Posted by: crazy_love July 15, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

भाग-४


सार्थक सोच्न थाल्यो, कस्तो सम्बन्ध त्यो? न त उसले कहिले जुनालाइ प्रेमको प्रस्ताब राख्यो, न जुनाले सङै मर्ने सङै बाँच्ने कसम खाइ। उनिहरु साथी जस्तो मात्र थिए, तर प्रेमिभन्दा धेरै आत्मिय। न त उनिहरुलाइ पाउनुको खुशी थियो न त गुमाउनुको डर नैं। न हिजो थियो, न भोलि थियो, जे थियो, त्यो समयको अति सुन्दर  पल थियो। त्यो मिलनको रातलाइ उनिहरुले सम्बन्धको आधार पनि ठानेनन्, न त बिहे बन्धनले बाँध्न खोजे। त्यस रातको अद्वितिय अनुभब पछि उनिहरु अरु नजिक हुन थाले।


होटेलमा दिँउसो साहुजिसाहुनी दुबै आँउथे, जुनालाइ कामहरु अर्हाउथें। उनिहरुको घर अलि तल बजारमा थियो। अक्सर जुना साँझको काम सकेर सुत्नको लागि साहुजिहरुकै घरमा जान्थी। तर सार्थक प्रायजसो रातिको खाना ढिलो खाने हुनाले धन्दा सकाउन अबेर हुने कारनले पनि जुनालाइ होटेलमै सुत्न सजिलो हुन्थ्यो। यो कुरालाइ उसका मालिकहरु पनि बुझ्थे। बस्तीभन्दा अलि टाढा भएकोले पनि जुनाको चरित्रमा औंला उठाउने हरु कमै थिए, तर शंका नगर्लान भन्ने कुरा थिएन। उ जवान थिइ, सार्थक उस्तै आकर्षक केटो थियो।


"बाबा! खान आउनु न।" यसपटक श्रेया आइ फेरि।


सार्थक एक्लै रहन सकेन, खान गयो। आभा समिरलाइ खाना थप्दै थिइ। उ थकित जस्ति देखिन्थी। उसलाइ सहयोग गर्ने माहिली थिइन। श्रेया पनि मद्दत गर्दैथी।


"आज ब्यस्त भयौ कि क्या हो?" आभाले उसलाइ नहेरी सोधी।


"अँ, हेर न। नयाँ अल्बमको लागि लास्ट गीत रिकर्डिङ सकाउ भनेर बसेको थिए, अर्कै काम पर्‍यो।" सार्थकले आफै खान राख्दै भन्यो।


"कस्तो काम?" आभाले पुलुक्क हेरी उसलाइ।


"टेन्सनको काम! समाजसेवाको फिल्डमा कस्तो काम हुन्छ?" सार्थकले आभाको आँखामा  आँखा जुधाउन सकेन।


"आज माहिली आइन?" सार्थकले सन्दर्भ मोड्ने प्रयास गर्‍यो।


"माहिली दिदीको कस्तो टेन्सन रैछ नि, बाबा!" श्रेयाले बिचैमा भनी।


"कसरी?" सार्थकले आभालाइ हेर्‍यो, आभाले समिरलाइ हेर्‍यो।


"माहिलीको लोग्नेको अर्को स्वास्नी रहेछ पहिले नैं, उसको बच्चा नि रहेछ। अहिले मुद्धा हालेछ।" आभाले सकेसम्म धेरै भन्न चाहिन।


सार्थकको मुटु फुल्यो, जुना छाइ मस्तिष्कमा, त्यसपछि त्रिस्ना। खाना घाँटिबाट निल्नै गार्हो भो, पानी पियो हतार हतार। आभा यो सबै हेरिरहेकी थिइ।


"अब माहिली दिदीले के गर्नु हुन्छ होला है?" श्रेयाले आभालाइ सोधी।


"केहि न केहि।" समिरले हत्त न पत्त जवाफ दियो।


"किन केहि न केहि? त्यत्रो धोखा भैसकेपछि नि चुप लागेर बस्न हुन्छ त? त्यस्तो लोग्नेलाइ छोडिदिनु पर्छ नि। त्यस्तो झुठ बोल्न हुन्छ? पहिले बिहे गरिसकेको मान्छेले? माहिली दिदीको बच्चाहरुलाइ कस्तो भयो होला?" श्रेया जङिइ।


"केटा मान्छे हो। त्यस्तो भइहाल्छ नि।" समिरले हाँस्दै भन्यो। आभा र सार्थक श्रोता भएका थिए त्यहाँ।


"केटामान्छे भन्दैमा तिमिहरुलाइ गलत काम गर्ने छुट कस्ले दियो?" श्रेया रिसले राति भइ।


"ओहो! मेरी दिदी कस्तो रिसाएकी? भोलि पर्सि कानुन पढाउनु पर्छ यसलाइ है बाबा?" भन्दै समिर फेरि खाना खान थाल्यो।


"भन् त भाइ! केटा हुँदैमा जे पायो त्यही गर्न कसरी मिल्छ?" श्रेया अझै सोध्दैथी।


"त्यो त थाहा छैन दिदी! तर मलाइ निशा पनि मन पर्छ, उषाको पनि माया लाग्छ। म दुबैको चित्त दुखाउन चाहन्न।" समिर अरु ठट्टा गर्दैथ्यो


"मुर्ख केटा! बिहे पनि दुइजना सङै गर्छस्?" श्रेया झन् रिसाइ।


"कहाँबाट बिहेको कुरा गर्‍या भन्या? भर्खर त म ६ मा पढ्दैछु। तिमिलाइ अरुको के मतलब हँ?" समिरले उल्टो जिस्कायो।


"तिमीहरु दुबै चुप लाग! खान खाँदा पनि शान्ति छैन।" एक्कासी सार्थक करायो। श्रेया र समिर छिटोछिटो खाए र आ-आफ्नो कोठामा गए। आभा चुपचाप भाँडा धुन लागी। सार्थक टेबल सफा गर्न थाल्यो।


"भैगो! जाउ, आराम गर। आज तिमीलाइ सन्चो छैन जस्तो छ।" आभाले मायालु पाराले भनी।


"श्रेया र समिर अलि धेरै झगडालु  हुँदैछन्। नानाभाँति कुराहरु नसिकाउ तिमी श्रेयालाइ।" सार्थकले आफ्नो फ्रस्ट्रेसन पोख्यो।


"मैले केहि भनेकी छैन। तिमीलाइ किन त्यस्तो लाग्यो?' आभा छक्क परी।


"म कलाकार हुँ, मेरो जिबनमा धेरै मानिसहरु आँउछन्, केटा, केटि सबै। मेरो धेरै साथीहरु केटि हुँदैमा मैले कहिले पनि आफ्नो पारिवारिक दायित्वमा आँच आउन दिएको छैन। तिमी मेरी स्वास्नी हौ, मैले तिमीलाइ त्यही सम्मान दिएको छु। मेरो घर र परिबार मेरो पहिलो जिम्मेदारी हो।" सार्थक आफ्नो कुन्ठाहरुलाइ छोप्न थाल्यो।


"म सबै कुरा बुझ्छु। मैले तिम्रो कुनै सम्बन्धमा हस्तक्षेप गरेकी छैन। यो कुरा हामीबिच धेरै पहिले भइसकेको छ। तिम्रो दुइटा जिबन छ। एउटा म र परिवार अर्को तिम्रो ब्यक्तिगत।" आभाले भनी।


"तर श्रेयाको कुरा सुन्दा यस्तो लाग्छ, उ मलाइ मन पराँउदिन। उसलाइ मेरो बारेमा सबै थाहा छ।" सार्थक चिन्तित देखियो।


"श्रेया तिम्री छोरी हो। उ तिमीलाइ माया गर्छे। उसले जे भनी त्यो तिमीसङ सम्बन्धित छैन। शायद, उ भाबनामा बहकिएकी हुन सक्छे। उसलाइ जिबनको तितो यथार्थहरु थाहा छैन। माहिलीको बारेमा उसलाइ चिन्ता छ। किन भने उ माहिलीलाइ पनि आफ्नै घरको सदस्य जस्तै माया गर्छे।" आभाले बिस्तारै सम्झाइ सार्थकलाइ।


"तिमी नि। के तिमी मलाइ माया गर्छौ? कि बाध्य छौ?" सार्थकले आभालाइ आक्रोश प्रकट गर्‍यो।


"त्यो तिमीलाइ थाहा छ। हाम्रो बिहे सम्झौता थियो दुइ परिवारको प्रतिष्ठा र आर्थिक सम्पन्नताको। न तिमी मलाइ मन पराउथ्यौ, न म तिमीलाइ। बिहे भयो, बच्चाहरु भए। अब न तिमी मलाइ छोड्न सक्छौ म तिमीलाइ। यो एक किसिमको सामाजिक बाध्यता पनि हो। हामी यस बिषयमा कुरा नगरौं।" आभा प्रष्ट थिइ उनिहरुको सम्बन्धको  बारेमा।


सार्थक एकैछिन सोच्न थाल्यो, खासैमा कोहि कसैको हुँदैन। न आभा उसकी भइ, न जुना उसकी, न उ अरु कसैको भयो। उसको जिन्दगीमा थुप्रै केटीहरु आए, गए। उ कसैको भएन, न त कोहि उसको भयो। कत्रो बिडम्बना यो जिन्दगीको? को आफ्नो को पराया नैं थाहा पाउन गार्हो। उसले हिंडेको बाटो किन यस्तो जटिल? त्रिस्नाको जिबन किन त्यति कठिन? उ श्रेया र समिरको बाबु हो भने त्रिस्ना कसकी उसकी छोरी त? यदि त्रिस्ना उसकै छोरी हो भने पनि के उ श्रेयालाइ जस्तो त्रिस्नालाइ माया दिन सक्ला? श्रेया र समिर उसको संसार हो, उसको खुशीको उज्यालो, उसको जिबनको ढुकढुकी। त्रिस्ना कुन सम्बन्धको परिभाषामा पर्छे? के अर्थ राख्छे उसको जिन्दगीमा? कहाँ जोडेको छ उसलाइ मायाको रेखाले?


सार्थक फेरि अर्को पेग बनाउन गयो।


क्रमश:


 


 


 


 

Read Full Discussion Thread for this article