Posted by: shirish November 24, 2009
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

'गणतान्त्रिक राजकुमारी' सुजाता, धिक्कार छ

-स्याटेलाइट-

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद थला परे। उनलाई सिँगापुर लगियो। उनको बारेमा आ-आफ्नो विश्लेषण हुनसक्छ। कसैलाई उनी महान लाग्ला कसैलाई बोझ। तर गिरिजाप्रसादको स्वास्थ्य उपचारका नाममा निकासा गरिएको ठूलो धनराशी र त्यो धनमा उनकी अयोग्य छोरी सुजाताले गरेको ब्रम्हलुटले भ्रष्टाचारका पूराना कीर्तिमान भत्किएका छन्। उनी बसेको होटलको कोठाखर्च र उनी चढ्ने लिमोजिन कारको खर्चले भ्रष्टाचारमा नाम कमाएका अन्य पुराना हस्तीहरुसमेत छाँयामा परेका छन्। उनले आफ्नो व्यक्तिगत सम्पत्तिमा मोज गरेकी भए कसैलाई आपत्ति हुने थिएन। तर बिरामी बाबुका नाममा नेपाली जनताले तिरेको करबाट निकासा गरिएको रकममा लिमोजिन चढ्नु नैतिकताले नमिल्ने कुरा हो। देशको गम्भीर अवस्थाप्रति सुजाताको संवेदनहिनता देखाउँछ यो घटनाले।

जाजरकोट र दैलेखमा नेपाली केटाकेटीहरु जीवनजलको अभावमा मरिरेको बेलामा गिरिजाप्रसादको उपचारका नाममा दुई करोड निकासा हुनु जायज हो या नाजायाज त्यो त समयक्रममा जनताले बताउला। तर सुजाताले देशका विकराल समस्याहरुलाई बिर्सी गरिब नेपालीले तिरेको करमा लिमोजिन चढ्नु लज्जास्पद घटना हो। सुजाता हाम्री उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री हुन भन्न मलाई घिन लाग्छ उनको इतिहास र वर्तमान देखेर। मुलुक जब कमजोर र अस्थिर राजनीतिको शिकार बन्छ तब सुजाताजस्ता अयोग्य पात्रहरु देशको राजनीतिमा हावी हुन्छिन्। सुजाताहरुको आडमा विदेशी शक्तिहरुको क्रिडास्थल बनिरहेको छ देश।

सामान्यतया अयोग्यहरुलाई जनताले चुनावबाट किनारा लगाउँछन हराएर। सुजातालाई पनि जनताले निर्वाचनमा हराएकै थिए। तर जनमत भन्दा ठूलो शक्ति गिरिजाप्रसादको आदेश बनिदियो। जनताबाट तिरस्कृत उनी बाबुको आदेशबाट परराष्ट्रमन्त्री हुँदै उपप्रधानमन्त्री बनेकी छिन्। अहिले सुजाता महँगो प्रेसिडेन्सियल सुइटमा बसिन् या लिमोजिन कार चढिन् भनेर उनलाई दोष लगाउनुलाई मैले बुद्धिमता ठान्दिन। उनीजस्तो अयोग्य पात्रलाई उपप्रधानमन्त्रीजस्तो जिम्मेवार र गरिमामय पदमा पुग्ने परिवेशलाई दोष दिन्छु म। हामी कति लाक्षी रहेछौ ? जहाँ हाम्रो मतको कुनै कदर हुन्न। जहाँ जनताको मतलाई लात हानेर एउटा हठी बाबुको आग्रहको भरमा बिना इतिहास, बिना योगदानको अयोग्य र विवादित पात्रलाई उपप्रधानमन्त्रीको पदमा पुर्‍याइन्छ। माधवकुमारको सत्ता टिक्छ कि टिक्दैन भन्ने कुरा सुजाताहरुको सत्ताको स्थायित्वमा भरपर्छ यहाँ। हरे कस्तो स्थिति मेरो देशको ?

केही महिना अगाडि हामी कास्कीको चन्द्रकोट नजिकैको गाउँमा पुग्दा त्यहाँस्थित हेल्थपोष्टमा जीवनजल पनि थिएन। स्वास्थ्य मन्त्रालयबाट बजेट नपाइएकोले। औषधीको आग्रहमा निवेदनहरु पोखरा हुँदै काठमाडौं पुगेका थिए। तर ती निवेदनहरुमा आर्थिक वर्षको अन्त्य नहुँदै निर्णय नै हुँदैन तर यता छन् राजधानीमा गिरिजाप्रसाद। उनको उपचार नेपालमा हुन सक्दैन। डेढ करोडको भाडामा सिंगापुरबाट एअर एम्बुलेस मगायर उपचारको ब्यवस्था गरिन्छ। छोरी सुजाता बिरामी बाबु हेर्न सिँगापुर पुग्छिन। बिरामी पिता हेर्नु सन्तानको कर्तब्य हो। तर बाबुको ख्याल गर्नुभन्दा पनि सुजाता देशले धान्नै नसक्ने खर्चको होटलमा र अनावश्यक लिमोजिन सयरमा ब्यस्त रहेको खबर आउँदा नेपाली मन क्षुब्ध भएका छन्। आफ्ना बाबुको उपचारका लागि गरिब नेपालीले तिरेको करबाट कम्तिमा सरकारले रकम निकासा गरेर सहयोग गर्‍यो भनेर नेपाली जनता प्रति अनुग्रही हुनु त कता हो कता ‘परराष्ट्रमन्त्रीलाई स्तरीय चाहिन्छ ‘ भन्दै भड्किलो खर्चमा ब्यस्त छिन् सुजाता।

पहिलो कुरा त उनी परराष्ट्रमन्त्रीको हैसियतमा गएकी होइनन् त्यहाँ। त्यसैले उनले अनावश्यक खर्च गर्नुको तुक छैन। महत्वपूर्ण पदमा बसेपछि ती पदमा बस्नेहरुको जीवन पनि सार्वजनिक बन्न पुग्छ भन्ने कुरा उनले नबिर्सनुपर्ने हो। उनी गिरिजाप्रसादकी छोरीमात्र भए कसैले उनी कहाँ छिन् भन्नेसम्म चासो लिने आवश्यकता थिएन। तर दुर्भाग्यवश उनी अहिलेकी उपप्रधानमन्त्रीसमेत हुन्। त्यसैले उनले प्रस्तुत गर्ने आचरणले उनको ब्यक्तित्व निर्धारण गरिरहेको छ।

यो समाचार आउनु केही दिनअघि सुजाताले नेपाल-अमेरिका आतेजाते हवाई खर्च भनेर तीन हजार डलरको बिल पेश गरेकी थिइन्। जबकि प्रधानमन्त्री नेपाल १६ सय डलरभन्दा कम खर्चमा अमेरिका पुगेका थिए। छापामा माधवकुमारले सुजातालाई यो बिषयलाई लियर हप्काए भन्ने पनि आएको थियो। त्यो कहाँसम्म सत्य हो हप्काउने र हप्की खानेलाई नै थाहा होला। तर परराष्ट्रमन्त्रीजस्तो जिम्मेवार मान्छेले एउटा सामान्य हवाई टिकटमा समेत भ्रष्टाचार गर्न खोज्नु कति दुखको कुरा!

गिरिजाप्रसादकी छोरी भएकै कारणले सुजाताले अनावश्यक ‘स्पेस’ पाइरहेको अहिलेको अवस्थामा उनलाई च्यालेञ्ज गर्ने त नेपालमा को होला र ? कम्तिमा गिरिजा बाँचुञ्जेल। तर राष्ट्रिय ढुकुटीमाथिको यो ब्रम्हलुटलाई नेपालीले के हेरिमात्ररहने ? जनताले गर्ने भनेको निर्वाचनमा भोट नदिनेसम्म हो। उनीहरुले निर्वाचनमा पराजित गरेर त्यो कर्तव्य निर्वाह गरिसके। तर निर्वाचनबाट समेत लत्याएकालाई अब के गर्नुपर्ने हो ? चुनाव हारेकी सुजातासँग अहिले सत्तामा दुई वटा महत्वपूर्ण पद छन् । हिजो बेबी राजतन्त्र र ०४६ सालको संविधान ब्युँताउनु पर्छ भनी वकालत गर्दै हिँडने यी मैयाँ आज गणतन्त्र स्थापनापछिकी प्रथम अघोषित ‘राजकुमारी’ भयकी छिन्। हारेकाहरुले शासन गर्ने नेपालमा सबै उल्टोमात्रै भैरहेको देखिन्छ।

निर्वाचनबाट पाखा लगाएर समेत उन्मुक्ति नपाइने सुजाताजस्ता देशका उपियाँहरुलाई अब ‘पेष्ट कन्ट्रोल’ गरेर नै देशलाई मुक्त गर्नुपर्छ। राज्यको ढुकुटीमा मोज गर्नेहरुलाई जनताले सजाय दिन ढिला भैसकेको छ। सुजाताले एकपल्ट फेरि आफूलाई अयोग्य’ छु भन्ने प्रमाणित गरेकी छिन्। सुजाता धिक्कार छ तिमीलाई। (स्केच साभारः रविन सायमि/हिमाल

mysansar.com/?p=7104

Read Full Discussion Thread for this article