Posted by: crazy_love October 15, 2009
"बुझ्न नसकिएको कारण।"
Login in to Rate this Post:     0       ?        

 

भाग-७

माइज्युले एक छिन पछि चिया र बिस्कुट कोठामै ल्याइदिनु भयो। सानु, छुनु र मुनु पनि आए। हामी सबै चिया र बिस्कुट खादै थियौं। माइज्यु चाहि फेरि कोठा मिलाउन लाग्नु भयो। सानुले माइज्युलाइ पनि बिस्कुट दिइ, पहिला त खान मन छैन भन्दै हुनु हुन्थ्यो। पछि छुनुले माइज्युको लागि चिया बनाएर ल्याएपछि माइज्यु पनि हामीसङ कुरा गर्दै खान थाल्नु भयो। सानु मुनुलाइ जिस्काउथी, छुनु मलाइ जिस्काउथी। सानो सानो कुरामा पनि हामी हाँस्थ्यौँ। माइज्यु पनि हाम्रो हाँसोमा सहभागी हुन थाल्नु भयो। कुरा गर्दै खाँदा माइज्युको हातबाट एउटा बिस्कुट भुँइमा झर्‍यो। माइज्युले तुरुन्तै टिपेर खानु भयो। यो देखेर हामी सबै छक्क पर्‍यौँ। सानुले सोधी हालि।


"त्यस्तो भुँइमा खसेको कुरा पनि किन खानु भाको माइज्यु?


"मुखनिरै लगिसकेको खानेकुरा भुँइमा खस्यो भने सौताले खान्छ रे। त्यही भएर नि।" माइज्युले हाँसेर भन्नु भयो।


"सौता??" मुनुले बुझिन क्यारे।

"मामाले अर्को बिहे गर्नु भयो भने माइजुको सौता हुन्छ क्या।"सानुले बुझाइ मुनुलाइ। माइजुको अनुहार अध्याँरो भयो।

"स्वास्नीमान्छेको मुखबाट केहि खस्यो भने सौताले खोसेको भन्ने पुरानो चलन छ क्या। तेहि भएर खसेको खानेकुरा छिट्टै खानु पर्छ रे।" माइज्युले अरु प्रष्ट पार्नु भयो।


"मामु पनि कस्तो नचाहिने कुरा गर्नु हुन्छ। त्यस्तो खसेको कुरा त फोहोर भइ हाल्यो नि। किन खानु पर्‍यो?" छुनुले भनी।


"तिमीहरु अहिले सानै छौ। भोलिपर्सी ठुलो भएपछि यस्तो कुरा बुझौला।" भन्दै माइज्यु भान्छातिर जानु भयो।


त्यो दिन देखि सानुले पनि माइजुको सिको गर्न थाली। केहि खस्यो भने टिपेर क्वाप्प खाइ हाल्थी "सौता" आँउछ भनेर। मैले बिहे नभएको मान्चेको कसरी सौता आँछ भनेर सानुलाइ जिस्काँउथे।


बिदा सकेर स्कुल शुरु भयो। शुरु शुरुमा त जानै अल्छि लाग्ने। तर पछि फेरि स्कुल नै रमाइलो लाग्न थाल्यो। मेरो मिल्ने साथी सुमि र रुबि थिए। हामी कहिले नसकिने गफ गर्थ्यौँ। सात सकिएर आठ कक्षामा थियौँ। भर्खरै किशोराबस्थाका परिबर्तनहरु देखा पर्न थालेका थिए। केटिहरुमा एक किसिमको आकर्षण देखिएको थियो। प्राय केटाहरुको स्वर बोरा च्यातेको जस्तो धोद्रो सुनिन्थ्यो। सबैमा शारिरिक र मानसिक परिबर्तनले असर पारेको थियो। केटिहरु र केटाहरुको छुट्टा छुट्टै ग्रुप बनेको थियो। मेरो दुबै साथी रुबि र सुमिको झन झन राम्री हुन थालेका थिए। उनिहरुमा जस्तो परिबर्तन ममा देखिएको थिएन। त्यसैले मलाइ  उनिहरुसङ हिंड्दा आफै असजिलो महसुस हुन्थ्यो। तर पनि हाम्रो सम्बन्ध उस्तै मजबुत थियो। सुमिलाइ मन पराउनेहरु धेरै थिए। तर सुमि कसैलाइ मन पराउदिन थी। रुबिको लागि मरिहत्ते गर्नेहरु औंलामा गन्न सकिन्थ्यो। रुबि अलि अन्तरमुखी थिइ। पढाइमा हामी धेरै अब्बल पनि थिएनौँ, धेरै लद्दु पनि थिएनौँ। अर्की एउटी साथी थी, चम्पा। उ सबैसङ मिल्न खोज्थी तर कसैले उस्लाइ आफ्नो ग्रुपमा राख्न मन पराउदैनथ्यो। चम्पा कक्षामा निडर थिइ। उ जुन सर मिससङ पनि प्रश्न सोध्न हिच्किचाउदैन थी। चम्पाको प्रश्नहरु रङ न ढङका हुन्थे, बिषयबस्तु भन्दा बेग्लै। त्यसैले उस्लाइ केटिहरुले "मन्द- बुद्धि" नाम राखिदिएका थिए। चम्पा मलाइ पनि त्यति मन पर्दैनथी। उ बोल्न आइ भने म बोलि दिन्थे।


एकदिन "बाइलोजी"को क्लास भइरहेको थियो, केटिहरुलाइ "उत्तावली" र केटाहरुलाइ "हरिलट्ठक" भनेर गाली गर्ने सरले हामीलाइ प्रजनन- स्वास्थ्यको बारेमा रातो पीरो हुँदै पढाइरहेको थियो। केटाहरु बेला बेलामा हाँस्थे भने केटिहरु किताबले मुख छोपेर लजाइ रहेका थिए। सर ब्ल्याकबोर्ड बाहेक कतै नहेरिकन हतार हतार कक्षा सकेर जान लाग्नु भएको थियो, चम्पाले हात उठाएर "सर! एउटा प्रश्न छ" भनी।


"के?" सरले सकेसम्म उत्तर दिनु नपरे हुन्थ्यो जस्तो गरी सोध्नु भयो।


"छ नि है! मेरो आमा नि सधै म सङ सुत्नु हुन्थ्यो क्या, बा चाहि अर्कै कोठामा। तर पनि मेरो आमाले भाइ पाउनु भयो।  कसरी?"  चम्पाले उस्तै निश्चल पाराले सोधी।


क्लासमा सबै जना गलल हाँसे।


"साँच्चै!अहिलेसम्म मैले बुझ्नै सकिन भन्या।"चम्पा चाहि गम्भिर्तापुर्बक सरको उत्तरको प्रतिक्षामा थी। कक्षामा अरु गुनगुन सुनियो।


"वाहियात!" भन्दै सर रिसले मुर्मुरिदै कक्षाबाट घन्टि नबज्दै बाहिर जानु भयो।


क्रमश:

Last edited: 15-Oct-09 08:39 PM
Last edited: 15-Oct-09 08:47 PM
Read Full Discussion Thread for this article