माया कुशल छे ,चतुर छे र घातक छे उसले हरहमेशा सोच्ने गरेको विषयबस्तु ।जे सुरुचीमा स्पष्ट देखिन्थ्यो त्यो मायामा छायाँ पर्छ ।उ ती सबैलाई लुकाएर पनि साधारण जीवन बाँचिदिन्छे । उ धेरै ठाउँ बांगिएकी एउटा सरल रेखा हो , जसमा प्रत्येक वक्रहरु त्यहि सरल रेखाले निलेको छ ।भिमकाय शरिर छ त्यो सरल रेखाको जसमा बांगिएका परिधिहरु झिना मसिना लाग्छन् । उसले धेरै बेर सोच्यो अब खोज के बाट ???
बाहिरको प्याट प्याट आवाजले उसको ध्यान भंग भयो आवाज बिस्तारै हरायो ।कोहि उसलाई पनि लुकेका नजरहरुले नियाल्दै छ ।प्याटप्याटे चप्पल कसले लाउँछ ? घर आलिशान ,लत्ता कपडा आलिशान प्याटप्याटे चप्पल लगाउने दरिद्री को निस्कियो ?
रामे !!!!! उसको दिमागमा अचानक बत्ति बल्यो। उसलाई धेरै प्रश्नहरुको उत्तर , धेरै समस्याहरुको समाधान एकैचोटि पाएछ जस्तो लाग्यो ।
हो रामे नै हो मलाई लुकीछिपी हेर्ने । उसलाई रामे माथि शंका छ छैन बुझ्न आएको । रामे को कुरा थाहा पाएपछि उसको साधारण प्रतिकृया के हुन्छ त ?उसले रामेलाई गाली गर्नुपर्ने हुन्छ।तर उ रामे लाई किन गाली गरोस् रामे त माध्यम हो जड त माया को रहस्य हो । उसले आज विहानको गल्ति पत्ता लगायो । माया रहस्यमयी छे , मायाको रहस्य उसको लक्ष हो । तर मायाको रहस्य सम्मको यात्रा तय गर्दा माया पर्खाल मात्र बन्न सक्छे बाटो होइन किनकी मायामा रोक्न सक्ने चातुर्यता छ लुक्न सक्ने गोप्यता छ र डुब्न सक्ने गहिराहि छ । बाटो त रामे हो मायाको रहस्य सम्म पुग्नलाई । आज बिहान देखि नै उसले रामेलाई पछ्याउनु पर्ने रहेछ उसको चियो गर्नु पर्ने रहेछ ।
उसले आफ्नो कागज निकाल्यो किचन शब्दमाथिको गोलो अझ गाढा बनायो । त्यसैको मुन्तिर रामे भनेर नाम कालो अक्षरले कोर्यो पन्नालाई जतनले पट्यायो अनि शर्टको गोजीमा राख्यो ।
************* ************* *************** **************
रामे करिव बाइस तेइस तिरको केटो ,जतिखेर सुरुची भित्रिएकी थिई उ शायद किशोर भनाउन लायक भख्खर भएको थियो ।सुरुचीको हेय दृष्टि पर्ने गरी । उ जस्तै रामे पनि सुरुची सँग डराउँथ्यो र सुरुचीलाई डराउने मान्छेहरु मन पर्दैनथे । उ ढल्कदो थियो रामे उक्लँदो ।
उसले रामेलाई खोज्यो । उ बँगैचामा पानी हाल्दै थियो । दुईचात वटा फूल उसले रोपेका पनि थिए त्यसमा दुई चारवटा मा मायाले गोडमेल गरेकी थिई हिजो भख्खर । हो हिजो भख्खर रामे मायाले गोडमेल गरेका फूलहरुको जतन गरीदिन चाहन्छ । उसले फूल लाई नियालेर हेर्यो दुइचारवटामा कोपिला लाग्दै थिए । मायाले गोडमेल गरेको रामेले पानी हालेको फूलमा कोपिला लाग्दैछन् उसलाई विरक्त लागेर आयो ।
“रामे पानी ले त !” उसले रामेको काममा वाधा पार्ने चाह्यो
“हुन्छ हजुर।“ रामेले उत्तर फर्कायो ।
रामेको काम रोकिएकोमा उ मनमनै खुशि भयो । गिलासको पानी उसले एकै घुट्को मा साफ पार्यो । रामेलाई नियालेर हेर्यो ।पहिलेको भन्दा निखार छ उसमा केहि अतुलनिय कुरा पाए जस्तो उज्यालो छ उसमा । उ मात्र किन अपुर्ण छ यति लामो समयसम्म सुरुची हरदिन उसलाई आफ्नो क्रोधले गिज्याउँथि मायाहरदिन उसलाई आफ्नो मुस्कान ले गिज्याइदिन्छे । के उ सबैको लागि हेयको पात्र बन्न संसारमा छ ?उ किन रामे हुन सकेन ?बरु उ नै पानी लगाइदिन्थ्यो बँगैचामा यदि माया नमुस्कुराउने वाचा गर्छे भने । मायाको मुस्कानले उसलाई पोल्छ ।
“गिलास मलाई दिनु भए हुन्छ हजुर !”
गिलास अझै उसैको हातमा रहेछ । रामेले माया उ सँग सापटी माँगे जस्तो लाग्यो ।
“हैन यो गिलास म नै राखिदिउँला !” उसले आनाकानी गर्यो ।
रामेले अचम्म मानेर हेर्यो । उसले गिलास अझ जोडले समात्यो ।
“म दिन्न तँलाई यसमा हक छ मेरो !” उ अचानक चिच्याउन चाह्यो फेरि सोच्यो यति भएपछि सबैलाई सबै कुरा पत्ता लाग्नेछ । मायालाई पनि , उसले आफ्ना शब्दहरु रोक्यो ।
“त्यसो भए म जाउँ त हजुर ?”
रामेको प्रश्नमा उसले टाउको मात्र हल्लायो ।
उ फेरि बँगैचा देखिने लब्बीमा बाहिर निस्कियो । बँगैचामा उसले रोपेका फूलहरु मा गोडमेल नभए जस्तो लाग्यो । कुनै कुनै भने दुख कष्ट सहेर पनि बाँचेका थिए । तर बोट भरी काँडै मात्र अचम्म खोई त फूल ??
कोपिला हरु त अघि रामे ले पानी हालेका बोटहरुमा मात्र रहेछन् ।
रामे फेरि दृश्यमा देखा पर्यो । उ फेरि अघिकै कोपिला भएकै बोटमा पानी हाल्दै थियो ।
“के हेरीरहनु भएको ?”
माया पछाडी नै रहिछे । उ झस्कियो ।
“फूल कति फूलेछन् भनेर !” उसले साधारण भएर जवाफ फर्काउन खोज्यो । माया पनि उसलाइ नियालिरहेकी छे । उसले कदम कदम मा सावधान हुनुपर्छ उसले मनमनै सोच्यो ।
“कति फूलेछन त ?”
“मैले त काँडा मात्र देखेँ ।“ उसले कोपिलाको जानकारी मायालाई दिएन ।
माया मुस्कुराई अनी कोठाबाट बाहिर निस्किई । उसलाई असह्य भयो । उसले फेरि बँगैचा नियाल्यो । रामेको पानी हाल्ने काम सिद्दिएछ । रामे त्यहाँ थिएन । उ सरासर तल ओर्लियो । बँगैचामा गयो । उसले पत्ता लगाएका कोपिलाहरु लाई हेर्यो ।पानीका दुई चार थोपा यतावतै थिए । कोपिला चुँड्यो अनि मिल्काईदियो ।
क्रमश: