Posted by: fucheketo May 23, 2009
एउटा अपुरो कथा चियापसलमा!!!!
Login in to Rate this Post:     0       ?        


………………………….. …………………….. ……………………….. …………………… ……………………. …………..



क्याफेमा आज खास भिँड थिएन । चिया बोक्ने फुच्चे मलाई देखेर थोरै मुस्कुरायो , उसको पेटको लागी म जस्ता दुइचार जना अपरिहार्य थिए , उ र म वीचमा मैले चाहेका सिमित कुराहरु र अन्तमा हिँड्ने बेलाको पैसाको मात्र आदान प्रदान हुने गर्थ्यो । तर त्यति मात्र होइन उ र म विचमा नबोलिकन भए पनि एउटा भावनात्मक सम्बन्ध बनिसकेको छ । र त्यस्ता मौन सम्बन्धहरु अझ रमाइला हुने गर्छन् । शायद उसलाई कोहि चिनेको मान्छेउसैलाई भेट्न आए जस्तो लाग्छ जब म आएर कुनाको सात नम्बरको टेबलमा बस्ने गर्छु ।

म बस्ने टेबलको ठिक माथि एउटा पानी बोकिरहेकी आइमाइको तस्विर छ । उसले म आएदेखि फुर्सद पाएकी छैन ।सँधै त्यहि गाग्रिमा उत्तिनै पानी बोकिरहेकी हुन्छे । किन तस्विरमा भएका जीवनहरु स्थिर हुन्छन् ?मलाई तस्विरको यहि बानी मन पर्दैन , तस्विर आफू बदलिन जान्दैन हरेक दिनका परिस्थिति हरु फरक हुन्छन् तर तस्विर अडिग रहन्छ ,समान रहन्छ तस्विर जिद्दि हुन्छ ।

एकदिन क्याफेको धनी ले सोधेको थियो तँपाई मेरो क्याफे मै बसिरहनु हुन्छ किन ?

मैले मुस्कुराएरै जवाफ फर्काएँ म तँपाईको क्याफेमै बसेर कमाउने गर्छु । मैलेल्यापटप देखाएँ अनि फेरि भनेँ यहि हो मेरो जागिर !

उसले बुझ्यो बुझेन थाहा भएन तर उ क्षणिक समयको लागि चुप भयो ।

............. ............... .............. ............... ............. ................ .......... ........

बाहिर पानी पर्न आँटेछ । मैले पर्दा बाट नियाले । आज ल्यापटप खोलेकी थिइन । आज मेरो दुइचार वटा किताबहरु हेर्ने बिचार थियो । पैह्वि र साझाप्रकाशन बाट दुइचार वटा किताब किनेर लिएर आएकी थिएँ । प्रत्येक कथा लेख्ने मान्छे अरुका लेख नपढुन्जेल सुध्रिदैन भन्ने सुनेको छु । त्यहि भएर यो पनी आफ्नो पेटको लागि नै थियो भनौँ । कथाहरु मेरा सन्तान थिए,त्यहि भएर यो मेरा सन्तानहरुलाई भरण पोषण थियो ।

कुर्सि खाली हो ? छेवैबाट आवाज आयो !

मैले आँखा उठाएर त्यो पुरुष स्वरको आकृतिलाई हेरेँ ।हलुका निलो रंग ‍को टिशर्ट ,झोलाको फित्ताले टीशर्टको प्रिन्ट छोपेको थियो बिचका दुइ शब्दहरु ठम्याउन सकिन ।अनुहार गोरो ,थोरैथोरै दाह्रिहरु रोपिएका थिए मिलाएर रोपेको जस्तो थियो ।

यहाँ मात्र हैन सबैतिर खालि नै छन् धेरै कुर्सिहरु!

तर म बस्ने बित्तिकै टेबल भरिने कुर्सि यहि मात्रै छ जस्तो लाग्यो !

मैले पुलुक्क उसको अनुहार हेरेँ , उ मुस्कुराइरहेको थियो ।

मलाई कुनै प्रोब्लेम छैन ,बस्नु भए हुन्छ !म फेरि किताव तिरै फर्किँदै जवाफ दिएँ ।

किताब राम्रो छ ,धारावासीले लेखेको हैन !

