Posted by: crazy_love October 25, 2009
"बुझ्न नसकिएको कारण।"
Login in to Rate this Post:     0       ?        

भाग-१०


त्यो दिन सिनेमा हलमा सानुको मामालाइ त्यसरी अरु कोहि महिलाको हात समातेर फिलिम हेर्न गएको देखेपछि फेरि मेरो मनमा थरि थरि कुराहरु खेल्न थाले। मामाले माइजुलाइ माया गर्नु हुन्न कि जस्तो लाग्यो। छुनु र मुनुलाइ त्यस्तो माया गर्ने मान्छेले माइजुलाइ चाहि किन माया नगरेको होला जस्तो भन्ने पनि लाग्यो। तर घरमा त मैले कहिले पनि मामा र माइजुको झगडा भएको देखेकी थिइन। माइजु पनि राम्री हुनु हुन्थ्यो, मामा र माइजुको जोडी सुहाँउथ्यो। दुबैजनाको कुराहरु मिल्थ्यो जस्तो लाग्थ्यो। मनमुटाब त कहिले नि भएको जस्तो लाग्दैनथ्यो। अब मैले मात्र सबै कुरा कसरी थाहा पाउनु होला जस्तो नि लाग्थ्यो? मैले सानुको मामालाइ देखेको कुरा घरमा कसैलाइ बताइन, सानुलाइ पनि भनिन। कसरी देख्यौ भन्दा त्यसको जवाफमा मेरो करतुत पनि खुल्ने डर थियो। त्यसैले मैले बुझ्न नसकिएका कारणहरुलाइ प्रश्न चिन्ह राखेर सधैं जस्तो सानुलाइ "मामाघर कहिले जाने?" भनेर सोँध्थे। उ अब बिदाभएपछि भन्थी। मलाइ फेरि सानुको मामाघर जान मन लागेको थियो। माइजुको हालखबर बुझ्न मन लागेको थियो। तर स्कुल खोलेदेखि हामीलाइ मामाघर जाने फुर्सद नैं मिलेन।


एक दिन स्कुल जाँदा बाटोमा मेरो पछि पछि कोहि आइरहेको थियो। मैले पछाडी फर्केर हेरिन। तर बाटोभरि नै मेरै पछि कोहि छ भनेर चाहि आभाष भैरहेको थियो। त्यो दिन म एक्लै थिँए, भाइ र सानुबिहानै गैसकेका थिए। स्कुल पुग्ने मोडमा पुगेपछि पछाडीबाट कसैले बोलायो।


"क्रेजी।" कस्तो माइक जस्तो ठुलो स्वर। म झस्केँ र पछाडी हेरेँ। ट्वाँ पो रैछ। मेरो सातोपुत्लो उड्यो। लौ नानी अब यो मोरो ट्वाँले मलाइ पनि चम्पा र रुबिलाइ जस्तो लेटर दिने हो कि भन्ने डर लाग्यो।


"के?" मैले रुखो स्वरमा सोधेँ।


"छ नि, तिमी कस्तो सिरियस छौ?" ट्वाँले कोदालो खन्ने जस्तो दाँत ङिच्चाएर भन्यो। यस्तो देखेर पनि रुबि किन भुतुक्क भएकी होली, मैले मनमनै सोचे।


"मलाइ तिम्रो बकम्फुसे कुरा सुन्ने फुर्सद छैन।" भन्दै अगाडी बढेँ।


"सुन न, प्लिज।" रुन्चे स्वरले ट्वाँ मेरो अघि अघि आइपुग्यो।


"मेरो पछि नलाग है। मैले भन्द्या छु।" भन्दै म अघि बढ्न थालेँ।


"चम्पालाइ मैले सरी भनेको छु, भन्देउ है।" ट्वाँले नरम भएर भन्यो।


"म सक्दिन। तिमी आफै गएर भन।" मैले ट्वाँलाइ हेर्दै नहेरी भनेँ। अब मलाइ ट्वाँ मेरो पछि हैन, चम्पाको लागि सन्देश दिन आएको रैछ भन्ने पक्का बिस्वाश भयो।


"छ नि है? त्यो सुमि छ नि कस्ति क्युट छे है। तिम्रो साथी है।" ट्वाँको त फेरि सुमिपट्टि पो रैछ दाउ। यो कहिले तरह लाग्ने भएन।


"सुमि क्युट छे, उसको दाइ झन क्युट छ। तिम्रो त्यो कोदालो खन्ने दाँत सबै झारेपछि तिमी पनि क्युट हुन्छौ।" मैले एकै स्वाशमा भने।


"हँ ? के भन्या तिमीले? म छ नि त्यस्तो छिटो छिटो बोलेको बुझ्दिन क्या। फेरि भन त।" ट्वाँले कनि कनि अड्कि अड्कि बोल्यो। फेरि एकचोटि मलाइ रुबि प्रति दया लाग्यो।


"हेर तिमी जो केटीलाइ पनि चिट्ठी लेख्दै किन हिँड्छौ। एकजना पो मन पराउनु पर्छ त, उसैलाइ दिए पुगिहाल्यो नि। तिमी त हाम्रो कक्षाभरि सबैलाइ त्यै "पानी बिना माछा बाँच्न सक्दैन, तिमी बिना म बाँच्न सक्दिन" भनेर लेख्दै दिदोँ रैछौ। तिमीलाइ अलिकति लाज लाग्दैन?" मैले ट्वाँलाइ केहि महसुस हुन्छ कि भन्ने हिसाबले सोधेँ।


"के गर्ने त?" ट्वाँले कपाल कन्याउदैँ भन्यो।


"के रे? के गर्ने त रे।" मलाइ झन रिस उठ्यो।


"एउटा कुरा भन्छु, तिमी कसैलाइ नभन है त।" ट्वाँले अनुनय पूर्ण भावले मलाइ हेर्‍यो।


"भन्न नमिल्ने रैछ भने भन्दिन।" मैले उसलाइ भने।


"छ नि। मलाइ पहिलो चिट्ठि दिए पछि दोस्रो कसरी लेख्ने भनेर आँउदैन। अनि फेरि त्यहि पहिलो चिट्ठि फेरि लेखेर नै अर्को केटिलाइ दिन्छु क्या। क्या प्रोब्लम भन्या ?" ट्वाँ फेरि कोदालो जस्तो पहेँलो  दाँत देखाएर हाँस्न थाल्यो।

म ट्वाँको कुरा सुनेर ट्वाँssssssssssss भएँ।


क्रमश:


 


 

Last edited: 25-Oct-09 08:13 PM
Read Full Discussion Thread for this article