Posted by: antitvirus February 10, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

संसारको भन्दा नेपालको अर्थिक वृद्धिदर धेरै हुने


                                                                                                                स्रोत: कान्तिपुर : 6 February 2009


चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर विश्वको वृद्धिदर भन्दा धेरै साढे ३ प्रतिशत हुने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ । तर यो वृद्धिदर सरकारी अपेक्षाभन्दा भने आधा कम हो । सरकारले बजेटमार्फत यस वर्षको वृद्धि ७ प्रतिशत हुने अपेक्षा गरेको छ । बैंकद्वारा नेपालमा सञ्चालित परियोजना र सन् २००९ को कार्ययोजनाबारे आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । ‘प्रारम्भिक अध्ययनले ३ दशमलव ५ प्रतिशत रहने देखिएको छ,’ बैंकका देशीय निर्देशक बेरी जे हिच्कुकले भने, ‘अर्को महिना एसियन डेभलेपमेन्ट आउटलुक जारी गर्दै छौं ।’ आउटलुकले बैंकका सदस्य मुलुकको अवस्था र चुनौतीबारे विभिन्न अध्ययन र विवरण प्रस्तुत गर्छ ।


अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक मन्दीका कारण विश्वको वृद्धिदर ० दशमलव ५ प्रतिशत रहने प्रक्षेपण गरिरहेका बेला नेपालको स्थिति सन्तोषजनक हुने बेरीको भनाइ थियो । ‘तर यहाँको अर्थतन्त्र कृषिमा निर्भर भएकाले यत्तिमै सीमित नहुन पनि सक्छ,’ उनले भने ।


तुलनात्मकरूपमा भारतमा मन्दीको प्रभाव कम देखिएकाले नेपालमा असर कमै पर्ने बेरीको ठहर छ । ‘भारतको सुदृढ अवस्थाले नेपाललाई केही फाइदा हुनेछ,’ उनले भने ।


नेपालको विकासमा प्रमुख बाधकका रूपमा लोडसेडिङ रहेको बेरीको ठम्याइ छ । ‘यति लामो लोडसेडिङमा ठूलो अपेक्षा गर्न सकिँदैन,’ उनले भने । साथै लामो समयदेखि ठूला परियोजना नबनेकाले सर्वसाधारणले विकासको अनुभूति पाउन नसकेको उनले बताए ।


यसैगरी बैंकले सन् २००९ र १० मा सहायता रकममा झन्डै दोब्बर बढाउने जनाएको छ । बेरीका अनुसार सहायता १५ अर्ब रुपैयाँभन्दा बढी हुनेछ । सन् २००८ मा बैंकले करिब ९ अर्ब रुपैयाँ सहयोग गरेको थियो ।


दुई वर्षदेखि अनुदान राशि बढाइरहेको बैंकले अब ५० प्रतिशत अनुदान र ५० प्रतिशत ऋण सहायता गर्ने उनले बताए ।


सहायताको पाँचवर्षे रणनीति तयार पारिएको जानकारी बैंकले दिएको छ । ‘यस रणनीतिमा सरकारको प्राथमिकता प्राप्त परियोजनामा सहयोग गर्ने कार्यक्रम छ,’ उनले भने ।


नेपालका कार्यक्रम कार्यान्वयन सन्तोषजनक रहेको बेरीले बताए । ‘अन्य विकासोन्मुख मुलुकको तुलनामा नेपालको प्रगति सन्तोषजनक छ,’ उनले भने ।


कार्यक्रममा बैंकले सहयोग प्रदान गरेका परियोजनाहरूसँग जोडिएका सर्वसाधारण र परियोजनाका सफलताका कथाहरू समेटिएको पुस्तक पनि सार्वजनिक गरियो । ‘भ्वाइसेज प|mम द फिल्ड’ पुस्तकमा देशभरबाट छानिएका अनुभव समेटिएका छन् ।

Read Full Discussion Thread for this article