बन-बास
घोर निन्द्रामा थिएँ। एक्कासी निन्द्रा खुल्यो। सिरानीसंगै राखेको मोबाईल बजेको रहेछ।
बिहान कलेजको पढाई र दिन भरिको कामको थकाईले लोलाएका आँखा बिस्तारै उघारी हेरे अन नोन कलबाट फोन आएको रहेछ। नेपालबाट दाईले फोन गर्यो भनी हत-पत फोन उठाएँ। साथीले गरेको रहेछ। सन्चो-बिसन्चो आधान-प्रधान भयो। कुरा-कानिको सिलसिला क्रममा देशको स्थितिकोबारे बेलि-बिस्तार ला’यो।
"हलो! सुनी रा'छ" उताबाट साथी बोल्यो
"भन" मैले जवाफ दिएँ
"आज-भोली नेपालमा त खत्तम छ"
"हो र? के भयो र त्यस्तो? " मेरो प्रश्न
"कुन बेला बत्ती जान्छ थाहै हुँदैन।दिनमा २० घण्टा बत्ती जान्छ। धारामा त कहिले कही मात्र पानी आउछ। हलो ! सुनी रा'छ"
"हलो! अँ अली ठुलो स्वरले भन। अली सुनिएन"
"हलो! अब सुन्यो"
"हलो! अँ सुने भन"
"स्कुल क्याम्पस बन्द छ। तराइ बन्द भएको २ हप्ता भयो।राज्-मार्ग पनि बन्द छ। भोली चक्काजाम छ। पर्सी उपत्यका बन्द छ। हलो! सुनी रा'छ"
"अँ"
करिब ५ मिनट लामो नेपालको खबर पछी सोद्यो
"अँ साच्चै तिमी नेपाल कहिले आउने?"
" म बन-बास अहिले नै आउन्न" मैले भने।
यत्तिकैमा कोनेक्सन कट भयो। म फेरी निदाउन खोजे,तर पटक्क निद्रा लागेन। एता पल्टिएँ उता पल्टिएँ। नाना भाती कुराहरु खेल्न थालयो मनमा।जुरुक्क उठेर एक गिलास पानी खाएँ ।अनी फेरी पल्टिएँ। कुन बेला भुसुक्क भयो थाहै भएन।