Posted by: amricane December 11, 2008
Thukka Nepal Police,""aachi khaye huncha"
Login in to Rate this Post:     0       ?        
हत्यापछि पनि थप आतंक
अन्य समाचार
पुरानो अंक

बच्चु विक/नयाँ पत्रिका
2008-12-10,Wednesday


महुलिया (कञ्चनपुर), २४ मंसिर
'मानसिक सन्तुलन गुमेको' भन्दै प्रहरीले पक्राउ परेको हत्यारालाई छाड्ने सुरसार गरेको खबरले कञ्चनपुरको महुलिया गाउा अरू आतंकित बनेको छ

हत्या भएको घरमा आफन्त र छरछिमेकी देखिन्छन् तर मौन र शोकमग्न । घटना सबैलाई थाहा भएकाले होला न सहानुभूतिका शब्द सुनिन्छन् त्यहाँ न त कुनै चर्को कुराकानी नै । 'मानसिक सन्तुलन गुमेको' भन्दै प्रहरीले पक्राउ परेको हत्यारालाई छाड्ने सुरसार गरेको खबरले सिंगो गाउँ अरू आतंकित बनेको छ । सबैका अनुहारमा त्रास नाचेको देख्न सकिन्छ । गाउँले भन्छन्, 'त्यो आयो भने अरूलाई पनि बन्चरोले मार्छ ।' कञ्चनपुरको सुडा गाविस-२ महुलियामा २२ वषीय खगराज पाण्डेयले आफूलाई जन्म दिने आमा गंगादेवी र जेठीआमा वासुदेवीको निर्मम हत्या गरेपछि गाउँमा यस्तो सन्नाटा छाएको हो ।

'हत्या भएको चार दिन बित्यो, हत्यारा पनि पक्राउ पर्‍यो तर उसलाई प्रहरीले छाड्दै छ रे,' हत्यारा खगराजका अपांग दाजु टिकेश्वरले भने, 'त्यो आएर अरूलाई पनि मार्ला भन्ने आतंक फैलिएको छ गाउँभरि ।' घरमा अरूका आँखा छलेर शनिबार दिउँसो खगराजले आमा र जेठीआमालाई बन्चरो प्रहार गरी हत्या गरेका थिए । अभिभावकका रूपमा रहेका दुईजना आमाको हत्यापछि घरमा बालबालिका मात्रै बाँकी रहेका छन् । 'यी बच्चाबच्चीले आमा खोजेर हैरान छ । घाम डुब्न थाल्यो कि उनीहरू रुन-कराउन थाल्छन्,' टिकेश्वरले भने ।

वासुदेवीका एक छोरा र दुई छोरी छन् भने गंगादेवीका तीन छोरा छन् । सबैभन्दा जेठो २५ वषर्ीय टिकेश्वरप्रसाद पाण्डेय अपांग छन् । उनी हिँडडुलसमेत गर्न सक्दैनन् । अपांग टिकेश्वर दुवै आमाको किरियामा बसेका छन् । 'के गर्ने उनीहरूको अवस्था देख्दा रुन मात्रै आउँछ,' गाउँले हर्कदेव जोशीले भने । आमाहरू वासुदेवी र गंगादेवीलाई बन्चरोले क्षतविक्षत हुनेगरी हत्या गरेपछि हत्यारा खगराजले जम्मा भएका गाउँले र प्रहरीलाई बन्चरो नचाएर त्रस्त पारेका थिए । वासुदेवीलाई हत्या गरेको आधा घन्टापछि आमा गंगादेवीको हत्या हुँदा घटनास्थलमा प्रहरी पनि थियो । 'आमालाई बन्चरोले हान्दै गर्दा प्रहरीले पनि केही गर्न सकेन, हेरिरह्यो मात्र,' १२ वषीया छोरी गंगा पाण्डेयले भनिन्, 'गाउँले पनि थिए । केही गरेनन् ।'

हत्यापछि प्रहरीले पक्राउ गरे पनि स्थानीय बासिन्दामा त्रास कम भएको छैन । प्रहरीले मानसिक सन्तुलन गुमाएको प्रचारबाजी गरेको र हत्यारालाई छोड्न खोजेको आरोप गाउँलेको छ । प्रहरीले पनि खगराजमाथि मानसिक सन्तुलन गुमेको शंका गरेको छ । 'उसले बयान दिएको छैन । हत्या के कारणले गर्‍यो, खुल्न सकेको छैन,' हत्याबारे अनुसन्धानमा संलग्न कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने, 'हामीलाई पनि उसको व्यवहार देखेर उसको स्वास्थ्यबारे शंका लागेको छ ।'

प्रहरीकै सामु उसले आमाको हत्या गर्‍यो
गंगा पाण्डेय (वर्ष १२), मृतक वासुदेवीकी छोरी
२१ मंसिर ०६५ को दिन हो । म, आमा (वासुदेवी) र काकी -गंगादेवी) मात्रै घरमा थियौँ । अरू सबै नेता गिरिजाप्रसाद कोइरालालाई हेर्न महेन्द्रनगर गएका थिए । दिउँसो २ बजेसम्म खाना पनि खाइएको थिएन । काकीको शनिबारको ब्रत थियो । सबै कार्यक्रममा गएकाले खाना पकाउन ढिलो भएको थियो ।

दाइ -हत्यारा खगराज) काकीलाई किन खाना नखाएको, खाना खाऔँ भन्दै थियो । आमा धारामा नुहाउँदै हुनुहुन्थ्यो । स्कुल बिदाको दिन भएकाले म पनि सरसफाइ गर्न खोलामा गएँ । त्यसपछि के भएछ थाहा भएन । एक्कासि आमालाई बन्चरोले हान्यो भन्ने सुनेँ । नदीबाट आएँ । आमा धारोमै छटपटाइरहनुभएको थियो । रगत लतपतिएको थियो । दाइको हातमा बन्चरो थियो । यो देखेपछि नजिक जान सकिनँ म ।

बाटो हिँडिरहेका एकजनाले बन्चरो खोसेर फालिदिए । आमाले 'पानी-पानी' भनेको सुनेँ । म पनि रोएँ । काकी पनि रुन थालिन् । काकीले रुँदै अरूलाई बोलाइन् । सबै गाउँले आए । काकीले गाउँले बोलाएपछि उसले काकीलाई पनि हान्न थाल्यो । उसले ढुंगाले टाउकोमा र अनुहारमा हान्यो । रगतले पूरै मुख लतपतियो । काकी आमाकै नजिक बसेर रुन थालिन् । दाइ त्यहीँ उभिएर कपाल समातेर हान्दै थियो । सबै गाउँलेले हेरिरहे मात्र कसैले केही गरेन ।

साढे दुई बजेतिर प्रहरी आयो । चारजना प्रहरी आए । प्रहरी आउनेबित्तिकै दाइले हाम्रो घरबाट अर्को बन्चरो ल्यायो । आमालाई हानेको बन्चरो बटुवाले फालिसकेको थियो । हाम्रो घरबाट ल्याएको बन्चरोले काकीलाई हान्यो । काकीको टाउको फुट्यो । रगतैरगत भयो । प्रहरी पनि हेरिरह्यो, केही गरेन । गाउँले, प्रहरी कोही नजिक गएनन् । उसले बटुवाले खोसेर फालेको अर्को बन्चरो पनि हातमा लियोे । दुवै हातमा बन्चरो घुमाउन थाल्यो । त्यतिन्जेलसम्म पनि आमा र काकी जिउँदै थिए । कसैले केही गरेन । प्रहरीले नजिक जान खोज्दा उसले बन्चरो घुमाएर धपायो ।

म रोइरहेकी थिएँ । आमालाई बचाउन गुहारेँ । कसैले बचाउन कोसिस गरेन । मैले गुहार्दा मलाई पनि बन्चरोले हान्न आयो । म भागेँ । प्रहरी र गाउँलेले कोसिस गरेको भए मेरा आमा र काकी मर्ने थिएनन् । आमाहरूलाई हिर्काउन थालेको डेढ-दुई घन्टा भइसकेको थियो । उसले फेरि काकीको टाउकोमा हान्यो । टाउको छिनाल्यो । म हेरिरहेँ । टाउकोमा बन्चरोले हान्दा आँखा छोपो । काकीको हेर्दाहेर्दै ज्यान गयो । आमा जिउँदै थिइन् । बेहोस भएर पल्टिरहेकी थिइन् । त्यसपछि प्रहरीले हात समात्यो । एकजनाले हात समातेपछि दाइले प्रहरीलाई बन्चरोले हान्यो । त्यसपछि सबै प्रहरी भागे ।

चार बजेतिर बल्ल तीनवटा गाडीमा प्रहरी आए । त्यतिवेलासम्म आमाको पनि ज्यान गइसकेको थियो । त्यसपछि खगेन्द्र दाइ भाग्न थाल्यो । प्रहरीले उसलाई लखेट्न थाले । लखेटेर प्रहरीले समात्न त समाते तर मेरी आमा र काकी त्यतिवेलासम्म मरिसकेका थिए । गाउँले र प्रहरीले अरू केही प्रयास गरेको भए आमाहरू बाँच्थे कि भन्ने लाग्छ मलाई ।

Read Full Discussion Thread for this article