Posted by: crazy_love May 20, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

भाग-८


अर्को दिन नील आएन, नेहा तड्पी रही दिनभरी। घरि घरि उसको आँखा नील बसेको ठाँउतिर दौडीरहन्थ्यो। लन्च ब्रेकमा त झुल्किन्छ कि जस्तो लाग्थ्यो, तर लन्च ब्रेक पनि शुन्य भयो नेहालाइ। के हराको जस्तो के नपुगेको जस्तो लागिरह्यो त्यो दिन नेहालाइ। सारा नेहाको प्रत्येक गतिबिधिलाइ राम्ररी निरिक्षण गरी रहेकी थी। नेहा कहिल्यै के भुल्थी, कहिल्यै के खोज्थी। यी सबै कुरा देखेपछि सारा मुख नखोली बस्न सकिन।


"त्यस्तो गार्हो भाको छ भने उतै जानु नि।" साराको बाक्यले नेहा झस्की।


"कता जानु भन्या?" नेहाले बुझिन।


"नीलको अफिसमा, उतै ट्रान्सफर गर्नु नि।" सारा हाँस्न थाली।


"नजिस्काउ है मलाइ! आफुलाइ यहाँ कस्तो टाउको दुखीरहेको छ, उ चाहि खालि नील मात्र भन्छे।"


"टाउको त दुख्ने भइ हाल्यो नि आज नीलको दर्शन पाएनौ नि त। कस्तो निन्याउरो मुख त्यो, उजाड पहाड जस्तो।" सारालाइ झन जिस्काउन मन लाग्यो।


"नकराउ धेरै! मेरो यहाँ काम छ धेरै।" नेहा काममा तल्लीन भए जस्तो गर्न लागि।


"पर्सी भेट भैहाल्छ नि के पीर गरि राको?" भन्दै सारा आफ्नो काममा लागि।


दिउँसो त जसो तसो कट्यो, साँझ उतिकै कठिन थियो बिताउन, रात झन छर्लङै बित्यो। नेहा सगर कल्पिन्छे, नील मुस्कुराँउदै आइपुग्छ, नील सम्झियो, रिस उठ्छ उसलाइ। कस्तो केटा हो? भेटेको दुइ दिनमै फोन नम्बर माग्ने। अलिकति साथी जस्तो बन्नु, अरु कुराहरु गर्नु। शुरुमै फोन नम्बर रे!हुन त नम्बर नैं देको भए पनि के बिग्रिन्थ्यो? कतै केहि बहाना गरेर फोन गर्थ्यो कि। नेहाको मनमा थुप्रै कुराहरु खेलि रह्यो। जे भए पनि कतै मनको कुनामा उसले नील देखी, धेरै बोल्नु पर्ने रैछ, जिस्किनु पर्ने रैछ तर अलिकति कम बोले कति राम्रो हुन्थ्यो। उसले सगरलाइ सम्झी, सगर धेरै कम बोल्थ्यो। असाध्यै भलादमी थ्यो सगर, त्यत्रो सङै पढ्दा पनि कहिले नेहालाइ जिस्काएन न त फोन नम्बर नैं माग्यो।


शुक्रबारको ब्यग्र प्रतिक्षा गरी नेहाले। साँझ अलिकति हलुका मेक-अप गरी, नीलो स्कर्ट मा नीलो इयररिङ्, नीलो ब्रासलेट म्याच गरेर लाइ। सुडौल र लामो गलामा केहि लाउन मन लागेन उसलाइ, गलाको दाँया बाँयाका ब्युटीबोनले उसको घाँटी अरु सुन्दर देखिएको थियो। एक जोर जुत्ता निकाली र लगाएर हेरी ऐनामा त्यति सुहाएको जस्तो लागेन। अर्को "हाइ हिल" झिकी र मन पराइ। कपाललाइ खुला छोड्ने कि अलिकति बाँध्ने भन्ने दुबिधामा एकचिन सोची। त्यसपछि कपाललाइ स्वतन्त्र छोडी। तयार भएर ऐना अघि फेरी उभी र हेरी आफ्नो शरीरलाइ, नीलो रङले उसको आँखालाइ चम्काइ रहेको थियो, उ अरु बेला भन्दा धेरै राम्री देखिएकी थी।


साराकहाँ पुग्दा प्राय सबै साथीहरु आइसकेका थिए, जो आउनु पर्ने थियो उ अझै आएको थिएन। नेहाको आँखा प्रत्येक चोटी ढोकामा ठोकिएर निराश भएर फर्किन्थे। धेरै बेरसम्म पनि नील नआएपछि साराले नेहालाइ सोधी।


"तिमीले नीललाइ ठेगाना त राम्ररी बताएको हो?'"


"मैले त ठेगाना सङै बाटोको नक्सा पनि कोरेर दिएको।" नेहाले प्रत्युतरमा भनी।


"बाटोको नक्सा! दाँया -बाँया पनि राम्ररी लेखेको हो?" सारा अलि डराइ।


"हे भगवान!" नेहाले बल्ल सम्झी।


"तिम्रो दाँया र बाँया जहिले पनि बिग्रिन्छ। दाँयालाइ बाँया लेख्छौ। बाँयालाइ दाँया लेख्छौ। त्यस्तो मान्छेले किन नक्सा कोरेर दिनु पर्ने। ठेगाना मात्र दिनु पर्ने नि।" सारा दिक्क भइ।


"सरी सारा! मैले त भुसुक्कै बिर्सेछु त्यो कुरा। शायद नील अरु नैं ठाँउमा पुग्यो होला। उसले बाटो हरायो भने फोन गर्छु त भनेको थ्यो। तर मैले फोन नम्बर नैं दिइन।" नेहा चिन्तित देखिइ।


"यो केटी के भाकी होली? फोन नम्बर पनि थाहा छैन अब नीललाइ। शायद उ फर्किन्छ होला बाटोबाट।" साराले अनुमान गरी।


"म जान्छु बाटोतिर हेर्न, यदि उ नजिकै पुगिसकेको छ भने उसलाइ लिएर आँउछु।" भन्दै नेहा के उठ्न लागेकी थी, नील ढोकामा आइपुग्यो। सारा स्वागत गर्न पुगी। नेहा नीलको नजिक जान सकिन।


"तिमीलाइ यहाँ सम्म खोज्दै आउन गार्हो भयो होला है नील?" साराले सोधी।


"कोहीकोही शायद मलाइ नआओस भन्ने चाहन्थे, तर म आइपुगे।" नीलले नेहालाइ एकोहोरो हेर्न थाल्यो। नेहाले उसलाइ हेर्न सकिन। एकछिन साराले नीललाइ सबै सङ परिचय गराइ। नेहा एउटा कुनामा बसेर नीललाइ के भन्ने भनेर सोच्दै थी, नील त्यही आइपुग्यो।


"बाटोको नक्सा त तिमी राम्रो बनाँउदो रहेछौ। इन्जिनियर हुनु पर्ने तिमी त।" नीलले नेहाको आँखामा हेर्दै भन्यो।


"सरी नील! मैले तिमीलाइ जानी जानी त्यस्तो नक्सा कोरेको होइन। कहिले कहि मेरो "दाँया" र "बाँया" भन्ने दिमागको सफ्टवेयरले काम गर्दैन, त्यसैले तिमीलाइ गार्हो भयो होला।" नेहा माफ पाउने आशामा थी।


"मलाइ गार्हो त धेरै भयो, तर तिमीलाइ देख्नासाथ त्यो सबै दुखहरु कहाँ हरायो कहाँ। यो मन भन्ने कुरा पनि अचम्मको हुँदो रहेछ, मन परेपछि जे पनि जायज हुँदो रहेछ।" नील हाँस्न थाल्यो।


"तिमीलाइ आकाश हेर्न मन लाग्छ, जाँउ त्यो कौसीमा बसेर हेरौँ तारा, चन्द्रमा अनि त्यो सुन्दर आकाश।" नेहाले तुरुन्तै बिशयबस्तु परिबर्तन गरी। नील नेहाको पछि पछि कौसीमा गयो।


"हेर त कति सुन्दर आकाश!" नेहा आकाशतिर हेर्दै रमाइ। नीलले पनि हेर्‍यो राम्रै लाग्यो आकाश उसलाइ।


"मलाइ यस्तो लाग्छ नील, आकाशले सबैलाइ देख्छ, हामी आकाशलाइ देख्छौँ, जसलाइ हामी देख्न चाहन्छौ, आकाशले उसलाइ पनि देख्छ। कहिले काहि मलाइ यस्तो लाग्छ। म सगरलाइ देख्छु किन भने आकाशले मलाइ देख्छ अनि उसलाइ पनि।" यसरी बताँउदा नेहा खुशी देखिन्थी, उसले आकाश = सगर, आकाश = नेहा र नेहा = सगर को सुत्र पनि बताइ नीललाइ।


"नेहा!" नीलले एकछिन सम्म सोचेर भन्न्यो। नेहा आकाश हेर्दै मुग्ध भएकी थी, उसले सुनिन।


"नेहा!" नीलले फेरि बोलायो।


"हँ!" दोस्रो पटक नेहा बोली।


"के म तिमीलै एउटा कुरा सोध्न सक्छु?" नील गम्भिर भएर सोध्यो।


"अबश्य! भन के?" नेहा नीलतिर फर्की।


"के आकाशले नजिकै रहेको मान्छेलाइ देखाँउदैन?" नीलले सोध्यो।


"मैले तिम्रो प्रश्न बुझिन।" नेहा अलमल्ल परी।


"कहाँ कहाँको सगरलाइ तिमी आकाश हेरेर देख्छौ। म यहीँ तिम्रो छेउमा छु, तर किन तिमी मलाइ देख्दैनौ?" नीलले मुख्य प्रश्न सोध्यो।


नेहा बिचारशून्य भएर नीललाइ हेरिरही।


क्रमश:


 


 


 



 

Last edited: 20-May-09 03:03 PM
Read Full Discussion Thread for this article