Posted by: ANS February 18, 2010
दोस्रो प्रेम
Login in to Rate this Post:     0       ?        

त्यसपछि त म सुस्मिताको नजिक-नजिक हुँदै गएँ। कहिलेकाहीँ हेडसर नहुँदा अर्थशास्त्रको कक्षा हुँदैनथ्यो। सुस्मिता, म र साथी वसन्त सँगै डाँडा उक्लिन्थ्यौं। लोकेन्द्र सधैं छुट्थ्यो किनभने उसले अप्सनल म्याथ लिएको थियो। 
बाटोमा सुस्मिता मलाई 'दिल तो पागल है' गीत पूरा गाएर सुनाउथी। आवाजमा यौवनको मिठास भरिन अझै बाँकी थियो, तैपनि मलाई उसको गीत सुनिरहूँजस्तो लाग्थ्यो। 
ऊसले आफ्ना किताबका पन्नाहरूमा सायरी लेखेकी हुन्थी। बैनीले एकपल्ट उसको किताब घरमा ल्याउँदा मैले सुटुक्क पढेको थिएँ। एकपल्ट त के भो कुन्नि, सायरीका मुन्तिर जवाफी सायरी पनि लेखिदिएँ। उसले त्यो पढी कि पढिनँ, थाहा छैन। 
उसको हास्ने शैली पनि गजब थियो। ओठ बिग्रेलान् झैं बिस्तारै तन्काउँथी। ऊ एसएलसी दिएपछि, बुटवल घर फर्किन्छु भनेर सुनाइरहन्थी। किनभने, यस्तो रूपरंगबिनाको डाँडामा उसका सपनाले रंग पाउनेवाला थिएनन्। बाका पछिपछि लागेर जुम्ला हुँदै कालीकोट आइपुगिछ। 
जे भएपछि, उससँग हिँड्दा दुईघन्टे उकालो पनि छोटो लाग्थ्यो। झन्, मेहलको रुखमुन्तिर थकाइ मार्दा चिसो बतासमा उडिरहेका उसका कपाल छोऊँ-छोऊँ लाग्थ्यो। म मुठी कस्थेँ, 'एकदिन त भन्छु-भन्छु - सुस्मिता, आई लभ यु।'
लोकेन्द्र पनि मेरो प्रेमकथामा रुचि लिन्थ्यो। कुनै दिन छुट्यौं भने कोठामा बोलाएर मेरो प्रगति विवरण सुन्थ्यो। 
बेलाबेला मुख मिठ्याउँदै सुझाव पनि दिन्थ्यो, 'लभ परेपछि, त्यो रानीढुंगापछाडि सुस्मितालाई अंगालो मारेर बस्नू।'
म पनि यस्तै कल्पनाले रंगिएर रात बिताउँथँे। रातभरि आफ्नो कोठाको झ्यालबाट बाहिर चिहाउँथँे। पारीको चुलीमालिकाको सेताम्मे चुलीमा हेर्दै कल्पना गर्थें - यदि त्यहाँ सुस्मिता र ममात्रै भएको भए ...। 
कहिलेकाहीँ सुस्मिता स्कुल आइन भने त छट्पटीले मरूँजस्तो लाग्थ्यो। एकपल्ट ऊ हेलिकप्टर चढेर सुर्खेत झर्दा मलाई रोऊँ-रोऊँ लागेको थियो। हेलिकप्टर पर ... पुगेर कालो थोप्लाजस्तो हुँदासम्म मैले हेरिरहेको थिएँ। ऊ एकहप्तासम्म सुर्खेत बसेर फर्किई। मैले आत्मा रुवाउँदै उसलाई कुरिरहेँ। धेरै कविता लेखेँ। 
एकदिन हामी घर फर्किरहेका थियौं। 
बाटोमा डोकोभरि सुन्तला राखेर एक महिला बसेकी थिइन्। सुस्मिताले सुन्तला खाने रुचि देखाई। मैले उत्साही हुँदै एक किलो सुन्तला किनेर उसलाई उपहार दिएँ, ३० रुपैयाँको। उसले पनि एउटा सुन्तलाको बोक्रा खोल्साई। र, केही केस्रा मेरो हातमा राखिदिई। उसको हातले मेरो हात छुँदा म थररर कामेको थिएँ।
त्यसदिन, खुसीले मेरो मन पहाडका चुलीचुली दगुरिरहेको थियो। 
तर केही दिनपछि मेरो प्रेमकथाले नयाँ मोड लियो। 
त्यसदिन पनि हेडसर थिएनन्। सुस्मिता, म र साथी वसन्त घर फर्किन उकालो चढ्न थाल्यौं। सुस्मिता अघिअघि थिई। 
'आज मौका छ।' वसन्तले सुटुक्क कानमा भन्यो, 'चिठी दे।'
'चिठी नै लेखेको छैन।' म तर्सिएँ। 
