Posted by: Rahuldai December 5, 2008
जीवन चक्र
Login in to Rate this Post:     1       ?         Liked by

जीवन चक्र
अन्तिम भाग

 

म्युजियम हेर्न जाने कुरामा आफै रोमान्चित भैराखेको थिएं। जंगबहादुर् को तलवार छ रे, अमरसिंह थापाले कब्जामा लिएको तोप छ रे। कस्तो होला, कति ठुलो होला, मन मनै लड्डु पकाइ रहेको थिएं।

हुन त घरबाट् कहिलेइ एक्लै टाढा गएको थिइन। एकपल्ट ३१ सालमा स्वर्गिय राजा बीरेन्द्रको राज्यभिषेकको लागि बुढो खुइलेको धरहरालाई रङ्ग  रोगन लगाइरहेको अचम्मको द्रिश्य हेर्न सुनधारा सम्म गएको थिएं।क्या गजब को सीन थियो, डोरीमा झुन्डिएर धरहरामा रंग लगाइरहेका मान्छेहरु। कति न डराउने होला है, आफै दङ थिएं टोल छिमेकबाट् बाहिर् नजानु, मोटरले किच्ला, मर्स्याले बोरामा हालेर लैजाला भन्ने गर्थे बुज्रुकहरु।

प्रबिणले बोलाउन आउदा म लगभग तयार भैसकेको थिएं। हुन त के गर्नु थियो र, त्यो उमेर मा।

जाने बेलामा आमाले अलिकति मकै लैजाउ, भोक लाग्ला भन्नु भयो। आमाको वासल्यता नै पुगेको थियो मलाई।  लैजान्न, राजेशले चुंला बजी खुवाउछु भनेको छ, उसको घर मै खाने।
चुंला बजी अर्थात किमा मासु र चिउरा।
प्रफुल्लित मुद्रामा घरबाट निस्कें।

प्रबिण संगै बाहिर् डबलीमा गएं। काष्ठमण्डप र सिंह सत्तल बिचमा अग्लो भागको डबली, छुट्टिको दिन भएकोले एक् हुल ह्वागरा खेल्दै थिए। (ह्वागरा- गुच्चा खेलको एक रुप)।

बिहान को ११ बजे हुंदो हो, साढे दसमा डबलीमा आउछु भनेको राजेश हलुवाइले।
तै पनि हामी ह्वागराको दर्शक भएकाले टाइम गएको पत्तो भएन। बल्ल १२ बजे तिर एउटा होण्डाको आवाज आयो डबली छेउमै रोकियो। राजेश आएको पक्का भो, पिताश्रीको यामाहा होण्डामा।
 

"१२ बजी सक्यो अब जाउं, ३ -४ घण्टा लाग्छ रे। अनि खाजा खानु पर्छ, बल खेल्नु पर्छ। मेरो घरमा टुंडिखेल जत्रो जग्गा छ।" राजेशले आफ्नो बैभव सुनाइ हाले।

हामी ३ जना दौतरी हिड्यौं, काष्ठमण्डपको दबलीबाट भिमसेन स्थानको बाटो हुंदै।
म्युजियम मा यस्तो छ उस्तो छ भन्दै अग्रिम बखान गर्दै गए राजेश। बाबाले भनेको रे।


भिमसेन स्थान पार गरे पछि अलि तल परोपकार हाइ स्कूल  अनि कालिमाटी टंकेश्वर जाने पूल आउछ। त्यताबाट् सिधा उकालो अनि दाया लागे पाछि ताहचल महेन्द्र रत्न क्याम्पस पुगिन्छ।

हामी  एक लहरमा हिड्दै थियौं, सडक खालि थियो। महेन्द्र रत्न क्याम्पस पुग्नेबेलामा एउटा बडेमानको मिलिटरी लरी आयो। सडक साँघुरो भएकोले एक लहरमा हिड्न मिलेन। प्रबिण अगाडी म बिचमा र राजेश लास्टमा । त्यतिबेला नै राजेशको नजर मेरो पहिरनमा पर्‍यो  र त्यहीं टक्क अड्यो। प्रबिणलाई बोलाएर कानमा खासखुस गर्न थाले। केही नमीठो जाउलो पाकेको शंका न लागेको होइन। राजेशले सिधै म संग भने-

"तिमी मेरो घरमा आउन मिल्दैन त्यसैले फर्के हुन्छ यहिंबाट"

अचानक यस्तो कुरा सुन्दा म झसङ फरङ के के भएं के के।

"किन ? हमीले मिलेर जाने भनेर कति दिन अगाडि देखि बनाएको प्लान त्यो।"
मैले सक्दो प्रतिपाद गरें।

"किन कि तिम्रो पाइन्ट च्यातेको टालेको छ। घरमा मम्मिले यस्तो खातेलाई ल्यायो भनेर गाली गर्छ । त्यसैले तिमी घर फर्क।"

कींकर्तब्यबिमूढ खाते म, खुरुखुरु त्यहीबाटो घर फर्कें।

आँशु रोक्नै सकिन। १० बर्षको उमेरमा पहिलो पल्ट गरिबी के हो थाहा पाएं र बेस्सरि रोएं। म संग अर्को पाइण्ट थिएन। स्कूल जाँदा सुरुवाल लगाएर जाने गर्थें। भएको एउटा पाइण्टको पछाडि ( धेरै खेलर होला) च्यातिएको थियो । र पनि त्यसलाई जतनले टालेकै थिएं। तर त्यो टालटुले कपडाले गरिबी न छेक्ने रहेछ।  निर्धनता त्यहिंबाट् चियाउने रहेछ।

आफ्नो मिल्ने साथीको त्यो निर्णयबाट जति बिचलित भएको थिएं त्यति नै आफ्नो गरिबी प्रति आक्रोश। तर यथार्थता स्विकार्नै पर्छ मैले।

सुकसुकाउदैं घर तिर पुगें। घर पुग्नु अघि नै रोएको थाहा पाउला भनेर आशु पुछें तर के थाहा आँशु पुछ्दा कमिजको बाहुलाको मैलले कालो निशानी छोड्छ भनेर।
घर पुगें। आमाले देखि हाल्नु भयो, रोएर किन फर्किस्, के भयो ? म छक्क म रोएको नि थाहा पाउने कस्तो चमत्कारी आमा ।

मन दुखेको ब्यथा भन्न मन लागेन। तुरन्तै बहाना बनाएं। चप्पल चुंडिएर लडें , अलिकति दुखेकोले रोएको।
बहाना शायद त्यही नै उपयुक्त थियो त्यो परिबेशमा।

"खै कहाँ दुख्यो हेरम्, घाउ साउ त भएन?"
 
"खास केही भाको छैन, अहिले सब ठिक छ आमा।"

घाउ साउ होइन, आज एक साहु मन ले चित्त दुखायो आमा भनेर रुन मन लागेको थियो ।

यो घट्ना पछि राजेश हलुवाई संग संबन्ध राख्नु कुनै अर्थ थिएन र राखिन पनि। कहिलेइ निको नहुने चोट र खोट  दुबै थियो। बेला बेलामा टोलमा आउथे तर मैले कुनै चासो राखिन।


समय चक्र घुम्दै गयो। गरिबी संग सक्दो मुकाबला गर्दै सात पास गरियो। आठ देखि बिश्व निकेतन मा पढियो। ती दिनहरु बारे पिताजीको सुनको तक्मामा उल्लेख गरि सकेको छु। (http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=283&ThreadID=52796)

८-९ पढ्दा नै  राजेश हलुवाईको सबै परिवार अमेरिका गए रे भन्ने सुनें। ४-५ बर्ष मा नेपाल आउने जाने गर्थे। त्यहि भएर अनुहार बिर्सेको थिएन, ब्यबहार त बिर्सने कुरै भएन।

अचानक त्यो दोहरि साँझमा भेट भयो राजेश। अचानक फेरि पुरानो घाउ बल्झियो। गरिबी, आर्थिक शंकटले फेरि चियाए जस्तो लाग्यो। यति बेला त्यो गरिबी भन्ने जन्तु राजेशको शिरमाथि देखें।

सजल आँखालाई रेस्ट रूम गइ पखालें र भित्र हलमा गएं। दोहरी जारी थियो। दोहरी संगै पूण्टे दाई, रिट्ठे, पर्बते नाच्दै थिए।

"आँधि खोला उर्लेर आयो,
जाने बेला माया ले बोलायो।"

 म नि नाच्न अघि बढें।

अस्तु!

Read Full Discussion Thread for this article