Posted by: Rahuldai December 9, 2009
माँ र द्यो माँ हरु !
Login in to Rate this Post:     0       ?        

माँ र द्योमाँहरु


भाग ३


त्यस बिहानको दाल तरकारी पनि अपत्यारिलो ढंगले खैरो र तर्रो भए पछी माँ लाई शंका मात्र होइन यकिन भैसकेको थियो - यो कुनै दुष्ट आत्मको दुष्ट्याइ हो भनेर । टिप्पणी कर्ता मित्रहरुले भने जस्तै फलामे कराइ को कमाल हो कि भनेर पनि हेर्यौं । हैन रहेछ, प्रेशर कुकुर को दाल समेत कालो खैरो।


त्यही दिन साँझ म र माँ द्योमाँ को शरण मा पुग्यौं । सधैं बिहान बिहान आउने आमा देखेर द्यो माँ पनि चकित हुनु भयो । साँझ भाकोले द्यो माँ  कोमा कोइ थिएन । माँले घरमा देखिएको अचम्मको घट्नाको बिस्तार लगाउनु भयो।



आँखा चिम्लेर आसनमा बिराजमान द्योमाँले भन्दै जानु भयो -


"दुष्टको आँखा लागेको हो । केही दिन अगाडि परिचित् तर आवतजावत नभेको बुढी एक जना घरमा आएको हुनु पर्छ । त्यो बुढी आइमाइ बसेको कोठामा, बसेको ठाउंको मुनितिर एकमुठी चामल छोडेर गएको हुनु पर्छ। एक गेडा पनि न छुटिने गरी टिप्नु र बिष्णुमती मा लगेर फाल्नु। फेरी पुरानै स्वाद र रंगको खाना पाक्छ । "


यती भन्दै द्योमाँले धूप फुकेर दिनु भयो । माँले केही रुपैया चाढाइ द्यो माँलाई ढोग गरी त्यो दुष्टबाट मुक्ती दिलाई दिनुस् भनेर आग्रह गर्नु भयो।


"केही बिगार गर्न भ्याएको छैन त्यसले, अहिले नै गएर फ्याकी दिनु , सब ठीक हुन्छ ।"


 
हस त भन्दै हामी फर्कियौं ।


फर्किने क्रममा मैले माँलाई सोधें , को आएको थियो हाम्रो घरमा ? किन आएको ? त्यसको हामीले के बिगारएका छौं ?


को भन्दा नि अहिले त्यो चामल फ्याक्नु जरुरी थियो र आमाले भन्नु भयो - "यो सबै पछी भनौला अहिले छिटो घर पुग्नुछ। छिटो हिड ।"


 मैले पनि कर गर्न मनाशिव मानिन। बाटोमा रिक्सा भेटियो, ३ रुपैयामा राजी भयो । त्यती बेला हाम्रो हैसियत रिक्सा चढ्न सक्ने भैसकेको थियो । ५-७ मिनेट को बाटोभरी म सोच्दै गएं ।


बिरामी बुवा, दुई छाक भात को जोगार गर्न धौ धौ को अवस्थामा बाट भर्खर पार लागेको । हाम्रो शत्रु को हुन सक्ला? हामीले कसैको बिगार गरेका छैनौ। कसैको सम्पत्ति पचाएका थिएनौ। उल्टो बुवाले अंश नै लिन्न भनेर घर छोडेर आउनु भएको । दुखियारी को घरमा दु:ख दिन कसलाई रहर जागेको होला । आदी इत्यादी ।


घर पुग्ने बित्तिकै माँ मेरै कोठामा लाग्नु भयो । यही बसेकी थिइ , त्यो बोक्सी भनी चकटी झिकेर हेर्नु भयो । केही थिएन ।



चकटी मुनी सतरंजा ( अहिले भाषामा कार्पेट जस्तो सुकुलमाथि ओछ्याउने ), त्यस मुनी सुकुल थियो । माँले सतरंजा उठाइ हेर्नु भयो। सुकुलको चाउरे अनुहारले जिस्काए जस्तो लाग्यो । केही थिएन। सुकुल मुनी लिपेको भुइं । म भएको भए हैन राइछ द्यो माँ को शंका भनेर हिड्थें होला। आमा को मन मानेन ।


सुकुल पनि हटाएर हेर्नु भयो र हेरेको हेरै हुनु भयो।
 
रातो रंगको ताइचिन चामल एक मुठी भेटियो । मानौ सुनियोजित ढंगले आतंकारीहरुले रोड साइड बम्ब लुकाइ राखेको छ त्यहाँ ।



एक टुक्रा कागजमा बडो जतनका साथ एक एक गेडा टिप्नु भयो र मलाई दिनु भयो ।
"जा गएर बिष्णुमती मा फालेर आइजा । बाटोमा कसैसित नबोल्नु र फर्केर नहेर्नु ।"



म एक आज्ञाकारी बालक, सरासर बिष्णुमती नदी मा गए र फालेर आएं । फर्किने बेला मा मरुहिटी मा हात मुख धोएर आइजा भनेको ले हातमुख धोइ फर्कें ।


भान्सा तयार भयो, फेरी अचम्म भयो । तही नून, तेल, बेसार मा पाकेको साग हरियो नै रह्यो। स्वाद पनि प्राकृतिक ।



त्यो दिन मैले सोधिन त्यो चामल राख्न आउने बुढी को हो भनेर ।



राती अबेर सम्म निद्रा लागेन, उक्त दुष्ट को मनसाय र आसय के थियो होला, हामीलाई बिगार गरेर के पायो होला तिनले ? सोच्दा सोच्दै कती बेला निद्रा लाग्यो थाहा भएन ।


क्रमश:
 

Read Full Discussion Thread for this article