Posted by: somewhereondearth February 2, 2009
सरुवा
Login in to Rate this Post:     1       ?         Liked by
बाँकि भाग.......

‘हाम्रै राम बाजेका आफन्त हुन रे । खाना त ठिकै छ भन्छन् , तर बजार पारि छ । टाढा हुन्छ होला तपाईलाई ’ एउटा चिया बसाईमा नारायणले कुरा निकाले ।

‘के भयो र टाढा भएर, हतार केहिको छैन बिस्तारै हिडौला नि!’ सरोजलाई बजारको खानाले दिक्क बनाईसकेको थियो ।

सरोज ले खाना खाने ठाउँ पाए, थोरै मान्छेले मात्र खाने, राम्रै थियो ।

सरोज धेरै बोल्न नरुचाउने, गमक्क परेका मान्छे थिए । सधैं भादगाउँले टोपी लगाउँथे । खाने ठाउँका नियमित गफमा उनी त्यति लाग्दैन थिए ।

‘सरहरुको त राम्रो छ नि, २-३ बर्षमा एक एउटा घर बन्छ, हाम्रो पो गाह्रो ।‘ अरु अफिसका कर्मचारीले कहिले कांहि ब्यंङ्ग हान्दथे । सरोज मुस्काई मात्र रहन्थे । हुन पनि नारायणले बिराटनगरमा नै २ वटा घर बनाएको हल्ला थियो । सरोज ले सोध्न मनासिब ठानेनन् । जरुरी पनि लागेन ।

सरोज को अफिस चल्न थाल्यो । उनको बिहान पत्रिकामा बित्दथ्यो । चुरोट तनाई बढेको थियो । ‘डबलमजा’ उनको पनि बानि बन्यो ।

जीवनमा हामी कति कुराहरुको, अवस्थाहरुको प्रभावहरु यस्ता बनाइदिन्छौ, हामीलाई पारि पट्टिको आयाम छुन मन लाग्दैन्  । हामी नै त्यसलाई झन् झन् अफ्ठ्यारो बनाइ दिन्छौं । आफ्नै  नियमित आयामहरुमा सन्तुष्ट भइदिन्छौ । अनि कसै गरि परिवेशले हुत्याईदिएर त्यहां अल्झाईदिएपछि, मन त्यहां पनि भुलिन्छ । हामी त्यसका पाटाहरु केलाउन थाल्दछौ । अब त्यो उस्तो बिरानो रहँदैन, अभ्यस्थ भईदिन्छौ ।

सरोज अपवाद थिएनन् । त्यहि माथी अफिस भनेको एउटा लत नै थियो । सरोजको यो लत  झन् छिप्पिएको थियो । जति नै गाह्रो मानेर आए पनि सरोजले आफ्नै ढंगले काम शुरु गरे । हुन पनि उनको उमेर बितेको थियो ट्रान्सफर्मर, रिले  अनि फिडरहरुमा,  अलग कसरि रहन सक्दथे !

सरोजले अफिस बुझ्दै गए । हाकिम उस्ता खारिएका थिएनन् । निर्णय दिन समय लगाउने, लोसे  । टेक्निसियन, लाईनम्यानको रुटिन र खटाई मा समस्या; ढिलो निर्णय गर्दा को प्रभावहरु;  ग्राहक र प्राविधिक समस्याहरु , सवै थिए अफिसमा ।

कतै बस्दा एकै छिन खेलाएको ढुङ्गा त प्यारो हुन्छ, सरोज त झन गांसिएका थिए प्राधिकरण संग । उनले अफिसमा चाख लिदै गए । सरोज फुर्सद नै थिए । गेष्ट हाउसको बसाई, उनलाई प्रसस्त समय भयो । उनि अफिसमा नै रुमलिन्थे ।

हाकिम ठिटा थिए, प्राविधिक रुपमा दक्ष भएपनि, परम्परागत कर्मचारीतन्त्रलाई चलाउन नसकेको जस्तो देखे सरोजले । भन्ने, गर्ने केहि थिएन, चुप लागेर बसेरहे आफ्नो अवलोकन सँगै ।

नारायण सधै छिटो पुगेका हुन्थे । खाना खाएर हाजिर गर्न जांदा प्राय ढिलो हुन्थ्यो सरोजलाई । सरोज पुग्दा उनि हाकिम संग खास खुस मै हुन्थे । एक दुइ दिन त सामान्य नै लागेको हो तर हरेक पल्ट देख्दा, सरोजलाई खासै निको लागेन । पहिलेका कांचा नारायणको निकै चुरि फुरि बढेको पाए ।

 

