Posted by: chipledhunga December 17, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

लामो समयसम्म यो संस्मरणलाई अघि बढाउन नसकेकोमा क्षमा प्रार्थी छु। दुई महिना भन्दा लामो अन्तराल पश्चात यसलाई पुन: निरन्तरता दिने प्रयास स्वरुप संस्मरणको दशौं भाग यहाँहरु समक्ष प्रस्तुत गर्दैछु।

(केही बेरमै गाडी रोकियो। त्यतिन्जेलसम्ममा क्यासेट पल्टिएर लाहुरे चलचित्रका गीतहरु बज्न थालेका थिए।)

गाडीबाट ओर्लिएर एउटा पसलतिर लागियो। अलिकति ग्रोसरी गर्नु पर्ने रहेछ। ढोका नजिकै पुग्दा आँफै खुल्यो। अघिल्लो दिन मात्रै जापानमा स्वचालित रुपमा फ्लश हुने शौचालय देखेको थिएँ, भोलिपल्ट आँफै खुल्ने ढोका देखें। यी जापानी र अमेरिकीहरुले कस्ता कस्ता प्रविधिहरुका बिकास गर्न सकेका हुन् भनेर मनमनै सोचें। रामेले प्लास्टिकको एउटा सानो बास्केट उचाल्यो। धेरै सामान किन्न नपर्ने रहेछ, कतिले टन्न सामान भरिएका गाडाहरु ठेल्दै थिए।

सबैभन्दा पहिले तरकारी र फलफूल भएका ठाउँमा पुगियो। कस्तो लोभ लाग्दो देखिएका सबै कुरा। जे हेर्यो सफा, ठूला अनि सलक्क परेका। त्यहाँ नरोकिकन मासु भएको ठाउँमा पुगियो। पहेंलो बट्टामा पारदर्शी प्लास्टिकले छोपिएका कुखुराको मासुका दर्जनौं पोकाहरु देखियो। कुनै पोका ठूला थिए कुनै साना। कुनैमा खुट्टा, कुनैमा पखेटा, कुनैमा छाती आदि थिए अनि कुनैमा हाड छाला झिकिएका मासु थिए। सबै पोकाहरुमा तौल अनुसारको मूल्य उल्लेख गरिएको हुँदो रहेछ। तीनै पोका मध्ये एउटा छानेर रामेले बास्केटमा हाल्यो। उसले नजिकै राखिएका गाई र सुङुरका मासु पनि देखाइदियो। ती पनि त्यस्तै गरी पारदर्शी प्लास्टिकले छोपिएका तर सेता बट्टामा थिए। गाइको मासु गाढा रातो हुँदो रहेछ, अनि सुङ्गुरको चाँही अलि फिक्का। त्यसपछि शीसाको ढोका भएका लामा दराजहरु भएको ठाउँमा गइयो। कहाँबाट दराज हुनु नि, फ्रिजर पो रहेछन् त। त्यहींबाट तरकारीका केही पोका बास्केटमा हालेपछि पैसा तिर्ने ठाउँमा लाइन बसियो।

पैसा तिर्ने तरीका पनि चाख मानेर हेरें। आफू भन्दा अगाडिको मान्छेले गाडाबाट सामान झिक्दै काउन्टरमा फिंजायो। खजान्चीले एउटा यन्त्र (scanner भनेर पछि थाहा भयो)ले सामानको निश्चित भागमा निशाना लगाउँदै मेशिनमा चढाउँदो रहेछ। कुनै कुनै कुरा चाँही हातैले इन्टर गर्नु पर्ने रहेछ। काउन्टर त लामै थियो, तर टाढाको सामान लिन हात फैलाउन नपर्ने। कताबाट हो एउटा स्विच थिचेर आफ्नो नजिक तान्न मिल्ने रहेछ। इस्क्यान गर्दै सामान प्लास्टिकका झोलाहरुमा हाल्दै गरेको देखें। पैसा तिरेपछि झोलाहरु त्यही गाडामा हालेर ठेल्दै आफ्नो गाडीमा लग्नु पर्ने रहेछ। अगाडिको मान्छेको सामान अलि अगाडि पुगेपछि प्लास्टिकको एउटा सानो लट्ठी जस्तोले रामेले ठाउँ छुट्ट्यायो र बास्केट खाली गर्न थाल्यो। एक पोका मासु र दुई तीन पोका तरकारी काउन्टरमा फिंजियो। बास्केट चाँही खजान्चीले नै राख्यो। पैसा तिरेर प्लास्टिकका दुई झोला बोक्दै स्वचालित ढोकाबाट निस्किएर हामी गाडीतिर लाग्यौं।

उसको बस्ने ठाउँ पुग्न त्यस्तै दुई वा तीन मिनट मात्रै लाग्यो होला। ढोकाबाट छिरेर कार्पेट बिछ्याइएको भर्र्याङ् चढ्दै उसको अपार्ट्मेन्ट्मा पसियो। पस्दा पस्दै दाँयातिर डाइनिङ टेबल र बाँयातिर बैठक रहेछन्। बैठकको भित्री छेउमा भान्सा थियो। बैठकमा अरु दुई नेपाली रहेछन्, एक जना केटा र अर्की केटी। नयाँ नेपाली भनेर रामेले चिनाएपछि केटाले आफ्नो नाम दिंदै हात मिलायो, मैले पनि आफ्नो नाम दिएँ अनि केटीले पनि आफ्नो नाम दिइन्। अनि केटाले सोध्यो, श्रीलंकाबाट आएको हो भनेर। बिना आश्चर्य मैले होइन, नेपालबाट हो भनें। त्यसपछि पो झसंग भएँ त म। बैंकक लेखेको टीसर्ट लगाएको कारण सबैले मलाई थाइ सम्झिएका थिए कलेजमा, अनि नेपाली हो भन्दै बुझाउनु परेको थियो। अझ नेपालीमै कुरा गरिरहेको बेला कहाँबाट श्रीलंकाको कुरा आयो होला। मैले केही बोल्न नपाउँदै उसले हाँस्दै भन्यो, "लौ कस्तो कुरा सोधिरा मैले पनि।"