उसले मलाई किताव पल्टाउने फुर्सद दिएन !मलाई किताब माया गर्ने मान्छेहरु मन पर्छन ,उसले पनि मेरो कमजोरिमै प्रहार गर्यो । मलाई उसलाई समय दिन कर नै लाग्यो ।

हो , मैले भख्खरै शुरु गरेकी हुँ । साँच्चै राम्रो छ त? मलाई थाहा छ यो किताव राम्रो छ , म यो किताबको अन्त्यमा छु र यसको समाप्ति कसरी हुनेछ भन्ने कुरा मेरो रिडिंग सेन्सले पत्ता लगाइसकेको छ तै पनि मैले फेरि प्रश्न राखेँ ।

      राम्रो नराम्रो त पढ्ने मान्छेको परिवेशमा भर पर्ने कुरा हो , तर मलाई चाहिँ राम्रो लाग्यो । उसले मलाई प्रष्ट्यायो ।

      भन्नाले !                                 

      जस्तो मैले यो कुर्सि मात्रै खाली देखेँ ,तँपाइले सबै !

      मलाई केहि अफ्ठ्यारो भए जस्तो भयो। मैले उसलाई आफ्नो कृत्रिमता किन देखाएँ भनेर । त्यो मेरो प्राकृतिक स्वरुप थिएन ।

      तिमी नै भने पनि हुन्छ ।

मैले आफ्नो गल्ति थोरै सुधार गर्ने प्रयास गरेँ।

      त्यो तिमी को नाम पनि होला नि !

      साधना ,तिम्रो ?

      साधक भएको भए सारै राम्रो हुन्थ्यो!

      मैले उसलाई अचम्म मान्दै हेरेँ ।

      जिस्केको ,आभाष !

म मुस्कुराएँ ।

अहिले सम्म मैले तिमीलाई यो क्याफेमा देखेको थिइन !

पहिलो चोटि नै हो ! छेवैमा अफिस सरेको छ !तिमी के गर्छौ

क्याफेमा आउने जानेलाई हेरीरहन्छु ।

रमाइलो रहेछ जागिर !

रमाइलो नरमाईलो मान्छेको परिवेशमा भर पर्ने कुरा हो !

यसपाली जिस्क्याउने पालो मेरो थियो ।

हैन तै पनि कम्प्युटर अगाडि बसेर ट्वाँ पर्नु पर्ने जागिरहरु भन्दा यो जागिर नै रमाइलो जस्तो लागेको मात्रै हो मलाइ !

मेरो काममा पनि फलैँचा र क्याफे र कम्प्युटर बाहेक केहि छैन तर मलाई किन किन आफूलाई साधारण देखाउन मन लाग्यो उसको अघि । उसको अघि सुगन्धा को परिचय दिन मन लागेन । मलाई लाग्यो मात्र साधना साथि बन्न चाहन्छे उसको !

कफि खाने ।

"भाइ कफि ,दुइवटा !
मैले फुच्चेलाई जानकारी तेर्स्याएँ ।उ किचनमा छिर्यो ।
भनेपछि तिम्रो काम कम्प्युटरमा ! म उसको काममै फर्केँ ।
सफ्टवेर प्रोग्रामर भन्छ क्यार ,स्पेसिफिक हुँदा !
दिमाग भएकाहरुको काम हो !
काम मुटुको गर्न मन लाग्छ ,दिमाग चलाउने गर्नु पर्छ ।

उसका शब्द शब्द हरु रमाइला थिए ।कफि सिद्दिदैँ गयो । कप रित्तिदैँ गयो ।

हाम्रो भेट फेरि हुन्छ ? उसले उठ्दै प्रश्न राख्यो ।

तिमी फेरि यहि क्याफेमा आयौ र म अघिको कुर्सि खाली भयो भने !

उ मुस्कुरायो अनि बाहिर निक्लियो । मैले धारावासीको राधा फेरि पल्टाएँ । तर मलाई थाहा छ मेरो ध्यान अहिले राधामा डुलिरहेको छैन

क्रमश:



 



 



 



 



           



 



 



 

Last edited: 23-May-09 12:49 PM
Read Full Discussion Thread for this article