Posted by: sweetmango March 2, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

अब विमानस्थल शुल्क टिकटमै, छुटै तिर्नु नपर्ने


 स्रोत: कान्तिपुर | 2 March 2009 2:11 pm


अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुले अब त्रिभुवन विमानस्थलमा लाइन बसेर विमानस्थल सेवा शुल्क तिर्नु नपर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि यस्तो शुल्क टिकट लिँदै तिर्नुपर्ने व्यवस्था गरेको हो ।


यसअघि यात्रुहरूले विमानस्थलमा रहेको नविल बैंकमार्फत कुपनको माध्ययमबाट सेवा शुल्क बुझाउँदै आएका थिए । विमानस्थलमा यस्तो शुल्क दुरुपयोगसमेत हुने गरेको थियो । केही अघि नक्कली कुपनसमेत भेटिएको थियो ।


पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । यो निर्णय आइतबारदेखि नै लागू हुने प्राधिकरणले जनाएको छ ।


‘अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी बैंकमार्फत कुपनबाट शुल्क उठाउने व्यवस्था खारेज गरिएको छ,’ प्राधिकरणका महानिर्देशक केशव खनालले कान्तिपुरलाई भने । नेपालमा सेवा सञ्चालन गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा, अन्तर्राष्ट्रिय वायुसेवाहरूको संगठन बोर्ड अफ एयरलाइन्स नेपाल -बीएनआरएन) र अन्तर्राष्ट्रिय हवाई यातायात संघ -आईएटीए) सँग लामो पत्राचार र छलफलपश्चात निर्णय गरिएको पनि उनले बताए ।


प्राधिकरणले आईएटीएसँग सम्झौता गरिसकेको छ । आयटाले विमान कम्पनीहरूलाई कोड नम्बर दिने र त्यसकै आधारमा उनीहरूले सेवा शुल्क उठाउनेछन् । ‘प्राधिकरणले सबै विमान कम्पनीबाट प्रत्येक १५ दिनमा यस्तो शुल्क लिनेछ,’ खनालले भने ।


यस सम्बन्धमा नेपालमा सेवा सञ्चालन गरिरहेको अन्तर्राष्ट्रिय विमान सेवाहरूसँग सात दिनभित्र प्राधिकरणले छुट्टाछुट्टै द्विपक्षीय समझदारी गर्ने जनाएको छ ।



 

Read Full Discussion Thread for this article