Posted by: fucheketo February 3, 2010
हिँडेर छोडेको बाटो !!!
Login in to Rate this Post:     0       ?        
कलंकीमा आज पनि बिहान घुइँचो थियो । कलंकी सबैभन्दा चाँडो जाग्ने ठाउँ
होला काठमाण्डौको वा भनौँ कहिल्यै नसुत्ने । गाडीहरु ट्राफिक जाममा परेर
बाटोको चौडाईलाई शंकाको घेरामा पारिदिन्छन् । घडी ब्यापारी समय बेच्दैथियो
बिहान बिहानै ! चियाको बाफले कलंकीलाई पक्कै पनि अरु ठाउँ हेरी अली तातो
बनाउँछन् होला । छेउछाउ मा चुरोट खाएका मान्छेहरुले मेरो तलतल बढाए । मैले
गोजीबाट सुकुमेल निकालेर चबाएँ आजकल चुरोट छोड्ने प्रयास गर्दैछु । कलंकी
आजको मेरो बाध्यता थियो ।चिप फेयर मा प्लेनको टिकट भेट्टाए पनि दुइ दिन
मौसमले गर्दा नउडेपछि बहिनीको बिहे भ्याउनलाई कलंकी को एयरपोर्ट रोज्नै
पर्ने भयो ।


बस भित्र आजको दिन राम्ररी जाओस् भनेर शिवजीको फोटोमा धुप जलाएछन् । म
भित्र छिर्दा धुपको बासना ढोका सम्म थियो । मन नलागी नलागी माथि ब्याग
राख्दै सिट हेरेँ । खोल थोरै च्यातिएको थियो । कुनै सडकछाप प्रेमीले दिपक
लभ्स रोश्नी लेखेर मुटुमा तिरको नक्सा बनाएर छोडेछ ।छेवैमा अरू कुनैले
दिपक र रोश्नी यस्ता होलान् भनेर चित्र कोरिदिएछ । त्यहाँ लेख्नुको सट्टा
रोश्नीलाई गएर भनेको भए केहि भइ पो हाल्थ्यो की , मनमनै सोचेँ । घडी हेरेँ
बिहानको पाँच चालिस ,थोरै थोरै उज्यालो हुन थालेको थियो । काठमाण्डौ उठ्ने
तैयारीमा थियो ,आज उठिसक्दा मैले उसलाई छोडिसकेको हुनेछु ।


“तिमी मनोज हैन ?” आवाज मैले चिने चिने जस्तो लाग्यो ।मैले पछि फर्केर
राम्ररी नियालेँ ।
 रातो कुर्ता , कलेजी स्वेटर माथि पस्मिनाको शल ! उसले
अनुहारमा मास्क पनि लगाएकी थिइ ।कति चलेको मास्क , मान्छे किन मुहार छोप्न
चाहन्छन् ? मलाई छोपेका मुहारहरु मन पर्दैनन् ,बिशेषत राम्री केटीको !

मैले टाउको हल्लाएँ ।

“आम्मामा कस्तो मोटाको !” उसले हार्दिकता पोखी !

उ ठिक थिइ । इन्जिनियरिंग सिध्याएपछि म अचानक ह्वात्त मोटाएको छु ।अब त बिहान बिहान हिँड्नुपर्ने भइसकेको छ आफ्नो वेट घटाउनलाई !

म मात्र मुस्काए !मलाई त्यसको जवाफ के दिने थाहा छैन !

“मलाई चिनेनौ कि के हो , म रचना के ,आइ.एस.सी सँगै पढेको हैन ?”

उ यसपाली भने गलत थीई , उसले बोल्ने बित्तिकै मैले उसलाई चिनीसकेको थिएँ ।
उसको आवाज मात्र काफि थियो मैले उसलाई चिन्नलाई उसको मुहार मेरो मनसपटल मा
नमेटिने गरी छापिएको छ ।

मैले नकार्दै टाउको हल्लाएँ


“अनी के नचिने जस्तै ट्वाल ट्वाल हेरेको त?”

“भेटिन्छौ भन्ने विश्वास थिएन !” मैले बिस्तारै भनेँ

“मलाई पनि ,कुन सिट हो ?”

“यहि हो !” मैले च्यातिएको खोल ,दिपक रोश्नीको अमुर्त कला तिर औँला तेर्स्याउँदै जवाफ फर्काएँ

“म तिन सिट अगाडी छु !”

आईएससि जस्तै , मैले मनमनैँ सोचेँ । पछिको बेन्चबाट मात्र उसको कालो लामो
कपाल देखिन्थ्यो ।त्यो पनि ब्ल्याक बोर्ड बाट उतिर मन डोर्याउनलाई
पर्याप्त थियो !

“कहाँ छौ त आजकल ? के गर्दैछौ ?” धेरै पछी भेट्दा को पहिलो प्रश्न म पनि त अपवाद थिइन


“अस्ट्रेलिया ! एक हफ्ता अघि नेपाल आएको , घर जाने भनेको पनि नेपालमाँ
प्लेन पनि उड्न छाडेछ !अनि बसमैँ भए पनि जान्छु भनेर हिँडेको !”

