Posted by: fucheketo February 7, 2010
हिँडेर छोडेको बाटो !!!
Login in to Rate this Post:     0       ?        
मैले चेतनलाई कोर्ने प्रयास गरेँ । मेरो कोराई अमुर्त नै होला किनकि मैले उसलाई देखेको छैन , साथी हरु मात्र गएका थिए रचना र चेतनको बिहेमा ! मेरो नजरबाट त चेतलाई कसरी पो हेरौँ खोई एउटा विजयी प्रतिस्पर्धि थियो नै भनौँ होला , जसले दाउमा मेरो जीवन जित्यो , मेरो सार जित्यो मेरो आत्मा जित्यो , मेरो विश्वास जित्यो मलाई खोक्रो बनायो एउटा निश्चित कालखण्डभरिलाई मात्र भएपनि ...................तर  रचनाको नजरमा मैले बुझेसम्म उसको परिवारको तर्फ बाट भएको भुल थियो चेतन ! मैले चेतन सँग आफुलाई दाँज्ने प्रयास गरेँ कम्तिमा रचनाले मलाई चुनेकी भए र त्यो भुल नै भएको भए पनि त्यो उसको परिवारको हैन आफ्नो भुल हुने थियो । अरुको भुल को परिणाम भोग्नु भन्दा आफ्नो भुलको परिणाम भोग्न अलि न्याय संगत हुन्छ होला । यदि म पनि भुल नै हुन्थेँ भने !

के उ हरेक दिन जति जति खेर  उ चेतन सँग रिसाउँछे , उसका र चेतनका कुराहरु मिल्दैनन् ,चेतन एउटा मायाको गहिराहिमा पुग्न सक्दैन , वेवास्ता गरेर एउटा सुन्दर मुर्तिलाई उ अरु नै तिर मन्दिर खोज्दै भौतारिन्छ उसले मलाई सम्झिन्छे त ?

मेरो अर्को मन मलाई कोट्याई कोट्याई भनिरह्यो भइगो छोडदे यी कुराहरु अब यी कुराको कुनै औचित्य छैन । यी कुराहरु किन , कसरी का दोसाँध मात्र हुन जसको कुनै परिणाम छैन । जीवन लामो छ त यो सोच गन्तब्य कहाँ छ ति भनेका बाटाका ठेसहरु हुन। मेरो कुन मन जित्दैछ यो युद्दमा मैले पत्ता लगाउन सकिन ।

“ओ इन्जिनियर साप निदाको ?” 
उसका हातले मेरो हात झक्झक्याउँदै उसले मलाई बोलाई । कस्ता दिनहरु आएका छन् त्यो स्पर्श मैले खोजेको पाएको छु तर त्यहि स्पर्श पनि त पराई भएको छ । उसको बोलि सामान्य अवस्थामा फर्किसकेको थियो । हुन त ज्वालामुखि उसले पनि दबाएकि रहिछ । सँधै चुलबुले नै रहने भइ पनि त मौनता उ सँग पनि त रहेछ ।

“छैन ! तिमीले सुत्न दिए पो ! आई पोड खोसेरै कराउन थाल्यौ ! कहाँ आइपुग्यो ?”म निदाएको थिइन , तर निदाएको स्वांग पार्दै आँखा मिच्दै भनेँ ।
“लालबन्दि को छेउछाउ होला !”
उसले बाहिरका उखुका बोट नियाल्दै भनी । एक अर्काको प्रतिस्पर्धामा ऊभिएका उखुका बोटहरु त भन्दा मै अग्लो तँ भन्दा मै रसिलो भनेर गजक्क परेजस्तो । मान्छे पनि त त्यस्तै हो नि , आफ्नै बारेमा मात्र त सोच्छ यति वर्ष सम्म मैले रचनालाई सम्झिदा उसले मलाई रुवाई भनेर न सम्झे । उसको अवस्था चेतन सँग कस्तो होला भनेर बुझ्न मन किन लागेन । मैले किन आफ्नो मनको अँध्यारो कोठामा आफुलाई थुने जहाँबाट मैले बाहिरको उज्यालो देखिन !