'त्यसो भए आई लभ यु भन्दे ... यस्तो मौका आउँदैन।'
मेरा हातगोडा फतक्क गल्न थाले। आकास धुम्म भो। छ्या ... कसरी भन्ने होला। कुनै न कुनै दिन त भन्नु नै छ। वसन्तले भनेझैं 'आजै मौका' छ। 
'छिटो हिँड न।' सुस्मिताले पछाडि फर्केर भनी। 
म रातो अनुहार लाएर उसलाई पछ्याउन थालेँ। बेलाबेला वसन्त मलाई मुक्का हानुलाझैं गर्थ्यो। एकछिन त्यसरी चुपचाप हिँडेपछि, वसन्तले फेरि आफ्नो मुख मेरा कानतिर ल्यायो, 'म दगुरेर जान्छु ... तिमेरू एक्लै हुन्छौ ... आज जसरी पनि भन, है।'
नभन्दै मुला 'मलाई हतार छ' भन्दै उकालोमा बेस्मारी दगुर्‍यो। 
सुस्मिता र म एक्लै भयौं। मैले तल ... स्कुलतिर हेरेँ, स्कुल छुटेको थिएन। आज त भन्छु भन्छु - मैले मुठी कसेँ। बिस्तारै सुस्मिताको छेउ पुगेँ। लामो सास तानँे। बोल्न खोजेँ, आवाज घाँटीमै अल्भि्कयो - 'चुइँक्क' लुते कुकुर बिस्तारै चुइँकिएजस्तो आवाज आयो।
'के भनेको?' उसले मतिर हेरी। 
मेरो अनुहार रापिलो भयो। कानका लोती भत्भती जल्न थाले। म टाउको निहुराएर हिँडिरहेँ। थकाइ लागेछ, ऊ चाख्लो ढुंगामा बसी। म पनि उसकै छेउ टुसुक्क बसेँ। फेरि बोल्न खोजेँ, उही हाल। 
'तिमी जाऊ।' सुस्मिताले सुइँको पाइछ क्यारे। भनी, 'म पछि साथीहरूसँग आउँछु।'
म बोलिनँ। धुम्धुम्ती बसिरहेँ। 
माथितिरबाट खत्राक्क आवाज आयो। हेरेको त वसन्त झाडीमा लुको रैछ, मुला! उसले ठूलो ढुंगो उचालेर मतिर ताक्यो। मैले इसाराले 'भाग' भनेँ। ऊ मुक्का ताक्दै फेरि उकालोमा दगुर्‍यो। 
'सुस्.ि..।' लौ फेरि आवाज सुक्यो। 
'के भो आज तिम्लाई?' उसले छक्क पर्दै हेरी, 'तिमी जाऊ के। म पछि आउँछु।'
म अलि माथि उक्लिएँ। खरखर कापीमा लेखेँ - सुस्मिता... आई लभ यु। पाना ध्यार्र च्यातेँ। दुईतीन पल्ट पट्याएँ र तल झरेँ। सुस्मिता एउटा ढिस्कोमा बसेर स्कुलतिर हेरिहेकी थिई। स्कुल छुटेछ। 
म उसको छेउ ठिंग उभिएँ। 
उसले थाहा पाई। अँध्यारो अनुहार बनाएर मतिर हेरी। मेरो सात्तोपुत्लो उड्यो। 'फेरि किन आको?' उसले सोधी। मलाई कहाँबाट त्यत्रो शक्ति आयो, कुन्नि - मैले कागज ऊतिर बढाए। ऊ अत्तालिई, 'म लिन्नँ।'
म केही बोलिनँ। स्वाट्ट कागज उसको हातमा राखिदिएँ। उसले केही सोच्नै पाइन। अनि म हुरीझैं उकालोमा दगुरेँ - खुसी र डरले मलाई लखेटिरहेका थिए। 
माथि पुग्दा वसन्त देखियो। मलाई नै कुरिरहेको रैछ। ऊ पनि मसँगै दगुर्‍यो। दगुर्दा-दगुर्दै सोध्यो, 'भनिस्?'
'लेखेर दिएँ।' म जोडले कराएँ। 
राति अबेरसम्म वसन्त र म लोकेन्द्रको कोठामा बसिरह्यौं। सुस्मिताले बालाई भनी भने त बर्बादै हुन्छ, म त्यही डरमा थिएँ। लोकेन्द्रले पनि सबै कथा सुन्यो। र, ईष्यापूर्वक भन्यो, 'यसको त लभ पर्‍यो ... हामीले पनि गर्नुपर्‍यो।'
वसन्त हाँस्यो। 
भोलिपल्ट स्कुल जान पनि डर लाग्यो। सुस्मिताको विचार पनि बुझ्नु थियो, त्यसैले डराउँदै, लजाउँदै स्कुल पुगेँ। कक्षामा पनि ऊतिर फर्किएर हेर्न सकिनँ। एकपल्ट हेरेँ, ऊ टाउको निहुराएर बसिरहेकी थिई। साँच्चै, रिसाई कि के हो? 
