Posted by: crazy_love December 14, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग-११

 

साक्षीको ब्यबहार देखेर उसलाइ हाँस उठ्यो, कस्तो बच्चा जस्तो कुरा गर्छे साक्षी कहिलेकाँही। अबदेखि नकुर्नुस् रे, भेट्दै नभेट्ने हो भने साक्षी नैं मन्दिर नआए भइ हाल्यो नि। किन उसले नकुर्नु पर्यो? साक्षी त्यसरी कहिले रिसाउदिन थी, शायद गाइनेको संगतले साक्षी नराम्रो कुराहरु सिक्दैछे। नत्रभने कहिल्यै ठुलो स्वरले नबोल्ने साक्षी त्यसरी बाटोमा कराउनु नपर्ने। मनमा आफै सङ कुरा गर्दै घर पुग्यो। साक्षीले जे भने पनि पीर मान्दैन अब, किनभने मन्दिर भनेको साक्षीको मात्र अधिकारको कुरा होइन, जानेछ त्यहाँ जहिले मन लाग्छ तहिले। साक्षीलाइ कुर्ने नकुर्ने कुरा समयले बताँउछ।

 

उसले साक्षीलाइ बिर्सन नखोजेको होइन। बास्तबमा भन्ने हो भने साक्षीले छोडेर गएको दुइ महिनापछि फेरि साक्षीलाइ नदेखेको भए यी सबै कुराहरु हुने थिएनन् उसको जीबनमा।

 

नरमाइला कुराहरु नौ दिनमा नौलो, बीस दिनमा बिर्सिन्छ भन्थे पुराना मानिसहरु। उसको जीबनमा त्यो नियम लागु भएन। सबै कुरा ताजा हुँदैछ अहिले, साक्षीसङको भेट, सङका सम्झना सबै जिबन्त हुँदैछन्। उसले चाहेर ब्युँताएको होइन ती भावनाहरु, आफै भइरहेछ सबै कुरा आफ्नै गतिमा। अब झन् साक्षी उसकी स्वास्नी नभएर प्रेमिका हुन पुगेकी छे, जसलाइ आफ्नो भन्न सक्दैन पराइ भन्न सक्छ।

 

ठुल्दिले अर्को दिन पुरानो घरमा बुबा भेट्न जानु रे भन्ने खबर दिनु भयो। साँच्चै बुबालाइ अफिस कामको सिलसिला बाहेक घरमा नभेटेको पनि धेरै भइसकेको थ्यो उसले। बुबा सानी आमासङ पुरानो घरमा बस्नु हुन्थ्यो, साक्षीलाइ बिहे गरे पछि नयाँ घरमा सरेको थ्यो। बुबाको घर बसेको घरबाट पाँच मिनेटको मात्र दुरि थियो। सानी आमाको सन्तान थिएनन्। त्यही कारण हो कि के हो सौतेनी आमा भए पनि सानी आमा  दन्त्यकथामा जस्तो नराम्रो ब्यबहार गर्नु हुन्नथ्यो, उसलाइ माया देखाउनु हुन्थ्यो। पनि बुबासङ भन्दा सानी आमासङ खुलेर कुरा गर्न सजिलो मान्थ्यो। बुबासङको सम्बन्ध अलि चिसो थ्यो उसको, आफ्नै मान्छे भए पनि को को पराइ जस्तो लाग्थ्यो उसलाइ।

 

अर्को दिन बिहानै पुरानो घरमा गयो उ। बुबा सानी आमा उसैलाइ कुरेर बस्नु भएको थ्यो। सामान्य भलाकुसारी पछि खाना पनि त्यहीँ भयो  त्यो दिन। जे कुरा नखोतले हुन्थ्यो भनेर त्यहाँबाट उम्किन खोज्दैथ्यो, खाना पछि बुबाले त्यही कुरा शुरु गर्नु भयो।

 

"अब कहिले सम्म यसरी बस्ने ?" बुबाको स्वरमा चिन्ता झल्किन्थ्यो, प्रश्न भन्दा पनि पीर लागे जस्तो।

 

चुप भयो, उसलाइ के थाहा कहिलेसम्म? बल्ल साक्षी भेट्दैछ उसले। बुबालाइ जे पायो त्यही जवाफ दिनु भएन। त्यसै हजार प्रश्न गर्नु हुन्छ, बोल्दै नबोलेर बसे आनन्दै हुन्छ। उसले यता उति गर्दै  सानी आमा भएतिर हेर्यो।

 

"हामीलाइ त्यही चिन्ता बाबु। कहिले सम्म तिमी यसरी एक्लै बस्ने?" सानी आमाले उसको बुबाको कुरा फेरि दोहोर्याउनु भयो।

