Posted by: lakhe August 17, 2009
माओवादीको नागरिक सर्बोचता
Login in to Rate this Post:     0       ?        

Template/format of interview for all maoist leaders

साक्षात्कार

smaller text tool iconmedium text tool iconlarger text tool icon
बंगलाको गेटभित्र छिर्नासाथ पत्रकारले देख्यो नेताजी कार्यकर्ताहरु माझ कुर्सीमा विराजमान थिए। ऊ नेताजी सामुन्नेको कुर्सीमा बस्यो र कुनै भूमिकाबिना प्रश्न तेस्र्यायो- तपाईहरुले फेरि आन्दोलनको निर्णय गर्नु भएछ नि!

नेताजीले भने 'हेर्नुस् हाम्रो ऐतिहासिक गौरवशाली दल भनेको जनताका लागि लड्दै आएको दल हो। त्यसैले हामीले जे गछौँ त्यो जनताका लागि हुन्छ। '

तर बन्द हडताल जस्ता आन्दोलनले त जनतालाई नै दुःख हुन्छ नि !

'यो आन्दोलन भनेको जनतालाई दुख दिन नभई जनताको समर्थनमा हो। दलाल पूँजीपति बुर्जुवा नवसामन्ती वर्ग र दरवारिया अवशेष अनि त्यसलाई मलजल गरिरहेको सरकारविरुद्ध हो। अनी जनताले कसरी दुःख पाउँछन्।'

तपाईका कार्यकर्ताले डरत्रास देखाएर बन्द गराउछन् भन्ने गुनासो छ त !
'त्यो वाहियात कुरा हो। हाम्रो दल जनतासँग सोझै जोडिएको दल हो। हाम्रो आव्हानमा हुने बन्दलाई जनताले ठूलो समर्थन देखाउँदै आएका छन्। शान्ति पक्रिया भाड्न चाहने तत्वले बलजफ्ती बन्द असफल पार्न खोज्दा जनताले तह लगाएको भने पक्कै हो।'

तपाइँको लडाई केका लागि ?
'जनताको सार्वभौमसत्ताका लागि। सेनाको सार्वभौमले थिचिएको देशमा हामी जनताको शासन चाहन्छौँ। '

तर तपाईको पनि सेना छ नि त! 
नेताजीले मुसुक्क हाँस्दै भने- 'त्यो सेना हाम्रो होइन त्यो त जनता र देशको रक्षाका लागि गठन भएको जनताको सेना पो त। तर यसो भन्दैमा त्यो सेना हाम्रो होइन नै भन्ने पनि होइन। त्यो सेना हाम्रो हो किनभने त्यो जनताको सेना हो।'
नेता जी भन्दै गए- 'अहिले जताततै हाम्रा कार्यकर्तामाथि हमला हुँदैछ। देशमा शान्ति नचाहने तत्वले हाम्रा कार्यकर्तामाथि आक्रमण गराइरहेका छन्। यति सबै हुँदा पनि हामी निकै धैर्यपूर्वक निकै संयमपूर्वक बसी रहेका छौँ।'

तर तपाईका कार्यकर्ताले पनि फरक विचार राख्नेलाई गाउँबाट लखेट्न थालेका छन् । हत्या हिंसा पनि बन्द भएका छैनन्! 
'हेनुर्स् हाम्रो फरक विचार राख्नेलाई खेद्ने नीति छैन। तथापि एकाध घटना भएका होलान् त्यसलाई हामी नकार्दैनौँ। त्यसमा समयानुकूल सुधार हुँदैआउने छ।'

तपाईहरुले यस्तो भन्न लागेको धेरै भइसक्यो तर यस्ता घटना भने दोहोरिइरहेका छन्।
'हामीले पनि त दोहोर्याउदैनौं भनिरहेका छौँ नि यो हाम्रो दलको नीति होइन भनेर।'

भर्खरैमात्र एक अन्य दलका नेतालाई तपाईका कार्यकर्ताले लखेटी लखेटी पिटे। उनको ढाड नै भाँचिएको छ रे!
'त्यो हाम्रा कार्यकर्ताले होइन जनताले लखेट्दा भाग्ने क्रममा लडेर उनको ढाड भाच्चिएको हो।'

तपाईहरुले कब्जा गरेको घरजग्गा कहिले छाड्ने ?
'हेर्नुस् हाम्रो दलको नीति अब कसैको जग्गा कब्जा गर्ने छैन। यस कुरालाई हाम्रा श्रद्धेय अध्यक्षले पनि बताइसक्नु भएको छ।'

तर धेरैजसो विस्थापित अझै सदरमुकाम र राजधानीमै छन् त !
'अब कोही गाँउ फर्कनै चाहन्नन् भने हाम्रो के लाग्छ।'

सञ्चार जगतबम बारे केही भन्नुहुन्छ ?
'हाम्रो दल प्रेस स्वतन्त्रताको पक्षधर हो।'

तर तपाईका कार्यकर्ताबाट बेलाबेलामा प्रेसमाथि आक्रमण भइरहेको छ नि !
'हेर्नुस् हामी चाहन्छौँ प्रेस जनताको पक्षमा होस्। तपाईले भनेका घटना हाम्रा कार्यकर्ताबाट नभई जनताबाट भएका कार्यवाही हुन्।'

तपाईहरुको यस्तै क्रियाकलापका कारण तपाईकै दलका कार्यकर्ताहरु अन्य दलमा जाने क्रम देखा परेको छ रे ! 
'ती जाली फटाहाका कुरा नगर्नुस्। ती सबै वुर्जुवा वर्गका विदेशी दलाल पूँजीपति यथास्थितिवादी सामन्ती प्रतिक्रान्तिकारी प्रतिक्रियावादीको यस किसिमको धोकाले हाम्रो दलमा कुनै असर पर्ने छैन। गौरवशाली इतिहास बोकेको हाम्रो दल आफ्नो लक्ष्यमा स्पष्ट छ र दृढतापूर्वक जनताको सेवा गर्न अग्रसर छ। त्यस्ता दुई चार जना धोकेवाजलाई जनता आफैँले सजाय दिनेछन्।'

तर अन्य दलका कार्यकर्ता पनि तपाईको पार्टीमा आएका छन् त ! 
'हेर्नुस् हाम्रो दल सबैलाई समेटेर हिड्ने दल हो। अग्रगामी सोच भएका राष्ट्रवादी एवं जनताका लागि काम गर्न चाहने जो सुकै पनि हाम्रो दलमा अटाउँछन्। त्यसैले हृदय परिवर्तन भएर हाम्रो दलमा आउनेलाई हामी सधैँ स्वागत गछौँ।'

ल त नेताज्यू अन्तर्वार्ताका लागि धन्यवाद 

http://www.nagariknews.com/nagarik-blog/85-blog/4044-2009-08-16-05-04-00.html

Read Full Discussion Thread for this article