Posted by: Deep March 17, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

....पहिलो धाम अगाडी पुगे पछी, बाङ्गे दर्शनाभिलाषी स्वरुपमा आएर धामेस्वरीको आराधना गर्दा भएम मनमनै। ....


 


भगवतीबहाल धामकी धामेश्वरी ट्वाकको नाममा दर्ता थिई त्यसो , भन्या मुख्य भक्त थ्यो, बाँकी हामी निमित्त भक्त थिएम। अब ट्वाक हामी सँग नभएको त्यो बेला, बाङ्गे मा को कायममुकायम हुने भन्नेमा बिबाद भो। उता महाराजगन्ध धामको मुख्य भक्त थिएँ। बाङ्गे चै हुन धुम्बाराही धामको मुख्य भक्त थ्यो तर त्यो धामकी तरुनीको चालमाल अलि अस्थिर भएर होला उस्ले अब अर्को धामको ब्यबस्था नभए सम्मको लागि आफु फ्लोटर भएको घोषणा गरेको थ्यो। यता उस्ले आफु फ्लोटर भएको घोषणा गर्नु उता तरुनी भाग्नु मिलेको थ्यो।


 


बिना धामको बेबारीसे भएकोले भगबतीबहाल धाममा कायममुकायम उस्ले पाउनु पर्छ भन्यो। "कोही चै बेबारीसे कोही चै दुई दुईटा धाम ओगटने?" बालमन्दीरबाट भगवती बहाल जाँदा त्यो बाटोको दाईने पट्टी भएको थापाको घर अगाडी पुगे पछी तिर हेर्दै बाङ्गेले उफ्रिउँला जस्तो गर्यो।


 


नै भो कामु। मैले नी मरोस भनें। अलिकति तल माथि गरे ट्वाकले कुच्याउँथ्यो, कामु भए पनि के नभए पनि के? त्यसमा पनि यो जाडोमा यति बिहानै दर्शन पाउन पनि मुस्किलै थ्यो।


 


तर बाङ्गेको भाग्गे मक्किसक्या रैन्छ, मन्दीरमा भेट भो । अर्की एउटी सँग आएकी रहीछ धामेस्वरी। पैले त त्यति बिहानै हामीलाई त्यहाँ देख्दा झस्क्या जस्तो गरी (हामी साँझ तिर मात्रै जान्थेम नी त सधैं उस्को दर्शन गर्न)। हाम्रा हेराईहरुले उस्लाई छोएका मात्रै के थिए, सूर्यका पहिलो किरणहरुले उषालाई चुम्दा झै उस्का गालाहरु राता हुँदै आए। उस्ले आफ्ना हेराईहरुलाई ओराली। उस्की साथी चै मस्की, तर बिशेष केही हुन पाएन, धामेस्वरीले साथीलाई तानेर लस्की हाली। 


 


"ट्वाकलाई फेरी यही बेलाँ टाईफाईडले लडायो" बाङ्गेले ह्वात्त भन्यो तरुनीले सुन्ने गरी। म पनि छक्क परें, के भन्छ बाङ्गे भनेर। धामेस्वरी टक्क अडी। फर्केर हामीलाई हेरी, उ गम्भीर देखिन्थी। उस्की साथीले पनि बाङ्गे र मलाई सरसरती हेरी। अनि दुईटै फटाफट बाटो लागे। जाँदा जाँदै दुईटैले पटक पटक फर्केर हेरे। उनीहरू ओझेलमा परे पछी मैले सोधें बाङ्गेलाई, "के जे पायो त्यै फलाक्या?" उस्ले पनि ज्ञानेश्वर तिर लाग्दै भन्यो, "यत्तिकै निस्कीरा भन्या"।


 


"ट्वाकलाई मुख्य भक्तमा अन्तै सरुवा गरेर मलाई यो धाम जिम्मा लाईदेन यार," बाङ्गेले तरुनी ओझेलमा परेर सुन्ने बनाएको बाटो तिर फेरी हेर्दै भन्यो। त्यो सम्भव थिएन, ट्वाक आफैले राजीनाम दीए बेग्लै नभए त्यो नसोचे पनि हुन्थ्यो। "ल ल हिन, उता सुरेश अंकल कहाँ पनि दुईटै ब्युँझे होलान अहिले सम्म त" मैले उस्लाई सम्झाउँदै भनें।


 


अनि नी है बिशालनगरको कुमारीथानबाट पूर्ब लागेर धुम्बाराही तिर जाने ओरालो आधी उधी ओर्लीएर दाईने हानिए सी त्यो रमेश नाथ पाण्डे मार्सापको घर मास्तिर हुँदै पन्चेधारा पस्चिमको गणेशथान आईपुगिन्थ्यो। त्यो गणेशथान अनि सुनसान खालको भएकोले हाम्रो भेटघाटलाई उपयुक्त स्थान थ्यो। हामी निकै भेटघाट गर्न जान्थेम त्यहाँ। गणेश सँग पनि भेटघाट त हुन्थ्यो तर बोलचाल भने थिएन। अलि धेरै लाग्या छ भने हामी बरु उनी सँग निकै कुरा गर्न खोज्थिम तर उनी चै बोल्दैन थिए। हामीलाई अचाक्ली लाग्या बेला चैं उनीसँग दोहोरो कुरा हुन्थ्यो, तर भन्नलाई सबैले त्यो भ्रम हो भन्थे। नलाग्या बेला हामीलाई नी त्यस्तै लाग्थ्यो।


