Posted by: Deep April 24, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
 

...छुट्टीको दिन, म बाङ्गेकाँ बिहानै पुगेको थिएँ। ट्युशन पढ्न जान थाले देखि घराँ नी मान्छे नरम भाका थिए। चिया सकाएर बाङ्गे र म पशपती जाने सुरमा ट्वाक, सुपारी, छ्याक, झ्यालिन्चा, बर्मु-- को भेटीन्छन भेला पार्ने धुनमा सुपारीको घा तिर लाग्दै थिएम, अलि पर बाटामा झुरुप्प मान्छेहरु देखिए। बिहानको त्यस्तै साढे सात जति बजेको थ्यो होला। .....


 


हुलमा भाको ठाममा हाम्लाई नपुगी हुन्थ्यो के त? पुगेम। त्यहाँको दृश्य देखेर बलि पाताल भास्सेको जसरी हाम्रो मन भासियो। शिबदाई टिल्ल परेर आँखा रातो रातो पार्दै बाटाँ भुईँचालो गाको छ जसरी यता र उता हुरिंदै थिए। अनि "हमे तुमसे प्यार कितना--ए हम नही जानते.. " भन्दै लर्बरीएको स्वरमा गीत पनि गाउँदै थिए---उनी दिन रात जाँड खान्थे। त्यो नौलो कुरा थिएन। त्यो उनले गाएको गीत उनले गाउने आठ दश वटा मध्येको थियो। सधै सुनेको हो। त्यो पनि नौलो थिएन। नौलो के थियो भने उनले त्यो गीत दुईटी सुन्दरीहरुलाई छेकेर गाउँदै थिए। हाम्रा सुन्दरीहरुलाई छेकेर।


 


सुन्दरी र हाम्रा आँखा जुधे। उनीहरुको अनुहार लाज र अपमानको आगोमा रन्केर रातै भैसकेको थ्यो। आँखामा भरीएर छचल्किन लागेका आँसुले पनि त्यो आगो निभाउन सक्ने थिएन जस्तो। सानो स्वरमा एक दुई जनाले "ए! शिब के गरेको?" भनेर सम्झाउँदै थिए, बाँकी दंग परेर तमासा हेर्दै। ती सम्झाउनेहरुलाई शिबदाईले आफ्नो मनपरी पुराणका दुईचार श्लोक सुनाए पछी उनीहरु पनि तर्किए। भिड अरु थपियो। सुन्दरीहरु शिबदाईको छेकाईमा मात्रै होईन अब भिडको घेरामा पनि परेका थिए।


 


शिबदाईले गीतको बोल फेरे तर हुरींदै नाच्ने ताल उही थियो--"दे दे प्यार दे प्यारे दे--"अंगालोमा लिन खोजेका हुन कि तरुनीहरुलाई झै गरी दुईटै हात उडानमा भएको चिलका पखेटा जस्तो खोलेका थिए।


 


बाङ्गेले मलाई हेर्यो, उस्को आँखामा क्रोध ह्वार ह्वार दन्केको थ्यो। मैले आँखाले संकेत मात्रै गरे उ एक्कासी शिबदाई माथि जाईलाग्ने निस्चित थ्यो। तर त्यसो गर्नु सरासर आफ्नो खुट्टामा बन्चरोले हान्नु जस्तै हुने मैले बुझेको थिएँ। शिबदाई माथि हात छोडनु भनेको निर्मलदाईलाई चुनौती दिनु थ्यो। उनले हामी धुलो पार्थे। निर्मलदाई भनेको शिबदाईको भाई। हाम्रो टोलको स्थापित दादा। उनका हुलमा थुप्रै हनुमानहरु थिए। हामीलाई परेको बेला निर्मलदाई भनेर गुहार माग्दा उनले सधै हाम्रो सहयोग गरेका थिए। हाम्रो जुन किसिमको चालचलन थ्यो त्यति बेला, त्यसको हिसाबले हामीलाई निर्मलदाईको आशिर्बाद चाहिन्थ्यो।


 


त्यसमाथि शिबदाई आफै पनि बलिया थिए। तीनटा पुलिसलाई कुटेर लडाको धेरै दिन भाको थिएन। उनलाई कसैले समातेन पनि। त्यो उनी नसामातिनुको रहस्य जस्ले जसरी बुझे पनि उनको तर्साउने प्रतिस्ठा झन बढेको थ्यो ती दिनहरुमा। त्यो एक तर्फको कुरा भयो, अर्को तर्फको मेरो मनमा उठेको तर्कले पनि शिबदाई प्रति रोष देखाउन जरुरत छैन भन्यो। अनि मैले बाङ्गेलाई टाउको हल्लाएर हुन्न भनें। उस्ले रीसले थुक्यो भुईँमा। त्यो थुकमा उस्ले नबोलेको शब्द मैले सुनें "डरपोक"।


 


बाङ्गेको रीसको बेग बढदो थियो, मैले उस्लाई धेरै बेर रोक्न सक्ने थिईन। उ एक्लै शिबदाई माथि आईलाग्ने संभावना बढ्दो थियो।


 


शिबदाईले एउटा गीत बढीमा तीन लाईन नभए दुई लाईनमा फेर्थे। उनी अहिले तर्सेका सुन्दरी छेउमै पुगेर कम्मर हल्लाई हल्लाई "कान्छी हे कान्छी" गाउँदै थिए। म भिड भित्र पसें र एउटी सुन्दरीको हात समाए। उ अहिले कामी रहेकी थिई। आँखाबाट एक्कासी आशु झरे उस्का। उस्ले यति जोडले मेरो हात समाई कि उस्ले गाडेका नंगले मलाई छेडी सकेका थिए। "घर हिन" मैले आक्रोशले ब्याकुल बाङ्गे तिर हेर्दै भनें। उ तिर अर्की सुन्दरी दौडेर गैइ अनि च्याप्प समाती पाखुरामा। भिड राम्रै जम्मा भएको थ्यो। हाँस्ने हाँस्दै थिए। शिबदाई मनपरी पुराणका थप श्लोकहरु हामीलाई सुनाउँदै आईलागे तर उनका लर्बरीएका खुट्टाले साथ दिएनन। लडे। भिड फेरी हाँस्यो।


 


भिड भित्रै बाट शिबदाईले फेरी गाए "सुहाग रात है घुंघट उठा रहा हुँ मै --" भिडमा जोडको हाँसो गुन्जियो। कसको घुंघट उठाए कुन्नी शिबदाईले त्यो बुझिएन।


 


भिड बाट अलि वर आए पछी बाङ्गेलाई समातेकीले उस्को हात छोडी, त्यो देखेर मेरीले त्यसै गरी। उस्ले तर मेरो हातमा उस्ले गाडेको निशाना लाई देखी, अनि म तिर बिचलित हेराई फ्याँकी। उनीहरु उभिए। बाङ्गेले जंगीदै झै सोध्यो "किन आएको यता?" बाङ्गेले घाईते मनमा नुन छर्केको थ्यो। मैले उस्लाई सम्झाएँ। उस्ले स्वरलाई तुरुन्तै नरम पारेर भन्यो, "यस्तो कुईएको ठाउँमा नी कोई आउँछ--"


 


मैले ईशाराले बाङ्गेलाई उस्को घर तिर जान भनें। आफ्नो स्वरलाई सकेसम्म नरम पारेर उ सँगै उभिएकी सुन्दरीलाई भन्यो, "ल हिन पैला घर जाम, अनि हामी पुर्याईदिम्ला काँ जान ला हो।" सुन्दरीले टाउको हल्लाएर नाईं भनी। समय त्यतिकै रोकीएको थ्यो। बाङ्गेको घर त्यहाँबाट मेरो भन्दा नजिक थ्यो एक, अर्को मेरो घर तिर जान फेरी त्यै शिबदाईको भिडबाट जानु पर्थ्यो। त्यसैले बाङ्गेकहाँ गएको राम्रो भन्ने मेरो सोचाई थ्यो। बाङ्गेका बा घरै थिए। उन्को मोटरमा सुन्दरीहरुलाई पुर्याउने ब्यबस्था सजिलै हुन्थ्यो।


