Posted by: popeye December 4, 2008
नेपाली विद्यार्थीलाई 'आतंककारी' बिल्ला !
Login in to Rate this Post:     0       ?        

नेपाली विद्यार्थीलाई 'आतंककारी' बिल्ला !

भवानीश्वर गौतम/नयाँ पत्रिका
काठमाडौं, १८ मंसिर 

 अध्ययनका लागि युरोपियन देश माल्टा पुगेका नौ नेपाली विद्यार्थीलाई 'आतंककारी' भन्दै काठमाडौं फिर्ता पठाइएको छ । माल्टाको अध्यागमनले 'पाँच महिनाअघि राजा फाल्यौ, तिमीहरू माओवादी आतंककारी हौ' भन्दै दुई दिन जेलमा राखेर नेपाल फर्काएको विद्यार्थीले बताए ।
केही विद्यार्थी एजुकेसन कन्सल्टेन्सीमार्फत र केही आफ्नै प्रयासमा भिसा लगाएर दिल्ली, दुबई हुँदै माल्टाको इआइई नामक कलेजका लागि त्यहाँ पुगेका थिए । बिबिए अध्ययनका लागि माल्टा पुगेर नेपाल फर्काइएका चितवनका पारस हमालले 'आफूहरू त्यहाँ पुग्दा सबै सक्कली डकुमेन्ट हुँदाहुँदै अध्यागमनले आतंककारीको आरोप लगाएको' बताए । निन्याउरो अनुहार पार्दै हमालले भने, 'हामीमाथि साँच्चै अमानवीय व्यवहार भयो ।'

माल्टा पुगेर नेपाल फर्किएका विद्यार्थीले बुधबार एक पत्रकार सम्मेलनसमेत गरी आतंककारीको आरोप लगाएर दुई दिन जेल हाली नेपाल फर्काएको पीडासमेत सुनाएका थिए ।
माल्टाको अध्यागमन विभागका अधिकारीहरूले जाँच-पड्तालका क्रममा पटक-पटक नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याएर सरकारमा पुगेका 'माओवादी आतंककारी हुन् र तिमीहरू पनि आतंककारी' हौ भन्ने आरोप लगाएको उनीहरूको गुनासो थियो । भारतको मुम्बईमा आतंककारी हमला भएको खबर प्रसारण भइरहेको बेला ती विद्यार्थीलाई अध्यागमनले 'तिमीहरू मुम्बईका हौ जस्तो लाग्यो' समेत भनेर 'टर्चर' दिएको विद्यार्थीको भनाइ छ ।

भारतको राजधानी दिल्लीमा रहेको माल्टाको राजदूतावासबाट पहिलोचोटि एकैपल्ट १० जना विद्यार्थीको भिसा लागेको थियो । पाँचजनाको भिसाका लागि काठमाडौंस्थित अल्बर्ट आइन्स्टाइन इन्टरनेसनल स्टडी सेन्टरले प्रक्रिया मिलाएको थियो भने पाँचजनाले आफ्नै प्रयासबाट माल्टा जाने प्रवेशाज्ञा प्राप्त गरेका थिए ।

भिसा लगाएपछि २६ नोभेम्बरमा माल्टा पुग्ने गरी नेपाली विद्यार्थी २५ तारिखमा नेपालबाट हिँडेका थिए । अल्बर्ट आइन्स्टाइन स्टडी सेन्टरका अध्यक्ष वेदव्यास खरेलका अनुसार नेपालका विद्यार्थी लिनका लागि इआइई कलेजका अध्यक्ष एन्टी लिनोसमेत एयरपोर्टसम्म आएका थिए । तर, उनले विद्यार्थीलाई आफ्नो कलेजसम्म पुर्‍याउन सकेनन् ।

विद्यार्थी पारसले भने, 'इमिग्रेसनमा तिमीहरूले पाँच महिनाअघि राजा फाल्यौ, तिमीहरू माओवादी आतंककारी हौ भन्यो ।' विद्यार्थीले अध्यागमनमा 'त्यसो भए दिल्लीस्थित दूतावासले हामीलाई किन भिसा दिएको' भन्ने प्रश्न गरेका थिए । 'प्रश्नको जवाफमा अध्यागमनका कर्मचारीहरू उल्टै रिसाए, केही पनि बोलेनन्,' पारसले भने, 'उनीहरूको नियत नै हामीहरूलाई तल्लो दर्जाको व्यवहार गर्ने रहेछ ।'

१० जनामध्ये एकजना विद्यार्थी भने माल्टा कलेजको सम्पर्कमा पुगेको थाहा भएको छ । श्याम नाम गरेका ती विद्यार्थी अध्यागमनबाट कसरी कलेजसम्म पुगे भन्नेबारे केही खुल्न सकेको छैन ।
तर पारस हमाल, अनिल केसी, कृष्ण सुवेदी, अशोक भन्तना, सन्तोषलगायत अन्य नौजना विद्यार्थी भने नेपाल फर्किसकेका छन् । नेपाल फर्केपछि तीन-चारजना विद्यार्थी काठमाडौंमा हारगुहार गर्दै गरेका र अन्य आफ्नो घर मोफसलतिर लागिसकेका छन् ।

नेपाल फर्काइएका विद्यार्थीका अनुसार माल्टा अध्यागमनले नियन्त्रणमा लिएपछि रातभर बोल्न नदिएको तथा मानसिक यातना दिने काम गरेको बताए । विद्यार्थी अनिल केसीले भने, 'भोलिपल्ट तीनजनालाई हतकडी लगायो र बाँकीलाई नलगाई जेलमा हाल्यो ।' जेलमा राखेको वेला विद्यार्थीलाई पाउरोटी मात्र खान दिएको थियो । पक्राउ गरेको दुई दिनपछि एउटा कागजमा माथि लेखेको कुरा पढ्न नदिई तल हस्ताक्षर गर्न लगाएर नेपाल फिर्ता पठाएको विद्यार्थी बताए ।

आफूहरूमाथि अमानवीय व्यवहार मात्र नभएर यो घटनाले नेपालकै छवि बिगारेको भन्दै माल्टाबाट फर्केका विद्यार्थीले यस विषयमा नेपाल सरकार र नेपालस्थित युरोपियन युनियनको कार्यालयलाई सचेत पार्ने बताएका छन् ।
स्टडी सेन्टरका अध्यक्ष खरेलले नयाँ पत्रिकासँग कुरा गर्दै विद्यार्थीका सबै आवश्यक कागजात र प्रक्रिया पूरा गरेर पठाइएको बताए । विद्यार्थीले एक वर्षको ट्युसन फि र होस्टेल खर्च गरी साढे सात लाख रुपैयाँ कलेजलाई बुझाएका थिए । खरेलले भने, 'कलेज र इमिग्रेसनलाई चाहिने सबै प्रमाणपत्र छ तर किन यस्तो गर्‍यो हामी पनि अचम्ममा परेका छौं ।' यो घटनाले १० जना विद्यार्थीको हानि मात्र नभई देशकै इज्जतमा दाग लागेको उनको भनाइ छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता रामप्रवेश यादवले आफूलाई यस घटनाका विषयमा जानकारी नभएको बताए । उनले भने, 'शिक्षा मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिने हो, अब के गर्न सक्छ बुझेर मात्र प्रतिक्रिया दिन्छु ।'
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले नेपालले हामीले राम्रो काम गरेका छौं भनेर सन्देश दिन नसकेकाले विद्यार्थीलाई माल्टामा आतंकवादी हौ भनेर आरोप लगाएको हुन सक्ने बताए । लाखौं खर्च गरेर अध्ययनका लागि विदेश गएका विद्यार्थीको समस्या शिक्षा मन्त्रालयले कलेजसँग र परराष्ट्र मन्त्रालयले सम्बन्धित ठाउँमा बुझ्नुपर्ने प्रा.डा कोइरालाको भनाइ छ ।

परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सचिव आचार्यले बुधबार राति अबेरसम्म पनि न घरको फोन उठाए न त मोबाइल नै ।

Read Full Discussion Thread for this article