Posted by: crazy_love May 28, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

"उदरिङ हाइटस्" भन्ने किताबबारे सुनेको छौ? त्यो बिश्व प्रसिद्ध प्रेम कथा हो "इमिली ब्रोन्ट" भन्ने लेखिकाले लेखेकी। हामी त्यही प्रेम कथा बारे चर्चा गर्नेछौ यसपाली।" साराले भनी।


"प्रेम कथा त रोचक नैं हुने भयो नि समय र परिस्थिति अनुसार। म अहिल्यै अमेजनबाट किताब किन्छु,आजैदेखि पढ्न पनि शुरु गर्छु।" नेहालाइ छड्के हेर्दै भन्यो नीलले।


"त्यस्तो हतार गर्नु पर्दैन, हामीसङ अझै दुइ हप्ता बाँकी छ, आरामले पढे हुन्छ।" सारा हाँसी।


नेहा "उदरिङ् हाइट्स्"की नायिका "क्याथरीन"को प्रेमबारे सोच्न थाली। यो उपन्यास नेहाले धेरै पल्ट पढेकी छे र उ हरेक पल्ट आफुमा "क्याथरीन" पाँउछे, अनि फेरि नेहामा हराँउछे।


भाग-१०


साराको घरबाट छुट्टिए पछि नेहा केहि दिन एक्लै भइ। सारा बिदामा उसको ब्वाइफ्रेन्डको परिवार भेट्न अर्कै सहर गएकी थी। नील अलि ब्यस्त भएको थ्यो, नेहाको शाखामा आउनै भ्याएन। यस्तै एकाकिपनमा उसले आफुलाइ सोध्न थाली, खोज्न थाली, तर उ के चाहन्छे त्यसको उत्तर अझै भेटिन। जब नील उसको नजरबाट टाढा हुन्थ्यो,उ उदास उदास रहन्थी। उसको उदासीको कारण आफैलाइ थाहा हुन्थेन। जब नील नजिक आँउथ्यो, सगर सङसङै छाँया बनेर उसलाइ जिस्काउन आँउथ्यो। सगरलाइ उसले कलेज छोडिसकेपछि पनि खोजेकी थी, तर भेटाउन सकिन। त्यस्तै दिक्क लागेको एक साँझ उसले फेसबुकमा सगरलाइ देखी। फोटोमा अनुहार उस्तै भए पनि शरीर अलि मोटो र परिपक्व देखिएको थ्यो। नेहालाइ लाग्यो उसको खोज सकिएको छ। सगरको इ-मेलमा चिट्ठी पठाउन एक सेकन्ड पनि लाग्दैनथ्यो। तर के भनेर लेख्ने? हेल्लो सगर, तिमीलाइ कस्तो छ? मलाइ चिन्यौ भन्ने कि। सगर, तिमीलाइ त्यो असारे फूल, त्यो कलेजको दिन याद छ भनेर लेख्ने। नेहाले चिट्ठीको  शुरुवात लेख्न सकिन। मनमा डर पनि लाग्यो कतै सगरले "बिर्सेँ" भन्यो भने।


अर्को दिन नील आयो, नेहालाइ राहत जस्तो महसुस भयो। रातभरि एउटा प्रश्नले पिरोलिरहेकोथ्यो, सगरलाइ चिट्ठी लेख्ने कि नलेख्ने भनेर। नीललाइ देख्नासाथ साहस आयो। शायद उ भरै साँझ एकान्तमा सगरलाइ लेख्छे। लन्च-ब्रेकमा नील नेहासङै कुरा गर्न आयो।


"तिमीले "उदरिङ हाइट्स" पढ्यौ?" कुरै कुरामा नीलले नेहालाइ सोध्यो।


"मैले त कलेजमा हुँदै पढेको, त्यसपछि पनि २-४ चोटि पढिसकेको छु। तिमीले नि?" नेहाले सोधी।


"हेर न! मलाइ पढ्नै अल्छि लाग्यो भन्या। अलिकति मोटो पनि रैछ किताब है।" नीलले उत्तर दियो।


"त्यस्तो मोटो त छैन, बरु पढ्न मन छैन भन न!" नेहाले जिस्काइ।


"होइन, होइन! पढ्न कोशिस गरेको हुँ। राति सुनसान थियो, त्यो पहिलो अध्यायमैँ भुतको कुरा रहेछ, डर लाग्यो, अनि बन्द गरें।" नीलको जवाफ सरल थियो।


"केटामान्छेलाइ पनि भुतको डर लाग्छ त?" नेहाले नीलको कुरा पत्याइन।


"किन? केटामान्छेलाइ चाहि भुतले तर्साउदैन?" नीलले उल्टो प्रश्न फ्यांक्यो।


"मलाइ त डर लाग्दैन भुतसङ। मान्छेसङ मात्रै डर लाग्छ।" नेहा मुस्काइ।


"मान्छेसङ त फाइट खेल्न सकिन्छ, त्यो भुतलाइ हान्दा त हावामा लाग्छ अनि कसरी हिर्काउनु। त्यसैले मलाइ भुतसङ डर लाग्छ। ल भइ हाल्यो, तिम्रो मुटु धेरै ठुलो रैछ। अब मलाइ छोटकरीमा त्यो उपन्यासको कथा भन।" नीलले अनुरोध गर्‍यो।


"सक्दिन म! आफै पढ।" नेहाले ठुस्केर जवाफ दी।


"पढ्ने भन्या त हो नि जहिले पढ्न लागे पनि त्यहि भुतको अध्याय मात्र आँउछ शुरुमै। अनि के गर्ने त?" नीलले फेरि कारण बतायो।


