Posted by: crazy_love July 10, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

भाग-२


"त्रिस्नाको बुबाको नागरिकता छ त? अथवा आमाको भए पनि हुन्छ। आजकाल आमाको नागरिकताबाट पनि नागरिकता लिन सकिन्छ। त्यस्तो ठुलो समस्या होला जस्तो लाग्दैन मलाइ।" सार्थक केहि बेर पछि बोल्यो।


"जन्मिदाँ नैं टुहुरी जन्मेकी यो। बाबुको अत्तोपत्तो थिएन। यसकी आमा जुना सोझी सोझी थी, गाँउमा हामीले पनि कसैलाइ शंका गर्ने आधार थिएन। उ बन्दिपुरमा साहुकहाँ बस्थी त्यहीँ होटेलमा काम गर्थी, गाँउमा चाडबाडमा मात्र आँउथी। बर्सौसम्म हामीले सोधिरह्यौं यसको बुबा को हो बारेमा, तर यसकी आमाले कहिले भनिन। गाँउमा सामाजिक अपहेलना त थियो थियो, झन त्यसमाथि बिना बाबुकि छोरि जन्माएपछि अरु हेला खपियो। जे भए नि, बच्चा आफ्नै रगत थियो। देखेपछि माया लागिहाल्यो। दुखसुख हामी आफैले पाल्ने बिचार गर्‍यौं, छोरी आफ्नै थिइ, छोरीकी छोरी पनि आफनै भइ।" बलबहादुरले त्रिस्नाको टाउको मायाले मुसार्‍यो। "जुना परार साल जरोले थलिएपछि एउटा पुरानो खाम झिकेर दिइ। त्यसमा सरको नाम र ठेगाना थियो। यसकी आमा त मरी हाली, तर यो केटि स्वास्थ्य सेबिकाको तालिम लिन्छु भन्छे, जागिर खान्छु भन्छे। त्यसको लागि नागरिकता नभै नहुने भयो हजुर। त्यसैले हामी सरको आँगनमा दयाको भिख माग्न आएका।" बलबहादुरले बेला बेलामा अड्किदैं कुराको बिस्तार लगायो।


जुनाको नामले सार्थकको अनुहारमा थरि थरि रङ परिबर्तन हुन थाले। माया, ग्लानि, रिस र अन्योलका रङहरु बदलिन थाले। जिन्दगीको यस मोडमा यति ठुलो चुनौति? के समयले उसको परिक्षा लिन लाएको हो? उ नैं किन? अरु कोहि किन उसको ठाँउमा हुन सक्दैन? उ केहि भन्न खोजिरहेको थ्यो तर सुहाउने शब्द पाइरहेको थिएन। त्यति नै बेला रमेश भित्र पस्यो।


केहि कुरा नबुझेपनि कोठाको बाताबरण तनाबपुर्ण महसुस गर्‍यो रमेशले पनि र सोध्यो सार्थकलाइ "दाइ चिसो केहि मगाउ?"


सार्थकले टाउको हल्लाएर हुन्छ भन्यो र रमेश फेरि निस्क्यो बाहिर।


"मेरो सानो परिवार छ, छोराछोरी छन्। सामाजिक प्रतिस्ठा छ। अचानक यो सबै के भन्दै हुनु हुन्छ? म बुझ्न सकिरहेको छैन।" सार्थकले फेरि हेर्‍यो बलबहादुरलाइ, त्रिस्ना अहिले सार्थकलाइ नैं हेरिरहेकी थिइ। उसले नदेखेको बाबु यही मान्छे हुन सक्छ कि सक्दैन भनेर सोच्दैथी उ।


"ठिकै छ नि त, त्यसोभए अदालतमा जाँउला, त्यही सबै कुरा छिनोफानो होला नि।" प्रबेश एक्कासि जोसिएर बोल्यो।


"त्यस्तो तातो रिस नगरौं बाबु। हामीलाइ केहि चाहिदैन, खालि नागरिकता एउटा मात्र हो। सरले भन्नु भएको कुरा पनि ठिक हो। उहाँको परिवारलाइ कुनै आँच नआउने गरी काम सकाउन पाए भै हाल्यो नि।" बलबहादुरले प्रबेशलाइ सम्झायो।


"प्रबेश जि, तपाइको भुमिका मैले बुझ्न सकेको छैन।" सार्थक उस्तै नरम स्वरमा बोलिरहेको थ्यो।


"म एक संस्थाको को स्वंय सेवक हुँ, एउटा कार्यक्रमको लागि उहाँहरुको गाँउ पुगेको थिँए। बलबहादुर दाइले यहि समस्या बताउनु भयो। त्यसैले उहाँहरुलाइ बाटो देखाउन मद्दत गरेको हुँ। तर म कानुनको बिध्यार्थी पनि हुँ।" प्रबेशको स्वरमा धम्कि पनि सुनियो यसपटक।


रमेशले चिसो फ्यान्टा र कोक लिएर आयो। सबै जना एकछिन चिसो पिउन थाल्यो। त्यहि बेलामा सार्थकले रमेशलाइ के कुरा हुँदैछ भन्ने जानकारी दियो। रमेश पनि छक्क पर्‍यो।


"एउटा चिट्ठि र त्यसमा लेखिएको नाम र ठेगानाको भरमा मैले नैं त्रिस्नाको नागरिकता बनाउनु पर्छ भन्ने के छ?" सार्थक सोच्दै सोच्दै उस्तै सामान्य तवरमा बोल्दै थियो।