दिनहरु छोटा हुँदै गए । खाना खाएर फर्कदा झमक्क रात पर्न थाल्यो । सरोजलाई समस्या नै हुन थाल्यो । रातबेरात बजार हुँदै एक्लै हिड्नु पर्ने । अनि सँधै जसो हाजिरमा ढिला हुने । फेरि उनी अझै गेष्ट हाउसमा नै बस्दथे  । सरुवा भएका ईन्जिनियरले रवाना बुझेका थिएनन् । क्वार्टर खालि भएन । सरोजलाई अफ्ठ्यारो लाग्यो । डेरा बस्ने बिचार गरे । संयोगले खानाखाने ठाउँ नजिकै डेरा पनि भेटियो ।

सहयोगी नारायण नै थिए । एक वचन नसोधि बस्न अफ्ठ्यारो हुन्थ्यो । तर किन किन सरोजलाई नारायणसंग सोध्न मन नै भएन । साहै गाह्रो लाग्यो । उनि द्विविधामा परे ।

‘हेर्नु न नारायण जी, म त डेरा बसौं जस्तो लाग्यो, बेलुका फर्कदा पनि निकै अंध्यारो हुन्छ । यहां पनि गेष्ट हाउसको गेष्ट हाउस नै भईयो, अफिस पनि हाजिर लाई अबेर हुने-----“ एउटा मर्मतको काम मा प्रसंग मिलाएर उनले नारायण जी लाई आफ्नो विचार राखे ।

‘पर्दैन हो, सरोज जी । गेष्टहाउसमा बस्दा के भो त?  आफ्नै ठाउँ हो, टर्च बाल्ने हिड्ने । केहि हुन्न । किन समस्या लिएको?    अफिस ढिला भएर के भो त? हामी कुरो मिलाउँला नि ।‘ वरिपरि लाईनम्यान हरु थिए । ड्राईभर झन नजिकै थियो । सरोजलाई नारायणको कुरा भन्दा उनको खरो भाषा मन परेन । तह एउटै भएपनि सरोज नारायण भन्दा सिनियर थिए, काम को अनुभव पनि दक्षता पनि उनकै राम्रो थियो । नारायणलाई काम राम्रो संग सिकाएका पनि सरोज ले नै थिए । एक किसिमको हुकुम दिएको जस्तो लाग्यो ।

‘हाकिम लुरे भएर चाप्लुसी गरेर गोजीमा हालेको हुंदो हो, मलाई किन बढि अर्ति दिएर ठूलो बन्छ!' सरोजलाई रिस उठ्यो । तर सोझै मुख फर्काएनन् ।

‘होइन नारायण जी, तपाईको कुरो मनासिब हो, तर मलाई यहां अफ्ठ्यारो लाग्यो, त्यसै एकोहोरो गेष्टहाउसमा बस्न मन लागेन । आफ्नै डेरा भए, कोहि संग तल परिन्न नि!!’

सरोजले नारायणको सुझाव ठुक्क्राई दिए ।

‘ए भाई, त्यो बुसिङ्ग (bushing) राम्ररी कस त, लुज कनेक्सनमा स्पार्क हुन्छ । थाह छैन भने हामीलाई सोध, बढि जान्ने भएर काँचो काम नगर ।‘ स्टाफ संग खासै नझर्किने सरोज आज झर्किए । डेराको प्रसंग त्यसै मोडियो ।

पछि सरोजलाई खटपटि थयो । बेलुका निन्द्रा परेन । ‘चापलुसी गरेर के भयो त, कुरो त मेरै हितको गरेका हुन् । जाबो एक बर्ष बस्नु छ, जता बसे नि भै गयो । बित्थामा सम्बन्ध किन बिगार्नु!!’ उनको मन पोल्यो । नारायण जी संग झर्किन हुंदैन थियो ।

अब अर्को समस्या डेरा को भयो । बस्ने कि नबस्ने? त्यसै अफ्ठ्यारो । बैना बट्टा गरि सकेका थिए । फेरि, उनलाई धेरै दिन गेष्टहाउसमा बस्दा अफ्ठ्यारो जस्तो थियो । सरोज डेरामा नै बस्ने भए । खासै बिलासी मान्छे थिएनन्, सामान्य सर्जाम जुटाए ।

‘उनलाई सल्लाह दिनु थियो, दिए । मान्नु नमान्नु मेरो ईच्छा। मन लाग्यो डेरा बसे, उनको बिराउने केहि गरेको छैन् । उनलाई पर्दा मैले पनि उनलाई सहयोग गरेको हुं । म भन्दा साना मान्छे हुन्, ठूलो हुने काम केहि छैन । राम्रो संग बोलेकै छ । रिसाए मेरा बाख्रा हर्किदैनन् ।‘ सरोज आफैसंग खुकुलो भए ।

गेष्टहाउसमा बस्दा किन किन सरोजलाई दबेको जस्तो अनुभव थियो । डेराले उनलाई स्वतन्त्र बनायो ।

 

