Posted by: chipledhunga March 20, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        
लौ अब छात्राबासतिरको पनि कुरा गरौं है। पहिले पनि लेखेको थिएँ कि पहिलो बर्षको बिद्यार्थीहरुलाई छुट्टै अर्थात् फ्रेशम्यान डोर्ममा राखिन्थ्यो। रूममेट चाँही स्विडिस र कालेको मिक्स भएकोले कालो छाला र कैलो कपाल भएको थियो। कोठाको एकातिर बंक बेड थियो। तल्लो भागमा म सुत्थें। ओच्छ्यानको तलतिर घरराहरु थिए जुन हामीले आधा आधा बाँडेका थियौं। ढोकाको दुबै कुना पट्टी एक एक वटा क्लोजेटहरु थिए। कोठाको अर्को पट्टी चाँही डेस्कहरु थिए दुबै जनाको लागि। डेस्कको सीधा माथि रयाकहरु थिए जसको मेरो पट्टिको केही भागमा किताबहरु अनि केही भागमा नेपाली गीतका क्यासेटहरु राखेको थिएँ। डेस्कको सीधा (रयाक मुनिको भित्तामा) नेपाली क्यालेन्डर र केही पोस्टकार्डहरु टाँसेको थिएँ। रूममेटको सि.डि प्लेयर भएको स्टेरियो थियो। ऊ नभएको बेला परे नेपाली गीतहरु सुन्थें त्यसैमा। उसले बजाउने गीतहरुमा चाँही Doorsको गीत हरु मन पर्थ्यो, अरु त खोइ के के बजाउँथ्यो।

त्यो छात्राबासमा बस्ने बिदेशी बिद्यार्थीहरु सबैजसो नजिकका साथी भयौं। म बाहेक त्यो अनौठो तरीकाले खाने बाङ्लादेशी अनि बुल्गेरिया, चीन, लिथुएनिया र जापानका एक एक जना थिए। एक अर्काको देशका कुराहरु चाख मानेर सुन्थ्यौं। त्यसै गरी जापान भने पछि हुरुक्कै हुने एक अमेरिकी पनि थियो। हाईस्कूल पढ्दा एक्स्चेन्ज प्रोग्राममा जापान गएको रहेछ। आखिर उसको बिहे पनि त्यही कलेजमा चिनजान भएको जापानी केटीसँग भयो। बिदेशी बिद्यार्थीहरुसँग मिल्ने थोरै अमेरिकीहरु मध्ये एक थियो ऊ। अर्को अमेरिकीको चाँही हाईस्कूल पढ्दै थाइ केटीसँग मायाप्रीती गाँसिएको रहेछ अनि पीरो पनि मजाले खान सक्ने भएको रहेछ। उसको कोठामा सानो रेफ्रिजेरेटर थियो, जहाँ उसले थाइ खुर्सानी लगायत अरु पीरा थाइ खानेकुरा पनि राखेको थियो। बाङ्लादेशीलाई बेस्सरी पीरो खानु पर्ने, खान नपाएर रन्थन्निएको थियो। म त्यति पीरो नखाने भए पनि खल्लो खाँदा खाँदा वाक्क भएको थिएँ आएको केही दिनमै। एक दुई चोटि उसको कोठामा गएको बेलामा मैले एक दुई वटा अनि उसले र बाङ्लादेशीले त ४-५ वटै होला खुर्सानी चपाएका थियौं। एक दिन उसैको कोठामा म, बाङ्लादेशी र अरु केही बिदेशी र अमेरिकी गरी ७-८ जना गफ गरिरहेका थियौं। यत्तिकैमा उसले खुर्सानी चाख्ने कुरा निकाल्यो। अमेरिकीहरु त हच्किए शुरुमा। उनीहरुलाई थाहा थिएन कि ऊ सजिलै पीरो खान सक्छ भनेर। उसले "दे आर माइल्ड" भने पछि र म, बाङ्लादेशी र उसले एक दुइवटा चपाएपछि उनीहरुले पत्याए। एक टुक्रा के टोकेका थिए पीरोले बित्यास पर्‍यो उनीहरुलाई। बाथरूमतिर दौडिए सबैजना। सिन्कमा लहरै उभिएर कुल्ला गर्न अनि मुख धून थाले असिनपसिन भएका बिचराहरु। आखिर म पनि अमेरिकीको संगतले पीरो खाने भएँ।

छात्राबासको बेसमेन्ट्मा टि.भी लाउन्ज लगायत लन्ड्री रुम र भेन्डिङ मेशिनहरु थिए। वाशिङ मेशिन र ड्रायर चलाऊन पनि सिकें। यहाँ त आफ्नो लुगा आँफै धुन पर्ने। माटोको अटलमा डल्लो साबून दल्नु पर्ने भए त कसरी गर्थें, मेशिनमा हाल्न त खास गार्हो हुँदो रहेनछ। लुगा धुने काम त झर्को नै लाग्थ्यो। ड्रायरबाट तातो लुगा झिक्दा भने आनन्द आउँथ्यो। शुरुमा त बास्केट पनि थिएन, पहिलो चोटि वाल्मार्ट जाँदा बचाएका प्लास्टिकका झोलाहरुले काम चलाऊनु पर्‍यो, दोस्रो चोटि जाँदा चाँही बास्केट किनें।

भेन्डिङ मेशिनबाट खाने पिउने कुरा झारेर पनि खुबै खाइयो। वाल्मार्ट गएको बेला पनि बिभिन्न जंक फुडहरु किनेर ल्याउँथें। गुलियो खाले खानेकुरा त प्राय: ठीक्क गुलियो नभएर चिनीकै पोको निले जस्तो हुन्थ्यो, चिल्लो पनि उस्तै। चिप्सहरुमा डोरिटोज र बार्बिक्यु स्वादका मन पर्थे। पेय पदार्थहरु पनि भेन्डिङ मेशिन र क्याफेटेरियाको फाउन्टेन दुबैबाट धेरै कुरा चाखियो, चेरी कोक र माउन्टेन ड्यु देखि मेलो येलो के मात्रै बाँकी राखिएन होला। भेन्डिङ मेशिनमा चानचुन पैसा वा एक डलरको नोट छिराएर आफूले चाहेको पेय पदार्थको बटन थिचेपछि क्यान खसेको आवाज अनि त्यो चिसो क्यान समातेर माथिको ट्याब खोल्दा आउने आवाज असाध्यै मन पर्थ्यो, अनि त्यसपछि पिएको पहिलो घुट्काको अर्कै आनन्द थियो। सबै कुरा ट्राइ गरियो, मन चाँही कोकाकोला क्लासिक नै पर्‍यो। रुट बियर र मरिचमान झोल (Dr. Pepper) त नमीठो।

क्रमश:
Read Full Discussion Thread for this article