Posted by: crazy_love February 21, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou

भाग-५


कथाको चौथो भाग लेखिसक्दा थुप्रै पात्रहरु आइसके, ती सबै पात्रहरुले मेरो जिन्दगीलाइ कहि न कहि कतै न कतै झस्काइदिएका छन्। तिनीहरुले मेरो मनलाइ छोइदिएका छन्। कतै दुखाइ दिएका छन्, कतै बिझाइदिएका छन्। तर मैले जुन पात्रलाइ ल्याउनु खोजीरहेको छु, उसलाइ अझै पनि मैले पात्र बनाउनु उचित हुन्छ कि हुन्न भन्ने दुबिधामा छु। बास्तबमा उ पात्र होइन, मेरो जिबनको मुलधार हो। उ छ र म छु। उ भएकोले म हुन्छु। म फेरि बहकिन थालेँ भाबनामा। म धेरै दिनदेखि यही सोचिरहेकी छु। के मैले उसलाइ पात्र बनाएर उसको भुमिकामा न्याय गर्न सक्छु? के उ र मेरो सम्बन्धको प्रस्तुतिले साथीहरुको मलाइ हेर्ने धारणामा परिबर्तन आँउछ? के मैले यो लेख्न हुने बिषयबस्तु हो? कि यसले मेरो ब्यक्तिगत जिबनको गोप्यता भङ हुन्छ? मलाइ अलिकति असजिलो लाग्छ। म कहिले दिमाग र कहिले मनको सँघर्षमा अल्झिन थाल्छु।


हैन, मैले ब्यक्त गर्नै पर्छ। लेखाइ नै मेरो लागि थेरापी हो। म भित्रका यी ग्लानि, पश्चाताप र छटपटिहरु कमसेकम कथाको माध्यमबाट त पोखिनु पर्छ। म को हुँ र?  एउटा साधारण मानिस। न बुद्द, न राम, न जिसस! म सङ पनि अरु मान्छेका जस्तै दया, माया, हेय भाब, रिस, इर्श्या सबै छ। मलाइ लाग्छ म सङ सार्है संबेदनसिल मन छ, जुन छिट्टै दुखि दिन्छ, धेरै पछिसम्म नसम्झिनु पर्ने कुरा सम्झिरहन्छ, त्यसलाइ लुकाइ रहन्छ, तर ब्यक्त गर्न सक्दैन। यो अत्ति भयो म आफ्नै बारेमा दुइ प्यारा लेख्दैछु। अब कथा बढ्नु पर्छ।


कहिले कहि समयको हातमा सबै कुरा छोडि दिनु पर्छ रे। यो त मैले धेरै ठाँउमा सुनेको छु। केहि प्रेरणादायी किताबहरुमा पनि पढेको छु। हुने त समयको हातमा त हो। मेरो हातमा के छ र? म जन्मिनुमा समयको हात छ। मेरो अभिभाबकहरुले नचाहदा नचाहदैँ म भ्रुण भएर गर्भमा आँए। मलाइ सकेसम्म यो संसारमा नल्याउने कोशिस गरियो रे। कारण उनिहरुलाइ सन्तानको चाहना पुगिसकेको थियो, म "योजना बिपरितको सन्तान" हुन पुगेकी थिँए। अबश्य पनि हुर्काउने जिम्मेबारीले पहिले नै बोझ पुगिसकेको बेलामा कसलाइ "अन्वान्टेड" सन्तानको रहर हुन्छ र? धेरै कोशिश गर्दा पनि मैले गर्भबाट निस्किन नखोजेपछि अभिभाबकको चाहना अलिकति परिमार्जित हुन थालेछ। शायद छोरा जन्मिन सक्छ। यस्ता कुरा किन सुनाँउछन् उनिहरु मलाइ? मेरो संबेदनशील मनलाइ कस्तो नमिठो अनुभव हुन्थ्यो। समयकै कुरा हो, म जन्मिए छोरी भएर, बाबाको चाहनालाइ तुषारापात गर्दै। समयले सबै कुरा निको पार्दै गयो। म बाबा, आमा, परिबार सबैकी प्यारी भए।


काल्पनिक भन्दा पनि बास्तबिक घटनाहरुलाइ लेख्न गार्हो हुँदोरहेछ। उसलाइ म "तिमी" भन्छु, हुन त त्यसो भन्न मिल्दैनथ्यो, तर म अलि पुल्पुलिएर अथवा उसलाइ तिमी भन्दा अरु नजिक महसुस गर्छु। उसको र मेरो शक्ति सँघर्ष म जन्मिनु अघि नै शुरु भएको थियो। मैले भने नि म नचाहदा नचाहदै याक्सिडेन्ट्ली उसको गर्भमा आए। उसले औषधीहरु खायो रे, अनेक उपाय गर्‍यो रे। (म यहाँ उसको लागी verb हरुलाइ खाइ, गरी भनेर प्रयोग गर्न चाहन्न, उसको लागि म त्यस्तो गर्न सक्दिन।)समयले मलाइ ती औषधीहरुको असर हुन दिएन। म कहिएकहि त्यो समयप्रति धेरै आभारी छु, जसको कारण आज म साझामा छु, जानि नजानी लेख्ने कोशिश गर्दैछु, नेपाली हिज्जेहरु चाहेर पनि राम्ररी टाइप गर्न सक्दिन, गल्तीहरु हुन्छन्। तैपनि साथीहरु राम्रो छ भनिदिनु हुन्छ, यो मन फेरि उत्साही बनिदिन्छ। जब ठुली हुँदै जान्छु, उ र म बिचको युद्ध अरु चर्किदै जान्छ। उसले जे भन्छ, त्यो मलाइ मन पर्दैन। मलाइ जे मन पर्छ, उसलाइ त्यो मन पर्दैन। म आफ्नै खुट्टामा उभिन भैसकेको छैन। त्यसैले उसैले चाहेको बिषय पढ्नु पर्छ, मैले चाहेको अङ्रेजी साहित्य क्याम्पस भर्ना भएर पनि छोड्नु पर्छ। त्यो कुराले मलाइ धेरै महिनासम्म डिप्रेस गराँउछ, तैपनि उ मलाइ फकाँउछ, म यस्तै हो भनेर चुप लाग्छु। यतिबेरसम्म मैले जसको बारेमा कुरा गर्दैछु, उ मेरो माँ हो भनेर भन्न पर्दैन होला। यो मैले उसको लागि लेखेको हैन, शायद आफ्नै लागि हो भन्नु पर्छ। यदि मैले उस्लाइ यस कथामा प्रस्तुत गरेर उसको चित्त दुखाएको छु भने उसले मलाइ जरुर माफ गर्छ। उ आमा हो, आकाश जत्रो बिशाल छाती छ। म उसको सन्तान, मेरो गल्ती क्षम्य हुन्छ।


(भर्खरै मेरो उ सङ फोनमा कुरा भएको छ, दिदीले भन्नु भए अनुसार उ मैले अस्ति किनिदिएको रातो धोती र न्यानो बाक्लो ओढ्ने ओढेर बसेको छ। उ खुशी देखिन्छ। एकचोटि फेरि मेरो आँखा भरिएको छ।)


क्रमश:

Last edited: 21-Feb-10 05:25 AM
Read Full Discussion Thread for this article