रात अचानक लामो भएको थियो । रातको यो बिशेषता हो यसले अवस्था अनुसार आफ्नो लम्बाई बदलिन्छ । साथ पाउँदा कहिले काहिँ त्यहि रात निमेषमा बदलिन्छ । एक्लो रातका भने निमेष निमेष युग बनिदिन्छन् । उसले आकाशको पल्लो क्षितिज सम्म हेर्यो उज्यालोको कतै नामो निशान थिएन ।उसका रातहरु साधारणतय लामा नै हुने गर्दछन् । लामा ,निरस् चिसा !! भोलिको बिहान कहिले आउने हो उसले खुइय सुस्केरा काड्यो ।
अझ त्यसमाथि बिजुली चम्क्यो लाग्छ रात पनि उसको अनुहार हेर्न चाहन्छ ।उसको ग्लानि युक्त अनुहार उसले दुइ हातले आफ्नो अनुहार छोप्यो । आकाशले उसलाई नियाल्न भ्यायो भ्याएन थाहा पाएन । एक अर्थमा उ खुशि पनि भयो बिजुली चम्किएकोमा , उसलाई पानी परेको मन पनि पर्छ उ सोच्छ मनको ताप लाई थोरै भए पनि पानीले शितल पारिदिन्छ भिजेर उ भित्र नयाँ उ को आत्मा संचार हुन सक्छ । त्यो हुन त सम्भव छैन तर पनि उसले यो भ्रम पालेको थियो ।
उ घर आइपुग्यो । माया गेट मैँ थिई । पालेहरु ले छुट्टि लिए जस्तो गरेर । जे होस् उसको यो रातयात्राले मायालाई संघार सम्म त ल्याई पुर्याएछ । मै हुँ भन्नेलाई , मुस्कानको प्रहार गरेर कहिल्यै झुक्न नचाहनेलाई थोरै बिस्मित त तुल्याएछ उ कहाँ गयो भनेर । उसले यसलाई आफ्नो अर्धजित सम्झियो । अर्धजित यसमानेमा की गल्लिमा उ कला सँग त पराजित भएकै हो । त्यो उसले पनि स्विकारेको थियो । तर मायालाई जानकारी नहुन्जेल सम्म उ त्यसलाई पनि जीतकै खोलमा बेरेर लुकाईदिन सक्छ । कला आखिरमा माया रहिनछ नत्र यति चाँडो उ कसरी फर्किनु घर ?
“गेट मा किन ?” उसले आफ्नो खुशिलाई कन्फर्म गर्न सोध्यो ।
“पर्खेर बसेकी तँपाईलाइ !” उसको उत्तर यसपाला पनि साधारणै निस्कियो।
“जरुरी थियो र ?”
“मलाई लाग्यो !” माया मुस्काई ।
उसलाई अचानक चसक्क बिझ्यो । माया फेरि मुस्काई त । मायाको मुस्कानको धारले उसको अर्धजित बिस्तारै नांगिएर उसले लुकाइराखेको हार देखिन थालेको थियो ।
“तिमीलाई लागेका कुरा हरु सबै सत्य हुन्छन् ?”उसले तिक्तता प्रकट गर्यो ।
“थाहा छैन , म आफुलाई लागेका कुरा कमसेकम अरुका कोणहरुबाट हेर्ने प्रयास त गर्छु ,तँपाई मात्र आफूलाई हेर्नुहुन्छ ।“
उसले यो वाक्य पचाउन सकेन । घडि हेर्यो करिब तिन बजेको हुनुपर्छ ।घडि नबिग्रिएको भए । उसको घडि हो के भर बिग्रिएर तिनको चौतारिमा सुस्ताइरहेको पनि हुन सक्छ । उ जस्तै घडि ले पनि त थकान महसुस त गरिराखेकै होला !
“चौकिदार कता गयो ?”
“मैले छुट्टि दिएँ आजलाई ,लाग्यो तँपाई रात बाहिरै गुजार्नु हुन्छ तँपाईको स्वरुप बदलिएर आउँदा चिनेन भने !”