“यो लेज मलाई मात्र भनेर ल्याएको ?” उसले प्याकेट खोलेकी रहिनछ ।
“ म केटाकेटीको मनपर्ने कुराहरु खान्न !” मैले जिस्क्याएँ ।
“मलाइ पनि थाहा छ , एउटौ समोसामा तिन तिन चोटी तरकारी थपेर खाने को को थिए !” उसले मेरो बानी मलाई नै सम्झाई ।समोसा पसलमा समोसा सँग तरकारी फ्रि मा पाइन्थ्यो तरकारी धेर खाएर अघाउने हाम्रो होड हुन्थ्यो !
“मलाई पनि थाहा छ , कसलाई लाईब्रेरी मै लेज पुर्याउनु पर्थ्यो !” आखिर मैले पनि त उसका सम्झेका कुराहरु सुनाउनु छ ।
“एउटा गित राम्रो छैन तिम्रो आइपोडमा !”    उसले रिस पोखे जस्तो गरी ! तर यो वास्तवमा प्रसंग बदल्न चाहेकी हो !
“छानिदिने मान्छे पनि त छैनन् , विरही भको छु नि त !” म हाँसे
“कहिले काहिँ बिरही भएकै ठिक हो जस्तो लाग्छ मनोज !” उसले फेरि कुरा घुमाई !

बाहिर घाम कते हराएको थियो । चिसो सिरेटो छिरे जस्तो भयो । तराई मा शितलहर चलेको छ । बाहिर धुवाँमा मान्छे ले भुस तापिरहेको प्रशस्त देखियो । पहाड को भन्दा तिखो हुन्छ रे तराइ को जाडो , कति खेर मुटु छेड्छ थाहै हुन्न रे !  उसले झ्याल तानी !

कहिलेकाहिँ कुराकानीमा मौनता प्रयोग गर्नुपर्छ । उ मौन भएर मलाई सोधिरहेन्छे .....
“आखिर किन ..... छ वर्ष म आउँदिन भन्ने थाहा हुँदा हुँदै पर्खिनु पर्छ र ?”
 म पनि मौन भएरै जवाफ फर्काउँछु ।
“ जरुरि त थिएन , तिमीलाइ पर्खिँदा घडि मात्र हेर्न विर्सेको हो, आज तिमी आयौ एउटा उज्यालो किरण छिर्यो , बिउँझेको छु पर्खाई बाट , बल्ल रितु हरु फेरिएको थाहा भो बल्ल वर्षहरु गएको थाहा भो !”
उ मौनतामा नै मेरो उत्तर मा चित्त बुझाउँछे ।

मैले घडि हेरेँ पाँच बजीसकेको थियो । अब करिव एक घण्टा पनि लाग्दैन होला बिराटनगर पुग्न  !मेरो मोबायल को घण्टि बज्यो !
“मेरो साथि छ , म घर पुर्याएर फर्किन्छु !!!!” मैले उत्तर फर्काएँ ।
उसले मलाई हेरीरही ,
“तिमीले मलाई घर पुर्याई दिन्छु भनेको ??”
“अँ किन ?”
“भाइ आउँछु भनेको छ , बसपार्क मा पर्दैन !” फेरि उसले मेरो आग्रह टारी !!!!
“ठिकै छ भाइ आउन्जेल पर्खिदिउँला नि त !”
“बिराटनगर मेरो पनि त हो , कति आत्तिएको , म पुगि हाल्छु नि !!! बिहेको घर तिमीले चाँडो पुग्नु पर्छ !” उसले आफ्नो रिजेक्सन को औचित्य देखाई !
“मेरो एउटा आग्रह त मानीदेउ !” मलाई आजको नै  भए पनि एउटा यात्रा उ सँग पुरा गर्नु छ । मैले उसका आँखा नियाले ! यसपालि उसले केहि बोलिन !



बिस्तारै बस बसपार्क छिर्यो । सारथिले आजको ड्युटि राम्ररी निभाएको थियो। अब उ बेलुका कतै लजमा रात बिताउने होला !!! बिराटनगरको बसपार्क छेउछाउका लजका पहेँला बत्तिहरु , केहि अँध्यारा ठाउँहरु मिश्रित ,समावेशि भएर बसेको थियो !रिक्सावाला हरुको चहलपहल यथावत थियो !

“भाइ आउन कति बेर लाग्छ ?”
“दश मिनट होला !!” उसले झोल सिमेन्टको प्यारापेटमा राख्दै भनी
“मनोज !” उसले मलाई बोलाई , म उसको नजिकै गएँ । मेरा पाइला उसको धेरै नजिकिएको थाहा भए पनि मैले पाइला रोकिन !!!
उसले मलाई अंगालो मारेर सुस्तरि सोधि ,
“मैले भनेको मान्छ्यौ ?”
मैले टाउको हल्लाएँ
“तिमी बिहे गर !”
“केटी खोज्ने जीम्मा मैले तिमीलाइ दिएको हैन ? तिमीजस्तै !!!” मेरो आवाज कामेको थियो । शायद आँशुको छायाँ मेरो आवाजमा पर्दै थियो !!!
“म भन्दा नि राम्री , यति राम्री कि तिमीले मलाइ पनि बिर्सिनेछौ !!!!” उसको पनि आवाक काम्दै थियो छायाँ कै कारणले होला

समाप्त !!!!



Read Full Discussion Thread for this article