"ल ठिक छ। बिज्ञानले धेरै कुरा पत्ता लाएको छ। हामी paternity Test गरेर हेरौं। त्यसबाट प्रमाणित हुन्छ सबै कुरा।" प्रबेशले तुरुन्तै उत्तर दियो।


"सर! सुन्नु न! जुना त्यस्ति केटि होइन, उसको अरुसङ सम्बन्ध थिएन। तपाइंको यो खाम पनि तपाइको घरबाट आएको चिट्ठि रहेछ, तपाइलाइ दिन ल्याँउदा तपाइ बन्दिपुर छोडेर हिडिसक्नु भएको रहेछ। त्यसैले उसले जतनले राखेकी रैछे।" बलबहादुर सकेसम्म कुरा मिलाउने पक्षमा थियो।


सार्थकले सम्झ्यो, उसले त्यहाँबाट घरमा २-३ चोटि चिट्ठि लेखेको थ्यो,  त्यसको
 जवाफमा एउटा चिट्ठि घरबाट आएको उसलाइ जुनाले नैं दिएको थ्यो तर त्यसपछि अरु चिट्ठि उसले पाएन।


"धेरै कुरामा असर पर्छ मेरो। तपाइहरुलाइ थाहै छ यो काठ्मान्डुमा मलाइ नचिन्ने कमै छन्। मेरो गीत र सामाजिक कार्यको कारण मेरो खुट्टा तान्नेहरु पनि प्रशस्तै छन्। बरु तपाइलाइ चाहिने आर्थिक सहयोग जति परे म गरुँला तर यो नमिल्ने कुरा म गर्न सक्दिन।" सार्थक फेरि उस्तै गम्भिर देखियो।


त्रिस्ना अरु चाख मानेर कुरा सुन्दैथी। यो मान्छे उसको बुबा कसरी हुन सक्ला? उ काली छे, यो मान्छे गोरो छ। यस्तो सफा र शालिन देखिने मान्छेले उसकी त्यस्ती दुखि गरिब आमालाइ के माया गर्‍यो होला र? कि मनोरन्जनको लागि मात्र? यो प्रश्नले त्रिस्नालाइ वाक वाक हुन थाल्यो। उसलाइ बान्ता गर्न मन लाग्यो। उसको मुखमा चिटचिट पसिना आयो। मुख तितो तितो हुन थाल्यो। बलबहादुरले उसको अनुहारमा हेरेर सोध्यो।


"के भयो?"


उ केहि बोलिन मात्र भित्तातिर हेरिरही। उसलाइ कहिले यो कोठाबाट बाहिर निस्कु जस्तो भएकोथ्यो। प्रबेशले त्रिस्नाको छटपटी बुझ्यो क्यारे।


"अब यो कुरालाइ जति हामी लम्बाँउछौ त्यति नैं लम्बिन्छ। यो कोठामा बसेर मात्र कुरा निस्कर्षमा पनि पुग्दैन। मलाइ पनि अरु हतार छ। बलबहादुर दाइ र त्रिस्नालाइ बस यात्राको थकाइ पनि लाग्या होला। त्रिस्ना बाटैभरि उल्टि गर्दै आएकी। यसो गरौ। म तपाइलाइ मेरो फोन नम्बर दिन्छु। आबस्यक परेमा फोन गर्नु होला। हैन भने कानुनको सहारा लिनै पर्छ।" प्रबेश मेचबाट उठ्यो।


"प्रबेश जी! यदि तपाइ मेरो ठाँउमा भएको भए के गर्नु हुन्थ्यो? सोच्नुस् त! मेरी छोरी भर्खर १५ बर्स भइ, छोरो ११ बर्सको छ। तिनिहरुको अगाडि म के जवाफ दिँउ? मेरी श्रीमतिलाइ म के भनु? समाजलाइ  कसरी बताँउ?" प्रबेशको खरो स्वभाब देखेर सार्थक अलिकति डरायो। रमेश चुप लागेर सुनिरहेकोथ्यो।


"सर! हामी कसैलाइ केहि भन्दैनौ। नागरिकता बनेकै दिन गाँउ फर्किन्छौ। यसलाइ पनि त्यही तालिम लिनु पर्ने, कसैले नखाएको जागिर खानु पर्ने। खुरु खुरु खेतबारीमा काम नगरेर। १० पास गर्न सकिन। अब पाउलिस काम नागरिकता बिना।" बलबहादुरले आफ्नो रिस त्रिस्नालाइ पोख्यो। त्रिस्ना केहि बोलिन।


"मलाइ केहि समय दिनुस्!" अन्त्यमा सार्थक बोल्यो। सबैले अर्को चोटि कुरा गर्ने समय मिलाउने सहमति जनाए। प्रबेशको नम्बर सार्थकले लियो, सार्थकको नम्बर प्रबेशलाइ दियो। उनिहरु अर्को भेटको लागि फोनबाटै तय गर्ने निष्कर्शमा पुगे। बाहिर अध्याँरो शुरु हुन थालिसकेकोथ्यो।


सार्थकको मनलाइ ग्रहणले छोप्दै थियो, एउटा बिगत, जुना र त्रिस्ना मिलेर उसको बर्तमानलाइ लखेटिरहेको थियो। बाटोभरि उ मौन रह्यो, रमेश पनि मौन थियो त्यो साँझ।


क्रमश:


 

Last edited: 10-Jul-09 05:33 PM
Read Full Discussion Thread for this article