Posted by: Amazing March 9, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

What an inspirational story (Source: Naya Patrika)

गरिखानेलाई जहाँ पनि छ.......



मेरो माया कहाँ पुग्यो होला,

दिनमा हिँड्ने सूर्येलाई थाँहोला



उनलाई सम्झेर कसैले यो गीत गाउँछ कि गाउँदैन थाहा छैन, तर गायो भने पनि उनलाई 'दिनमा
हिँड्ने सूर्येले' दिनैभरि देख्न पाउँदैन । बिहान घरभित्रै लुरीखुरी गर्छिन् । अनि
खाना खाएर नौ बजेतिर सुत्छिन् । र, एकैचोटि घाम डाँडोखोलो काटेपछि मात्रै आँखा मिच्दै
उठ्छिन् ।

खाना खाएपछि सबै आ-आफ्ना काममा लाग्छन् । अफिस हुनेहरू अफिसतिर, कलेज हुनेहरू कलेजतिर,
कारखानाका मजदुर कारखानातिर, मन्त्री आफ्नो मन्त्रालयतिर । जसको जता काम हुन्छ ऊ
त्यतै लाग्छ । बेरोजगार भएर रनाहा परेका युवा पनि दिउँसो ओछ्यान लगाएर घुर्दैनन्
। तर, उनी त्यस्तै छिन्, बिहानको खाना खाने र घुप्प सुत्ने ।



उनी मोफसलतिरकी महिला पनि होइनन् । देशको 'मुटु' भनिने यही काठमाडौं सहरमा बसोवास
छ, उनको । काठमाडौंको त के कुरा ! त्यहाँ त रातभरि पनि जागै बस्नेहरू हुन्छन्, मान्छेहरू
यसै भन्छन् । तर, उनी राजधानीका कुनै रात्रि क्लब, डान्सबार, दोहोरी-साँझ वा 'उच्च
ओहोदा'का व्यक्ति पनि भेटिने 'कोठी'तिर काम गर्ने महिला पनि होइनन् । उनी हुन्, एक
सामान्य जिन्दगी बाँच्ने महिला । रातभरि अनिँदै रहेर सडकमा आफ्नो 'व्यवसाय' चलाउँछिन्
। र, उनको नाम हो- रेखा कार्की ।








केही योजना छैन, सकुन्जेल
यही गर्छु, नसके जे होला-होला

हजुरआमा बिमारले थलिएपछि नातिनीको खुट्टाको पानी खाएर मर्न
चाहन्छु भन्नुभयो, अनि बा-आमाले बाह्र वर्षमै बिहे गरिदिए



रेखा कार्की साँझ पाँच बजेपछि बिउँझिन्छिन् । हतार-हतार उठेर मुख
धुने, कपडा लगाउने, अनुहारको सिँगार-पेटार गर्ने र सामान मिलाउने चटारो हुन्छ उनलाई
। सामानको बन्दोबस्ती मिलाएपछि उनी आफ्ना खसम र छोराछोरीलाई पनि सडकसम्म सामान पुर्‍याउन
सहयोग गर्न भन्छिन् । अब त भन्नुपर्दैन, उनीहरू पनि अभ्यस्त भइसकेका छन् । पाँच बजिसकेपछि
सामान सडकमा पुर्‍याइदिनु उनीहरूको पनि 'ड्युटी' हो । 'ड्युटी' मा सबै सामेल हुन्छन्
। साँझको खाना उनले पकाउँदिनन्, छोराछोरीले आफैँ बनाउँछन्, बुबालाई खुवाउँछन्, आफूहरूले
खान्छन् र सुत्छन् । रेखा आफूले भने साँझको खाना पनि खाँदिनन् । चाउचाउ र अन्डा वा
यस्तै खित्रीमित्री खाएर रात बिताउँछिन् । कलंकीको चौबाटोको दक्षिणी मुखतिर हुन्छिन्,
उनी । सार्वजनिक बस 'सातदोबाटो-सातदोबाटो, कोटेश्वर-कोटेश्वर' भन्दै आउँछन् उनको
छेउमा । सडकको दायाँ छेउमा एउटा टेबुल मात्रै राखेर उनले पसल चलाउँछिन् ।

यो त्यही चोक हो, जहाँबाट काठमाडौं भित्रिन्छन् जिल्ला-जिल्लाबाट मान्छे बोकेर
हिँडेका बसहरू, सामान खाँदेर हिँडेका ट्रक र इन्धन भरेर आएका ट्यांकर । यही मुखबाट
निस्कन्छन्, राजधानी छाड्न चाहने गाडीहरू । काठमाडौंको चक्रपथ फन्को मार्ने मोटर
पनि यही बाटो ओहोर-दोहोर गरिरहेका हुन्छन् । रेखा कार्की यही चोकको एकछेउमा बसेर
आफ्नो जीवनको उकालो चढिरहेकी छिन् । उकालो चढ्नुमा दुःख हुन्छ भन्छन्, भन्नेहरू
। तर, रेखालाई आफ्नो जीवनको यो उकालोमा 'स्याँस्याँ र फ्याँफ्याँ' भए पनि न्यास्रो
लाग्दैन । उनी जीवनलाई धिक्कार्दिनन् । समाजलाई सराप्दिनन् । पढे/लेखेका र बुझेका
भनिनेले झैँ नेता, पार्टी र सरकारलाई धारेहात लगाएर गाली गर्ने फुर्सद पनि छैन,
उनलाई । कस्तो आत्तुरी । कस्तो बेउछारी ।



उनी उभिएकी छिन् एउटा दुईतले टेबुलको अघिल्तिर । टेबुल नै उनको 'सो-रुम' हो र टेबुल
नै भण्डार । टेबुलमाथि थोत्रो स्टोभ छ, स्टोभमाथि तातिरहेको पानी । उसिनेका अन्डा
एउटा गमलामा, फ्राई गरेका अन्डा अर्को सानो गमलामा, अनि डेक्चीभरि छन् उसिन्ने
तयारीमा राखिएका अन्डा । अन्डाका दुई/तीन क्रेट टेबुलको तल्लो तलामा छन् । विभिन्न
ब्रान्डका चुरोटका बट्टा थालमाथि छन् । मिनरलवाटरका केही बोतल टेबुलमाथि छन्, केही
टेबुलमुनि । छेउमा मसला, खुर्सानी, टमाटर, प्लास्टिक र चाउचाउका प्याकेट छन् ।
टेबुलको एकछेउमा बत्ती छ, यो लोडसेडिङको वेला पनि उनको बत्ती निभ्दैन । रोयल स्टेग
नामको सिसीमा मट्टीतेल भरेर बत्ती बनाएकी छिन्, रेखाले । टेबुलमै अडेस लगाएर राखेकी
छिन् बोराभरि दाउरा । 'यी दुई सय रुपैयाँका दाउरा हुन्, रातभरिमा सकिन्छन्,' रेखाले
भनिन्, 'पाँच लिटर मट्टीतेल पनि सकिन्छ ।' मट्टीतेलको भाउ पनि भनिहालिन्, 'एक लिटरको
६५ रुपैयाँ छ ।' दाउराको नजिकै बाल्टिन र गाग्रीमा पानी पनि राखेकी छन् । भुइँमा
कोकको ठूलो बोतलमा उनले 'बिजुलीपानी' पनि राखेकी रहिछन् । (वेला-वेला उनले 'खुस्स'
बेचेको देखेर मदनले संगीतसर 'बिजुलीपानी' पनि पाइँदोरहेछ भनेका थिए ।)


रातको दस बजिसकेको छ । गाडीको ओहोर-दोहोर क्रमशः कम हुँदै गएको छ । चारैतिर ट्याक्सी
प्यासेन्जर खोजेर 'आँ' गरेर बसेका छन् । कसै-कसैले झ्यालबाटै चियाको 'अर्डर' गर्छन्
। मान्छेहरू आउँछन्, चुरोट माग्छन् । चियाको अर्डर गर्छन् । अन्डा क्वाप्प खान्छन्
। चाउचाउ बनाइदिन भन्छन् । उनी साँच्चै हतारोमा छिन् । हामी त्यहीवेला पुगेका थियौँ,
जतिवेला उनका ग्राहक छेउको कुर्चीमा बसेर चिया पिइरहेका थिए । र, उनी थोत्रो स्टोभ
ठ्याकठ्याक ठोकिरहेकी थिइन् । अघिल्लोपटक पनि भेटेको हुनाले रेखाले हामीलाई सजिलै
चिनिन् । नाम पो के हो, के हो, केटाहरू त यिनै हुन् नि ! सायद उनले यस्तै अड्कल
काटिहोलिन् ।



दिदी सन्चै हुनुहुन्छ ? मदनले नजिकै पुगेर सोधे र चियाको अर्डर गरे । रात चिसिँदै
थियो, मदनले तातो चिया सुरुप्प पार्दै दिदीलाई विभिन्न जिज्ञासा राख्न थाले । बत्तीको
छेउमा बसेर मैले टिप्न थाले । रेखा कार्कीको यो कहानी ।


रेखा कार्कीको विवाह १२ वर्षकै उमेरमा भयो । घर उनको बाराको सिमरा, उनका बूढा
धनबहादुर कार्कीको पनि त्यतै । हजुरआमा बिमारले थलिएपछि नातिनीको खुट्टाको पानी
खाएर मर्न चाहन्छु, भनिछन् । 'अनि बा-आमाले सानैमा बिहे गरिदिए,' अँध्यारोमा अनुहारमा
मुस्कानको उजेलो पोत्दै भनिन्, 'बाह्र वर्षकी भए पनि म त हट्टाकट्टा थिएँ नि !'
यति भनिसकेर पनि उनी फेरि हाँसिन् । बिहे भएलगत्तै उनी आफ्ना खसमसित काठमाडौं आइन्
। उनका खसम काठमाडौंमा ट्याक्सी चलाउँथे । ट्याक्सी चलाएरै उनले रेखालाई पालेका
थिए । पछि छोराछोरी भए । उनीहरूको रेखदेख मात्रै रेखाले गर्थिन्, पैसा त धनबहादुरले
नै कमाउँथे ।



तर, धनबहादुरले सधैँभरि पैसा कमाइरहन सकेनन्, अचानक थलिए । 'टिबी भयो, युरिक-एसिड
सबै त्यहीवेला भयो,' रेखाले बितेका दिन सम्भिmन्, 'अनि त आफूले काम नगरी नै भएन
।' त्यसपछि सडकमा बसेर चियापसल गर्ने 'आइडिया' उनलाई घरबेटीले दिएछन् । 'घरबेटीको
पनि पसल थियो, उनैले यस्तो काम गर भनेपछि मैले यो सुरु गरेकी हुँ,' उनले भनिन्
। कलंकीको यो चोकमा राति चिया पकाउन थालेको अहिले १५ वर्षजति भएछ । उनी भने ४०
नाघ्न थालिछन् । मदनले सोधे, दिदी कति वर्ष हुनुभयो नि ? 'कति भएँ, ३९ भएँ कि,'
उनले आफ्नै उमेर पनि ठम्याउन सकिनन्, 'होइन ४० नै भएँ क्या हो, ४० लेखिदिए हुन्छ
।' आफ्नै उमेर पनि अन्दाजमा 'फायर' बोलिन् रेखाले । केटाकेटीमै विवाह भएपछि उनले
पढ्न पनि गइनन् । स्कुलै नगएकी । पढाइ-लेखाइ नै छैन, तर यत्रो व्यापार ? त्यो पनि
रातमा । हिसाब गर्न आउँछ ? झुक्किनुहुन्छ कि ? मदनले फेरि सोधे । 'हिसाब गर्न के
गाह्रो, आइहाल्छ नि !' उनले ढुक्कैले भनिन्, 'अप्ठ्यारो भए, उम्ला भाँच्छु ।' उनले
आफ्नो भरपर्दो उपाय पनि बताइदिइन् । उनको क्यालकुलेटर भनेका हातका औँला रहेछन्


