जिद्दि नगरेजस्तो गरेर पनि अनुनयात्मक जिद्दि गरेको थियो । मायाले धेरै बेर सोचेर भनेकी थिई !

“मलाई थोरै समय चाहिएको छ !”
उसले टाउको हल्लायो । मन अहँ भनेर हल्लाउन चाहन्थ्यो । उसले हुन्छ भनेर टाउको हल्लायो !
त्यो दिन उसको मनले घोषणा गर्यो !
“आज तैँले सबैभन्दा ठूलो गल्ति गरेको छस् !”
“आखिर माया मेरै त हो नि , आज नभए भोलि !” उसले मनलाई फेरि जिद्दि गरेर जित्यो ! उसको मन मन नलागि नलागि चुप भएको थियो !

आखिर कति समय ? र के का लागि ?? आजकल मन उसलाई सोधिरहन्छ । जस्को उ सँग जवाफ छैन !

    उसले उसको बेडरुमको ढोकाको ताल्चा हेर्न छोडेको छैन । पहिला पहिला उ त्यहाँ भित्र गएर चिच्याउँथ्यो । उसको मन उसलाई चुप लाग भन्थ्यो । उ मान्दैनथ्यो , मान्छेहरु आएर उसलाई समातेर बाहिर निकाल्थे । पछी त्यो कोठामा ताल्चा लाग्यो ।

    उसलाई बाहिर चिच्याउन मन लाग्दैन । उसलाई त्यहि कोठामा गएर चिच्याउन मन लाग्छ । मायाले सुन्छेकी त्यहाँबाट गएको आवाज की जस्तो लाग्छ उसलाई !
    उसका दाह्रि बढेर उसको सेतो खबटे गाला छोप्दै गइरहेका थिए । आँखा पनि आजकल भित्र छिर्न थालेको थियो । बिहे को दिन त उ चिल्लो भएको थियो । त्यति खेर उ मोटो पनि थियो रे , पाक्लाकपुक्लुक गाला भएको ! आजकल उ घट्दै छ रे !मायाको आत्मा घरमैँ छ जसले उसलाई गलाउँदै छे भन्छन् मान्छेहरु ! अब ग्रह शान्ति गर्नु पर्छ अरे , घरमा ठुलै हवन पनि ,, तर उसले खाना नखाएको मा ध्यान पनि त जाँदैन कसैको ! मात्र उसको मन भन्छ । तँ दुब्लाएको खाना कम भएर हो ! मायाले आफूलाई चाहेको कुरा गरी , अब उ तेरो पछि किन लागोस् ?माया सकिइसकी अब माया छैन , मायाका दुराचार हरु पनि छैनन् !

“ मायाले चाहेकी के थीई त आखिर ?” उ मनलाई फेरि प्रश्न राख्छ !
“ म तेरो मन हो , मायाको होइन !” मनलाई पनि झर्को लाग्छ !
“तै पनि मलाई त्यो प्रश्नले पोल्छ , कोहि छ मायाको मन बुझ्ने ?”
मन चुप थियो , उसलाई उत्तर चाहिने बेलामा ! उसले धेरै बेर उत्तर पर्खियो , उत्तर आएन !

क्रमश:


Read Full Discussion Thread for this article