Posted by: crazy_love October 11, 2009
"बुझ्न नसकिएको कारण।"
Login in to Rate this Post:     0       ?        

भाग-६


साँच्चै सानुको माइज्युको निधारमा रातो टिका कहिले छुट्दैनथ्यो। बिहानै सिँउदोभरि रातो सिन्दुर, गोलो रातो टिका, गलामा रातो झुप्पा पोते र हातभरि रातो चुरा। घरमा बस्ने लुगा होस् वा बाहिर जाँदा, उहाँ सधैँ रातो लाउनु हुन्थ्यो। "सौभाग्य" को लागि अर्थात् लोग्नेको दिर्घायुको लागि उहाँको रातो रङप्रति अति लगाव थियो। त्यो रात पनि उहाँले हातमा घाउ हुँदा हुदैँ पनि चुरा लाउन छोड्नु भएन।


स्कुल खोल्न धेरै दिन बाँकि थिएन। सानु र म अब घर फर्किने तयारीमा थियौं। घर जानुभन्दा एकदिन अघि मामाको छोरीहरु छुनु र मुनु पनि उनिहरुको मामाघरबाट फर्के। त्यसपछि हाम्रो लुक्ने र भेट्टाउने खेल फेरि शुरु हुन थाल्यो। त्यही क्रममा एकदिन म उनिहरुलाइ छकाउन फेरि भरेङ पछाडी गँए। तर त्यहाँ लुक्न मलाइ डर लाग्यो। तलबाट कोहि आएको पदचाप पनि सुनियो, त्यसैले म हतार हतार हजुरआमाको कोठाको गल्लीतिर लागे। त्यो पदचाप पनि मेरो भरेङ पछाडी आएजस्तो लाग्यो। मैले हजुरआमाको कोठाभित्र हेरें। त्यहाँ कोहि थिएन, त्यसैले म हजुर आमाको कोठाभित्र पसेँ र खाट मुनि लुकेँ। नभन्दै केहि बेरमै पदचाप कोठाभित्र पस्यो। ढोका बिस्तारै लगायो। खाटमा आएर कोहि बसेको जस्तो लाग्यो। मेरो मुटुको गति बढ्न थाल्यो। त्यो पदचाप खाटबाट उठेर केहि पर गयो र करुवाबाट "कल कल" पानी खायो। ढोकामा अर्को पदचाप सुनियो र त्यो पनि भित्र आयो र ढोका खुलै छोड्यो।


"ए, यो त यहाँ पो रैछ? कतिखेर आइस?" हजुरआमाले पहिलो पदचापलाइ सोध्नु भयो।


"अघि देखि तपाइलाइ खोज्दैछु। कहाँ जानु भाको थ्यो?" मामाको स्वर सुने। अब मलाइ डराउनु पर्ने कारण थिएन। तर म खाटमुनि नै बसें, बाहिर निस्किनै अप्ठ्यारो लाग्यो।


"किन? के भयो?" हजुर आमाले सोध्नु भयो।


"पख्नुस्! पहिला त्यहा बाहिर कुचो लाउने बहानाले कान थाप्न आँउछे। एकचोटि म भरेङसम्म हेरेर आँउछु।" मामा बाहिर निस्किनु भयो र लगतै फर्किनु भयो। ढोका बिस्तारै लाउनु भयो।


"हिजो पनि त्यही कुनामा बसेर हाम्रो कुरा सुन्दैथी क्यारे, चन्डाल्नी। कम्ताकी छे। त्यसको हातमा घाउ कसरी भएछ नि?" हजुरआमाको स्वर सुनियो फेरि।


"खोइ कसरी भएछ? जे सुकै होस्! हिजो मलाइ पनि शंका लाग्याथ्यो तर मैले बाहिर गएर हेरिन। चियो चर्चा खुब गर्छे आजकाल। मलाइ त्यो सङ डर लाग्छ आमा।" मामाले भन्नु भयो।


"डर त मान्नै पर्छ। अस्ति बाबु(मेरो भाइ)को सातो खाइ डंकिनीले। फेरि सानुलाइ पनि बिरामी बनाइ। अब कसलाइ दुख दिने हो? त्यो डाँका लमीले हामीलाइ फसाँयो। बत्तिसै लक्षण भएकी भनेर बोक्सी पो आइ हाम्रो घरमा बुहारी बनेर। तलाइ पनि त्यही मन पर्‍यो नि त्यो बेला त। मैले त्यो भन्दा राम्री केटी छे, एकचोटि त हेर भन्या हैन?" मलाइ हजुरआमा र मामाले माइज्युको बारे कुरा गर्दैछन् भनेर बुझ्न गार्हो भएन।


"अब जे हुनु भइ सक्यो। पहिले मलाइ यस्ती होली भन्नी के थाहा नि? मुखे हेरेँ राम्री थी, सोझी जस्ती लाग्यो। बरु यसबाट कसरी छुटकारा पाउने? त्यो सोच्नु पर्‍यो। हिजो राति पनि मेरो खुट्टाको औँलामा रातो अबिर लागेको अक्षता थियो। मध्यरातमा जहिले पनि उठ्छे र बाहिर जान्छे। बाहिरबाट के के मन्तर पढ्दै भित्र पस्छे। कुन दिन मलाइ मार्छे होला त्यसले। मैले के गर्ने होला? छोरीहरु नभएका भए उहिले छोड्थेँ तर अहिले गार्हो छ। छोरीहरु बुझ्ने हुन लागि सके, उनिहरु आफनै आमाको साथ दिन्छन्। उनिहरुलाइ कसरी  बिस्वास दिलाउने?" मामाले ले सबै कुरा एकै स्वासमा भन्नु भयो।


"यसलाइ छोड्न सजिलो छैन बाबु! यो बोक्सी हो भनेर हामी समाजमा प्रमाणित गर्न सक्दैनौ। बाहिरबाट त सबैलाइ मिठो बोलीले जितेकी छे, भित्री रहस्य त हामीलाइ मात्र थाहा छ।" हजुरआमाको आवाजमा निराशा थियो। मेरो मनमा माइज्यु र बोक्सीको भिन्दा भिन्दै दुइ वटा तस्बीरहरु एक आपसमा जोडिदै, टुक्रिदै थिए।


"आमा, चिया बनाउँ?" ढोकाबाहिरबाट माइजुको मधुरो आवाज सुनियो।


"पर्दैन! अहिले खान मन छैन। एकछिन पछि बनाउ।" हजुरआमाले भित्रैबाट भन्नु भयो। मामा चुप हुनु भयो।


"कति खेर?" माइजुले पनि बाहिरबाट सोधुभयो।


"म आफै भन्छु पछि। अहिले पर्दैन भनि हाले नि। हजुरआमा झर्किनु भयो र "सानुहरु कहाँछन्? उनिहरुलाइ भोक लाग्यो भने खाजा बनाउ।" भनेर आदेश दिनु भयो।


"हस्!" भन्दै ढोका बाहिरबाटै माइजु जानु भयो। उहाँ गएको एकछिन पछि मामा पनि "पछि कुरा गर्छु" भन्दै हजुर आमाको कोठाबाट निस्किनु भयो। हजुरआमा "सानु!" "छुनु!" भन्दै उनिहरुलाइ खोज्न निस्किनु भयो।


म त्यही मौकामा खाटमुनिबाट निस्के र भरेङको कुनातिर दौडिएँ। डरले मैले कतै हेर्न सकिन। खुरुखुरु माथि गएँ। सानु र मेरो सुत्ने कोठामा पुगेँ। सानु त्यहाँ थिइन। माइज्यु हाम्रो ओछ्यान मिलाउदै हुनु हुन्थ्यो। मलाइ अचानक कोठाभित्र पसेको देखेर माइजु झस्किनु भयो र मलाइ पुलुक्क हेर्दै सोध्नु भयो।


"ठुलु! के भयो?"


माइजुको आँखा आँसुले भरिएको थियो र उहाँको अनुहार रुँदा रुँदा थाकेको जस्तो देखिन्थ्यो। आँखाहरु राता राता भएका थिए। उहाँले आखाँको डिलबाट बगेको दुइ थोपा आँसु पुछ्दै फेरि मलाइ सोध्नु भयो।


"चिया खाने?"


मैले आफ्नो टाउको हल्लाएर खाने भने। केहि बोल्न सकिन। माइजु सामान्य रुपमा केहि नभएको जस्तो गरी कोठाबाट निस्केर चिया पकाउन जानु भयो। मेरो आँखामा माइजुको बिबश अनुहार झल्झली नाच्न थाल्यो, बोक्सी भनेर थाहा पाए पनि मलाइ उहाँको माया अझै बढी लाग्न थाल्यो।


क्रमश:


 

Last edited: 11-Oct-09 02:33 PM
Read Full Discussion Thread for this article