अफिस चल्दै गयो । नारायण जी र सरोजको व्यवहार, बोलिचाली सामान्य रह्यो । नारायण जी त्यति झ्याम्मीएर बोल्दैन थिए  । सरोज पनि हुरुक्क भएर पछि लागेनन् । तर दुवै आवश्यक बोलचाल भइ रह्यो ।

बिस्तारै सरोजलाई अफिस खल्लो लाग्न थाल्यो । हाकिम बेला बेला काठमाण्डौं गईरहन्थे । अनि हर्ता कर्ता नारायण नै भएका थिए । कसलाई कता खटाउने, कसलाई के अह्राउने,  नारायण नै हाकिमलाई सबै सुझाव दिन्थे । हाकिम पनि सजिलै त्यहि सुझावलाई  आधार मानेर तोक लगाउँदथे । हाकिम संगको निकट्ताले हो वा व्यक्तिगत रवाफले, कर्मचारीहरु नारायणजी संग हच्किन्थे । सरोजलाई एक्लिएको अनुभव हुन थाल्यो । कति ठाँउमा प्राविधिक रुपमा मनासिव नहुने निर्णयहरु भईदिन्थे, सरोजलाई भन्न पनि अफ्ठ्यारो लाग्न थाल्यो । भन्न पनि सक्दैन थिए । उनि भित्र भित्रै गुम्सिदै गए । उनलाई खासै दायित्व पनि दिईएको थिएन् । अफिस सकेर छिट्टै डेर फर्कन थाले ।

 

दिनहरु बित्दै गए । सरुवा भएका ईन्जिनियरले रवाना लिए । उनको बिदाई कार्यक्रम थियो । हाकिम लगायत, ईन्जिनियर, लेखाका हाकिम अनि नारायण जी लाई अगाडि बोलाइयो । तर सरोजलाई अगाडि बस्न बोलाइएन  उनि पछिल्तिर नै बसे ।   सबैतिर नारायण कै रवाफ थियो । सबै कर्मचारी आफ्नै तालमा रमाएका थिए । सरोजलाई साह्रै नमज्जा लाग्यो । नारायणले पहिले देखि दुहबि मा काम गरेर के भयो त, तह त दुबैको बराबर हो, झन सरोज कति अनुभवी । सरोज बिदाईको पूरा समय पनि बस्न सकेनन् ।

सरोज केहि हप्ता आफै संग अल्झिए । दुहबीले उनलाई साह्रै पराई बनाईदियो ।

जागिरे जीवनमा यस्ता पनि अनुभव हुन्छन् जहाँ सुविधा र प्राप्ती भन्दा केहि मर्यादा प्रीय हुन्छन् । सहि गलत जुनै बाटो बाट आएका दाम; फकाईएका/मिलाईएका काज, प्रोजेक्ट, सरुवा, बढुवा भन्दा शिला शिला बटुलेका सम्मान नै प्यारा हुन्छन् । सरोजलाई त्यहि सम्मान मा घात पुग्यो । दुहबी बसाईका बाँकि अफ्ठ्याराहरु त  तपसिलमा रहेकै थिए ।

निक्कै सम्झाए सरोजले आफूलाई । तर अंह सकेनन् । केहि न केहि त भन्नु  पर्छ, समस्या पर्यो भन्दैमा म मुर्ति भएर त बस्दिन् । ‘पद अनुसारको , योग्यता, अनुभव अनुसारको कार्य निर्देष दिनुहोस’ हाकिमलाई यहि भन्ने निधो गरे ।

हाकिम केहि समय छिटो काममा आउँथे । एक बिहान उनि अलि छिट्टै अफिस गए, एकान्त पाईन्छ भनेर । नारायण जी हाकिम संगै रहेछन् । उनको कुरो मन मै तुह्‌यो ।

‘ओ हो सरोज जी आईपुग्नु भयो । म तपाईंकै काम गर्दै थिए । नारायण जी ले तपाईंको काम नगरी बस्न खान दिनु भएन । ३ महिनालाई बिना भत्ता काज मिलाईदिएको छु ।  फर्केर २ महिना बसिदिनु होला, नत्र युनियनले मलाई दु:ख दिन्छ । त्यसपछि जसरी भएपनि सरुवा गराईदिउँला ।  अरुलाई भए गर्दिन थिए, तपाई पुरानो भरपर्दो मान्छे, फेरि नारायण जी को यत्रो करकर ।“ सरोजलाई हाकिम ले ठूलै झट्का दिए ।

‘ल बधाई छ, सरोज जी’ नारायण ले हात मिलाउनलाई तेर्साईदिए ।

सरोज भाव शुन्य भएर नारायणसंग हात मिलाई रहे ।


समाप्त!

 

meaninglessthinkings@somewhereondearth


Last edited: 02-Feb-09 05:05 AM
Read Full Discussion Thread for this article