म पनि टाउको निहुराएर बसिरहँे। 
स्कुल बिदा भो। लोकेन्द्र, वसन्त र म चाँडै हिँड्यौं। बाटोमा वसन्तले 'यसरी भागेर हुन्न ... सुस्मिताको कुरा बुझ' भनेर बाँकी उकालो चढ्नै दिएन। एउटा ढुंगाको पर्खालमाथि बसेर हामी कुर्न थाल्यो। 
केटीहरूको हुलमुलमा सुस्मिता पनि आई। भीडमा बैनी पनि थिई। मलाई झन् गाह्रो भो। म मलिन अनुहार लिएर बसिरहँे। सर्‍याक-सर्‍याक सुस्मिता नजिक आई। मेरो मुटु ढक्क फुल्यो।
फुत्त भागूँजस्तो पनि लाग्यो, तर सकिनँ। 
हेर्दाहेर्दै उसले गोजीबाट चिठी झिकी। ध्यार्र ध्यार्र च्याती। यता मेरो मुटु च्यातियो। त्यसमाथि उसले तीस रुपैयाँ गाभ्दै मतिर बढाई। मैले चुपचाप हात थापँे। 
अनि उसले भनी, 'अब नलेख्नू ... बुझ्यौ?'
मेरो रुद्रघन्टी बेस्मारी दुख्यो। 
सुस्मिता गई। मेरा आँखा टिलपिल भए। तैपनि रुन सकिनँ।
साँझ बैनीले सुनाएकी थिई - हिजो मैले चिठी दिएको सबैले तलतिरबाट देखेका रैछन्, त्यै भएर चिठी च्यातेकी हो कि? तर उसले फिर्ता दिएको तीस रुपैयाँले मलाई रन्थनायो। मैले बीस र दसको नोट च्यात्दै वसन्त र लोकेन्द्रका अगाडि 'कसम' खाएँ - अब आइन्दा म यो केटीसँग बोल्दिनँ।
त्यसको दुईचार दिनसम्म सुस्मिता स्कुलमा देखिइन। 
एकदिन बिहान उठेर भान्सा छिर्दा भान्सामै रैछ, ऊ त। उसले मलाई हेरेर हाँसेजस्तो गरी। मैले कसम खाएको थिएँ, त्यसैले बोलिनँ। यसरी ऊ कैयौं दिन बैनीसँग हाम्रो घरमा आइरही। जब म उसलाई देख्थेँ, भागिहाल्थेँ। 
एसएलसी आयो। परीक्षा सकियो। परीक्षा सकिएपछि सुस्मिता कतै देखिइन। म पास भएँ। म्याथ लिने प्रायः केटा गुल्टिए।
म काठमान्डु हिँडेँ। 
...

नौ वर्ष, छ महिनापछि, म असनको ठेलमठेलमा थेप्चिँदै, दोब्रिदै हिँडिरहेको थिएँ। कसैले बोलाएजस्तो लाग्यो। मैले पछाडि फर्केर हेरँे - कोही देखिनँ। म हिँड्नै लागेको थिएँ, कसैले दाहिने छेउबाट मेरो हात च्याप्प समायो। 
मैले देखेँ - मेरा अगाडि थिई, उही सुस्मिता ...
'सन्चै छौ?' ऊ हाँसी। 
म पनि हाँसेँमात्र। अचानकको भेटले म शब्दबिहीन भएको थिएँ, ऊसँगको पहिलो भेटमा झैं। ऊ कुर्तासुरुवालमा थिई। अलि मोटाइछ। हातमा सपिङब्याग झुन्डिएको थियो। 
'म त काठमान्डुमै छु नि।' ऊ मान्छेहरूबाट जोगिँदै उभिई, 'मेरो त बिहे भैसक्यो। अहिले बुद्धनगर बस्छु। स्कुलमा पढाउँछु। छोरो पनि छ।'
उसले एकै सासमा सुनाई। 
'पत्रिकामा तिम्रो नाम देखिरहन्छु। तिमीले त राम्रो काम गर्‍यौ नि।' उसले मलाई गढेर हेरी, 'तिमीलाई याद छ हैन ... पुराना कुरा?'
म अमिलो हाँसेँ। 
'ल, अब म जान्छु।' उसले भनी, 'म त यस्तै भएँ।'
ऊ अलि अगाडि बढी, एकछिन सोची र फर्केर हाँसी, 'ल, राम्रो प्रगति गर्दै जानू। मेरो उमेर पनि तिमीलाई नै लागोस्।'
ऊ हतारमा हिँडी र भीडमा हराई। पछाडिबाट आएको बाइकले बेस्मारी हर्न बजायो। म उसले उपहार दिएको उमेर जोगाउन पेटीतिर उक्लिएँ। 


THE END!

Read Full Discussion Thread for this article