उसको बिडम्बना पनि मेरो जस्तै , बिराटनगरको प्लेन उडेन !!!आज विडम्बना हरु
जुधेछन् । छुट्टिएका मोडहरु मन नलागी नलागि फेरि जुधेछन् । मलाई थाहा छ
दोबाटो त्यति टाढा छैन ।



घर भनेर उसले माइतलाई भनेकी होला !उसको बुढोको त काठमाण्डौ नै हो जस्तो
लाग्छ । बिहे काठमाण्डौ मा नै भएको थियो ।करिब चार वर्ष अघि । साथीहरु
गएका थीए । आएर तँ जति ह्यान्सम त थिएन रचनाको बुढो भनेर सान्त्वना पनि
दिए ।मेरो मनले त्यो अधुरो अध्याय समाप्त भएको घोषणा गर्यो । कहिले काहिँ
धेरै खाएर लागेपछि बाहेक उसको कुरा आउन छाड्यो । आज अचानक उ फेरि भेटिई !

“एक्लै हिँडेको घर ?”

“अँ चेतनको थोरै काम छ रे काठमाण्डौमा ! “ उ रहेनछ बसमा ।कसरी छोड्यो
बुढीलाई ,यस्ति राम्री तै पनि ! यो भन्दा इम्पोर्टेन्ट काम हुन्छ कुनै ?
मेरो लागि त हुन्न कम से कम !

“चिया खाने ?” मैले प्रसंग बदलेँ ।

“गाडी हिँड्न टाइम धेरै छैन ! छोडदेउ !” उसले हाँस्दै मेरो आग्रह टार्दी ।
उ सँधै यस्तै गर्छे । उसको अनुहारमा मुस्कान यथावत रहन्छ । अनि मास्क
लगाउँदा पनि उसको मुस्कान थाहा हुन्छ ।

“म गए है बस्न ! आउच !” गाडी घ्यार घ्यार गर्न थालेको थियो । आउने जानेको
भिँड थियो । उसलाई पछाडी जाने कसैले थोरै ढकेल्यो शायद । फेरि धेरै पछि
सपनामा बाहेक मैले उसलाई यदि नजिकै बाट देखेँ , भन्न मन लाग्यो !


“एक चोटी मास्क हटाउन मिल्छ ?” तर मैले आफ्ना शब्दहरु रोकेँ !

उ आफ्नो सिट तिर लागि , मैले उसलाई हेरीरहेँ उसको कपाल थोरै छोटो लाग्यो
पहिलेको भन्दा ,काटिछे । म भएको भए उसलाई काट्न दिन्नथेँ ।उसलाई लामो कपाल
सारै नै सुहाउँछ । समय कति चाँडै बित्छ ! छ वर्ष , छरिएछन् यादहरु आज उ
सँग को भेट धागो बन्यो छरिएका यादहरुलाई जोडिदिने ।


गाडी हिडिसकेछ । थाहै भएन । अचानक थानकोट को चेकपोष्ट देखेपछि पो झस्यांग
भएँ ।तल सम्म गाडीहरु गोलघुम्ति घुमिरहेका थिए । मैले आफ्नो आइपोड झिकेँ ।
कानमा एयरफोन घुसारेँ , तर म अरु आवाज चाहन्न म आफैमा थोरै हराउन चाहन्छु
मेरो मनले शायद आज धेरै कुरा म सँग सोध्नेछ । म त्यसका उत्तरहरु चाहन्छु !
उसलाई नियाल्न नसकिने रहेछ ।तिन सिट पछि बाट !


“ चिया खाजा खाउँ है खाना ढिलो हुन सक्छ !” कसैले बाहिर बाट आवाज दियो !
उसले चिया खान बोलाएको हो वा खाना ढिलो हुन्छ भनेर तर्साएको मैले पत्ता
लगाउन सकिन । मलाई त्यहाँको चिया मिठो लाग्दैन तर पनि म बाहिर निस्के , म
तिन सिट अघी बसेकी रचनाको अनुहार हेर्न चाहन्छु ।


उ बाहिर निस्कन खोज्दैथिइ , मास्क फुकालिछे । मेरो मनको आवाज सुनीछे भनौँ
।उसमा केहि परिवर्तन थिएन उत्ति नै राम्री मात्र त्यो सिउँदो रातो भएको छ ।

“मलाई सारै अल्छि लागिसक्यो त्यो तिम्रो सिटमा बसेको मान्छे यहाँ सर्छ कि सोध न ! गफ त गर्न पाइन्थ्यो !”


मैले आफ्नो सिट हेरेँ भनौँ भनेर । पछि सम्झे हिँड्ने बेलामा त्यो त खाली
नै थियो साँची । आफु भित्र यति हराएछु कि छेउको सिट याद भएनछ ।







Read Full Discussion Thread for this article