भाग-२
"हामी लन्च ब्रेकमा सबै कुरा गर्नेछौँ। मलाइ आशा छ तिमी म सङ केहि लुकाउने छैनौ।" यति भन्दै सारा आफ्नो शाखामा काम गर्न गइ।
नेहाले बिस्तारै फेरि उहि दिशातिर नजर घुमाइ, जहाँबाट न्यानो मुस्कान बर्साइएकोथ्यो एकैछिन अघि मात्र। मुस्कानको धनी काममा ब्यस्त देखिन्थ्यो। यस्तो लाग्थ्यो, अघिको त्यो मुस्कान अहिले उसको मानसपटलबाट कतै अन्तर्ध्यान भइसकेको थ्यो। नेहाले आफ्नै मनलाइ सोधी। उसको नाम के होला? सगर ! होइन होला। तर उ सगरकै जुम्ल्याहा दाइ वा भाइ जस्तो देखिन्छ। पहिलोचोटि उस्लाइ देख्दा त सगर भनेर झस्केकी थी। आएको पहिलो दिन नेहालाइ हाकिमको कोठा सोधेकोथ्यो। नेहा एकतमासले उसको अनुहारलाइ हेरिरहेकी थी, उसको दिमागबाट सबै कुरा अकस्मात हराएका थे। दोस्रो चोटि फेरि सगरले उसलाइ उहि प्रश्न गरेपछि नेहा हडबडाएकी थी। उसले उसको क्याबिनबाट दाहिने तिर कुनामा रहेको हाकिमको अफिस देखाएकी थी, बोली त फुट्नै गार्हो भएकोथ्यो। सगर त्यहाँबाट हिडेपछि उसलाइ ग्लानि भएकोथ्यो। त्यसरी एकोहोरो हेर्नु नहुने, केहि त बोल्नु पर्ने। के सोच्यो होला उसले नेहाको बारेमा ? कस्ती पागल केटी भन्यो होला। जे सुकै भनोस् उसले त सगर जस्तै देखिएकोले पो त, मनभरि हेरेकी थी।
"सगर मेरो साथी हो, कलेजको। त्यो केटा ठ्याक्कै सगर जस्तो देखिन्छ।" नेहाले सारालाइ लन्च ब्रेकमा बताइ।
"साथी मात्र कि प्रेमि ?" साराले घरबाट ल्याएको स्यान्डबिच हातमा लिँदै सोधी।
"सगर त्यस्तो केटा होइन। उ साथी मात्र हो।" नेहाले आफ्नो लन्च बक्स खोली।
"यदि उ तिम्रो साथी मात्र भए किन बर्सौ पछि तिमी उ जस्तै देखिने मान्छेलाइ सगर सम्झेर बिशेष नजरले हेर्छौ।" साराको प्रश्न आयो।
"सगर अन्तरमुखी स्वभावको केटो थ्यो। उसले कहिले पनि मसङ प्रेम प्रस्ताब राखेन।" नेहा कतै पर हेर्दै थी।
"के उ तिमीलाइ मन पराउथ्यो? कि तिमी उसलाइ मन पराउथ्यौ?" साराको उत्सुकता अझै बढ्यो।
"शायद हामी दुबै एक अर्कालाइ मन पराउथ्यौं, तर हामीमा निर्णय गर्ने क्षमता थिएन भर्खरै मात्र इस्कुल सकेर कलेज सुरु गरेका थ्यौँ। आँखाभरि अनगिन्ति सपनाहरु फुल्थे, जिन्दगी ठुलो चुनौती थ्यो त्यसबेला।" नेहा खाना हेर्दै टोलाउन लागी।
"कथा त रोचक हुँदैछ। अब्यक्त प्रेम रहेछ तिमीहरुको। सगरले तिमीलाइ मन पराँउछ भनेर कसरी थाहा पायौ त?" साराको प्रश्नले नेहा बिगतमा पुगी।
"भर्खरै कलेज सुरु गर्दा हामीमा अर्कै जोश थियो। पाँच जनाको हाम्रो समुहमा सगर पनि साथी बन्यो। तर उ धेरै बोल्दैनथ्यो, पढाइमा राम्रो थ्यो। हामी सङै खाजा खान जान्थ्यौं, सङै लाइब्रेरी जान्थ्यौं, कहिलेकहिँ समुहमा बसेर पढ्थ्यौँ पनि। एकदिन हामीहरु बिच एउटा बहस भयो, कसलाइ कस्तो खालको केटा/केटी मन पर्छ। समुहमा अर्को एकजना केटा साथी पनि थ्यो। उसले "आत्मबिस्वास भएकी राम्री केटी" मन पर्छ भन्यो, तेस्तै अरु साथीहरुले पनि आ-आफ्नो मन पर्ने केटाको बारेमा भने। सगरको पालो आयो, सगरले एकपल्ट पुलुक्क मलाइ हेर्यो अनि भन्यो "जहिले पनि मुस्काइ रहने, नेहा जस्तै"। सबै मलाइ जिस्काएर हाँस्न थाले। सगर एक्छिन अलमलियो। मैले उल्टो उसलाइ जिस्काएँ,"सगर, मेरो रिस चाहि देखेको छैनौ तिमीले?"। त्यो एउटा सामान्य घटना साथीहरुले बिस्तारै बिर्से तर त्यो दिनदेखि सगर र मेरा नयनहरु बढी मौन सम्बादमा ब्यस्त हुन थाले।"
"त्यो घटना अघि पनि सगर मलाइ जहाँ पनि हेरिरहेको हुन्थ्यो, जब म उसलाइ हेर्थें, उ अर्कैतिर हेरे जस्तो गर्थ्यो। मैले ती कुरालाइ भ्रम ठानेकी थेँ, साथीहरुले पनि अलि अलि त्यस्तै शंका गरेका थे। तर सगर जस्तो अध्यनशील केटालाइ हामीले त्यस्तो नजरले हेर्न चाहेनौं। एकदिनको कुरा हो, मेरो डेस्कमा कसैले बिहानै एक झुप्पा गुलाबी असारे फूल राखेको थ्यो।" नेहाको आँखाहरु आकाशका ताराहरु झैँ चम्किन थाले।
"असारे फूल?" साराले कस्तो फूल भनेर कल्पना गर्न सकिन।
"नेपाली क्यालेन्डरको तेस्रो महिना असारमा एकथरी फूलहरु फुलछन्, जसलाइ हामी असारे फूल भन्छौ। झुप्पा झुप्पा जस्ता देखिने लहरै लाइनमा बसेका जस्ता ती फूल त्यो दिन झन सुन्दर देखिएका थिए।"
"रातो गुलाफ प्रेमको प्रतिक हुन्छ, पहेँलो मित्रताको तर यो असारे फूलको के अर्थ हुन सक्छ नेहा?" मेरी साथी रुबीले अचानक सोधी मलाइ। मैले फूल लाइ आफ्नो हातमा लिएँ र बिस्तारै फूलको नरम पत्रलाइ ओठंमा लगेर हलुका स्पर्श गरें, मलाइ रमाइलो अनुभुति हुन थाल्यो, मैले सगरलाइ हेर्दै भने।
"हरेक फूलको अर्थ हुन जरुरी छैन, फूलहरु अर्थबिना पनि त्यतिकै सुन्दर हुन्छन्।"
क्रमश: