Posted by: crazy_love December 11, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     1       ?         Liked by

भाग - १०

त्यो रातभरी उ फेरि साक्षी बिहे गरेर ल्याएपछिका ती बिर्स्नै नसकिने क्षणहरु सम्झिन थाल्यो। प्रत्येक अनुभव नौलो र बर्णन गर्न नसकिने खालको। लोग्ने हुँदाको अनुभुति, साक्षीको लज्जालु स्वभाव, शारिरिक तथा मानसिक निकटता सबै उसको दिमागमा फेरि घुम्न थाल्यो। रमाइलो रहस्य जस्तो प्राकितिक सम्बन्ध, जति डुब्यो उति गहिरन मन लाग्ने चाहनाहरु। साक्षीलाइ देख्नासाथ हुने बिजुलीको झट्का जस्तो आकर्षण। एकचोटि उसको पुरै शरीर ज्वरोले पोलेको जस्तो हुन थाल्यो। उ निदाउनको लागि भन्दा पनि बिहान कहिले हुन्छ भन्दै सुत्यो त्यो रात।

भोली पल्ट उसले आफुलाइ सुहाउने कमिज खोजेर लायो, साक्षीले उपहारमा दिएको "पर्फ्युम" लगायो। कपाल मिलायो,  ऐना २/३ चोटि हेर्‍यो। बिहान देखि एकप्रकारको रमाइलो लाग्न थाल्यो उसलाइ। बर्सौं पहिले कसैलाइ भेट्न जाँदा भएजस्तो। दिनभरी कति खेर साँझ होला भन्दै छटपटियो। साँझ हुनासाथ गयो उ हिजोकै ठाँउमा, जहाँ साक्षी आएकी थी। केहि बेर बाहिर कुरेपछि अधैर्य भयो उ, त्यसपछि मन्दिरभित्रै गर्यो। देउता दर्शन गरे जस्तो गर्‍यो, आँखाहरु साक्षीलाइ खोज्दै थे। एक घन्टा मन्दिर भित्र बाहिर गर्दा पनि साक्षी आइन, त्यसपछि एक राउन्ड टुँडिखेल घुम्यो, तैपनि साक्षी देखा परिन। निराश हुँदै घर फर्क्यो उ त्यो साँझ। हिजोको जस्तो रमाइलो भएन त्यो रात उस्को लागि। थरि थरिको शंका उपशंकाले उसको मनलाइ घेर्‍यो।

पाँच साँझ उसले त्यसरी नैँ साक्षीको प्रतिक्ष्यामा बितायो, मनले हार मान्न अझै तयार थिएन। इस्कुल पढ्दा सेन्ट मेरिज इस्कुल छुट्टी हुनु अघि कसैलाइ कुरेको जस्तो लाग्यो उसलाइ। जसलाइ हेर्न उ एक घन्टा अघिदेखि पुल्चोकको एउटा पसलमा हुन्थ्यो, उसले त्यो पसलमा एकचोटि पनि हेर्थिन। उ आँट नैं गर्न सक्दैनथ्यो आफुले मन पराएको केटीको अगाडी गएर केहि भन्ने। अनि कसरी केटीले उसको मनमा आफुप्रति न्यानो भावना छ भनेर बुझोस्। तै पनि उसले एक बर्स त्यसरी नैं कुर्‍यो त्यो केटीको लागि, त्यसपछि त्यो केटी हराइ। कहाँ गइ, के गरी उसले आजसम्म थाहा पाउन सकेन। किशोराबस्थाको पागलपन जस्तो उ फेरि त्यही कुरा दोहोर्‍याँउदै छ। साक्षी अहिले के गर्छे, कहाँ बस्छे उसलाइ थाहा छैन, र पनि उ साक्षीलाइ कुरिरहेको छ, कहिल्यै नआउने भये पनि कुरिरहेको छ।

