“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou
भाग-२
"म आज अल्कोहोल पिँउदिन।" मैले स्पष्ट भने।
"आजै देखि छोड्ने कि? आज अल्कोहोल भोली मलाइ पनि छोड्न के बेर?" मीली अझै पनि बिस्वाश गरीरहेकी थिन मलाइ।
"हैन, छोड्ने कुरा कहाँबाट आयो? म त आज एकदिनको कुरा गरिरहेको छु। अल्कोहोलले छोडेपछि झन् डिप्रेस हुन्छु जस्तो लाग्छ। त्यसै पनि मन रित्तो रित्तो भएको छ।" मैले अलिकति बिस्त्रित बताए।
त्यसपछि बल्ल कोटुन खरबुजाको जुस लिन गयो। मीलीले जिनटोनिक "चियर्स" गरी मेरो पानीसङ। एउटा चुरोट सल्काइ, सोचमग्न भइ, अनि फेरि सोधी।
"साँच्चै के भइरहेको छ हँ?"
"खोइ? केहि भएको छैन। त्यतिकै दुख लाग्छ। जिबन खालि बाँच्नको लागि बाँचिएको जस्तो। केहि सार देख्दिन। केहि महत्व देख्दिन। झन यो पानीले त दिक्कै बनाउछ।" मैले टाढा टाढा हेर्दै भने।
मीलीले अर्को चुस्की लि, "हुँ--" गरी अनि फेरि भनी "जिबन बाँच्नकै लागि हो साथी। आफ्नो परिवार, देश र साथीहरुसङ टाढा आएर हामी जे गर्दैछौ त्यो पनि बाँच्नकै लागि हो। मर्नलाइ सजिलो छैन होला तर बाँच्नलाइ पनि कम गार्हो छैन।"
कहिलेकहिँ मीली सानो सानो कुरा पनि सामान्य तरीकाले भन्छे। तर उ त्यति गम्भिर जस्तो लाग्दैन मलाइ कहिले पनि।
"मर्नलाइ सजिलो छैन रे। फ्यानमा पासो लगाएर झुन्डियो भने एकै छिनमा सुँइकिन्छ। मुसा मार्ने दबाइ खायो भने पनि खत्तम भइन्छ। मर्नलाइ एक्दम सजिलो छ जस्तो लाग्छ मलाइ।" मैले सुनेको जति भने।
"कोशिश गर्ने कि?" मीलीले जिस्काइ।
"कहिलेकहि मलाइ कोठाको पंखामा झुन्डिउ जस्तो पनि लाग्छ।" मैले नि मीलीलाइ धम्काए।
"ए, फ्यान भन्दा गर्हुङो तौल भएपछि झुन्डिनु अघि नैं फ्यान भाँचिन्छ। के कुरा गरेकी?" उ हाँसी।
म चुप लागे। मीली हरेक कुरालाइ त्यसरी नैं लिन्छे। मलाइ उ सङ कुरा गर्नु बेकार लाग्छ।
"आजकाल कुन किताब पढ्दै छौ?" अचानक मीलीले सोध्छे।
"छैन, कुनै पनि" म एकछिन सम्झिन्छु र भन्छु "अस्ति एउटा पढ्दै थिँए, बोर लाग्यो र आधीमै रोकेँ।"
"घरमा फोन गर्दैछौ?" मीली कारणहरु खोतल्न चाहन्छे।
"छैन।" छोटो उत्तर दिन्छु।
"योगा गर्दैछौ?" मीली शायद मेरो अन्तर्बार्ता लिदँइछे।
"छैन।" कति बोल्नु पर्ने यो केटीलाइ मन मनमा भन्छु, तर मुखले केहि बोल्दिन।
पानी अरु बाक्लो पर्न थालेको छ। चिसो पनि बढ्दैछ। पानीको फोकाहरु गोलो गोलो गरी फुट्दैछन्, म जिबनलाइ त्यही फोका जस्तै फुटेको देख्छु। अन्धकार पनि बढेको छ। मीली चुप छे। उ चुरोट तान्दै लामो लामो स्वाससङै धुवाँ फ्याँक्दै छे। मलाइ त्यो चुरोटको धुवाँ नभएर मीलीको मुटु जलेर आएको धुवाँ जस्तो लाग्छ।