"क्याथी र हिथक्लिफको प्रेम हुन्छ, तर सामाजिक प्रतिस्ठाको कारण क्याथरिन अर्थात क्याथीलाइ उसको बुबाले अर्कै धनी केटोसङ बिहे गरिदिन्छ। गरिब केटो हिथक्लिफलाइ सानैमा क्याथीको बुबाले कतैबाट काम गर्नको लागि ल्याइेको हुन्छ। तर आफ्नो प्रेमलाइ पाउन नसकेको पीडामा हिथक्लिफ बदला लिन्छ। क्याथी पनि उसलाइ यति माया गर्छे कि "म नैं हिथक्लिफ हुँ" भनेर घरमा सघाउनी आइमाइलाइ भन्छे। उ हिथ्क्लिफलाइ यति माया गर्छे कि हिथक्लिफ र उसको अस्तित्व एउटै मान्छे। तर हिथक्लिफ प्रेमको चोटमा सबैलाइ दुख दिन चाहन्छ, उसको प्रेमको चरम बिन्दु बदलामा परिबर्तन हुन्छ--" नेहा बताँउदै थी, नीलले सुनेको जस्तो लागेन उसलाइ।


"यो कथा मन परेन मलाइ, भैगो नभन।" नीलले बिचमै रोक्यो नेहालाइ।


"किन नि?" नेहा छक्क परी।


"त्यस्तो बदला लिने मान्छे पनि प्रेमि हुन्छ, यो कथा प्रेमको होइन रहेछ। ल अरु कुनै कुरा गर।" नीलले रोक्यो नेहालाइ।


"त्यसो भए जे सुकै गर।" नेहा एक्छिन मौन भइ अनि फेरि केहि सम्झे जस्तो गरेर भनी। "नील! तिमीसङ एउटा सल्लाह माग्छु, दिन्छौ?"


"के?" नीलले सोध्यो।


"मैले हिजो फेसबुकमा सगरलाइ देखें।" नेहा बिस्तारै बोली।


"अनि के भयो त?" नीललाइ सगर त्यति मन पर्ने बिषय होइन।


"हेर न! चिट्ठी लेखु कि नलेखु भयो भन्या।" नेहाको कुराले नील झस्क्यो।


"किन र? तिम्रो सगरसङ कुराकानी हुँदैन?" नील अचम्म परेर हेर्दैथ्यो नेहालाइ।


"अँह, उसले कलेज छोडेपछि हाम्रो भेटघाट, कुराकानी केहि पनि भएको छैन। अहिले उ अस्ट्रेलियामा रहेछ। हिजो मात्र फेसबुकमा देखेँ।" नेहाको कुरालाइ एकछिन राम्ररी मनन गर्‍यो नील।


"त्यसोभये सगरलाइ तिमी उसलाइ चाहन्छौ भनेर थाहा छ कि छैन?" नील गहिरिएर नेहालाइ हेर्न थाल्यो।


"खोइ?" नेहाले छोटो उत्तर दी।


नील ठुलो स्वरमा हाँस्यो एकैछिन, वरिपरिका मान्छे हरु उसैलाइ हेर्न थाले।


"नेहा! तिमीलाइ स्वागत छ सहिदको संसारमा!" नीलले हाँसो रोक्दै भन्यो।


"तिम्रो भनाइको मतलब के हो?" नेहाले बुझिन।


"कुरा सजिलो छ। हामीहरु मायामा सहिद हुँदैछौँ। तिमी सगरलाइ एकोहोरो मन पराँउछौ, सगरलाइ थाहा पनि छ कि छैन। म तिमीलाइ त्यसरी नैं मन पराँउछु, तर तिमी थाहा भए पनि थाहा नपाको जस्तो गर्छौ। यस अर्थमा म मात्र सहिद भइन, तिमी पनि सहिद हुँदैछौ।" नीलको कुराले नेहाको अनुहार खुम्चियो।


"कहिलेकाँहि तिमीलाइ आबश्यक्ताभन्दा बढी बोलेको जस्तो लाग्दैन नील?" नेहा रिसाइ।


"नेहा! मलाइ मनलाइ लुकाएर कुरा गर्न आँउदैन। यथार्थमा, हामी आफु सहिद भएको फोटोमा लाउने  माला हामी आफै तयार गर्दैछौँ। बास्तबमा सहिदको फोटोमा अरुले माला लगाँउछन्, तर यो प्रेमको सहिदले आफै माला लगाँउछ।" नील फेरि हाँस्न थाल्यो।


"तिमी अर्थ न बर्थका कुरा गर्दैछौ नील!" नेहाको अनुहार रिसले तातिन थाल्यो।


"सहिद नेहा!बधाइ तिमीलाइ र मलाइ पनि। हामीहरुको गन्तब्य एउटै रहेछ।" नील नेहाले आँखा तरेको देखेर अलिकति हिच्कियो, धेरै बोल्नु उपयुक्त छैन भनेर त्यहाँबाट उठ्यो। नेहा आगो हुन लागि सकेकी थी। ढोकामा पुगेर नीलले फेरि हेर्‍यो नेहालाइ।


"मायामा सहिद म! सहिद तिमी! जोडी त मिलेकै हो है?"


नेहा रिसले बोल्न पनि सकेकी थिइन। नील ढोकामा उभिएर एकोहोरो हेर्दैथ्यो उसलाइ, नेहा जुरुक्क उठी र अर्कैतिर फर्केर बसी। नीललाइ एकचोटी फर्केर पनि हेरिन।


क्रमश:


 


 

Read Full Discussion Thread for this article