Posted by: crazy_love February 19, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou

भाग-४


काममा पुग्दा धेरै नैं ढिलो भैसकेको थियो। सुपरवाइजर टिना मलाइ कुरीरहेकी थिइ। केहि न केहि भन्ला भन्ने डर थियो, आफैलाइ समयमा पुग्न नसएकोमा अप्ठ्यारो पनि लागिरहेको थियो। नभन्दै "कुरा गर्नुछ" भन्दै एउटा कुनातिर लगी। अब के भन्ने होली भन्ने चिन्ता लाग्न थाल्यो। भोलीदेखि नआउ भनी भने यो आर्थिक मन्दी छाएको बेलामा म कहाँ काम खोज्न जानु? भन्ने बितिकै पाँउछ भन्ने के छ र? टिनाले एक नजर मेरो टाउको देखि पैताला सम्म सरर निरिक्षण गरी अनि सोधी, "तिमीलाइ आजकल के भइरहेको छ?"


उसको यस्तो प्रश्नले मेरो मुटु अलिकति हलुका भयो। बेलामा केहि त भन्नु पर्‍यो जस्तो लाग्यो।
"एलर्जीले सताउनु सताएको छ। त्यही भएर ढिलो भयो सरी।" मैले उसको आँखामा सकेसम्म सिधै हेर्न नसके पनि साँचो बोलेको जस्तो गरेँ।


"डक्टर देखाउन गएनौ?" उसले बिश्वास गरी।


"गएँ, तर पनि चिसो बढ्ने बितिकै अलि गार्हो हुन्छ। तर पहिला भन्दा धेरै सजिलो भएको छ।" मैले अलिकति साँचो कुरा पनि मिसाइ दिँए।


"स्वास्थ्यको खयाल राख्नु। बिरामी भयौ भने यहाँ तिम्रो हेरबिचार गर्ने कोही छैन। चिसोबाट बच्नु।" टिनाको कुरा सुनेपछि मैले मनमनै भगवानलाइ धन्यबाद दिँए।


 त्यसपछि टिनाले के के काम महत्वपुर्ण, के के काम बाँकी, के के काम भोलीको लागि सबै बताउन लागी। मैले ध्यान दिएर सुन्ने प्रयास गरे। शुरुको २-३ लाइनपछि मेरो आँखा उसको ओँठतिर केन्द्रित भए। लिपग्लस लाएको बाक्लो ओंठहरु एकनासले चलिरहेका थिए।
 ती ओँठ खुल्दा एक सेट चम्किलो सेतो दाँत झलल टल्किन्थ्यो र फेरि ओंठ् बन्द हुन्थ्यो र लिपग्लसभित्रको कालो रँग प्याजी प्याजी झैं देखिन्थ्यो। ओँठ माथि जुँगाको मसिनो खैरो रेखि पनि देखियो, बिस्तारै मेरो नजर त्यँहाबाट माथि टिनाको नाकतिर पर्न गयो। उसको नाक ठिकैको थियो, नाकको प्वालहरु केहि फरक देखेँ। प्राय मानिसहरुको नाक हेर्दा सितिमिति नाकको प्वालले ध्यान आकर्षण गर्दैन। तर टिनाको नाकको प्वाल केहि अनौठो लाग्यो। मैले त्यो गुफा बाहिरको सुरुङ जस्तो उसको नाकको प्वाल हेरेँ, त्यहाँ २-३ वटा झिङाहरु अटेसमटेस ठेलम्ठेल केहि नगरी एकै लाइनमा पस्न सक्थे। उ म भन्दा अग्ली भएकीले पनि मैले माथि हेर्दा उसको नाक नैं पहिला देख्थेँ। मलाइ त्यो ओडार जस्तो टिनाको नाकको प्वाल भित्रबाट कता कता अध्याँरो गुफाभित्र कसैले बोलाए जस्तो लाग्यो। स्वर चिने झैं लाग्छ, मसिनो र एक्दम हलुका जस्तो। म त्यो आवाजको पछि पछि भित्र गएँ, भित्र ड्याम डुम्म अध्याँरो थियो। बत्ति छैन कि क्या हो, मैले पर पर सम्म हेरेँ कतै केहि देखिन। फेरि मलाइ एउटा चुक घोप्ट्याको जस्तो अन्धकारबाट त्यही आवाजले बोलायो। म त्यही कुनातिर गएँ, त्यहाँ पुग्नासाथ फेरि अर्को पल्लो कुनाबाट बोलायो। म फेरि मलाइ बोलाएको दिशातिर लागे, त्यसपछि मलाइ चारैतिरबाट बोलाउन थाल्यो। म एक कुनाबाट अर्को कुना जाँदै थाकिसकेकी थिए। अरु हिंड्ने सामर्थ्य थिएन। म लल्याक लुलुक भैसकी थिए। त्यसैबेला कतैबाट अर्कै आवाज आयो।