धुवाँ हेर्दै म पशुपतिको आर्यघाट सम्झिन पुग्छु, त्यस्तै बाक्लो बाक्लो धुवाँहरु एक आपसमा प्रतिस्पर्धा गर्दै उडिरहेका। जलिरहेका लाशहरु, जलाउने ठाउँ नपाएर कुरिरहेका निर्जिब मान्छेका शरीरहरु। क्रन्दन गरिरहेका महिलाहरु, रुन नसकेका तर आँसु लुकाउन नसकेका पुरुषहरु, कहिले नफर्किने गरी गएका अभिभाबकलाइ बिदा भन्न नसकेका बालकहरु। बागमतीको दुर्गन्ध र त्यही सेलाउन राखिएका अहिले बोलुला झैं गर्ने पार्थिब शरीरहरु। मेरो टाउको भारी हुन्छ, म मीलीलाइ हेर्न खोज्छु तर उ र म बिच धुवाँले छेकेको छ। सास फेर्न गार्हो हुन्छ। म मीलीलाइ बोलाउछु, उ बोल्दिन। म जुरुक्क उठ्छु र चारैतिर हेर्छु। मीली गायब छे, हामी बसेको ठाउँ परिबर्तन हुँदैछ। मेच र कुर्सीहरुको ठाँउमा बाक्लो घाँस उम्रिरहेका छन्। हामी पसेको रेस्टुराँ कालो डरलाग्दो जङल भैरहेको छ। कोटुन फर्केर आएन। वरिपरि ठुलो ठुलो रुखहरु देखिन्छन्। कहिँ कतै मान्छे देखिदैंन। धुवाँले गर्दा म निस्सासिरहेकी छु। मलाइ मेरो बाटो थाहा छैन। म हिँड्न खोज्छु, सक्दिन। घिस्रिएर अलि पर पुग्छु, अझै मीली देख्दिन न त कोटुन नैँ आँउछ। म अझै चार हातखुट्टा घिसारेर बामे सर्दैछु। मेरो पछि पछि कोहि "सरक, सरक" हिंड्दै मलाइ पछ्याउदै आँउदैछ। म अलि छिटो छिटो घिस्रिदैंछु। मुटु जोडजोडले धडकिदैं छ। मलाइ पछ्याउने "पदचाप" नजिकै आँउदैछ, शायद त्यो पिशाच होला वा भयंकर डरलाग्दो एउटा आँखा भएको राक्षस। त्यसले मलाइ उचालेर पछार्ला, हुन सक्छ मेरो घाँटि निचोरेर मार्ला, मेरो रगत पिउला। ममा अरु घस्रिने तागत छैन, बाटोहरु कतै छैन। अब म यही जंगलमा मर्ने भए। कसैले मेरो लाश पनि नभेटाउने भए। केहि नलागेपछि म जोडले चिच्याँउछु "आsssssssssssमा।"
मेरो मुटु अझै पनि बेसरी धड्किदैँ छ, सास छिटो छिटो बढिरहेको छ। सिरकभित्र मेरो शरीर खुम्चिएको छ, मेरो एउटा हातलाइ आफ्नै शरीरले थिचेको छ। मेरो कानमा आफ्नै केशहरु चलेको आवाज सुनिएको छ। म झ्यालबाहिर हेर्छु, झलमल्ल घाम लागेको छ। घाँटि मुख सुकेर प्याक प्याक भएको छ। म पानी पिउन जान्छु। दिँउसै कस्तो डरलाग्दो सपना देखियो। एकछिन सोच्छु। मीलीलाइ धेरैपछि सपनामा देखेको, कतै इ-मेल पठाइकी भनेर चेक गर्छु। इन्बक्समा नयाँ मेल छैन। मैले मीलीलाइ चाइना छोडेपछि ४-५ वटा मेल लेखिसके, तर उसले मलाइ अझै लेखेकी छैन। कतै मीली यो संसारबाट बिदा त भइ सकिन? त्यस्तो त नहुनु पर्ने। म फेरि सोच्न थाल्छु।
क्रमश: