Posted by: crazy_love July 19, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

भाग-६


प्रबेशको मोबाइल ब्यस्त रह्यो, त्यो दिन भरि। काठमान्डौमा नेटवोर्क कहिले काम गर्दैन। दिक्क भएर सार्थकले ५-६ चोटिको प्रयास पछि अर्कोदिन सम्पर्क गर्ने भनेर बस्यो। अर्को दिन पनि त्यस्तै प्रयाश गरेपछि प्रबेशसङ सार्थकको कुरा भयो। तर प्रबेशले कुरा गर्नको लागि बलबहादुर र त्रिस्ना नभइ हुँदैन भन्यो र त्यसको दुइ दिन पछि सार्थककै अफिसमा भेट्ने कुरा गर्‍यो। पहिले सार्थक अफिसमा भेट्नु उपयुक्त होला कि नहोला भन्ने दोधारमा पर्‍यो। तर बाहिर झन अरु भेटिने संभाबना बढी भएको कारणले उसकै अफिसमा ४-५ बजेतिर भेट्ने निर्क्योल गर्‍यो।


तोकिएकै दिनमा उनिहरु आए। बलबहादुर र त्रिस्ना पहिलो दिनको भन्दा अलि ताजा देखिन्थे। दुबैले पशुपतिको चन्दन पनि लगाएका थिए। शायद काठ्मान्डु पनि घुम्दै होलान सार्थकले मनमनै अड्कल काट्यो। त्रिस्नाको खुट्टामा नयाँ चप्पल थियो, तर कुर्कुचाहरु पट्पट फुटेका थिए। गाँउमा धेरै काम गर्छे होला।सधैं माटोमा खेल्दा त्यस्तै हुँदो हो। अनुहारमा पनि छाला सुक्खा देखिन्थे। घाममा दिनहुँ काम गर्दा त्यस्तै हुँदो हो। कपाल त्यस्तै थियो, कालो नभएर खैरो फुस्रो फुस्रो। पोषण नपुगेको जस्तो। उसको लागि सौन्दर्य सामाग्री प्रयोग गर्नु भनेको नचिताएको सपना हुनु पर्छ। जिबन सजिलो छैन त्रिस्नाको लागि। बिचरी कति दुखी कर्म लिएर जन्मिछे? अलिकति दया जस्तो, अलिकति सहानुभुति जन्मियो त्रिस्नाको लागि सार्थकको मनमा। उसले त्रिस्नालाइ धेरै बेर परबाटै निरिक्षण गर्‍यो र श्रेया सम्झ्यो। श्रेया राजकुमारी जस्ती छे। उसको हरेक मागहरु सार्थक पुरा गरिदिन्छ। सुखसयलको जिन्दगि बाँच्ने श्रेया सार्थकको छोरी हो, के समयभन्दा अघि तुहिएको सपना जस्तो देखिने त्रिस्ना पनि उसकै छोरी हो त?  सार्थकले त्रिस्नाको स्थिर आँखाहरुले उसलाइ यही सोधीरहेको जस्तो महसुस गर्‍यो। शायद ती ओइलिएका आँखाहरु सोध्दैथे, "के मैले कहिले नदेखेको मेरो बुबा भन्ने मान्छे तपाइ नैं हो?"


"सर! अब हामी के गरौ त?" बलबहादुरले धेरै बेरसम्म मौन रहेको सार्थकलाइ सोध्यो।


"नागरिकता मात्र हो भने प्रक्रिया शुरु गर्नु पर्‍यो। मैले पहिले पनि भनेको छु। यो काम गोप्य तरिकाले गर्नु पर्छ। मेरो परिवार, आफन्त वा अरु कोहि तेस्रो ब्यक्ति कसैले थाहा पाउनु हुन्न।" सार्थकले साबधानी भन्ने शब्दलाइ सम्झिन सकेन।


"हामी त्यसै गर्छौं। त्यसको लागि तपाइ ढुक्क हुनुहोस।" प्रबेशले सार्थकलाइ आस्वासन दियो।


"नागरिकता पछि अरु कुनै झमेला नआओस्। भनाइको तात्पर्य म अरु केहि पनि गर्न सक्दिन त्रिस्नाको लागि।" सार्थकले त्रिस्नालाइ नहेरी भन्यो।


"सर! हामीलाइ केहि चाहिदैन। हाम्रो दुख सुखको जिबन छ गाँउमा। दुइ छाक मिठो नमिठो खान र एकसरो लाउनको लागि पुगेकै छ। हजुरसङ हामी केहि पनि आशा गर्ने छैनौ।" बलबहादुरले उस्तै रुन्चे स्वरमा भन्यो।


"मैले त्यस्तो भनेको हैन। त्यस्तै परे अलि अलि पैसा त सहयोग गर्न सक्छु। तर सम्पति  भनेर केहि दिन सक्दिन।" सार्थकले कुरा मिलाउन खोज्यो।


"होइन सर! हामीलाइ त्यस्तो केहि आबश्यक्ता छैन। नागरिकता बनेपछि यो स्वास्थ्य सेविका तालिम लिन्छे। त्यसपछि यो पनि आफ्नै खुट्टामा उभिन्छे। अहिले नि पुगेकै छ, पछि पनि भगवानले जुराउनु हुन्छ भन्ने हामीलाइ बिस्वास छ।" बलबहादुरले फेरि आस्वस्त बनायो सार्थकलाइ।


"प्रबेश जि! तपाइ कानुनको बिध्यार्थी। के के प्रक्रिया छ? नागरिकताको लागि तपाइ बुझ्नुस्। र तयारी गर्न थाल्नुस्। केहि परेमा मलाइ खबर गर्नुस्।" सार्थकले प्रबेशलाइ भन्यो।


"हुन्छ! म त्यस्तै गर्छु।" प्रबेशले भन्यो।


"सर! यहाँ पाइ खाना कहाँ होला ? अलि सार्है पो आपत पर्‍यो।" बलबहादुरले निक्कै च्यापे जस्तो गरी सोध्यो।


"यो कोठाको दाहिने पट्टि को लाइनमा अन्तिम कोठा हो। म देखाइ दिन्छु आउनुहोस।" सार्थक उठ्यो।


"भैगो, भैगो! मलाइ नि जानु छ। म जान्छु बलबहादुर दाइ सङ।" प्रबेश सार्थक भन्दा पहिले नैं पुग्यो ढोकामा। बलबहादुरले त्रिस्नालाइ "तँलाइ पनि जानु छ?" सोध्यो, त्रिस्नाले टाउको हल्लाएर छैन भनि। प्रबेश र बलबहादुर निस्के ढोकाबाट।


कोठामा सार्थक र त्रिस्ना मात्रै रहे र उनिहरु दुबै जना शब्दको अभाब महसुस गरिरहेका थिए। कुरा गर्ने कि नगर्ने? गर्ने भए कहाँबाट कसरी शुरु गर्ने भनेर? त्रिस्ना भुँइमा हेर्थी, घरि रित्तो भित्तामा र घरि  सार्थकलाइ  हेर्थी। सार्थक कम्प्युटर स्क्रिनमा हेरे जस्तो गर्थ्यो र त्रिस्नालाइ पनि लुकेर अप्रत्यक्ष हेर्थ्यो। जब सार्थक त्रिस्नालाइ हेर्थ्यो। त्रिस्नाको आँखाहरु टक्क रोकिन्थे र बोल्थे "यो कस्तो सम्बन्ध हो?" सार्थक प्रत्त्युतरमा असहाय हुन्थ्यो र मनमनै भन्थ्यो "म बिबश छु।" शायद त्रिस्ना सार्थकले भन्न खोजेको कुरा बुझ्थी कि बुझ्थिन कुन्नि, उनका आँखा अरु कचौरा जस्तै टम्म भरिन्थे, आँसु पोखिएला पोखिएला जस्तो हुन्थे। अनि फेरि त्रिस्ना आँसु लुकाउन अरु कतै हेर्थी। सार्थकको छाति पोल्थ्यो, उसको आँखाहरु भनिरहेका हुन्थे "सक्छौ भने मलाइ माफ गर।" त्रिस्ना उसलाइ हेर्थी अनि टोलाउथी, कहिले कहिँ आँसुको ढिक्को गालाबाट झरिसकेको हुन्थ्यो र घाँटिमा गाँठो पर्थ्यो। उ सम्हालिरहेकी हुन्थी। उ शायद मन फुकाएर रुन सक्दिनथी, मनमा बाढी उर्लिरहेकोथ्यो। छेकेर छेक्न नसकिने, रोकेर रोक्न नसकिने। सार्थक उसलाइ हेर्नै नसक्ने भइ सकेकोथ्यो। उ त्यहाँबाट अन्तर्ध्यान हुन चाहन्थ्यो, उसकी छोरीको प्रश्नसुचक आँखाहरुबाट भाग्न चाहन्थ्यो। उ सक्दैन श्रेया रोएको हेर्न न त उ हेर्न सक्छ त्रिस्ना रोएको हेर्न। त्रिस्ना हिक्क हिक्क गर्न थालेकी थिइ। सार्थकसङ क्षमता थिएन, त्रिस्नाको रुवाइलाइ सम्हाल्ने। उ आफै मजबुर छ। बास्तबमा उ आफै पनि रुन चाहन्छ जिन्दगिको यो गोरेटोमा। जहाँ उ न अघि बढ्न सक्छ न पछि हट्न सक्छ। कसले भन्यो केटा मान्छे रुन हुँदैन? उसको पनि मन छ, मन दुख्दा उ रुन चाहन्छ। मौन परिबेश, अप्ठ्यारो परिस्थिति र कसैले बुझ्न नसक्ने बाबु छोरीको त्यो मौन संबाद साँच्चै नैं मुटुलाइ चिराचिरा पार्ने थियो। सार्थकको अनुहारमा कालो बादल छाइसकेको थ्यो, बर्षा हुन हुनै लागिसकेको थ्यो, त्यहि बेला प्रबेश र बलबहादुर कोठा भित्र पसे। त्रिस्ना हत्तर न पत्तर सामान्य हुन थाली, सार्थकले रोक्यो उसको मनलाइ, अनायास बर्षिनबाट।


"फेरि पेट दुख्यो क्या हो यसको? कस्तो कालो अनुहार लाएकी?" बलबहादुरले त्रिस्नालाइ हेर्दै सोध्यो। त्रिस्ना केहि बोलिन।


केहि बेर पछि उनिहरु तिनै जना बिदा भए।


कोठामा सार्थक एक्लो भयो, अब उसलाइ आफैसङ लुकाउने कुनै आबश्यकता थिएन। उसले कोशिश गर्‍यो फेरि रुनलाइ। सकेन, सक्दै सकेन। उसको रुने प्रयास तेतिकै भयो। उ नरोएको धेरै भइसकेको थियो, एकचोटि उ अघाउन्जेल रुन चाहन्छ। उसले केहि गरि पनि रुनै पर्छ। आकाशमा कालो बादल त्यसै गरि मडारिदै थिए, तर पानी पर्न सकेको थिएन। सार्थकको मनमा पनि त्यस्तै बादल गाँठो परेर बसेको थियो।


क्रमश:


 

Last edited: 19-Jul-09 07:34 PM
Last edited: 19-Jul-09 07:45 PM
Read Full Discussion Thread for this article