छैंठौ दिनमा अप्रत्यासित रुपमा साक्षी मन्दिरमा देखा परी। उसको हर्षको सीमाना रहेन। पहिला साक्षी हतार गर्दैथी, पछि उसको अनुरोधमा केहि छिन कुरा गर्न सहमत भइ।

"भगवानले पनि यति धेरै कुराँउदैन दर्शनको लागि। तिमी चाहिं...." उसले प्रेम-परीक्षा दिए जस्तै गरी भन्यो।

"के भन्या त्यस्तो ?" साक्षी छक्क परी।

"यत्रो दिन किन नआएकी?" उसले सोध्यो।

"काम थ्यो त्यसैले।" साक्षी चुप लागी। त्यसपछि उनिहरु बिर अस्पतालको पछाडीको सानो गल्ली हुँदै असनतिर गए, असनबाट इन्द्रचोक हुँदै फेरि महाबौद्धको गल्ली हुँदै असन तिर लागे। बाटोमा दुबै मौन थिए, कहाँ जाने पनि थाहा थिएन, के भन्ने पनि थाहा थिएन। दोस्रो चोटि असन जाने गल्लीको बिचमा पुग्दा साक्षी अतालिएर बोली।

"बिन्नी! बिन्नी आँउदैछे यतैतिर।" बिबेककी बैनी आफ्नो साथीसङ उनिहरु भएतिर आएको देख्यो उसले। उसले केहि भन्नु अघि नैं साक्षी नजिकैको चुरा पसलभित्र पसी। बिन्नीले साक्षीलाइ देख्यो देखेन उसलाइ थाहा भएन तर उसले साधारण तरिकाले कुरा गरेर औपचारिकता सकायो। बिन्नीहरु गएपछि उ साक्षीलाइ चुरा पसल बाहिर बसेर कुर्‍यो। धेरै बेरसम्म साक्षी ननिस्किएपछि उ पसलमा गयो। साक्षी केहि सामानहरु किनिरहेकी थी, उसलाइ भित्र आएको देख्नासाथ साहुनीले भनी।

"वहाँ सङ होलानि चानचुन।"

"होइन यही हजारको नोटमा कटाउनुस्न!" हजारको नोट साहुनीको हातमा दिंदै साक्षी अनुरोध गरेरहेकी थी।

"खुद्रा भए त दिहाल्थे नि बहिनी। अघि भर्खरै दुइटा हजारको नोट साटेँ। तपाइको श्रीमान सङ होला नि। एकचोटि सोध्नुस् न।" साहुनीको अन्तिम बाक्यले उसलाइ कस्तो कस्तो बनायो। साक्षीको अनुहारमा संकोच थियो।

"कति दिनु पर्ने?" उसले साहुनीलाइ सोध्यो।

"साठी रुपैयाँ मात्र!" साहुनी दङ पर्दै भनी।

साक्षीले "पर्दैन" भन्दा भन्दै उसले पैसा तिर्‍यो। दुबै जना पसलबाट अनौठो अनुभब संगालेर निस्के। बाहिर साँझ छिपिन लागिसकेकोथ्यो। साक्षी फर्किने जिद्दि गर्न थाली। उनिहरु फेरि इन्द्रचोकको बाटो हुँदै फर्किन थाले।

"यसरी नहिंडौ।" साक्षीले बाटोमा भनी।

"कसरी हिंड्ने त?" उसलाइ पनि अचम्म लाग्यो।

"अरुले देखे के भन्ला?" साक्षीले उसलाइ हेरी।

"जे सुकै भनोस्। हामीले के गरेका छौं र बाटोमा हिंड्न पनि नपाइने।" केहि नबुझ्या जस्तै गरी उसले भन्यो।

"तपाइं बिहे गर्नुस्!" साक्षीले उसको छातीमा प्रहार गरी एकचोटि।

"हुन्छ ! तिमी गर्ने हो बिहे म सङ?" उसले साक्षीलाइ जिस्काउन थाल्यो।

"कस्तो मान्छे तपाइँ त!" साक्षी बोलीन केहि बेर उनिहरु धरहरा पुग्नै आँटेका थिए। ट्याक्सीहरु देखिएन सहिदगेटमा साक्षी आत्तिन थाली।  माइक्रोबसहरु पनि पहिले नैं भरिएर आएका हुन्थे। उसले एक दुइ वटा सडकमा फर्किन लागेको ट्याक्सी रोक्ने कोशिस गर्‍यो तर सकेन। साक्षी हिंडेर भने पनि जाने जिद्दि गर्न लागी। त्यति अध्याँरोमा उसले साक्षीलाइ एक्लै पठाउन चाहेन। केहि बेर पछि बल्लतल्ल साक्षीले टेकुसम्म मात्र उसको बाइकमा जान मानी। उनिहरु दुबै फेरि बाइक लिनको लागि मन्दिर निर पुगे। साक्षी बाइकमा बस्न एकछिन अनकनाइ। उसले बस भन्यो, त्यसपछि साक्षी उ सङ नछोइकन अप्ठ्यारो गरेर बसी।

"साक्षी, यो बस होइन, धेरै पछाडी सर्‍यौ भने खस्छौ। म तिमीलाइ घाइते बनाउन चाहन्न। राम्ररी बस!" उसले साक्षीलाइ सम्झायो। त्यसपछि अलिकति नजिक सरी साक्षी। उसले बाइक अति द्रुत गतिमा चलायो। साक्षी डरले उसलाइ समाउन पुगी, मुटुको ढुकढुकी बढ्न थाल्यो। साक्षीको स्पर्शले उ र बाइक झन तिब्र गतिमा दौड्न थाल्यो। साक्षी भयले कतै हेर्न सकिन। मन मनमा भगवान पुकार्न थाली, टेकु पुग्नु भन्दा अगाडी नैं साक्षी "यहीँ रोक्नुस्" भनेर कराइ। उसले बाइक रोक्न करै लाग्यो। सडक पारी दुइटा ट्याक्सी भएतिर साक्षी जान थाली।

"जाने बेला पनि केहि नभनी जाने साक्षी।" उसले बाटो काट्न लागेकी साक्षीलाइ बोलायो।

"किन त्यत्रो स्पीडमा चलाएको?" साक्षी रिसाएको बल्ल थाहा पायो उसले।

"तिमीलाइ पहिला त्यस्तै मन पर्थ्यो होइन?" उसले झनै सम्झाउन खोज्यो।

"पहिला र अहिलेमा फरक छ। पहिला जस्तो केहि पनि अहिले हुन सक्दैन।" साक्षी अलि नरम भइ।

"पहिला पनि तिमी र म बाइकमा यसरी नैं हिंड्थियौं, अहिले पनि त्यही छ। म त त्यस्तो फरक केहि देख्दिन पहिले र अहिलेमा।" उसले फेरि भाबुक भएर भन्यो।

"अब देखि हामी नभेट्ने।" साक्षीले बाटो काटीसकेपछि भनी।

"के रे? के भन्यौ तिमीले?" उसले साक्षीले भनेको कुरा राम्ररी सुन्न सकेन, एउटा ट्याक्सीले हरन बजायो त्यति बेला नै।

"अब देखि तपाइँ मलाइ नकुर्नुस्! अबदेखि हामी नभेटौं" उताबाट साक्षीले अलि ठुलो स्वरमा भनी। बाटो हिंडीरहेका बटुवाहरु उनिहरुलाइ हेरेर हाँसे।

"किन नि?" उसले फेरि सोध्यो साक्षीलाइ।

साक्षी ट्याक्सीमा बसी सकेकी थी। ट्याक्सी कालीमाटीतिर लाग्यो। साक्षी उसलाइ हेर्दै नहेरी गइ।

क्रमश:

 

Read Full Discussion Thread for this article