"मेरो कोठा कुन हो?" मिस जोन्स म र टिनाको अगाडी उभिएर सोध्दै थी। टिनाले मलाइ एक प्रकारले हेरी, र मिस जोन्सलाइ उसकै कोठासम्म पुर्‍याउन गइ। मिस जोन्स १०० चोटिभन्दा बढी आफ्नो कोठा सोध्छे, उसको एउटा रोग डिमेन्सिया पनि हो।


टिनाले के भनी त मैले सुन्दै सुनिन, उ भोली कुरा गरौंला भनेर मलाइ जिम्मेवारी सुम्पेर गइ। म अझै उसको नाकको प्वाल, त्यो अन्धकार गुफा र मलाइ बोलाउने स्वर कसको होला भनेर सोचिरहेकी थिए, साथमा मिसेज रोबिन्सको खाना खुवाउने समय पनि भैसकेको थियो। उनि पेटको पाइपबाट खाना खान्छिन्। सधैँ खाटमा सुतिरहेकी हुन्छिन्, के मौसम, कुन दिन, कुन समय केहि कुरा पनि थाहा पाँउदिनन्। म हरेक दिन उसलाइ खाना दिन्छु, उ भित्तातिर हेरिरहन्छे कि त मलाइ हेरीरहन्छे।  उसलाइ एकचोटि "हाइ" भन्दै म खाना खुवाउन थाल्छु। मुखबाट चपाएर स्वाद लिएर खानु र पेटको पाइपबाट तरल पदार्थ १० मिनेट लगाएर खुवाउनु दुबै फरक अनुभव हुन्। म त्यो भन्दा पनि पाइपबाट खाना तल झरेको हेर्दै फेरि अघिकै कुरा सम्झन पुग्छु, आजकाल मलाइ किन अनौठो अनौठो भ्रम हुँदैछ। मलाइ बोलाउने स्वर पक्कै पनि उसकै हो। मैले उ सङ कुरा नगरेको पनि १-२ बर्ष हुन लागिसक्यो। तर मैले उसको आवाज अझै बिर्सेको छैन। हो मलाइ पक्कै पनि उसैले सम्झेको हुनु पर्छ। "यो के हुँदैछ?" मेरो मुखबाट अनायासै निस्क्यो।


"कहिलेकहिँ हामीले सबै कुरा समयलाइ छोड्दिनु पर्छ।" कोठामा अर्कै स्वर गुन्जियो। कोठामा मिसेज रोबिन्स र म मात्र छौँ, अरु कोही छैन। म ढोकाबाहिर हेर्छु सुनसान छ। कहिँ कोही छैन। त्यसो भये त्यो बाक्य कसले बोल्यो। हैन मेरो कानलाइ किन यस्तो भ्रम हुन्छ। मैले मिसेज रोबिन्सलाइ सोधे," के तपाइँ पनि बोल्नु हुन्छ?" उसले खालि दलिनतिर मात्र हेरीरही, केहि प्रतिक्रिया जनाइन।


मलाइ दिक्क लाग्यो मैले भन्न नहुने तर मनमा सधैँ आउने कुरा मिसेज रोबिन्सको अघि पोख्न थाँले। "मेरो जिबनमा कुनै परिबर्तन छैन। हरेक दिन म यहा आँउछु, र तपाइको स्याहार सुस्यार गर्छु। तपाइलाइ बोलाँउछु, तपाइ बोल्नु हुन्न। तपाइलाइ खुवाँउछु। तपाइ मिठो नमिठो केहि भन्नु हुन्न। कहिलेकहिँ त तपाइ मलाइ "धन्यबाद" भन्नुस्। अथवा मलाइ "के छ?" भनेर सोध्नुस्।" सधैँ यसरी यो खाटमा तरकारी जस्तै कति सुतिरहनु हुन्छ तपाइं?  तपाइँ र रुटिन जस्तो मेरो जिबनमा केहि फरक छैन। हामी दुबै उस्तै जस्तो लाग्छ।" मिसेज रोबिन्स दाँया कोल्टे फेरी। मलाइ किन यस्तो कुरा गरेछु जस्तो लाग्यो। मैले जे भने उसले के बुझी होला र जस्तो पनि लाग्यो। यसरी हदै नाघेर जो सङ जे पनि बोल्नु हुन्न भनेर म चुपचाप बाहिर निस्किन लागे।


"कहिलेकहिँ हामीले सबै कुरा समयको हातमा छोड्दिनु पर्छ।" म ढोकाबार निस्किनै लाग्दा मिसेज रोबिन्स मलाइ फेरि भनिरहेकी थी।


"हँ...? के भन्नु भयो?" म फेरि कोठामा फर्केर, सोधें। उ फेरि भित्तातिर हेर्न थाली। म कुरीरहेँ केहि बेरसम्म।


"मिसेज रोबिन्स! भर्खरै तपाइले के भन्नु भयो?"


"त्यही हो।" उनले छोटो उत्तर दि।


क्रमश:


 


 

Last edited: 19-Feb-10 12:09 PM
Last edited: 21-Feb-10 05:24 AM
Read Full Discussion Thread for this article