Posted by: bikash kc March 22, 2009
shed light on FREE STUDENT UNION election
Login in to Rate this Post:     0       ?        
2009-03-22 19:51:44
स्ववियु चुनावबाट एमाले अखिल ठूलो संगठनका रुपमा स्थापित

नेविसंघ र अखिल क्रान्तिकारी दोस्रो र तेस्रो स्थानमा
परिणामका हिसाबले तीन संगठनबीच सिट संख्या झन्डै बराबर
काठमाडौं, चैत ९ (दैनिकी) - संविधानसभामा तेस्रो शक्तिमा सीमित भएको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबभन्दा ठूलो विद्यार्थी संगठनका रुपमा देखिएको छ। हालै सम्पन्न स्ववियु चुनावमा संविधानसभामा पहिलो र दोस्रो शक्तिका रुपमा क्रमशः एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको भातृ संगठनभन्दा तुलनात्मक रुपमा सामान्य अग्रता हासिल गरेर अनेरास्ववियु ठूलो विद्यार्थी संगठन बन्न पुगेको हो।
अखिललाई पछ्याउँदै नेपाल विद्यार्थी संघ दोस्रो ठूलो विद्यार्थी संगठनका रुपमा देखा परेको छ। संविधानसभामा माओवादी पहिलो शक्तिका रुपमा उदाए पनि उसको भातृ संगठन अखिल क्रान्तिकारी भने स्ववियु निर्वाचनमा अखिल र नेविसंघको तुलनामा केही पछि परेको छ।
स्ववियु निर्वाचनको परिणामलाई हेर्दा अखिल नेविसंघ र क्रान्तिकारीबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको देखिन्छ।अनेरास्ववियुका महासचिव माधव ढुंगेलले ७९ वटा क्याम्पसमा आफनो संगठन स्ववियु सभापति पदमा विजयी भएको दावी गरे। तर पुरै प्यानल नै जितेको आधिकारिक तथ्याङक भने आइनसकेको उनले बताए। झण्डै १ सय १० क्याम्पसको स्ववियुमा आफनो संगठनको उपस्थिति रहन गएको पनि उनले बताए।
चुनावी परिणामलाई हेर्दा नेविसंघले पनि अखिललाई पछयाइरहेको छ। नेविसंघका कार्यालय सचिव नारायण अधिकारी आफूहरुले ६८ वटा क्याम्पसमा सभापति जितेको र १ सय १६ क्याम्पसका स्ववियुमा आफ्नो संगठनको प्रतिनिधित्व भएको दाबी गरे। साथै ३० वटा क्याम्पसमा प्यानल नै जितेको पनि नेविसंघले बताएको छ।
क्रान्तिकारीका कार्यलय सचिव रत्न ढकालले भने आफ्नो संगठनले ६४ वटा क्याम्पसमा सभापतिसहित ४५ क्याम्पसमा प्यानल जितेको दावी गरे।

प्रभावशाली क्याम्पसको हालखबर
पाँच हजार भन्दा बढी विद्यार्थी भएको क्याम्पसमा स्ववियुमा सभापतिसहित १५ सदस्यीय समिति रहन्छ। त्यस्तै २ हजारदेखी ५ हजारसम्म विद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय समिति रहन्छ र यस्ता क्याम्पसहरुलाई प्रभावको हिसावले मध्यम खालको मानिन्छ। र २ हजारभन्दा कम विद्यार्थी भएको क्याम्पसमा ७ सदस्यीय समिति रहन्छ जसलाई कम प्रभावशाली क्याम्पसको रुपमा लिइन्छ।
१५ सदस्यीय स्ववियु रहने प्रभावशाली क्याम्पसहरुमा पृथ्वीनारायण महेन्द्र मोरङ बुटवल बहुमुखी मेची बहुमुखी त्रिचन्द्र बहुमुखी ठाकुरराम रारा बहुमुखी शंकरदेव नेपाल कमस्र पाटन संयुक्त महेन्द्ररत्न रत्नराज्य पद्यकन्या केन्द्रीय क्याम्पस किर्तिपुर लगायतका छन् ।
यी क्याम्पसहरुमध्ये अखिलले पाटन संयुक्त र महेन्द्ररत्न क्याम्पसमा जितेको छ । त्यस्तै नेपाल कमस्रमा पनि अखिलको विद्रोही उम्मेदार सभापतिमा विजयी भएका छन् । नेपाल विद्यार्थी संघ त्रिचन्द्र र शंकरदेवमा विजयी भएको छ। क्रान्तिकारी चािहं महेन्द्र मोरङमा मात्रै विजयी भएको छ।
केन्द्रीय क्याम्पस किर्तिपुरमा क्रान्तिकारीले ३ सय भन्दा बढी भोटले अग्रता लिइरहेको स्थितीमा हुन गएको विवादका कारण मतगणना रोकिएको छ । क्रान्तिकारीका सभापतिका उम्मेदार हिमाल शर्माको झण्डै ३ सय भोट बदर हुन गएपछि क्रान्तिकारीले आफुहरुलाई षडयन्त्रपुर्वक हराउन लागेको भनी विवाद सिर्जना गरेका हुन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि अखिल र क्रान्तिकारीबीचको विवादले मतगणना स्थगित भएको छ। त्यसै गरी ठाकुरराम बहुमुखी र रारा बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संगठनहरुबीचको विवादकै कारण मतगणना स्थगित छ ।
बुटवल बहुमुखी क्याम्पसमा चुनावी परिणाम घोषणा हुन वाँकी छ। अनेरास्ववियुका महासचिव ढुंगेलले त्यहाँ आफनो संगठन विजयी भएको दावी गरे। आफनो संगठनको उम्मेदारले ६८ भोटले अग्रता गरिरहेको स्थितीमा क्रान्तिकारीले बाँकी रहेको ३५ भोट च्यातेर हिडेको अनेरास्ववियुको आरोप छ।
मेची बहुमुखी रत्नराज्य र पद्यकन्या क्याम्पसमा भने निर्वाचन नै स्थगित भएको छ। त्यस्तै उपत्यकाको सरस्वती बहुमुखी क्याम्पसमा र विश्वभाषा क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेको छैन।

क्रान्तिकारीको स्थिति
अखिल क्रान्तिकारी मोरङका २ चितवनका ९ काठमाण्डौकां ५ रुपन्देहीको ३ गोर्खाका २ सिन्धुपाल्चोकको २ वटा क्याम्पसहरुमा विजयी भएको छ । मोरङमा महेन्द्र मोरङ र रमाइलो क्याम्पसमा क्रान्तिकारी विजयी भएको हो । महेन्द्र मोरङ क्याम्पसमा मिश्रित परिणाम आएपनि सभापतिमा क्रान्तिकारी विजयी भएको छ। यसले त्यस क्षेत्रमा उसको उपस्थिती सशक्त भएको देखिन्छ।
त्यस्तै चितवनका ९ क्याम्पसमा क्रान्तिकारी विजयी हुनुले पनि त्यस क्षेत्रमा यो संगठन बलियो रहेको देखिन्छ । क्रान्तिकारी विजयी भएका चितवनका नौ क्याम्पसहरुमा अमरजनशक्ति उमावडी सप्तगण्डकी रामपुर कृषि शहीद स्मारक माडी अरुणेदय वालकुमारी र भुवानी शंकर क्याम्पस रहेका छन्। माडीमा गरिएको यात्रु वस आगजनीको घटनाले माओवादीलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा नै अप्ठयारो पारेपनि स्ववियु चुनावमा भने त्यस क्षेत्रको माडी क्याम्पसमा क्रान्तिकारी नै विजयी बन्न पुगेको छ।
काठमाण्डौको थापाथली इन्जिनियरिङ कान्तिपुर मनोहरा पब्लिक युथ र नेपाल राष्ट्रिय क्याम्पसमा क्रान्तिकारी विजयी भएको हो । थापाथली र पब्लिक युथमा सभापतिमा विजयी भएपनि समग्र चुनावी नतिजा मिश्रित हुन पुगेको छ । तुलनात्मक रुपमा क्रान्तिकारी उपत्यकाका क्याम्पसहरुमा कमजोर देखिन पुगेको छ। मिश्रीत परिणाम आएका थापाथली र पब्लिक युथ बाहेक क्रान्तिकारी विजयी भएका अन्य क्याम्पसहरु उतिसारो चर्चित छैनन् ।
रुपन्देहीका यज्ञोदय रामपुर बहुमुखी र भैरहवा क्याम्पसमा पनि सभापतिमा क्रान्तिकारी विजयी भएको छ । यसमध्ये रामपुर बहुमुखीमा मिश्रित परिणाम आएको छ भने भैरहवा क्याम्पसमा अखिलसँगको संयुक्त प्यानलका कारण क्रान्तिकारी विजयी बन्न पुगेको हो ।
गोरखामा भने क्रान्तिकारीले द्रब्य शाह र गोर्खा शिक्षा क्याम्पसमा प्यानल नै जितेका छन् । सिन्धुपाल्चोकको अरनिको र सुनकोशी दुई क्याम्पसमा पनि क्रान्तिकारी विजयी भएको हो ।
