भाग- २
हामीसङ ढोका लाउन जाने हिम्मत थिएन, न त तिनै जनाको आँखाहरु ढोकाबाट पर हट्न सकेको थियो। यस्तो लाग्थ्यो, कोहि फर्केर आँउदैछ, हामी त्यहि छाँयाको प्रतिक्षामा छौं। फर्किदाँ त अबश्य पनि त्यो छाँयाको अनुहार देखिनेछ, यस्तै बिचार आयो मेरो मनमा। अनायासै फुपुले सुनाएको भुतको कथा सम्झे। फुपुहरु सानोमा यस्तै मध्य रातमा बारीतिर जानु भएको थियो रे नित्य कर्मको लागि, त्यहिबेला एउटा अग्लो न अग्लो, जमिनदेखि आकाशसम्म छोएको छाँयाले उहाँहरुलाइ लखेट्न लाग्यो रे। घर पुगेर ढोका लाउन लाग्दा फुपुले छायाँको अनुहार देख्नु भयो रे। तर त्यो छाँयाको अनुहार समतल रोटि जस्तो थियो रे। नाक, मुख, आँखा केहि थिएन रे। त्यो कथा सुनाँउदा फुपु अझै रुनु हुन्थ्यो। मलाइ पनि त्यहि अनुहारको झझल्को आयो। यदि अहिले ढोकामा त्यस्तै अनुहार भएको भुत आयो भने के गर्ने होला? भनेर सोच्दै थिए, भाइले मलाइ झस्काँउदै भन्यो, "ठुलु, मलाइ एक्दम् च्याप्यो।"
"लङ कि शर्ट?" मलाइ रिस उठ्यो जहिले पनि अप्ठ्यारो बेलामा च्याप्छ भाइलाइ। जहाँ सार्हो त्यहीँ गार्हो।
"लङ।" भाइले रुन्चे स्वरले भन्यो। आपद पर्यो। शर्ट भएको भए यतै एकातिर फर्की भन्न हुन्थ्यो। लङ भनेपछि त त्यो भरेङ पछाडीको कालो अध्याँरो कुनामा जानु पर्छ। बत्ति त छ तर भित्र मात्र, हामी बाहिर बस्नेलाइ अध्याँरो, भित्र मात्रै उज्यालो। मलाइ रुनु न हाँस्नु भएको थियो। सानु पनि रातो अनुहार पारीरहेकी थिइ। भाइ र्याप गाउन लाको जस्तो गरी जिउ बङाइरहेको थियो, हात हल्लाइ रहेको थियो। जानै पर्यो अध्याँरो कुनातिर। भाइ त भित्र पस्यो। सानु र म एकै ठाँउमा गुजुल्टो परेर बस्यौं। हरेक २ मिनेटमा भाइले भित्रबाट बोलाउथ्यो, हामीले त्यही छौ भन्ने सुचना दिनु पर्थ्यो। नत्र भाइ त्यतिकै सफा नगरिकन बाहिर आउला भन्ने डर।
भाइको समस्या समाधान भएपछि हामी फेरि बिस्तारै हाम्रो कोठातिर लाग्यौँ। भरेङ अन्धकार थियो, काठको खुड्किलो को बिचमा प्वाल थियो, त्यहीँबाट कसैले खुट्टा तान्ला भन्ने डर मनमा नभएको हैन, तर सबै भन्दा ठुली भएकीले नडराएको जस्तो देखाउनु पर्यो र अन्तिममा आफै भरेङ चड्नु पर्यो। कोठामा पुगे पछि हामीले सबैभन्दा पहिले ढोका लगायौँ। एकछिनपछि बल्ल कुरा गर्ने साहस आयो। निद्रा त पटक्कै आउने वाला थिएन। सानुले अघिको छाँयाको कुरा निकाल्न थाली। भाइ र म ध्यान दिएर उसको कुरा सुन्न थाल्यौँ, उसको मामाघरमा उसलाइ नैं सबै कुरा थाहा हुने त भइ हाल्यो।
"यहाँ भुत छैन।" सानुले हामीलाइ बिस्वस्त पार्न खोजी।
"अघिको चाहिँ को नि?" भाइले प्वाक्क सोधी।
"बोक्सी होला।" सानुले सामान्य तवरमा भनी।
"बोक्सी!!" भाइ र मेरो स्वर एकचोटि ठुलो भयो।
"अँ, बोक्सी नैं होला।" सानुले त्यतिबेला स्वर अलि सानो गरी।
"होला रे। कसरी थाहा पायौ तिमीले?" मैले सोधें।
"कसैलाइ नभन है त?" सानुले भाइलाइ र मलाइ हेरी, अनि भनी, "कसम खाने भये मात्र भन्छु।"
भाइ र मैले सानुले भने भनेको देउताको नाम लिएर कसम खायौँ। त्यसपछि उसले बिस्तारै कुरा शुरु गरी।
"एकदिन म हजुरआमाको कोठामा खाटमुनि लुकिरहेकी थिए, मैले कोठामा कोहि पसेको आवाज सुने। तर त्यो आवाज केहि बेर कोठामा यता उता केहि खोजे झै गर्दैथियो।मलाइ हजुर आमा पनि मलाइ खोज्न सुटुक्क आउनु भएको जस्तो लाग्यो। मैले हजुर आमालाइ तर्साउछु अब भनेर खाटमुनिबाट हेर्दै थिएँ। जब त्यो आवाज खाटनजिक आयो मैले त्यस्को खुटा समाउने कोशिश गरे। तर मेरो हातमा उसको सारी मात्र आयो, म भित्र बाट तान्दै थिए, उ बाहिरबाट तान्दै थिइ। केहिबेरको तानातानपछि त्यस्ले सारी छुटाइ र म चाहि खाटमुनि जोडले बजारिए। म "हजुर आमा, हजुर आमा" भनेर रुन थाँले, त्यो छिटो छिटो बाहिर गएको मैले ढोकामा त्यो ठोक्किएको आवाज सुनें। केहि बेर पछि हजुर आमा आउनुभयो, त्यसपछि मामा र माइज्यु पनि। मैले सबैलाइ रुँदै सबै घटना बताँए। त्यस्पछि मेरो सातो गयो, मलाइ गुभाजु कहाँ लानु भयो। गुभाजुले त्यो बोक्सी हो भनेर भन्नु भयो। त्यसपछि हामी सबैले गुभाजुले मन्तर फुकेको बुटि लायौँ। घरमा पनि पुजा गर्यौं। त्यसपछि कहिल्यै पनि बोक्सी आएन।"
क्रमश: