Posted by: Birkhe_Maila January 12, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

लोल लहरे!


 


"बाँssssss!"


गोठमा बाँधेको गाई र भैँसि कराएको करायै थिए।


" हन कति कराऊन सक्छ यो डाम्नु!"


जिम्माल मनमनै फत्फताउँदै अँध्यारैमा ओछ्यानबाट उठे र निद्राको सुरमा लड्खडाउँदै ढोकातिर हिँडे।


" ए बुडा गोठमा चितुवा पसो कि के हो हँ?"


जिम्मालनीले हाई गर्दै सोधिन्।


"हँ?"


चितुवाको कुरा सुनेर जिम्मालको सातो गयो। ढोका खोल्न हात बढाएका मात्रै थिए डराएर फेरि फरक्क फर्किए र छामछामछुमछुम पार्दै सन्दुक खोल्न तिर लागे।


"ए बुडा बाइर ग'र हेर भनो क्यार्न सन्दुक सुमसुमा छौ फेरि?"


जिम्मालनी फेरि बोलिन्।


"तेरो बाजे चित्वा रेछ भन्देखुन तेरो चुरा फुट्छ कि भनेर टरच खोज्न लाग्या नि!"


जिम्मालले यति भन्दै छामेर टर्च निकाले र सिधा उभिएर टर्च बाल्न खोजे, टर्च बलेन।


"यसको टाउको अइले नै बिउरिनु पर्या टरचलाई!"


जिम्माल फेरि भुनभुनाउन थाले।


"गुलुप बिउर्या छ बुडो कैले साउकाँटि किनेर ल्याऊ भन्या सुनेनौ, क्यार्छौ त नि अब?"


बुढि फेरि फत्फताईन्।


बाहिर गाइ र भैँसि अझै कराएको करायै थिए। बुढाले केहि सोचे र भान्सातिर गएर छामछुम पार्दै सलाई कोरे र नजिकै राखेको पानस बाले। एक हातले पानस समाउँदै बुढाले घुरुक्क गरेर ढोका खोले र गोठतिर पाइला बढाए।


"बुढो आयो जस्तो छ, छोड मलाई!"


कुनै स्त्रीको साउति मारेको जस्तो स्वर बुढाको कानमा पर्यो।


"बाँssss!"


गाई फेरि करायो!


बुढा पानसको उज्यालोमा गोठतिर हेर्ने कोशिस गर्दै थिए।


सररर हावाको एउटा झोका आएर गयो। पानसको बत्ति हल्लियो र निभ्यो! बत्ति निभ्नु भन्दा अगाडि बुढाले एकै समयमा कुनै तरुनी फुत्त गोठबाट तल कान्लामा हाम्फालेको देखे तर चिन्न सकेनन्।  गोबरको तिव्र गन्ध छोड्दै भाग्दा झन्डै लडेको लहरेलाई भने बुढाले बत्ति निभ्नुभन्दा अगाडि प्रश्टै संग चिने!

 

Last edited: 12-Jan-10 11:08 AM
Read Full Discussion Thread for this article