भैरहवा। रुपन्देहीको विष्णुपुरा गाविसमा करिब १५ दिन अगाडि एक मुसलमान परिवारले विवाहमा गाई काटेको विषयलाई लिएर प्रहरी र स्थानीय समूहबीच आज भएको झडपमा छ जना घाइते भएका छन्। सो झडपपछि स्थानीय प्रशासनले त्यस क्षेत्रका विष्णुपुरा, एकला, जोगडा, रुद्रपुर, सूर्यपुरा र धमौली गाविसमा आज दिउँसो साढे दुई बजेदेखि अनिश्चित समयका लागि निषेधाज्ञा जारी गरेको छ। घटना विवरणअनुसार भैरहवादेखि करिब २२ किमी दक्षिणमा पर्ने विष्णुपुरा गाविसको गिदैया भन्ने गाउँमा १५ दिन अगाडि भगेलु निबाद मुसलमानले छोराको विवाहमा गाई काटेको आरोप लगाउँदै मधेसी जनअधिकार फोरम निकट राममिलन केवटले आवश्यक कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएका थिए। सो विषयमा प्रहरीले पटकपटक छलफल गराउँदा पनि सहमति हुनसकेको थिएन। मुसलमानले आफूले गाई नकाटेको दावी गर्दै आएका थिए भने केवट पक्षले भने काटेको दावी गर्दै आएका थिए। तर प्रहरीले गाई काटेको कुनै प्रमाण फेला नपरेकाले कारबाही गर्न कठिन भएको जनाएको थियो। समस्या समाधानका लागि प्रहरीले फोरमका जिल्ला स्तरीय नेताको उपस्थितिमा आज छलफल गराएको थियो। तर छलफलमा मुसलमान उपस्थित नभएकाले केवट पक्षको समूहले मुसलमानको घर घेराउ गरी तोडफोड गर्न थालेपछि प्रहरी र स्थानीय समूहबीच दिउँसो एक बजेदेखि झडप सुरु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक खिनुप्रसाद आचार्यले बताउनुभयो। उहाँका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड हवाई फायर गरेको छ भने प्रहरीतर्फ छ जना घाइते भएका छन्।
|