 


त्यो साँझ तिर त्यही गणेशथानमा बाङ्गे र म पुग्दा सुपारी गीत गुनाउँदै थ्यो लयमा मात्रै, शब्द होईन। बाङ्गेले सुपारी तिर हेर्दै भन्यो, "हैन ए सुपारी, ज्वरो आयो की के हो तँलाई, हँ हँ हँ हँ गरीराछस नी त"


 


"गीत गाईराछ मान्छे--" सुपारीले भन्यो।


 


"खै त के गीत गाईस? शब्द केही बुझ्या भए मार्दीनु" सुपारी छेउमा बस्दै मैले भनें।


 


"गीत को अब एक लाईन आउँछ जम्मा, त्यो अघि नै गाई सकें -- अनि लय मिलाईरा नी" सुपारीले भन्यो।


 


उस्को आवाज सुनेर हाँस उठ्यो मलाई। मैले फेरी सोधें? खोई त ट्वाक?


 


उस्ले मैले सोधेको जबाफ नदीई भन्यो, "मलाई यार अब चार वटा जति तरुनी चाहियो"


तरुनीको कुरामा हम्मेसी नबोल्ने सुपारीले एकै चोटी चारवटी चाहियो भने पछि कुरा रमाईलै थ्यो।


 


"चार चार वटा एकै चोटी किन नी? बाङ्गेले मुसुक्क हाँसेर "जस्को त एउटै छैन उसैलाई चार चारवटी चाहिया छ एकै चोटी फेरी" भन्दै सोध्यो।


 


"एउटा एउटा गरेर त कैले हुन्थ्यो? देखिनस धुम्बाराहीकी तेरी स्वास्नी कसरी भागी? अब चारवटी भै देको भए तिनटी हुन्थे नी बाँकी।" सुपारीले बाङ्गे तिर हेर्दै भन्यो।


 


बाङ्गेले अरु हाँसेर सोध्यो, "तँलाई नी आश थ्यो कि क्या हो त्यो धुम्बाराहीकी तरुनीको?"


 


"कस्सेकी तरुनीको कस्लाइ लाग्दैन आश? त्यसमाथि मौसम पनि जाडोको छ, घरमा दाईले नै बे गर्या छैनन, मेरो त झन कैले हो कैले? स्कुल गयो मास्टरको किच किच, एउटी उमा मिस छन र जान मन लाग्छ नभए त्यो चिहान देखेर नी अघाई सकें, घराँ बस्यो बाउ आमा दाई सबै जान्ने म एक जना मूर्ख, बाटाँ एउटी तरुनी छ्डके नजर्ले मात्रै हेरे पनि तिमेरु सबै "ल हेर सुपारी बिग्रेछ" भन्ने, खर्च गर्न पैसा छैन, कमाउन जागीर पनि छैन, जाँगर पनि छैन -- यस्तो कुहीया जिन्दगी के जिन्दगी? बरु चारवटी जति तरुनी सँग भाग्न पाए नी भाग्थें" सुपारीको स्वर सुरुमा चर्को थ्यो तर बिचमा निकै ओईलाको, तर कुरा सक्ने बेलाँ स्वर फेरी चर्को पारेर सक्यो।


 


ट्वाक गणेशथान पछाडी सिँचाई गर्न गा रे छ आयो मुसुमुसु हाँस्दै।


 


"तलाई चारवटीले नै पुग्छ त सुपारी, पाचौ पनि फेला परी भने, त्यो पनि कस्सेकी, के गर्छस?" मैले सुपारीलाई हेर्दै सोधें। त्यो गणेशथानमा मूर्तीहरु अलि गहीरोमा थिए, सुपारी पनि त्यही गहीरोमा थ्यो।


 


"उस्ले गर्जे झै गरी भन्यो त्यै गहीरो बाट "कस्सेका तरुनी जति आए नी बात छैन --" अनि के सुर चल्यो अंग्रेजीमा थप्यो, "बाई द बे, माई नेम ईज सरौतो आज देखिन, सुपारी सुपारी भन्यो कसैले भने दुई टुक्रा पार्दीन्छु।"


 


"कहाँको सिलाबरे कचौरा रित्याएर आईस ए सुपारी तैले आज? " बाङ्गेले सोध्यो।


 


सुपारी गणेशको खुट्टा समातेर फलाक्न थाल्यो के के हो के के -- बाङ्गेले चुरोट झिक्यो, मलाई एउटा दीयो अनि ट्वाकलाई पनि, सुपारी तिर चै हेर्यो मात्रै। ट्वाकले सुपारी कोरेर पैले बाङ्गेको चुरोट सल्काइदीयो अनि उस्को आफ्नो। मेरो सल्काउने बेला सम्ममा काँटी सबै जस्तो बलिसक्याथ्यो, मेरो नसल्किँदै ट्वाकको औंला डाम्ला भनेर होला काँटी खसालेर सलाईको बट्टै मलाई दियो।


 


"सुरेश अंकल कहाँ के भो रे?" ट्वाकले लामो सर्को तानेर सोध्यो।


 


"तरुनीहरु मामाघर गा रे छन, जाडोको छुट्टी रे भनेर" मैले चुरोट सल्काउँदै उदास भएर भनें।


 


बाङ्गेले नाकका पोराबाट धुवाँको मुस्लो छोड्यो।


 


 

Read Full Discussion Thread for this article