दुबैसँग घर कता, कहिले आएको, अहिले के पढ्दै, नेपालमा कहाँ पढेको जस्ता सामान्य परिचयका कुराहरु भए। दुबै स्नातक तहका बिद्यार्थी थिए। केटो काठमाडौंको रैथाने नेवार थियो र बोलीमा हलुका नेवारीपन थियो तर त्यसलाई चर्कै दार्जीलिंगे लवजले जितेको थियो। केही बर्ष दार्जिलिङ पढेको रहेछ अनि उसको बोलीमा त्यसैको प्रभाव रहेछ। केटी पनि काठमाडौंकी नेवारनी थिइन् अनि उनको "नेपाली" बोलाइमा अंग्रेजी शब्द तथा वाक्यहरुकै बाहुल्यता थियो।

नेपालको खबर सोधे दुबैले। बाढी पहिरोको कुरा गरें। मैले नेपाल छोड्न केही हप्ता अघि मध्य नेपालले बाढीको ठूलो प्रकोप झेलेको थियो। खास गरी सर्लाही, रौतहट, र मकवानपुर जिल्लामा सयौंको संख्यामा ज्यान गएको थियो। कुलेखानीको बिद्युत उत्पादन पनि अवरुद्ध भएको थियो कुन्नि के बगाएकोले। पृथ्वी राजमार्गका आगरा, बेल्खू र मलेखू खोलाका पुलहरु एकैसाथ बग्नुका अतिरिक्त जोगीमारा (शायद कृष्णभीर नै हुनसक्छ जहाँ केही समय अघिसम्म बर्षेनी पहिरो जान्थ्यो)मा पहिरो गएको थियो भने त्रिभुवन राजपथको भैंसेमा पुल बग्नुको अतिरिक्त ठाउँ ठाउँमा पहिरो गएको थियो। यसले गर्दा काठमाडौं नाकाबन्दिकै अवस्थामा पुगेको थियो। अमेरिकी सरकारले एन्तोनोभ बिमान मार्फत ढुवानी गरेका बेली ब्रिज जडान गरेपछी मात्र राजमार्गहरु सुचारु भएका थिए। काठमाडौंसम्म सीधा आवागमन सुचारु हुन ३ हप्ता जति लागेको थियो।

अर्को समाचार थियो बिमान दुर्घटनाको। थाइ एयरवेजको बिमान दुर्घटना भएको ठीक एक बर्ष पुगेको दिन अर्थात् जुलाई ३१ १९९३ को दिन काठमाडौंबाट भरतपुरतर्फ उडेको एभरेष्ट एयरको बिमान तनहुँमा दुर्घटनाग्रस्त हुँदा बिमानमा रहेका सबैको मृत्‍यु भएको थियो। अलि पुरानो तर त्यतिबेलाको प्रमुख समाचार भनेको दासढुङ्गा काण्ड अर्थात् नेकपा एमालेका नेताहरु मदन भण्डारी र जीवराज आश्रितको रहस्यपूर्ण मृत्‍यु थियो। पोखराबाट कता जाँदा हो, मुग्लिङ र नारायणघाट बीच पर्ने दासढुङ्गा भन्ने स्थानमा ती दुई नेता चढेको गाडी त्रिशूली नदीमा खसेको थियो। दुई नेताको लाश घटनास्थलबाट निकै तल नारायणी नदीमा केही दिनपछि मात्रै भेट्टिनु तर चालक अमर लामा (जसलाई घटनाको करीब एक दशक पछि कीर्तिपुरमा हो क्यारे माओवादीले हत्या गरे)सामान्य चोटपटक लाग्नु बाहेक कुशल रहनुले घटनालाई रहस्यपूर्ण बनाएको थियो। यसैलाई लिएर काठमाडौंमा (शायद अन्यत्र पनि भयो होला) धेरै प्रदर्शनहरु भए र दुई चार जनाको मृत्‍यु नै समेत भयो।

दुर्भाग्यबश यी भन्दा राम्रा समाचार सुनाउन सकिनँ मैले। एकैछिन सबैजना गम्भीर भयौं। रामे एक जनालाई लिन भनेर गएको थियो, एउटी राम्री नै केटी लिएर त आयो तर उसकी मायालु पो परिछ। चिनजान पश्चात ती दुई भान्सातिर लागे। अर्की केटी (दिदी बहिनी रहेछन्) चाँही काम भ्याउन भनेर निस्किन्। हामी ३ केटा भने गफ गर्न थाल्यौं। केही बेरमै खाना तयार भयो। लेदो पारी बनाएको कुखुराको मासु, गलाएर बनाएको पीरो फ्रोजन तरकारी, भात अनि सिसिको भारतीय मिक्स अचार त्यतिबेला मेरो अमेरिका प्रवेश पश्चातको सबैभन्दा मीठो भोजन हुन पुग्यो। नेपाली शैलीको भोजन गर्न त्यसपछि मैले अर्को ४ महिना कुर्न परेको थियो।

क्रमश:                                                                      
Read Full Discussion Thread for this article