Posted by: crazy_love February 16, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou

भाग-३,


लेख्नु पर्ने कुरा थुप्रै छ, लेख्ने भनेरै बस्छु घरि टाउको दुख्छ, घरि एलेर्जीले सताँउछ। लेखेर नि के नै हुन्छ र जस्तो लाग्छ, तर साथीभाइहरु मिठो मिठो कमेन्ट लेखिदिनु हुन्छ फेरि लेख्न मन लाग्छ। फुच्चे भन्छ के उसको प्रतिक्षा जिबन भन्दा लामो छ? कति छिट्टै उसले तिन अक्षरको प्रतिक्षा र तिन अक्षरको जिबनलाइ एकैनासले दाँज्छ। हो नि प्रतिक्षा नैं जिबन हो, तर खोइ त के को प्रतिक्षा हो यो? म आफै सोध्न थाल्छु। गुच्चाचोर ज्युले मैले कथा नैं लेख्न बिर्सेकी भन्दा मलाइ लाग्यो, मलाइ सम्झाउने साथीहरु पनि हुनुहुँदो रहेछ अथवा भनौँ मेरो कथालाइ सम्झिने शुभेच्छुकहरु पनि हुनु हुँदो रहेछ साझामा।


मीलीलाइ एउटा समस्या थियो। उ आफै निदाउन सक्दिन थी। पहिले पहिले उसले त्यस्तो केही भनिन, तर एक्दिन मैले उस्को सेतो सलक्क परेको हातमा केहि दागहरु देखेँ। उस्को नाडीमा धेरै चोटि ब्लेडले काटेको जस्तो दागहरु थियो। मलाइ प्रत्यक्ष सोध्न डर लाग्यो, तर मैले त्यस्तो दागहरु धेरै चोटि पहिले नि देखेको थिए। मलाइ अनुमान गर्न गार्हो थिएन। उसले आफै भनी बिरालोले कोतरेको भनेर, मैले शायद घरि घरि त्यही दागमा हेरेकोले होला। मलाइ बिरालोले कसरी कोतर्छ थाहा छैन, तर ब्लेड्ले चिराचिरा पर्दा ठ्याक्कै त्यस्तै दाग हुन्छ चाहि थाहा छ। मेरो कामको सिलसिलामा मैले त्यस्तो दागभित्र लुकेको धेरै पिडाहरु सुनेको छु। हामी सभ्य हुने प्रयासमा कसैलाइ केहि पनि असर नपुगोस् भनेर सोच्छौं। त्यसैले मैले पनि मीलीलाइ अरु केहि सोधिन। एकदिन उसले निद्राको औषधीहरु छोडेको जानकारी दी। मैले राम्रै गरेछौ भने। तर उस्लाइ निदाउन झन समस्या परेको रहेछ। त्यसपछि हाम्रो भेट भयेन। म बिदा हुँदा उ बिरामी थी। मैले फोनमा म अब जाँदैछु भन्दा उ फर्केर आयेपछि भेटुँला भन्दै थी। उसले फिल्ड ट्रिप सोचिछ, मैले अर्कै देशमा सरुवा भएर जाँदैछु भन्दा बल्ल उसले क्षमा मागी। अन्तिम समयमा राम्ररी भेट्न नपाउदा मलाइ नि दुख लाग्यो।


कोटुन केटा भएर जन्मियो, तर उसले जहिले पनि आफुलाइ केटिको रुपमा पायो। उस्लाइ केटीको जस्तै लुगा लाउन मन लाग्थ्यो, केटी जस्तै हाँस्न मन लाग्थ्यो, पाँइट हैन, जामा लाउन मन लाग्थ्यो। कति चोटि लुकि लुकि उसले आमाको लिप्स्टिक गाजल लगाँउथ्यो। स्कुलमा पनि केटिहरुको बाथरुम जान मन लाग्थ्यो। बिस्तारै ठुलो हुँदै जाँदा उसलाइ चिन्ता हुन्थ्यो। उ किन अरु केटा जस्तो छैन? केटाको शरिरमा केटी हुन मन लाग्ने कुराले कोटुन आफै चकित थियो। उसलाइ आफ्नो शरिर नैं परिबर्तन गर्ने चाहना भयो। त्यसैले उ एक दिन कसैलाइ नभनी शहर आयो र काम गर्न थाल्यो। उसलाइ शल्यक्रियाले शरीर परिबर्तन गर्ने रहर छ। उसको सपना छ, पैसा जम्मा गर्ने र बैँकक गएर अपरेशन गर्ने। तर उसको तलब राम्रो छैन। महङो अपरेशनको लागि उ पैसा जम्मा गर्न सक्दैन। उसको शरीर नै उसको आफ्नो हैन। यी सबै कुराले उसलाइ सधैं टाउको दुख्छ। उ सधैं बिरामी हुन्छ, मनको दुखाइ शरीरमा भोगीरहन्छ।


कोटुनको जस्तै सबैको आ-आफ्नो प्यारो दुखाइ हुन्छ, जुन मनबाट शुरु हुन्छ र बिस्तारै शारिरिक पीडामा परिणत हुन्छ। मेरो मन दुखेको छैन, तर मलाइ जाडोभरी रुघा लाग्छ। केहि हप्ताअघि देखि औषधी शुरु गरेको छु। गुगल गरेर हेर्दा यो औषधीको साइड इफेक्ट धेरै छैन। तर ३-४ वटा आत्महत्या देखिएको छ। अब मलाइ मानसिक रुपमा असर पर्न थालेको छ। मेरो यो बैरागी अनुभव कतै औषधीको कारण त हैन? यो नाथे मन पनि के के सोच्छ। लाखौँ, करौडौँ बिरामीहरुमा चार जनाले आत्महत्या गर्छन भने त्यसमा मैले चिन्ता गर्नु पर्ने कुरा के छ र? यो आर्थिक मन्दिमा हरेक दिन कति मानिसहरु आत्महत्याको प्रयास गर्छन्। जो सफल हुन्छन्, मुक्त हुन्छन् यस झमेलाबाट, जो हुँदैनन, अरु बिषेषण थपेर बाँच्छन्। "कायर" ,"हुतिहारा",
"असफल" के के।


यो घडीको सुइ पनि कति ढिला हो? हैन हैन, घडी हैन आज म फेरि ढिला भयेछु। काम भन्ने एउटा ठाँउ छ, जाँउ की नजाँउ हुन्छ, आधा घन्टा ढिला भैसकेछ। "सिक कल" गरुँ जस्तो लाग्छ। अस्तिको हप्ता पनि त्यस्तै गरेको, यो हप्ता नि गर्यो भने त निकाल्न बेर छैन। यहाँ जे पनि हुन सक्छ। म त्यस्तो जोखिम लिन सक्दिन जस्तो लाग्छ। बिल तिर्नु छ नि। जानै पर्छ, मुन्टिनै पर्छ। डलरले दास बनाएको छ, इयुरोले त्यस्तै गरेको छ रे स्वप्ना भन्थी। हामी खाली दासै नै छौ, आमाको सपनाको, बुबाको इक्ष्याको र सामाजिक अपेक्षाको। मेरो त्यस्तै भयो, माको लागि पढेँ, बुबाको लागि पढेँ, आफ्नो लागि पढ्ने बेलामा इक्ष्या मरिसकेको थियो। आज ग्याँस हाल्नु पर्छ, सकिनै लागेको छ। बरु पर्समा क्रेडिट कार्ड पो छ कि छैन हेर्नु पर्यो। पर्स खोल्छु, कार्ड रहेछ, अलिकति खुद्रा पैसा नि चाहिन्थ्यो त्यो रहेनछ। म पर्सको सबै पकेट खोज्छु। कहिँ छैन, अगाडी एउटा सानो पकेट छ जहाँ पैसा राख्न मिल्दैन, तर मैले उसको फोटो राखेको छु।


उसको यो फोटो मैले उसलाइ थाहा नदिकन ल्याएकी थिएँ। फोटोमा उ त्यस्तो घमन्डी देखिदैंन। नदेखिएर के भयो? उसमा अंह छ, म मा जिद्दी। हामी दुइ बिचको यो युद्ध बर्षौदेखि चलिरहेको थियो। अझै कम भएको छैन। के उसलाइ थाहा होला म उसको यो फोटो कहिले कहि भए पनि हेर्छु भनेर? के तिमी पनि मलाइ सम्झन्छौ? मेरो फोटो हेर्छौ? तिमी पहिले त्यस्तो थिएनौ त? कसरी परिबर्तन भयौ? म फोटोलाइ सोध्न थाल्छु। फोटो कहिले बोल्दैन। तर टेलिफोनको घन्टि बज्छ। के उसले फोन गरेको हो? मलाइ बिस्वास लाग्दैन। यो कस्तो संयोग? भ्वाइस मेलमा आज काममा आउने की नआउने भन्ने खरो सुपरभाइजरको स्वर सुनेपछि हत्त न पत्त भन्छु "आँउदैछु, ट्राफिक जाम छ, पन्ध्र मिनेटभित्र पुग्दैछु।"


क्रमश:


 


 

Last edited: 16-Feb-10 10:13 AM
Last edited: 21-Feb-10 05:24 AM
Read Full Discussion Thread for this article