उसले आफुलाइ हेर्यो निर्क्योल गर्न के हिजो र आजमा उसको स्वरुप परिवर्तन भएको थियो ?चौकिदारले समेत चिन्न नसक्ने गरी ? मायालाई अघि नै थाहा भइसकेको रहेछ उसले बाहिर रात गुजार्ने कुरो । उ थोरै चिन्तित भयो ।
“अनि रामे नी ?”
“भित्रै होला सुतिरहेको होला !”
“तिमीलाई निन्द्रा लागेन ?”
“ सुतेकी थिएँ ,एलार्म लगाएर मलाई तँपाई आउने समयको पत्तो थियो !”
कसरी उ पराजित भएको पनि त उसलाई थाहै होला ।अब उ दम्भ किन गरोस् ? उसले यसपालि पनि हार्यो । उ किन तोड्न सक्दैन हारका सृंखलाहरु ?
माया बाट उसले एउटा हालत मा मात्रै मुक्ति पाउन सक्छ उसलाई घर बाहिर निक्लिन विवश तुल्यायो भने ! कसले निकाल्न सक्छ मायालाइ घरबाट ? उसले त पक्कै पनि सक्दैन । घरको महामहिम जसलाई देखेर उसको बहुलाएको प्रतिविम्व समेत लुक्ने गर्थ्यो हराउने गर्थ्यो । उसकी आमा ! उसले कसरी बिर्सिराखेको उसको पक्षकी सर्वशक्तिशाली योद्दा लाई जो अहिले पनि एरेना बाहिरै छिन् ?
“ठिकै छ तिमी जाउ मलाई आमा सँग थोरै काम छ !”
“यो हालतमा ! “ मायाले पत्यार गरिन वा उसले षड्यन्त्र देखिसकेको हुनुपर्छ ।
“किन के कमि छ मेरो यो हालतमा ?”
माया मात्र मुस्काई । माया सँधै यस्तै गर्छे । जब जब उ क्रोधले मायालाई दबाउन खोज्छ उ मुस्कानले उसको क्रोधलाई तुच्छ तुल्याइदिन्छे । उ छिनमैँ आफूसँग क्रोध रित्तिएको महसुस गर्छ । उ रिसाउन खोज्छ फेरि सक्दैन । अनुहार बिगार्न खोज्छ रातो बनाउन खोज्छ बिकृत अनुहारमा क्रोधको उत्पति गर्न खोज्छ उ गल्छ तर क्रोध प्रकट हुँदैन । अनि उ टाउको निहुर्याउँछ । मायाको मुस्कान को सामु घुँडा टेके जस्तो गरेर ।
माया कोठा भित्र छिरी । उसले आमाको ढोका ढक्ढक्यायो ।
ढोका आवाज बेगर खुल्यो ।
आमा ले आश्चर्य मिसिएको अनुहारले उसलाई हेरिन् अनि ढोका खोलिदिइन् । उ हतारमा भित्र छिर्यो ।
“आमा तँपाईलाई मायाको ब्यवहार अचम्म लाग्दो लाग्दैन ?”
“किन र ?”
“मलाई त उ बौलाएकी छे जस्तो लाग्छ !” उसलाई थाहा छ । उ बौलाहि होइन उ एउटा चलाख शिकारी हो । तर त्यो भन्दा उसले आफुलाई एउटा निमुखा शिकार बनाएको हुन्थ्यो । यो उसको स्वाभिमान जोगाउनलाई प्रयोग गरिएको वाक्य थियो ।
“कसरी ?”
“सबै भन्दा धेरै समय त उ मसँगै नै बिताउँछे नि ! मलाई नै त हो थाहा हुने !”
“तै पनि एकचोटी फेरि सोची हेर आरोप लगाउनु अघि , म सँग त माया साधारण ब्यवहार नै गर्छे !”
आमा ले हाई काड्दै फैसला सुनाइन् । उसका वाक्यांशहरुमा कुनै जाँगर , आश्चर्य ,आक्रोश प्रकट नगरिकन भावहिन रुपमा !
“हुन्छ म तँपाई सँग भोली कुरा गरुम्ला !”
उ बिस्तारै बाहिर निस्कियो । आमाले ढोका लगाइदिइन् । उसले अब अन्तिम युद्धको तयारी
थालेको छ ।शायद माया अनभिग्य छे वा शायद अभ्यस्त छे हुन सक्छ उ तयार छे !!!
क्रमश: