Posted by: chipledhunga March 19, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

अब यसो दिनचर्याका पनि कुरा गरौं है। म बस्ने छात्रावास कलेजका अन्य भवनहरु भन्दा अलि टाढा थियो। प्राय: ठाउँ पुग्न १० मिनट जति हिंड्नु पर्थ्यो, जबकी अरु छात्रावासहरु केही नजिक थिए। बिहान उठेर नुहाइधुवाइ गरिन्थ्यो। कहिलेकाही त पालो कुर्न पनि पर्ने। अनि १० मिनट जतिकै दूरीमा रहेको फुड सर्भिसमा गैन्थ्यो ब्रेकफास्ट खान। भुँइतलाबाट छिर्न पर्थ्यो, अनि भर्र्याङ्गमा लाइन बसेर बेसमेन्टमा झरिन्थ्यो। एउटा काउन्टरमा आइडी कार्ड घोटेर किस्ती र काँटा, चम्चा र चक्कु (चाँदीको नभए पनि सिल्भरवेर भनिंदो रहेछ) लिएर आफ्नो रोजाइको मुख्य खानेकुरा लिइन्थ्यो। सामान्यतया अन्डा, फ्रेन्च टोस्ट, प्यानकेक, बिस्किट (हाम्रो बिस्कुट जस्तो नभै अर्कै खालको हुँदो रहेछ, जसलाई हामी बिस्कूट भन्थ्यौं, त्यसलाई चाँही कूकी भनिने) र ग्रेभी, आलु आदि हुन्थ्यो त्यसमा। पेय पदार्थ र दही, फलफूल, सिरियल आदि चाँही आँफैले सर्भ गरी लिन मिल्थ्यो। खाएर जुठो भाँडा सहितको किस्ती एउटा लिफ्ट जस्तोमा छोडेर आफ्नो बाटो लागिन्थ्यो। बिहान ८ बजेको क्लास भ्याउन लाग्थें म चाँही। स्टोरिजको क्लास हप्ताको तीन दिन अनि दुई दिन चाँही त्यसैको ट्युटोरियल क्लास हुन्थ्यो। अर्को क्लास हप्ताको ३ चोटि ११ बजे थियो, अनि दिउँसो एक बजे हप्ताको दुई चोटि एउटा तीन चोटि अर्को क्लास थियो। लन्च बाहेकको अरु समय चाँही प्राय: पुस्तकालयमा बित्थ्यो। आफ्नो काम पनि त्यहीं भएको र छात्रावास पनि टाढा भएकोले अध्ययन, गृहकार्य अनि फुर्सद भए मनलागेको कुरा पढ्ने काम पुस्तकालयमै गर्थें।

पुस्तकालयको काम चाँही सर्कुलेसन डेस्कमा थियो, जहाँ किताब चेक आउट गर्ने र फिर्ता लिने काम हुन्थ्यो। डेस्कमा हुँदा स्क्यानरले आइडी स्क्यान गरेर त्यसपछि किताबहरु स्क्यान गरिन्थ्यो। कम्प्युटरले देखाएको फिर्ता गर्ने मीतिको छाप किताब पछाडि टाँसिएको पानामा लगाएर एउटा चुम्बकीय बट्टामा किताबको "स्पाइन" घोटेर डिसेन्सिटाइज गर्नुपर्थ्यो। डिसेन्सिटाइज नगरेको किताब लिएर बाहिर निस्कियो भने अलार्म बज्थ्यो। त्यसै गरी फिर्ता आएका किताब पनि स्क्यान गरी चेक इन गरिन्थ्यो, कसरी रिसेन्सिटाइज गरिन्थ्यो चाँही बिर्सिएँ। किताब चेक इन र आउट गर्ने बाहेक पुस्तकालयको निश्चित बिभागका किताबहरुको जिम्मा पनि आफ्नो हातमा पर्थ्यो। मेरो भागमा चाँही "फिक्सन" बिभाग थियो। फिर्ता आएका आफ्ना बिभागका किताबहरु गाडामा हालेर एउटा कपडाको टालो अनि endust (धूलो सफा गर्ने रसायन) को क्यान बोकेर सम्बन्धित ठाउँमा गैन्थ्यो अनि किताबहरु ठीक ठाउँमा राख्ने र सेल्फहरु सफा गर्ने गरिन्थ्यो।

फुर्सद हुँदा चाँही धेरै समय "पिरियोडिकल्स" तिर बित्थ्यो, जहाँ पत्रपत्रिकाहरु हुन्थे। त्यतिबेला ईन्टरनेट र ईमेलको सुबिधा थिएन, म गएको एक बर्ष पछि मात्रै ती उपलब्ध भएका हुन्। नेपालको समाचार बिरलै पाइन्थ्यो। एसियासँग सरोकार राख्ने प्रकाशनहरु नै धेरै हेर्थें। दैनिक रुपमा आउने न्यू योर्क टाईम्स, अनि साप्ताहिक रुपमा आउने फार इष्टर्न इकोनोमिक रिभ्यु, (जसमा सबैभन्दा पहिले नूरी भिताचीको ट्राभलर्स टेल्स, जहाँ अनौठा र हाँसो उठ्दा फोटोहरु हुन्थे, अनि नेरु र डलरको बिनिमय दर हेर्थें) र एउटा भारतीय प्रकाशन (ईन्डिया टूडे हो कि जस्तो लाग्छ), नेसनल ज्योग्राफिक आदि मेरा प्रीय प्रकाशनहरु थिए। नेपाल सम्बन्धी पुस्तकहरु पनि खोजें कम्प्युटराइज गरेको क्याटालगमा। मुस्किलले आधा दर्जन थिए होलान्। ती मध्ये नेपाली लेखकहरु धूंस्वा सायमी र डा. डिल्लिरमण रेग्मीका एक एक पुस्तक थिए, जसका शीर्षकको मलाई सम्झना छैन। बिख्यात पर्वतारोही स्व स्कट फिशरको अनि नेपाल भारत सम्बन्ध बारे एक भूतपूर्व भारतीय राजदूतले लेखेको एक एक पुस्तकका साथै हिमालय र एसियाली कला सम्बन्धी पनि एक दुइवटा थिए।

साँझको ५ देखि ७ बजेसम्म डिनर सर्भ गरिन्थ्यो। त्यो बेला चाँही अलि फुर्सदले साथीहरुसँग बसेर खान पाइन्थ्यो। बिहान र दिउँसो चाँही सबैलाई हतार नै हुन्थ्यो। फुड सर्भिसको सामाजिक पाटो रमाइलो भए पनि खानेकुरा चाँही खत्तम थियो। खल्लो न खल्लो मासु, पास्टा अनि फ्यात्त गलाएर उसिनेको तरकारी आदि खानु आफ्नो दैनिकी जस्तै भएको थियो। गाइको मासु छल्न पनि गार्हो हुन्थ्यो। खानेकुराको मामिलामा बाङ्लादेशी अर्कै अदभूत चरित्रको मान्छे थियो। एक चोटि सलादलाई अन्तरराष्ट्रियकरण गर्न भनेर फ्रेन्च, इटालियन, थाउजेन्ड आइल्यान्ड (प्रशान्त वा आन्ध्र महासागरको टापूहरुको कुनै समूह ठानेर) लगायत अभौगोलिक नामका ड्रेसिङहरु (रयान्च, ब्लु चीज आदि) मिसायो। काँचो तरकारी भन्दा ड्रेसिङ नै बढी भएर त्यो त अलिअलि लेटस तैरिएको सूप जस्तो देखियो। एक दुई चम्चा ड्रेसिङको मिश्रण र अलिकति काँचो तरकारी खाएर छोडिदियो।  
अर्को चोटि सलादमै केचप हालेर खायो। पीरो बेस्सरी खानुपर्ने उसलाई, जेमा पनि टन्न पाप्रिका (हो कि कायन पेपर हो) हाल्थ्यो। रङ त गाढा हुन्थ्यो पीरो भने नाम मात्रको। एक चोटि बर्गरमा टन्न त्यही धूलो अनि एक टुक्रा केकको केही भाग हालेर पनि खान बाँकी राखेन। उसको अचम्मको खाने स्वभावले छिट्टै कलेज भरि चर्चा पायो, खास गरी बिदेशी बिद्यार्थीहरु बीच।

क्रमश:  

 

      

 

 


 
 
   

                      
Read Full Discussion Thread for this article