 


सुन्दरीहरु भुई तिरै हेरेर उभिए, आँसु सुकेका थिएनन। अझै ओर्लिदै थिए। भिड बाट शिबदाई निस्किएर अर्को गीत गाउँदै आएका देखीए। त्यो देखे पछी भने उनीहरु हामी सँग जान तयार भए। बाङ्गेको पछी उस्की लागी। म संगै मेरी। हामी भन्दा फटाफट सुन्दरीहरु हिन्ने भएका थिए।


 


बाङ्गेको घराँ पुग्ने बित्तिकै बाङ्गेको आमाले के भयो भनेर सोधीन, चोकमै रैछिन। सुन्दरीहरुको मन्द रुवावासी फेरी सुरु भयो। बाङ्गेका बाउ पनि आईपुगे। बाङ्गे र मैले भएर बयान गरीम घटना। "वाहीयातहरु---न आफ्नो ईज्जतको मतलब छ न अरुको--जाँड खायो बौलायो" उनले पर सडक तिर हेर्दै भने। शिबदाईलाई नै भनेका हुन भन्नेमा शंका थिएन। राम्रो काम गरीयो भन्ने लागेर होला, पशपति नगै पशपति पुग्या जस्तो भो।


 



सुन्दरीहरुले बाङ्गेको आमा सँग समय बिताए। भुजा खाएर जान भनेको मानेनन। भाटभटेनी दर्शन गर्न जान लागेको रे भने सुन्दरीहरुले। ज्ञानेश्वरवाट भाटभटेनी जान हाडीगाउँ आउनु पर्दैनथ्यो।


 


त्यति त बाङ्गे र मैले पनि बुझिम। दंग परीम।


 


हाम्लाई पुर्याईदेओ भन्छन कि भन्ने आश गर्या बाङ्गेका बा आफैंले पुर्याईदिने भए भाटभटेनी अनि घर। गए उनीहरु।


 


"शिबदाईलाई चै बजाउनु पर्छ यार एक दिन।" बाङ्गेले फेरी सन्केर भन्यो।


 


मैले भनें "बजाउने हैन, पान्सेपचपन्न एक बट्टा र एक बोतल तेरो बाउको रक्सी लगेर दे बरु शिबदाईलाई"


 


उस्ले म तिर हेर्यो, मैले अघि सुन्दरीले गाडेको नंगको खत हेर्दै थपें "शिवदाईले ठुल गुन लगाए आज---हामी आफैले अध्याय यहाँ सम्म पुर्याउन कति लाग्ने थ्यो--उनले छिनमै गर्दै--सुन्दरीहरुलाई तेरो र मेरो बाहुपाशमा ल्याईदिए"


 


बाङ्गेले कुरा सुन्यो अनि मुसुक्क हाँसेर भन्यो "ससुराली ज्ञानेश्वर नै हुने भो त हाम्रो?"


 


"खै?" को बयानमा म पनि मुसुक्क मुस्काए।


 


"तर एउटा कुरो चै बबाल भो यार" कौसीमा टुक्रुक्क बस्दै बाङ्गेले भन्यो।


 


"के?" मैले सोधें। के भन्न ला त्यो सायद मैले बुझेको पनि थिएँ।


 


"त्यो तँलाई अघि नंग गाढ्ने खासमा त मेरी हो नी --फेरी तँ उसैलाई चै किन समात्न पुग्या नी? अनि तेरीले मलाई समाई, अब के गर्ने?" उस्ले सोध्यो।


 


"ह्या बाङ्गे.... " मैले झर्किंदै भनें।


 


"यत्तिका दिन एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै साथीले धोका दियो, खै के हो के हो--" बाङ्गेले थ्याच्च बसेर हाँस्दै भन्यो।

Read Full Discussion Thread for this article