भाग- ११
सामाजिक दायराभित्र रहेको भए त्रिस्ना र उसको सम्बन्ध कति आत्मिय हुन्थ्यो, उत्तिकै स्वाभाबिक पनि। त्रिस्ना निस्फिक्री उसलाइ बाबा भन्न सक्थि, उ गर्बले त्रिस्नालाइ छोरी भन्न सक्थ्यो। तर परिस्थिति झन् झन् जटिल हुँदैछ। त्रिस्नालाइ उसले १७ बर्षपछि देख्दैछ त्यो पनि एउटी अपरिचत केटीको रुपमा। जुना छैन, ती दुबैलाइ परिचय गराउन। बलबहादुरको उद्देश्य मात्र नागरिकता हो। त्रिस्ना के चाहन्छे त? न त उसलाइ कसैले सोधेको छ, न त उसले भनेकी छे। उसको मन भित्र कति ज्वालामुखि फुट्नु अघिका लावाहरु सलबलाइरहेका होलान्? कति बर्षिन नसकेका काला बादलका बेगहरु मडारिदैं होलान्? कसले देखेको छ उसको मनभित्रको नबुझिने चित्र?
सार्थकले क्यालेन्डर पल्टायो, प्रबेशले २-३ दिनमा खबर गर्छु भनेको छ। त्यो अनुसार त्रिस्नाको लागि कतै छात्राबासको प्रबन्ध गर्नलाइ धेरै समय बाँकि छैन। उसले आजैदेखि हेर्न शुरु गरे हुन्छ। उसले रिसेप्सनिस्टलाइ काठ्मान्डुको राम्रो राम्रो नाम चलेको केटिहरुको लागि खुलेका छात्राबासको नम्बर माग्यो र आफैले कुरा गर्न थाल्यो। २-३ वटा ठाँउमा कुरा गरेपछि एउटा छात्राबासमा आफै गएर हेर्ने बिचार गर्यो। कुपोन्डोलमा रहेछ त्यो होस्टेल चाहि। हिड्ने तर्खर गर्दा गर्दै रमेश आइपुग्यो।
"दाइ, मैले त भेटिन उनिहरुलाइ।"
"बस्ने ठाँउ नि?" सार्थकले सोध्यो।
"गल्ली गल्ली भित्र खोजे, तर प्रबेशले भनेको ठाँउ नैं भेटिन।" रमेशले आफ्नो असमर्थता भन्यो।
"ठिकै छ। आजलाइ भइ हाल्यो। अर्को चोटि प्रबेशसङै जाऔला।" केहि बेर सोच्दै सार्थकले फेरि रमेशलाइ भन्यो।"एकछिन कुपोन्डोल जानु पर्यो। ल हिँड"।
रमेशले खुरुखुरु सार्थकको आग्रह मान्यो।
छात्राबासको ढोकैमा वार्डेन क्रिपाले स्वागत गरी सार्थकलाइ। क्रिपा क्रिपालु देखिन्थी। सुतिको फिका हरियो सारी लगाएकी क्रिपा झट्ट हेर्दा कुनै तपस्वी जस्तै तेजिली देखिन्थी। उसको स्वर त्यस्तै मधुरो र शान्त थियो। अनुहारमा श्रिङारको नामनिशान थिएन र पनि उज्याली थी। उसको मातहतमा २५ छात्राहरु थिए। कोहि काठ्मान्डु कै कोहि बाहिरका, कोहि काम गर्ने र पढ्ने, कोहि पढ्दै मात्र। प्राय छात्राहरु टेक्निकल बिषयका बिधार्थीहरु थिए। उनिहरुको लागि पढ्ने बाताबरण अनुकुल थियो त्यहाँ। सुरक्षाको सन्दर्भमा कोहि पनि बेलुकी ७ बजे पछि बाहिर जान नपाउने र अभिभाबक लिन आए मात्र पास दिएर घर पठाउने नियम थियो। क्रिपाले सार्थकलाइ होस्टेलको सबै कोठाहरु देखाइ, पढ्ने कोठा, सुत्ने कोठा, खाना खाने कोठा, टि बि हेर्ने कोठा, लाइब्रेरी, भिजिटर आँउदा भेट्ने कोठा सबै। सम्पुर्ण नियमहरु बारे जानकारी दिइ। होस्टेल सफा देखिन्थ्यो र ठाँउ पनि सहरको भिंडबाट टाढा थियो। सार्थकले सबै कुराको निरिक्षण गरेपछि क्रिपालाइ सोध्यो।
"महिनाको कति फी लिनु हुन्छ?"
"कसको लागि?" क्रिपाले सोधी।
"एउटी गाँउकी केटीको लागि।" सार्थकले अकमकाउदैं भन्यो।
"अनि उस्को अभिभाबक?" क्रिपाले सोधी।
"आमा मरी सकी। बाबु-- बाबु पनि मरिसक्यो" सार्थकले सानो स्वरमा भन्यो। उ आफैले आफुलाइ मार्यो एकछिनको लागि।
"बिचरी!" क्रिपाले सहानुभुति जनाइ। "कति बर्षकी छे?"
"१७ जति होली।"सार्थकले उ बन्दिपुर गएको, त्रिस्नाको उमेर आफै हिसाबकिताब गर्यो।
"अनि कसले तिर्छ त उसको फी?" क्रिपा दयालु भए पनि मुख्य प्रश्न त्यहि नैं थियो।
"म-- यानि मेरो साथी छ, उसैले तिर्छु भनेको छ।" सार्थकले कुरा मिलाउनै पर्यो।
"तपाइको लागि भए म डिस्काउन्ट गर्न सक्छु। तर तपाइको साथीको लागि सक्दिन।" उस्तै मन्द मुस्कान छाडी क्रिपाले।
"मलाइ चाहि किन बिषेश डिस्काउन्ट?" सार्थकले सम्झ्यो क्रिपा पनि उसको गीतको फ्यान रहिछ।
"तपाइँ आभाको श्रीमान होइन? आभा मेरी कलेजकी मिल्ने साथी हो।" क्रिपाले त्यस्तो ठाँउमा गोली हानी, जहाँ पहिले नैं चोट लाग्ने संभाबना थियो।
सार्थक मर्माहत भयो, एकछिनको लागि उसको ओंठ सुक्यो, दिमाग सुन्य भयो। क्रिपा आभाको साथी, त्रिस्नालाइ यहाँ राख्नु उपयुक्त लागेन सार्थकलाइ।
"ए, तपाइँ आभाकी साथी, चिनेकै मान्छे पर्नु भएछ। संसार साँचिकै सानो छ।" सार्थक रोकियो अनि फेरि भन्यो।"म मेरो साथीलाइ सोध्छु, उसले के भन्छ? त्यसपछि तपाइलाइ खबर गरुलाँ"। भन्दै उ त्यहाँबाट छिटो छिटो बिदा भयो।
"आजको दिन राम्रो छैन।" बाटोमा उसले रमेशलाइ भन्यो।
"किन दाइ?" रमेशले सोध्यो।
"त्रिस्नाको लागि होस्टेल हेर्न खोजेको। यहाको वार्डेन नैं आभाकी साथी रैछे। होस्टेल राम्रो छ तर आभाको साथी भएको ठाँउमा त्रिस्नालाइ राख्नु भनेको मैले आफ्नो खुट्टामा अफैले बन्चरो हान्नु जस्तै हो।" सार्थकले लामो सुस्केरा हाल्यो।
"अनि तपाइले त्रिस्नासङ कुरा गर्नु भयो त?" रमेशले सोध्यो।
"कुरा गर्नै पर्दैन। उ गाँउ गएर के गर्छे? यहिँ बस्छे, पढ्छे, एउटा काम त म भनसुन गरेर लगाइदिन सक्छु। यहाँ म छु उसको लागि। गाँउमा को हुन्छ? बलबहादुर पनि बुढो भइसक्यो। उसकी आमा मरी हाली।" सार्थक एक्लै एक्लै सोच्दै बोल्दैथ्यो। रमेश केहि बुझ्न सकिरहेको थिएन।
साँझ घर पुग्दा सार्थक थकित थियो। खासै काम केहि गरेको थिएन तर त्रिस्नाको बारे सोच्दा सोच्दा उ गलेको थियो। श्रेया र समिरलाइ माया गरेर उ आफ्नो कोठामा जानै लागेको थियो। पछाडीबाट आभाको स्वर सुन्यो।
"सार्थक!" पहिला उसलाइ बिस्वाश लागेन आभा नैं हो भनेर। यसरी उसले कहिले बोलाउदैनथी।
"सार्थक"।दोस्रो चोटि उसले आभाकै स्वर सुनेर फर्क्यो।
"तिमीसङ एउटा कुरा गर्नु छ।" आभाले भनी।
"अहिले नैं?" सार्थकले सोध्यो।
"अहिले नै।" आभाले भनी। "पाँच मिनेटपछि माथि कौसिमा आउ। त्यहीँ कुरा गरौंला।"
सार्थकको मनमा शंकाको हुरी चल्न थाल्यो। के क्रिपाले आभालाइ दिँउसोको कुरा भनि सकी? के आभाले त्रिस्नाको बारे थाहा पाइ सकि? अब के हुन्छ? आभाले के भन्छे? सार्थकले के जवाफ दिन्छ?
क्रमश: