Posted by: lakhe July 14, 2009
You should Read This
Login in to Rate this Post:     0       ?        

'प्रधानमन्त्रीलाई भनेँ मजस्ता धेरैले पढ्न पाऊन्'

smaller text tool iconmedium text tool iconlarger text tool icon

पढ्न पाए केही गरेर देखाउँथें

भवसागर घिमिरे, काठमाडौं असार ३० - एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी गरिब विद्यार्थी भावना तामाङलाई सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालले भेटेका छन् । समता शिक्षा निकेतन जोरपाटीमा कक्षा २ देखि निःशुल्क पढ्दै आएकी उनले यसपालि एसएलसी दिएकी थिइन् । नागरिक शनिबारको जूनकीरीमा प्रकाशित तामाङको संघर्षको कथा पढेपछि प्रधानमन्त्रीले बोलाएर बालुवाटार निवासमा उनलाई भेटेका हुन् ।

"मैले पत्रिका पढेँ तिमीलाई बधाइ छ," कार्यकक्षमा भावनासँग हात मिलाउँदै प्रधानमन्त्रीले भने, "म आफैंले धेरैतिर फोन गरेर क्याम्पसका लागि बुझेँ र तिमीलाई बोलाएको।" राजधानीकै जेभियस्र इन्टरनेसनलको छात्राबासमा बस्ने खाने र पढ्ने सुविधा मिलाएपछि भावनालाई भेट्न बोलाएको नेपालले बताए ।

सोमबार बजेट भाषण तयारीको चटारोमा रहेका प्रधानमन्त्रीलाई भेट्न मन्त्रीहरु पनि आएका थिए । ऊर्जा मन्त्री प्रकाशशरण महत संसदीय व्यवस्था तथा संविधानसभा मन्त्री मिनेन्द्र रिजाल सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ पनि कार्यकक्षमै थिए ।
प्रधानमन्त्री नेपालले शनिबारै भावनाको कथा पढेपछि उत्साहित हुँदै आफ्ना प्रेस सल्लाहकार विष्णु रिजालसँग सोधेका थिए - "तपाईंले पढ्नुभयो?" "पढेँ" - रिजालले भने ।
"यिनका लागि हामीले केही गर्नुपर्छ," प्रधानमन्त्रीको यो भनाइमा रिजालको जवाफ थियो, "म भेट गराउने व्यवस्था गर्छु।"

"हुन त कथा पढेपछि म शनिबारै भेट्न चाहन्थेँ आइतबारै सिंहदरबारमा भेट्ने कार्यक्रम पनि मिलाउँदै थियौं" प्रधानमन्त्री नेपालले भने - "चाहँदा चाहँदै पनि कार्यव्यस्तताले साथ दिएन।" भावनाको संघर्षले आफूलाई भेट्न मन लागेको उनको प्रतिकि्रया थियो ।

"उनको आमाले अर्काको घरमा भाँडा माझेर कपडा धोएर पाढाएकी," प्रधानमन्त्रीले मन्त्रीहरुलाई सुनाए "उनका बा सधैं रक्सी खान्थे साह्रै दुःख पाइछन्।" प्रधानमन्त्रीको कुरा सुनेपछि मन्त्रीहरुले पनि मेहनती भावनालाई बधाइ र सफलताका लागि शुभकामना दिए ।

सन्तानको हेरचाहमा खासै ध्यान नदिने उनका बाले परिवारलाई दिनहुँ यातना दिन्थे । चार वर्षअघि भावनाका आमा र दुई दिदीबहिनी बासँग छुट्टिएका थिए । त्यसपछि बाले अर्को बिहे गरेछन् । दोलखाको चरिकोट घर भएकी भावनाले न आफ्नो घर देख्न पाएकी छन् न उनकी आमाले नै देखेकी छन् ।

बासँग छुट्टिँदा उनीहरुसँग न बस्ने बास थियो न खाने गाँस । जोरपाटीको बाहुनधारा नजिक बल्लतल्ल पाएको डेरामा उनका परिवारले धेरै दिन एकसरो सुकुलमै रात काटेका थिए । भोजभतेरमा भाँडा माझ्न जाँदा आमा मीना छोरीहरुका लागि खाना पोको पारेर ल्याउँथिन् । बासीत्यासी जे हात पर्छ त्यही खाएर भावनाले पढाइलाई निरन्तरता दिइन् ।

"तिमीले अझ धेरै मेहनत गर्नुपर्छ डाक्टर बन्नु," महिला तथा बालबालिकाको डाक्टर बन्ने सपना लिएकी भावनालाई प्रधानमन्त्रीले भने, "अझ राम्रो नम्बर ल्याउनु ९० प्रतिशत कटाउनु।"

आफूजस्तो सामान्य नागरिकलाई प्रधानमन्त्रीले भेट्न बोलाएकामा भावना दंग थिइन्। "म पढेर धेरै काम गर्छु," प्रधानमन्त्रीसँगको १० मिनेट लामो कुराकानीमा घरिघरि उनको बोली अड्कियो खुसीले उत्साहित भएर।

प्रधानमन्त्रीले आमा मीनासँग पनि उनीहरुको पारिवारिक अवस्थाबारे चासो राखेका थिए, "परिवारका लागि अरु के गर्न सकिन्छ हामी छिट्टै तपाईंलाई खबर गर्छौ।" कुराकानीपछि भावनाले प्रधानमन्त्रीलाई एउटा पत्र पनि थमाइन् । आमाका लागि काम गर्ने केही बाटो जुराउनसके बहिनीहरुको पढाइ राम्रो हुने बेहोरा उनले पत्रमा लेखेकी थिइन् । "मजस्ता धेरै भावनाले पढ्न पाओस् भनेर पनि लेखेँ," उनले भनिन् ।

दुःखसाथ एसएलसी दिएर ८८।७५ प्रतिशत अंक ल्याउँदा पाएको खुसी प्रधानमन्त्रीको भेटले उत्कर्षमा पुर् याएको भावनाको प्रतिकि्रया थियो ।

"पैसा छैन कसरी पढ्ने भन्ने लाथ्यो म त निरासै भएकी थिएँ," बालुवाटारबाट फर्केपछि उनले नागरिकसँग भनिन्, "सबै्तिरबाट सहयोग र प्रोत्साहन पाउँदा म धेरै उत्साहित छु।"

एसएलसीको नतिजालगत्तै खुसीसँगै पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता अँध्यारो डेरामा भित्रिएको थियो ।

छोरा नपाएको निहुँमा दिनहुँ श्रीमानबाट यातना पाएकी मीनाका आँखा पनि धेरै वर्षपछि खुसीका आँसु छचल्किरहेका थिए । "सपनामा पनि सोचेकी थिइन सर," उनले भनिन् - "दुःखै गरेर पनि छोराछोरी पढाए राम्रो हुने रैछ।"

नागरिकको असार २१ को अंकमा उनको पहिलो कथा छापिएको थियो । त्यसलगत्तै उनलाई सहयोगका लागि देशका विभिन्न स्थानबाट फोन आउन सुरु भयो । शनिबार उनको संघर्षको कथा छापिएपछि उनलाई आर्थिक सहयोग गर्ने र कलेज पढाउने बाचा गर्नेहरु ओइरै लाग्यो ।

"यस्तो दिन आउँछ भन्ने त विश्वासै लागेको थिएन," भावनाले भनिन् - "मेहनत गर् यो भने गरिबको पनि दिन आउँदो रहेछ।"

सुरक्षा गार्डको शुभकामना

"मैले तपाईंको कथा दुईपटक पढेँ आँखा धेरै रसायो," सोमबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार निवास गएकी भावनालाई गेटमा बसेका सुरक्षा गार्ड सुरेन्द्र लिम्बुले भने- "बहिनी अझै पनि मैले त्यो पान्नो सिरानीमै राखेको छु।"

झापा स्थायी घर भएका लिम्बु भावनाको भोगाइमा भावुक हुनुको कारण छ- उनको बाल्यकाल भावनासँग मिल्दोजुल्दो थियो । "मेरो र उसको भावना कथा त उस्तैजस्तो रहेछ," उनले भने - "पत्रिकामा पढ्दा पनि आफ्नै कथा पढेजस्तो लाग्यो।"

भावनालाई भेटेर सहयोग गर्ने इच्छा व्यक्त गर्दै उनले भने. "सहयोग गर्न त मन थियो । तर हामी त साना मान्छे । ठूलो मान्छेको हात पाउनु भएछ राम्रो गर्नुस् है शुभकामना !"

