Posted by: chipledhunga December 9, 2008
Dhankuta
Login in to Rate this Post:     0       ?        

ओहो धनकुटाको धागो नै खुलेको रहेछ यहाँ। मैले पनि आफू जवान छँदा त्यतातिर पाइला टेक्ने मौका पाएको थिएँ। साझामै त्यतातिरको बारे पहिले लेखेको कुरा यता पनि टाँसिदिउँ है त।    

चौतारीको पहिलो इन्ट्री मैले पूर्वैका कुरा गर्दै मारेको थिएँ, आज फेरि त्यस्तै जमेछ। आफ्नो पनि मुकाम गजुरमै जमेको थियो। सिधुवाको छथर होटेलमा पनि एक पाथी भात बजाइयो होला। त्यसो त धनकुटाको परिचय होटेलमा पनि भात नगोधेको होइन बिहीवारे हाट हेरेछिन्। बसन्तपुरको याक होटेलमा पनि तुम्बा र मम बजाइयाथ्यो। बसन्तपुरबाट कुहिरो छिचोल्दै बसबाट चित्रेको बाटो झर्दाको आनन्द पनि बेग्लै छ। हिलेबाट चियाको चुस्की लगाउँदै सूर्योदय अनि मकालु हिमालको दर्शन गरेको क्षण अबिस्मरणीय थियो। खोइ कहिले हो फेरि त्यतातिर लाग्न पाउने।   

चेली पनि पूर्वेली परीन् कि कसो? झर्ने होइन, इटहरीबाट माथि लागेपछिको कुरा गरम् है।
तरहराबाट केही माथि गएपछि सेउती खोलाको पुल आउँछ, जसको अघि पछि "HUMPS FOR HALF MILE" भन्ने साइन्बोर्ड राखिएको छ (वा थियो)। अनि सालघारी छिचोल्दै अलिअलि हो कि होइन जस्तो उकालो लाग्दै धरान छिरिन्छ औद्योगिक क्षेत्रलाई बाँया पारेर। उकालो लाग्दै भानुचोक पुगेपछि बस परिवर्तन गर्नु पर्थ्यो त्यो बेला। अहिले त काठमाडौंबाट सीधा सेवा छ रे म्याङ्लुङसम्मै।
त्यो बेलाको प्रख्यात कोशी सुपर एक्स्प्रेसबाट झरेर बसन्तपुर जाने थोत्रा बसहरु चढ्नु पर्थ्यो। बसहरु समय तालिका अनुसार नगएर १२०० रुपैंया उठेपछि छुट्थे। त्यो बेलाको भाडा दर: धरान- धनकुटा रु २५ (५२ किमी), हिले ९ (१३ किमि, बाटो कालोपत्रे गर्न अघि १२ लाग्थ्यो), सिधुवा १० (११ किमी) र बसन्तपुर १२ (११ किमि)। हिलेदेखि माथिको बाटो कच्ची थियो (अझै पनि कच्ची नै छ जस्तो लाग्छ), र सिधुवादेखि ठाडो उकालो भएकोले भाडा दर पनि महँगो।
धरानको छाता चोक छेउमा त्यहाँको प्रख्यात केशर (हो कि केशब हो) पुस्तक पसल थियो। त्यसैको अगाडिको पसलमा मम खाइएको थियो। ममको तौल पनि एउटैको आधा किलो होला, अनि एउटा प्लेटमा दुई मम, हाफ प्लेट खाए एउटा आउँथ्यो क्यार। त्यहिंबाट हो क्यारे चतरा जाने बाटो छुट्टीने। बाटो पनि जीर्ण, त्यहाँ जाने ट्याक्सीहरु पनि त्यस्तै।

धनकुटातिर लाग्दा नागबेली सडकको उकालो, अनि धरान र शर्दु खोलाको सुन्दर द्रीष्य। उकालो लाग्दै गर्दा बिस्तारै सालका रुखहरुको बाहुल्यलाई सल्लाका रुखहरुले प्रतिस्थापन् गर्दै जान्छन्। भेंडेटारमा चिया खान बस रोकिन्छ। चिसो हावाका साथ वारीपरिका सुन्दर द्रिष्यहरु हेर्दाइ चिया खाएपछी ओरालो लागेर लेउती खोलाको किनारतिर झर्यो, अनि एकैछिनमा मूलघाटमा तमोर तरी उकालो लाग्यो, धनकुटा पुग्यो।

सार्है नै रमाइला भएको थियो पूर्वको यात्रा। मर्नु अघि एक चोटी फेरि त्यता पाइला टेक्न पाइएला कि फेरि।                
Read Full Discussion Thread for this article