मदनले चिया सकेर अन्डाको अर्डर गरिसकेका थिए । गाडीहरू पातलिँदै थिए, तर रेखा
दिदीका ग्राहक भने घटेका थिएनन् । हाम्रो कुराकानी बीचबीचमा रोकिन्थ्यो र उनी चिया
लिएर अलि पर पनि पुग्थिन् । उत्तिवेलै उनलाई स्टोभ ठोक्नुपथ्र्यो । उत्तिवेलै अन्डा
बनाउनुपथ्र्यो । अनि उत्तिवेलै चिया उमाल्नुपर्ने । मान्छेहरू हातहातै पैसा दिइरहेका
थिए । गम्छा सपक्क बेरेकी रेखाले दाहिने कम्मरमा ह्यान्डिलवाला लाइटर घुसारेकी
थिइन् र देब्रे कम्मरमा एउटा प्लास्टिकको ठूलो थैलो । त्यो थैलै थियो, जसमा उनले
हातहातै आएका पैसा खसालिरहेकी थिइन् । एकरातमा कति पैसा खस्छ त्यो थैलीमा ? 'त्यस्तै
चार हजार जति हुन्छ,' उनले भनिन्, 'तर सधैँ उस्तै हुन्न, कहिले ६ हजार पनि हुन्छ,
कहिले जम्मा दुई हजार पनि हुन्छ ।' एकैदिनमा चार हजार ? मदनले अनौठो माने । यो
हिसाबले त एकै महिनामा एक लाखभन्दा बढी आम्दानी हुने देखियो नि ! उनले कुनै आश्चर्य
मानिनन् । 'सुरु-सुरुमा बूढाको औषधि-उपचारमै धेरै खर्च हुन्थ्यो,' रेखाले भनिन्,
'अहिलेको तिहारदेखियता बल्ल औषधि खुवाउनुपरेको छैन ।' प्रत्येक हप्तामा श्रीमान्लाई
१५ सयदेखि दुई हजारसम्मको औषधि खुवाउनुपथ्र्यो ।


उनका छोरा सुरज कार्की रिब्स कलेजमा अहिले १२ कक्षामा पढ्छन् । छोरी मञ्जरी १०
कक्षामा । उनीहरूले दैनिक खाजाखर्च लान्छन्, एक/एक सय रुपैयाँ । छोराको मासिक फी
१२ सय छ, छोरीको आठ सय । दुईकोठे डेराको भाडा ३५ सय तिर्छिन् उनले । पैसाको कुनै
जोहो गरेकी छैनन् । 'छोराछोरीको पढाइमै खर्च हुन्छ,' उनले भनिन् । यत्रो कमाइले
त काठमाडौंमा घर-घडेरी नै जोड्न सकिन्छ नि ! मदनले यस्तो जिज्ञासा राखे । उनी हाँसिन्,
'त्यस्तो त सपना पनि देखेकी छैन, चिया बेचेर केको घडेरी किन्न सकिँदो हो ! यस्ता
कुरामा उनले आश्चर्य मानिन् । भोलिको कुनै योजना त होला नि ! रेखादिदीको । भविष्यमा
यस्तो गरूँला, उस्तो गरूँला भन्ने कल्पना पनि छ कि ? 'केही छैन, यस्तै हो,' उनले
बेवास्तापूर्वक भनिन्, 'सकुन्जेल यही गर्छु, नसके जे होला-होला ।' पछिको बारेमा
नसोचेर कहाँ हुन्छ दिदी ? सोच्नुपर्‍यो नि ! मैले दिदीलाई फेरि उनका छोराछोरीको
भविष्यबारे पनि सोधेँ । तर, उनले फेरि पनि त्यही लगभग उस्तै वाक्य दोहोर्‍याइन्,
'पछिको कुरा, जे होला-होला ।'



होइन, सबै मान्छे सानोतिनो काम गर्नै मान्दैनन् । युवादेखि बूढाखाडासम्म विदेश
ताक्छन् । यी दिदी मात्रै १५ वर्षसम्म कलंकी कुरेर कति बस्न सकेकी होलिन् । हामीले
आफैँबीच यस्तो गन्थन गर्‍यौँ । हाम्रा कुरा सुनेर दिदीले भनिन्, 'गरिखानेलाई जहाँ
पनि छ क्यारे, नगर्नीलाई अमि्रकै पुगे नि क्यै हुन्न !' अन्तिमपटक मागेको चिया
पनि सकिइसकेको थियो । अब ११ बज्न धेरै बाँकी थिएन । गिलास धुँदै गरेकी दिदीलाई
चिया र अन्डाको पैसा तिरेर हामी लखरलखर कीर्तिपुरतिर हिँड्यौँ । दिमागमा भने रेखादिदीको
'डाइलग' ले नृत्य गर्दै थियो- 'गरिखानेलाई जहाँ पनि छ, नगर्नीलाई अमि्रका पुगे
नि क्यै हुन्न !'


Read Full Discussion Thread for this article