मकवानपुर ललितपुर काभ्रे सोलुखुम्बु लमजुङ अर्घाखाँची पर्वत रामेछाप रोल्पा सिन्धुली जुम्ला दोलखा रुकुम जाजरकोट प्युठान खोटाङ दाङ धादिङ उदयपुर नवलपरासी ओखलढुङगा र सल्यानका एक÷एक क्याम्पसमा पनि क्रान्तिकारी विजयी भएको छ ।

काठमाडौंमा नेविसंघ अगाडी
नेपाल विद्यार्थी संघ चाहिं काठमाडौंका ११ मोरङका २ लमजुङका ३ काभ्रेका ५ कास्कीका २ पाल्पाका २ काचनपुरका २ र नवलपरासीका २ क्याम्पसमा विजयी भएको छ। काठमाण्डौमा नेविसंघको उपस्थिती बलियो देखिन गएको छ।
आर्युवेद नरदेवी ग्रामिण आदर्श वाल्मिीकी शंकरदेव काठमाडौं शिक्षा पशुपति चावहिल महाराजगाज मेडिसिन त्रिचन्द्र बहुमुखी जनप्रशासन र कोटेश्वर क्याम्पस हुन् । कोटेश्वर क्याम्पसमा सभापति मात्रै जितेको हो। चर्चित मानिएको त्रिचन्द्र क्याम्पसमा नेविसंघले प्यानल नै जितेको छ भने शंकरदेवमा मिश्रित परिणाम आएको छ।
नेविसंघले जितेका काभ्रेका ६ वटा क्याम्पसहरुमा धुलिखेल सिद्धार्थ इन्द्रेश्वर चैतन्य र मानपुर कालापानी छन्। त्यस्तै लमजुङका पुष्पलता जनएकता मंगला र भक्तिआदर्श छन् । कास्कीका विद्यावासिनी विद्यापीठ र वनविज्ञान पोखरा पनि नैविसंघले जितेको छ। पाल्पाको शहीद र त्रिभुवन गरी दुईवटा क्याम्पसमा पनि नेविसंघ विजयी भएको छ। काचनपुरको सिद्धनाथ र शारदा संस्कृतमा पनि नेविसंघ विजयी भएको छ । नवलपरासीको कुमारवर्ती र त्रिधुवन क्याम्पसमा पनि नेविसंघ विजयी भएको छ । कुमारवर्तीमा प्यानलले नै जितेको छ भने त्रिभुवनमा मिश्रित परिणाम आएको छ।
नेविसंघले संखुवासभा तनहुँ धादिङ सुर्खेत अछाम वर्दिया बाग्लुङ झापा कैलाली कपिलवस्तु स्याङजा डोटी रौतहट जाजरकोट र सप्तरी जिल्लाका एक÷एक क्याम्पसमा पनि विजयी भएको छ ।

अनेरास्ववियुको सामान्य अग्रता
६१ वटा क्याम्पसमध्ये काठमाण्डौको ६ काभ्रेको ७ र स्याङजाको ६ वटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । पाल्पा दोलखा झापा बैतडी सुर्खेत मुगु प्युठान लमजुङ सिन्धुपाल्चोक मकवानपुर गुल्मी र रुपन्देहीका दुई÷दुईवटा क्याम्पसमा पनि अनेरास्ववियुले जितेको छ ।
त्यस्तै ललितपुर कास्की वाजुरा अर्घाखाँची पसा्र मोरङ दार्चुला रौतहट धनुषा दैलेख दाङ सिन्धुली र चितवनमा पनि एक÷एक क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ।
काठमाडौंका शहीद आदर्श पुल्चोक इन्जिनियरिङ ललितकला अमृत साइन्स पाटन संयुक्त र महेन्द्ररत्न ताहाचल क्याम्पसमा अनेरास्ववियुले सभापतिसहित जितेको हो। काभ्रेका साजीवनी सर्वमंगला डेडीथुंका तेजगंगा कुशादेवी र काभ्रे क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियु विजयी भएका स्याङजाको ६ वटा क्याम्पसहरुमा त्रिया सिद्धार्थ कल्याण त्रिभुवन मिर्मि र निउली हुन् ।

´परिणाम अनपेक्षित होइन´
राजनीतिक विश्लेषक झलक सुवेदी स्वतन्त्र विद्यार्थी निर्वाचनको परिणामलाई स्वभाविक नै लिन्छन् । स्ववियु चुनावलाई संविधानसभा निर्वाचनमा दलीय प्रभावअनुरुप हेर्दा परिणाम स्वभाविक भएको उनको भनाई छ ।
´अनेरास्ववियु र नेविसंघको अग्रता नभएर क्रान्तिकारीको अग्रता भएको भए अनौठो हुन्थ्यो´ - उनले भने। उनका अनुसार क्रान्तिकारीको बीचमा श्रृङखला टुटेकाका कारण पनि उनीहरु अन्य दुई विद्यार्थी संगठनको तुलनामा पछि परेका हुन्।
क्रान्तिकारीको पकड तल्लो तहमा भएको तर त्यस्तो वर्गको पहुँच विश्वविद्यालय शिक्षामा नभएकाले पनि माउ पार्टीको तुलनामा विद्यार्थी संगठन कमजोर भएको भनाई सुवेदीको छ। नेविसंघको प्रतिनिधीत्व गर्ने वर्ग चाहिं सरकारी क्याम्पसमा भन्दा निजी क्याम्पसतर्फ आर्कषित रहेको तर्क उनको छ। ´सरकारी क्याम्पस पुग्ने वर्ग एमाले समर्थित अखिल नै हो´- सुवेदी भन्छन् ´त्यसैले पनि एमाले अखिलले केही अग्रता लिनु नयाँ कुरा होइन स्वभाविक नै छ।´
विद्यार्थी युनियनको चुनावमा प्रयोग गरिएको शैली दिएको महत्व र गरिएको खर्च यसपटक अनौठो हिसावले देखिएको छ । ´राजनीतिक दलहरुले यसपटक विद्यार्थीहरुको चुनावमार्फत शक्तिको प्रयोग गरेका छन्´ उनी भन्छन् । राजनीतिक दलहरुले विद्यार्थी चुनावमा गरिएको शक्ति प्रर्दशनले विगतमा भारतको उत्तर प्रदेशमा हुने विद्यार्थी चुनावको झझल्को दिएको छ । उत्तर प्रदेशको विद्यार्थी चुनावमा हुने शक्तिको प्रयोग र त्यसले निम्तयाएको विकृर्तिको कारण त्यहाँको राज्य सरकारले विद्यार्थी चुनावलाई नै प्रतिवन्ध लगाएको छ।
राजनीतिक दलहरुले खासगरी गैरप्राविधिक क्याम्पसहरुमा ठुलो संख्यामा कार्यकर्ताहरुलाई भर्ना गर्ने काम गरे । चुनावी प्रयोजनको लागि उनीहरुले यो काम गरेका हुन् । यो काममा पनि पार्टीहरुले ठुलो रकम खर्च गरेका छन् । विद्यार्थी संगठनहरुको यो कार्यले वास्तविक विद्यार्थीहरुको प्रतिनिधीत्व नहुन पनि सक्छ। ´यसमा राजनीतिक दलहरुको ठाडो हस्तक्षेप देखिन्छु विश्लेषक सुवेदी भन्छन् ुयसले गर्दा वास्तविक विद्यार्थीहरुको प्रतिनिधीत्व नहुने देखिन्छ।´
यसपटकको निर्वाचनमा एक अर्का संगठन र पार्टीलाई आरोप लगाउने काम पनि ज्यादा भएको छ। विश्लेषक सुवेदीका अनुसार पंचायतकालमा ब्यवस्था समाप्त गर्ने मिशन हुन्थ्यो भने पछिल्ला स्ववियु चुनावहरुमा राजतन्त्रको अन्त्य गर्ने नारा रहन गयो । ´अहिले विद्यार्थी संगठनहरुमा त्यस्तो एजेण्डा नभएपछि एक अर्काबीच आरोप प्रत्यारोप गर्ने परम्परा बृद्धि भएको हो,´ सुवेदी भन्छन् । अहिले राजनीतिक दलहरुमा स्ववियु कब्जा गरेर आफनो शक्ति देखाउने मिसन राखेकाले पनि तनाव बढन गएको हो ।
विगतमा झैं यसपटकको स्ववियु चुनावमा पनि शैक्षिक मुद्धाले खासै स्थान पाएन। शैक्षिक भन्दा राजनीतिक मुद्धा हावी हुने स्ववियु निर्वाचन र विद्यार्थी राजनीतिको परम्परा नै बन्न गएको छ।
एमाले अखिल तुलनात्मक रुपमा अघि रहनुमा उसको चुनावी तालमेलले पनि काम गरेको छ। स्थानिय आवश्यकताअनुसार अखिलले कुनै स्थानमा नेपाल विद्यार्थी संघ त कतिपय क्याम्पसहरुमा क्रान्तिकारीसँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको हो । ´माउ पार्टीमा झै स्पष्ट नहुने रोग विद्यार्थी संगठनमा पनि प्रतिविम्बित भएको छ´- एमाले अखिलबाट ०४४ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति समेत भएका सुवेदीको भनाई छ।
Last edited: 22-Mar-09 11:01 AM
Read Full Discussion Thread for this article