Posted by: cheli December 5, 2008
लीको गीत
Login in to Rate this Post:     0       ?        

लीको गीत

यहाँ मेरो कोठाबाहिर एउटा चौर छ । व्यस्त ठाउँ व्यस्त मान्छे, चौरमा घाम तापेर, बदाम सुन्तला खाँदै बस्ने बानी अमेरिकीहरुलाई परोस् पनि कसरी, त्यसैले होला, चौर प्राय: सुनसान नै हुन्छ । एक महिना जस्तो अगाडिको कुरा हो, बाहिर ठुलो अनि मीठो स्वरमा कसैले गीत गाएको सुने मैले, यसो बाहिर हेरेको, एउटा चाइनिज जस्तो देखिने मान्छे ( चाइनिज नहुन पनि सक्थ्यो, शायद मेरै कमजोरी हो, म चाइनिज, कोरियन, जापानिज, फिलिपिनो आदिलाई उस्तै देख्छु) गीत गाउँदै हिंडेकोथियो, आफ्नै भाषामा । भन्छन् नि गीत-संगीतको कुनै भाषा हुँदैन भनेर, शायद त्यसैले होला, भाषा नबुझे नै पनि मलाई त्यो गीत मनपर्यो ।

दुइ तीन दिन पछि फेरि, म भित्र पढिरहेकीथिएँ, कसैको गीत सुनियो, झ्यालबाट बाहिर हेरें, त्यही मान्छे, फेरि पनि त्यही गीत गाउँदै हिडेकोथियो । “यो मान्छे पागल हो कि क्या हो? हेर्दा त त्यस्तो लाग्दैन, किन सँधै एउटै गीत गाउँदै हिँडेको होला?” मनले प्रश्न गर्यो । “ फरक गीत होला, भाषा बुझेपो फरक छुट्टिन्छ त!” मनलाई सम्झाएँ मैले ।

त्यस्को भोलिपल्ट, स्कुलबाट फर्केर कोठातिर आउँदैथिएँ, त्यही मान्छे भेटियो, चिन्नु न जान्नुको मान्छेसँग पनि हाइ हेल्लो गर्नु पर्ने यहाँको चलन न हो, मुसुक्क हाँसेर उसले भन्यो – “Hi, How are you doing?”

 “ म ठिक छु, तिम्रो के छ ?” मैले सोधें ।

“ म पनि ठिक छु, तिमी पनि USF जान्छौ ?” उसले सोध्यो,

“हो” मैले भनें । “ मैले केही पटक तिमीले गीत गाएको सुनेकी छु, कुन भाषामा हो?” मैले फेरि सोधें ।

“मेरो आफ्नै, चाइनिज भाषामा” उसले भन्यो ।

“ए! त्यसो भए त यहाँ जस्तै आफ्नो आफ्नो देशमा पनि हामी छिमेकी नै रहेछौं “ मैले थपें ।

“तिमी कुन देशबाट हो र?” उसले सोध्यो ।

“नेपालबाट” मैले भनें । नेपाल शब्द भन्दा मेरो स्वर स्नेहले अलिकति पग्ले जस्तो, गर्वले अलिकति फुले जस्तो अनि श्रद्धाले अलिकति नतमस्तक भए जस्तो, भए झैं लागेको थियो मलाई, त्यसबेला पनि ।

उसले भने जिन्दगीमैं पहिलो चोटि सुनेको शब्द जस्तो गरेर “नेपाल?” भन्यो । म केही भन्न खोज्दै थिएँ, उसले फेरि आफैं भन्यो – “ ओह, नेपाल, त्यो सानो देश, जुन Mount Everest को अर्को पट्टि छ ?” 

सगरमाथा मेरो देशमा छ भनेर गर्व गर्ने मलाई थाहै थिएन, चाइनिजहरुले नेपाललाई कसरी चिन्दा रहेचन् भन्ने । होइन भन्न सक्दिन थिएँ म, आखिर सगरमाथाको एउटा पाटो उनीहरुको देशमा पनि छ नि, त्यसैले “हो” भनें ।

मलाई त्यसबेला पनि उसको गीतको बारेमा कति प्रश्न सोध्न मन थियो, कुरा देश पट्टि गयो, अनि उतै अलमलियो । “ तिमीलाई भेटेर खुशी लाग्यो, पछि भेटौंला है” यति भनेर उ आफ्नो बाटो लाग्यो ।

क्रमश:...................( राख्न मन त थिएन)

Last edited: 05-Dec-08 01:18 PM
Last edited: 05-Dec-08 02:41 PM
Read Full Discussion Thread for this article