Posted by: usofa February 3, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
बचनवद्ध बाबुराम

राजन अधिकारी

'नेता'ले चुनावी अभियानको क्रममा जनताबीच आश्वासनका यति अनगिन्ती पोका छरेको हुन्छ कि ती पोकाभित्र के-के पोको पारिएका थिए, सिंहदरबार छिरिसकेपछि उसले धेरैजसो बिर्सिसकेको हुन्छ । चुनाव यस्तो अश्वमेघ पर्व हो, जतिबेला 'नेता' मुखमा लगाम नलगाएको सेतो घोडा हुन्छ ।

तर, त्यो 'नेता' बाबुराम होइन । उसले गोरखाको भच्चेक पुगेर त्यो बताइदियो । शब्दले होइन कर्मले ।

जिल्लावासीको घरआँगनमा मत माग्न पुग्दा बाबुरामको बाचा थियो- चुनाव जितेपछि पनि हरेक महिना म तपाईंहरुकोमा आउने छु ।

देशभरिमै सबभन्दा बढी मत पाएर चुनिएका बोर्डफस्ट बाबुराम गणतन्त्र नेपालको अर्थमन्त्री छन् । सिंहदरबारमा गोरुजस्तो जोतिन्छन् । कति दिन त उनी खालि पेट मिचेर वैठकहरु धाएका छन् । पित्तथैलीको अप्रेशनपछि समेत उनले आराम गरेनन् । शिक्षणअस्पतालबाट बाहिरिएको भोलिपल्ट छातीमुनि एक जोडा आला घाउ लिएर उनी कार्यालय हाजिर भए ।

गतबिहीबार पुलचोकबाट गोरखाको लागि छुट्दा पनि बाबुरामको अप्रशेनको घाउ पूरै निको भैसकेको थिएन । भ्रमण टोलीमा प्रधानमन्त्रीका एकजना निजी चिकित्सक पनि साथै थिए । उनले कलंकीमा गाडी रोकेर बाबुरामसित हाल मिलाएपछि भने, 'घाउ रातो देखियो भने इन्फेक्सन भएको भन्ने हुन्छ ।'

शुक्रबार बिहानको खाना खान हामी भच्चेक पुग्यौं । मोटर चढेर । बाबुरामले चुनावताका आर्थात् एघार महिनापहिले भच्चेकबासीसित बाचा गरेका रहेछन्- म अर्को पटक मोटर चढेर तपाईंहरुकोमा आउँछु । गोरखाको उक्त विकट पहाडी वस्तीलाई जोड्ने सो सडकको उद्घाटन बाबुरामले नै रिवन काटेर गरे । डोजरसमेत भच्चेक बजारमै थिए । अघिल्लो दिनमात्र उक्त धुलेसडक बनिसकेको रहेछ ।

भीरपाखामा हुर्किएको बाबुरामले अर्थमन्त्रालयको कुर्सीमा बसेदेखि नै ग्रामीण अर्थतन्त्रको आधुनिकीकरणमा बारम्बार जोड दिने गरेका छन् । भच्चेकमा उनले बाणिज्य बैंकको शाखा कार्यालयको उद्घाटन गरे । अब उनी भच्चेकमा अर्कोपटक पाइला हाल्नुअघि सरकारी सेवाकेन्द्रको स्थापना गर्ने योजनामा छन् । त्यसपछि त त्यहाँका डाँडाखोलाबासीले स-साना कामका लागि ऋण खोजेर सदरमुकाम धाउनुपर्ने छैन ।

बाबुरामलाई मैले पहिलोपटक करिब आठ-नौ वर्ष पहिले इलमपोखरीको लेकमा प्रत्यक्ष देखेको हुँ । इलमपोखरी भच्चेकपारी पर्छ । बीचमा चेपे नदी छ । अखबारमा देखेको डा. बाबुराम भट्टराई दाह्रीजुँघा लामा-लामा पालेको र ख्याउटे हुन्थ्यो । टेन्टबाट प्रशिक्षण हलतर्फ छिर्दै गर्दा मैले देखेको कमरेड जीतवीर चाहिँ दाह्री खौरेर सफाचट थियो । र ऊ ख्याउटे पनि थिएन । उसले त्यतिबेला हामीलाई लामो प्रशिक्षण दिएको थियो । प्रशिक्षण हलमा बस्दा साइडमा एउटा गि्रनेड थियो मसित । अहिले मेरो हातमा कलम छ । समयले कलम थमाइदिएको छ । म उसको यत्रा विवरण लेख्दै छु । चेपे वारिपारि मात्रैको कुरा हो । चेपेमा धेरै पानीमात्र होइन रगत बगिसकेको छ । र, हामी खोलापारि आइपुगेका छौं ।

उतिबेला मैले लेखेको एउटा चिटको जवाफमा जीतवीरले तपाईंहामी विज्ञानका विद्यार्थीले यस विषयमा बहस चलाउनुपर्छ भनेको थियो । हातमा गि्रनेड बोकेको विज्ञानको विद्यार्थीसितको कुरा थियो त्यो ।

अब हामी करिब चार दशक पहिले बाबुरामले तीन महिना पढाएको महेन्द्रलिला माविको प्रङ्गणमा आइपुगेका छौं । अहिले उच्च माविको । कान्लामाथिको पुरानो रुख अझै साक्षी छ । त्यही रुखमुनि बसेर बाबुरामले प्रधानपञ्चको घरबाट मगाएको रेडियोबाट दिउँसो दुई बजेको समाचारमा आफू एसएलसीमा बोर्डफस्ट भएको समाचार सुनेका थिए । दौडेर घर पुगेर रेडियो ल्याउने प्रधानपञ्चका छोरा पनि अहिले मञ्चमै छन् । र, उनी पेशाले इन्जिनियर बनेका छन् ।

बाटाभरि अविरजात्रा । गाउँ नै पिच्छे डा.बाबुराम भट्टराईलाई स्वागत गेट । फुलका माला । लालिगुँरास र खुर्सानी फुलका माला । अघिपछि प्रहरी र वाईसीएलको स्कर्टिंङ्ग । माला पहिराउने धेरैजसो बुढी आमाहरु हुन्थे । दिदीबहिनीहरु हुन्थे । बुढाबा र दाजुभाइहरु पनि हुन्थे । कोही भन्थे- म फलानो..... मलाई चिनेनौं बाबुराम ?

भ्रमणका क्रममा बाबुरामले दुईवटा स्कूलको शिलान्यास गरे । स्कूल प्रांगणमा अभिभावकहरुले अर्थमन्त्री बाबुरामको स्वागत गरे । बुढी आमाहरुले माला लगाइदिँदा बाबुराम उही आज्ञाकारी स्कूले बाबुरामजस्तो गला थाप्थे । कपाल फुलिसकेको छ, तर अझै पनि माला थाप्दा उसको चेहरामा बालसुलभ 'इनोसन्स' ! राजधानीको एउटा अन्तक्रियामा एकजनाले शायद ठीकै भनेका थिए- बाबुराम बाबु..... राम हुनुपर्छ ।

-१९ माघ, ०६५
Read Full Discussion Thread for this article