Posted by: Birkhe_Maila December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
कुरो धेरै बर्ख अगाडिको हो। ज्यानमा बल र मनमा तरंग ब्यान उठे देखुन राति नसुतेसम्म उस्तै थ्यो। बाउको कटाक्ष र आमाले पका'को भात टिप्नासाथ हिनिन्थ्यो सोह्खुट्टे, छेत्रपाटी डुल्न। एउटा हल्वाई पसले थ्यो, छेत्रपाटीबाट थँहिटी जाँदा देब्रेपट्टि साईडमा मन्दीर र पाटीको ठ्याक्कै अगाडि। त्यहाँको पेडा विश्वप्रसिद्ध लाग्थ्यो, नलागोस पनि किन त्यतिबेला त्यहि बिश्व थियो, उत्तरमा नयाँबजार चक्रपथ सम्म, पूर्वमा केशरमहल सम्म (हैन हैन बिशालनगर भन्दा नि पूर्व धुमबाराही भन्दा नि पूर्व कपन सम्म, नत्र दीपले मारिहाल्छन नि), पश्चिममा शोभाभगवती सम्म र दख्खिनमा चाहिँ अलि पर जैसिदेवल सम्म (नत्र ठूल्दाईले मार्छन फेरि)। त्यता पैसो नभए नि पेडा किन्न गइन्थ्यो, एउटिलाई हेर्न। दिनदिनै ४ बजेतिर पेडा किन्न आउँथि प्राय: पँहेलो कुर्ता सुरुवालमा। दिनदिनै देख्दा तिनको कति जोर बाहिर हिँड्दा लाउने लुगा छ भन्ने सम्म थाहा पाई सकिएको थियो तर तिनकै एकजोर आँखाले यो थुतुनो मजाले हेर्या चाहिँ कहिले थाहा भएन। दिनदिनैको परिश्रम तर चाहिएको के थियो थाहा थिएन, एक पटक साइत जुर्यो, पेडा पसलमै। एक पाउ पेडा जोखाउँदै थिएँ, उनि पनि त्यहिँ थिइन् पसलेले जोखेको पेडाको पोको उसलाई दिने कि मलाई दिने झुक्किएछ, यहि झुक्कयाईमा एक पटकमै दुईकुरो पाईयो, उनको एक जोर आँखाको मुटुम्म छुने हेराई र उनको देब्रे हत्केलाको कान्छि औँला निर मेरो दाहिने हत्केलाको कान्छि औँलानिरको स्पर्श! त्यसपछि उनि पेडा लिएर गइन, म पनि उडेको चङ्गा जस्तो मन लिएर हिँडे। दिन बिते वर्ष बिते पछि एक दुई पटक देखियो र बिस्तारै पेडा पसल जाने शिलशिला पनि छुट्यो। तिनै सुन्दरीलाई समर्पीत यो मेरो दोश्रो राउन्डको अफिसियल जदौ!
Read Full Discussion Thread for this article