Posted by: Amazing December 19, 2008
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
Finally I got a good reason to recharge this thread..... Please add more.

धान उत्पादन साठी वर्षयता उच्च
 

नारायण सापकोटा 
काठमाडौं, पुस ४

अनुकूल मौसमका कारण चालू आर्थिक वर्षमा प्रमुख खाद्यान्न बाली धानको उत्पादन ६० वर्षयता उच्च भएको छ। चालू आर्थिक वर्षमा धान उत्पादन ५ दशमलव २ प्रतिशतले बढेर ४५ लाख २४ हजार टन पुगेको अनुमान कृषि मन्त्रालयको छ। गत वर्ष ४२ लाख ९९ हजार दुई सय ४६ टन उत्पादन भएको थियो।

कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरि दाहालका अनुसार यो उत्पादनको तथ्यांक राख्न शुरु गरेको ६० वर्षयताकै सबभन्दा बढी हो। आव २०६०/०६१ मा धान ४४ लाख ५५ हजार टन धान फलेको थियो। धानबालीमा उच्च वृद्धि भएको यो लगातार दोस्रो वर्ष हो। 

छिट्टै मनसुन शुरु भएको र पर्याप्त वर्षा भएका कारण धानको उत्पादन बढेको हो। ´यस वर्ष असिञ्चित क्षेत्रमा पनि धान उत्पादन बढी भएको छ´– दाहालले भने। 

खेती गर्ने उन्नत प्रविधि, बीउ, रासायनिक मल, विषादिलगायत् खेती गरिएको जमिन बढेकाले पनि उत्पादन बढ्न सहयोग पुगेको हो। अघिल्ला वर्षका तुलनामा यस वर्ष खेती गरिएको जमिन ०.४३ प्रतिशतले बढेको छ। यस्तै उन्नत बीउको प्रयोग बढेको छ। रासायनिक मलको प्रयोग भने यस वर्ष बढ्न सकेको छैन।

गत वर्ष पूर्वी र सुदूर पश्चिमी क्षेत्रमा आएको बाढीका कारण ३० हजार हेक्टरमा लगाएको धान बाली डुवान र कटानमा परेको थियो।   

गत वर्ष १४ लाख ३९ हजार हेक्टरमा धान लगाएकामा यस वर्ष १५ लाख ५९ हजारमा लगाइएको थियो।   

क्षेत्रफलका साथै उत्पादकत्व पनि बढेको दाहालले बताए। ´यस वर्ष २ दशमलव ७ बाट बढेर २ दशमलव ९ प्रतिहेक्टर टनमा पुगेको छ´– उनले भने।  

मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जीडिपी) मा कृषिको भूमिका सबैभन्दा बढी  छ। जिडिपीमा ३२ प्रतिशत हिस्सा कृषिको छ। 

अर्को प्रमुख खाद्यान्न बाली मकैको उत्पादन पनि यस वर्ष बढेको छ। मन्त्रालयका अनुसार मकै उत्पादन तीन प्रतिशतले बढेर १९ लाख ३० हजार टन पुगेको छ। गत वर्ष १८ लाख ७८ हजार टन थियो।

गत वर्ष यो ३ दशमलव २३ प्रतिशतले बढेको थियो। मकै खेती चालू वर्षमा ८ लाख ७५ हजार हेक्टरमा गरिएको छ।

कोदो उत्पादन पनि शून्य दशमलव पाँच प्रतिशत बढेको छ। यस वर्ष दुई लाख ९२ हजार टन कोदो उत्पादन भएको छ। गत वर्ष यो २ लाख ९२ हजार टन थियो। कोदो दुई लाख ६५ हजार हेक्टरमा लगाएको मन्त्रालयले जनाएको छ।

www.daineeki.com


Read Full Discussion Thread for this article