मेहनतीलाई सहयोग

भावनाको समाचार छापिएलगत्तै उनलाई सहयोग गर्नेहरुले नागरिक दैनिकमा सम्पर्क गर्न थालेका थिए । डिल्लीबजार कालिकास्थानका खगेन्द्रबहादुर केसीले घरमै बोलाएर ४ हजार रुपैयाँ सहयोग गरे । असोज महिनापछि हरेक महिना १ हजार रुपैयाँ सहयोग गर्ने बाचा पनि गरे ।

टि्रनिटी कलेज डिल्लीबजारले उनलाई पूर्ण छात्रवृत्तिसहित होस्टलको सुविधा दिने प्रस्ताव गर् यो । पोखराबाट पनि सहयोग रकम आयो । सपुतमान तामाङसहित ठमेलका पर्यटन व्यापारीले उनका लागि रकम संकलन गर्ने अभियान थाले ।

नेपाल टेलिभिजनको कार्यक्रम संघर्ष श्रम र श्रृजना र रेडियो नेपालको तामाङ भाषाको कार्यक्रमले उनी र उनकी आमाको संघर्षको कथाबारे अन्तवार्ता लियो ।

नागरिक शनिबारमा उनको पूर्ण कथा छापिएपछि भने देश विदेशबाट सहयोग गर्नेहरुको ओइरो लाग्यो । जावलाखेलका हार्डवेर व्यापारी बलराम कार्कीले शनिबार उनको कोठामै पुगेर ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरे । उनी फलफूल बोकेर श्रीमतीसित जोरपाटी पुगेका थिए ।

अनलाइनमा समाचार हेरेपछि जर्मनबाट प्रेमराज न्यौपानेले आफ्नी ११ वर्षे छोरीलाई भावनासँग भेट गराउन मन लागेको बताए । उनी केही सातामै नेपाल आउन लागेका छन् । त्यही क्रममा मेहनती छात्रा भावनासित छोरीको भेट गराउने उनले बताए । "म सहयोग पनि गर्नेछु" उनले इमेलमा लेखेका छन् ।

सोमबार साँझसम्म उनलाई पूर्ण छात्रवृत्ति दिन काठमाडौं र बाहिरका १५ कलेजले नागरिक कार्यालयमा सम्पर्क गरिसकेका छन् । "मलाई पढाउन रुचि देखाउने सबै कलेजलाई म धन्यवाद दिन चाहन्छु" भावनाले भनिन्, "जहाँ पढे पनि मेहनतै गर्ने हो । तर पहिलोपटक मलाई अवसर दिने टि्रनिटीमै पढ्ने विचार छ ।"

प्रधानमन्त्री नेपालले पनि "आफूलाई मनपर्ने कलेज रोजेर पढ्न" सुझाव दिएका थिए ।


भावनाका लागि छात्रवृत्ति दिन ताकेता गर्ने सबै कलेजलाई धन्यवाद । काठमाडौंका टि्रनिटी, नोबेल, मिलेनियम, पासाङ ल्हामु, जया मल्टिपल, एम्बिसन, शुभ श्री, युनिभर्सल, क्यास्पियन, हिमालयन, ह्वाइट हाउस, जेभियर इन्टरनेशन। ललितपुरका एसियन, नेशनल, मल्टिपल, ग्रान्ड एकेडेमी, रिलायन्स। सिन्धुलीको भगवती आवासीय मावि।

भावनालाई प्रोत्साहन सहयोग
खगेन्द्र बहादुर केसी डिल्ल्बिजार काठमाडौं तत्काल ४००० र दुई वर्षको लागि मासिक १ हजार ।
शान्ति लक्ष्मी पराजुली पोखरा हाल लगनखेल १ हजार
अमर तामाङ तथा थ्री जेवल्स् एडभेन्चरस समुह २० हजार
बलराम कार्की जावलाखेल ५५५५
बार्षिक ५ हजार काठमाडौं नाम नखुलाउने सर्त
मासिक १५०० एक वर्ष काठमाडौं नाम नखुलाउने सर्तमा
धु्रव विक्रम मल्ल अध्यक्ष तथा प्रमुख बालाजु कराँते प्रतिष्ठान ५ हजार
मिमकाजी र सुनीता नमस्ते पोखरा डिपार्टमेन्टल स्टोर पोखरा २ हजार
सपुतमान तामाङ र फूल कुमार लामा ठमेल ५५००
सुमन सागरजंग केसी कीर्तिपुर मासिक १ हजार दुईवर्षको लागि
भुवन कुमार श्रेष्ठ वानेश्वर दुई वर्षको सम्पुर्ण पढाइ खर्च व्यहोरिदीने
कृष्ण राज शिवाकोटी वानेश्वर दुई वर्षको सम्पुर्ण पढाइ खर्च व्यहोरिदीने

आर्थिक सहयोग गर्न चाहनु हुनेले उनको नाममा खोलिएको नेपाल एसबिआइ बैंक चुच्चेपाटी काठमाडौंको एकाउन्ट नम्बर २०५१५२४१४००२६३ मा रकम जम्मा गर्न सक्नुहुनेछ 

Read Full Discussion Thread for this article