Posted by: Jawala March 3, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        










 








स्वरोजगारका लागि १३ हजारको आवेदन



शिला पाण्डे


काठमाडौं, फागुन १९ - छिनछिनमा कानै दुखाउने गरी बजेको टेलिफोनको रिसिभर उठाउँदैमा फुर्सद थिएन अर्थ मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषका व्यवस्थापक नारायण देवकोटालाई । फोन गर्नेको जिज्ञासा उनी सहज ढंगले शान्त पार्दै थिए । 

युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमअन्र्तगत सरकारले प्रस्ताव आह्वान गरेपछि अर्थ मन्त्रालयमा टेलिफोन र प्रत्यक्षरूपमा बुझ्न आउनेहरूको संख्या बढ्दो छ । 'अहिलेसम्म १३ हजार ५ सय भन्दा बढीले फारम भरिसकेका छन्,' उनले भने । फागुन १ देखि खुला गरिएको फाराम यो महिनाभर भर्न सकिनेछ ।

चालू वर्षको बजेटमा 'नयाँ नेपालको आधार, स्वरोजगार' नाराका साथ सरकारले कार्यक्रम घोषणा गरेको हो । सरकारले कार्यक्रम सञ्चालनका लागि ५० करोड रुपैयाँ छुट्याइएको छ ।

कोषले ७५ जिल्लाका ९० उद्योग वाणिज्य संघमार्फत भर्न मिल्ने गरी फारम खुल्ला गरेको छ । फारम इन्टरनेटबाट मात्रै भनर्ुपर्ने भएकाले स्थानीयलाई सहयोग गर्न उद्योग वाणिज्य संघ र हुलाक कार्यालयसँग समन्वय गरेको छ । इन्टरनेट सुविधा नभएका स्थानका संघ र हुलाकमार्फत फारम भर्नसक्ने छन् ।

स्वरोजगार कोषले इच्छुक व्यक्तिलाई कर, बजार प्रक्रिया तथा प्रवर्द्धनका तरिका, बैंक ऋणसम्बन्धी जानकारी दिन तालिमको व्यवस्था गर्ने देवकोटाले बताए । कोषले तालिमपछि तयार गरिएको परियोजनापत्रको आधारमा बैंकमार्फत ऋण उपलब्ध गराउन सघाउनेछ ।

ऋण लिएर व्यवसाय सुरु गर्नेहरूले नियमित र इमान्दारीपूर्वक व्याज भुक्तानी गरेमा तिरेको ब्याजको ६० प्रतिशत रकम फिर्ता पाउने उनले बताए । 

सीप नभएकाहरूलाई साना तथा घरेलु उद्योग महासंघलगायत गैरसरकारी र निजी संघ/संस्थाको सहयोगमा सिप विकास तालिमको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । 'प्रत्येकलाई दक्ष बनाउन उनीहरूको रुचिअनुसार तालिम दिनेछौं,' उनले थपे, 'त्यसका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँ छुट्याइएको छ ।'

फारम भरेकामध्ये १४ हजार २ सयलाई अर्थ र ५ हजारलाई श्रम मन्त्रालयमार्फत तालिम दिईने छ । 'बाँकी १५ हजारलाई अन्य संघसंस्थामार्फत तालिमको व्यवस्था हुनेछ,' उनले भने, 'योभन्दा बढी आवेदन आएमा तीनलाई पनि अरू संघसंस्थामार्फत समन्वय गरी निःशुल्क तालिम दिने तयारी गरेका छौं ।'


- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=182886

Read Full Discussion Thread for this article