 

"एउटा कुरा आको छ। परिवार पनि राम्रो , केटी पनि सुशिक्षित छे, राम्रो संस्कारमा हुर्केकी छे। तँ भन्दा बर्ष सानी छे। बिहे को कुरा चलाउ हामी?" बुबाले बोलाउनुको कारण खुलाउनु भयो।

 

"बिहे को कुरा" भन्नासाथ उसले साक्षीसङ गरेको बिहे सम्झ्यो, पाँच महिनापछिको घटना अहिलेको अबस्था। उसले हुन्छ वा हुँदैन भन्न उपयुक्त ठानेन।

 

"तिमीलाइ कोहि मन पर्छ भने पनि हामी "हुँदैन" भन्दैनौं। यदि होइन भने यो केटी पनि नराम्री छैन।" सानी आमाले सेतो खामभित्र बन्द गरेको फोटो उसलाइ दिंदै भन्नु भयो। उसलाइ खाम खोलेर फोटो हेर्न मन लाग्यो तर बुबाको अगाडी त्यसो गर्न मन लागेन। उसको सानी आमाले कुरा बुझ्नु भयो क्यारे, फोटो हेरे पछि कस्तो लाग्छ, मन पर्यो कि परेन, एकचोटि खबर गर्नु भन्नु भयो।

 

मौका पाउनासाथ "काम धेरै " भनेर उठ्यो।

 

"अनि कहिले खबर दिन्छस् ?" बुबाले फेरि सोध्नु भयो, जुन कुराको उत्तर आफैलाइ पनि थाहा थिएन।

 

"एक दुइ दिन ब्यस्त छु।" भनेर टार्न खोज्यो उसले।

 

"उनिहरु धेरै कुर्न सक्दैनन्, दुइ हप्ताभित्र खबर गर्नु।" भन्नु भयो बुबाले।

 

"कि  उषालाइ नैं भेटेर कुरा गर्ने हो?" सानी आमाले सजिलो उपाय बताउनु भयो।

 

"को उषा?" उसले सोध्यो।

 

"त्यही फोटोमा भएकी। सोधुँ उषालाइ ? मेरी मिल्ने साथी की भान्जी हो उषा। " सानी आमाले कुरा धेरै अगाडी बढाउन खोज्नु भए जस्तो लाग्यो उसलाइ।

 

"अहिले पर्दैन, पछि हजुरहरुलाइ खबर गरुँला।" भन्दै त्यहाँबाट निस्क्यो।

 

 

ढोका बाहिर के पुगेकोथ्यो, पछाडीबाट सानी आमा " बाबु! पर्ख पर्ख।" भन्दै आउनु भयो।

 

"झन्डै फोटो लान बिर्सेछौ।" उसलाइ अघिको खाम हातमा दिनु भयो सानी आमाले, उसले कति खेर सोफामा खसालेछ उसलाइ होशै भएन।

 

"एउटा कुरा थाहा पायौ?" उहाँले कसैले सुन्ला जस्तो गरी सानो स्वरमा भन्नु भयो।

 

"के कुरा?" उसले पनि सानै स्वरमा सोध्यो।

 

"गाइनेले  मरुन्जेल पिट्छ रे नि नखरमाउलीलाइ। ठिक्क पर्यो त्यो नकचरीलाइ। कुकुरलाइ घिउ नपचेको। राम जस्तो लोग्ने छोडेर गुन्डासङ पोइला गएकी थी।" सानी आमा खुशी देखिनु हुन्थ्यो।

 

उसलाइ त्यो कुरा बिस्वास लागेन। साक्षी सानीआमाको माइत एकै ठाँउमा थियो। साक्षी पोइला गएपछि हरेक कुराहरु यसरी नैं आइपुग्थ्यो सम्म।

 

"ह्या, हल्ला नैं बढी हुन्छ हजुरहरुको माइती गाँउमा। लोग्ने स्वास्नीको घर झगडा जस्तो कुरा पनि काँ बाट थाहा पाउनु भयो नि हजुरले चाहि??" अरु कुरा फुस्काउन खोज्यो उसले।

 

" मिनु, क्या मिनु !  मेरी भदैनी, हो उसैको टोलमा डेराँमा बस्छन् रे आजकाल गाइने साक्षी। दिनहुँ झगडा गर्छन् रे, घरबेटी नैं छुटाउन जानु पर्ने गरि।“ त्यो भन्दा बढी उसलाइ केहि सुन्न मन लागेन।

 

"ढिलो भयो मलाइ" भनेर निस्क्यो त्यहाँबाट।

 

क्रमश:

 

 

 

 

 

 

Last edited: 14-Dec-08 07:25 PM
Read Full Discussion Thread for this article